ललितपुरमा इनारभित्र खसेका व्यक्तिको उद्दार

ललितपुरमा इनारभित्र खसेका व्यक्तिको उद्दार

काठमाडौं । ललितपुरमा इनारभित्र खसेका व्यक्तिको प्रहरीले सकुशल उद्दार गरेको छ ।

उद्दार गरिएका व्यक्ति सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ घर भएका ४१ वर्षीय बुघ लामा तामाङ छन् ।

शनिबारराति सवा १ बजेतिर ललितपुर महानगरपालिका–५ को सडक छेउमा रहेको सार्वजनिक इनारभित्र  पुरुष खसेको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय लखनखेल र प्रहरी वृत्त सातदोबाटोको टोली उद्दारमा खटिएको थियो ।

करिब ३० फिट गहिरो इनारमा खसेका तामाङलाई उद्दार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले बताए ।

उनलाई उपचारका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर पठाइएको उनले जानकारी दिए ।

प्रहरी जवानको हत्या आशंकामा पाँचजना पक्राउ

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आशंकामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।  काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार शंकास्पद अवस्थामा भेटिएको थियो । ‘डिउटी’ सकेर घर फर्किंदै गर्दा मनमैजुमा घिमिरेको हत्या भएको थियो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

लुम्बिनी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका-१३ स्थित झोलुंगे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर आउँदै गरेको लु १ ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल-१३ झोलुंगे पुल नजिकै ठक्कर दिँदा आज बिहान बुटवल(११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो। एम्बुलेन्सको ठक्करबाट अन्य दुईजना महिला घाइते भएका छन् । एम्बुलेसको ठक्करबाट घाइते कमलालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। देवीनगरकै ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठटराई घाइते भएका छन्। उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।एम्बुलेन्स चालक अर्घाखाँचीको पाणिनी गाउँपालिका(७ का नारायणबहादुर  मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ । गएराति भएको खेलमा विनवाड्रस भोलक्यानोजसँग नेपाल पराजित भएको हो । सुरुमा ब्याटिङ गरेको भोलक्यानोजले दिएको २०६ रनको चुनौती नेपालले पूरा गर्न सकेन । तीन खेलको अभ्यासमा नेपालले पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो। दोस्रो खेलमा ४९ रनले विजयी भएको नेपाल तेस्रो खेलमा ६७ रनले पराजित भएको हो। पार्क हिल मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको भोलक्यानोजले नेपालविरुद्ध सबै विकेट गुमाएर २०५ रन बनाएको थियो । चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल भने १७।१ ओभरमा १३८ रन बनाएर अलआउट भयो । नेपालका ओपनर कुशल भुर्तेल ८ रन बनाउँदै तेस्रो बलमै आउट भएका थिए । नेपालले मात्र १९ रन बनाउँदा अनिलकुमार शाह मात्र २ रन बनाएर आउट भए । तेस्रो विकेटको रुपमा नेपालका अर्का ओपनर आशिफ शेख २४ रनमा आउट हुँदा नेपालले मात्र ४० रन बनाएको थियो । सम्हालिएर खेलेका नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाए । उनी चौथो विकेटको रुपमा ५३ रन बनाएर क्याच आउट भए । पाचौं विकेटको रुपमा गुल्सन झा पहिलो बलमै क्याच हुँदा नेपालले १०७ रन मात्र बनाएको थियो । पहिलो बलमा दुई रन जोडेका सोमपाल कामी दोस्रो बलमा आउट हुँदा नेपाले १०९ रन बनाउँदा ६ विकेट गुमाएको थियो । सम्हालिएर खेलेका अर्का ब्याट्सम्यान सन्दीप जोरा भने सातौ विकेटको रुपमा २१ रनमा आउट भए । आठौं विकेटको रुपमा कमलसिंह ऐरी ४ रनमा आउट हुँदा नेपालले १६ ओभरको समाप्तिमा १३१ रन मात्र बनाएको थियो । प्रतिश जिसी नौ विकेटको रुपमा शून्यमा आउट हुँदा अन्तिम विकेटको रुपमा करण केसी १३ रनमा आउट भए । अन्तिम खेलमा नेपालको बलिङ र ब्याटिङ दुवै नचल्दा पराजित भएको हो । यो खेलमा दिपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई आराम दिइएको थियो । अन्तिम खेलमा पराजित भए पनि तीन खेलको अभ्यास नेपालले २/१ ले आफ्नो पक्षमा पारेको छ । यसअपछि नेपाल विश्वकप अगाडिको अभ्यास खेलका लागि अमेरिका जाँदैछ । त्यहाँ नेपालले क्यानडा र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

कस्तो रहला आजको मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी र वागमती प्रदेशका केही भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । विभागले आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । बागमती, कोशी र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एकदुई स्थानमा मेघगर्जन, हावाहुरी एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।हिजो काठमाडौं लगायतका विभिन्न ठाउँमा यस वर्षकै गर्मी महशुस गरिएको थियो । देशको उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४८ मिनेटमा हुनेछ ।

लोकप्रिय