बाढी, वन्यजन्तु र शिक्षाको अभावबिच बगुवनका बासिन्दा

बाढी, वन्यजन्तु र शिक्षाको अभावबिच बगुवनका बासिन्दा

नवलपरासी । प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवन गाउँका बासिन्दा भने चुनावी नाराभन्दा आफ्नो दैनिक सङ्घर्षको समाधान खोजिरहेका छन् । बर्सेनि डुबान, आधारभूत पूर्वाधारको अभाव, माध्यमिक तहको विद्यालय नहुँदा शिक्षा छाड्ने बाध्यता र रोजगारीको सीमित अवसर यहाँका मुख्य समस्या बनेका छन् ।

नारायणी नदी र विनयी खोलाको बीचमा अवस्थित यो बस्ती वर्षा लाग्ने बित्तिकै जोखिममा पर्ने हुँदा राति पानी परेपछि बाढी पस्ला कि भन्ने त्रासले धेरै परिवार निद्रा त्यागेर जाग्राम बस्ने बाध्यता रहेको स्थानीय सीता सोमै मगरले बताइन् । “बाढी कहिले आउँछ ठेगान हुँदैन, पानी पर्‍यो कि हामीलाई रातभरि डर नै डर हुन्छ । चुनावमा तटबन्ध बनाउने कुरा धेरै सुन्यौँ, तर काम देखेका छैनौँ”, उनले भनिन् ।

दुई सय सात घरपरिवार बसोबास गर्ने यस गाउँमा माध्यमिक तहसम्मको विद्यालयसमेत छैन । यहाँ रहेको आधारभूत विद्यालयसमेत वर्षायाममा डुबानमा पर्ने भएकाले नियमित पठनपाठन प्रभावित हुने गरेको लक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक खोरबहादुर खत्रीले बताए । “कक्षा ८ पछि पढाइ जारी राख्न विद्यार्थीलाई सात–आठ किलोमिटर टाढा जानुपर्छ”, उनले भने, “दुर्गम बाटो, वन क्षेत्र र यातायात अभावका कारण धेरै किशोरकिशोरीले पढाइ बिचमै छाड्ने गरेका छन् ।”

माध्यमिकसम्मको अध्ययन पूरा गर्न गाउँदेखि धेरै टाढा जानुपर्ने हुँदा धेरै बालबालिकाले बिचमै पढाइ छाड्ने गरेको स्थानीय दलबहादुर मगरले बताए । खोला र जङ्गल पार गरेर जानुपर्ने हुँदा चितवन राष्ट्रिय निकुञ्जको जनावरसँगै वर्षाका बेला बाढीको डर हुने गरेको उनले गुनासो गरे । “छोराछोरीलाई टाढाको विद्यालय पठाउन सजिलो छैन । बाटो पनि सुरक्षित छैन, खर्च पनि धान्न गाह्रो हुन्छ । त्यसैले धेरैले पढाइ छाड्छन्”, उनले भने ।

यो बस्ती चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले वन्यजन्तुको जोखिम अर्को स्थायी समस्याका रूपमा रहेको स्थानीय भुवन सिंहले बताए । साँझपख खेतबारी जानु वा राति आवतजावत गर्नु स्थानीयका लागि जोखिमपूर्ण रहने गरेको उनले गुनासो गरे । “मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि स्थायी समाधान गर्ने उपाय सरकारले पुर्याउन सकेको छैन”, उनले भने, “चुनावताका नेताहरू सबै समस्या हल गर्छौँ भन्नुहुन्छ, चुनावपछि जतिभन्दा पनि सुन्नुहुन्न ।”

यस क्षेत्रका युवापुस्ता रोजगारी अवसरको खोजीमा छन् । गाउँमा कृषिबाहेक अन्य आयआर्जनका सम्भावना न्यून छन् । सीपमूलक तालिम, साना उद्यम वा स्वरोजगार कार्यक्रमको पहुँच नहुँदा धेरै युवायुवती वैदेशिक रोजगारी वा सहर पलायनको विकल्प रोज्न बाध्य भएको स्थानीय पवन ढेगा मगरले बताए ।

“काम गर्ने इच्छा छ, तर गाउँमै केही अवसर छैन । तालिम र लगानी पाए यहाँ पनि केही गर्न सकिन्थ्यो”, उनले भने, “युवाहरूलाई गाउँमै रहेर आयआर्जन गर्न सक्ने वातावरण बनाउन सरकारले ध्यान दिनुपर्ने हो तर त्यो अहिलेसम्म हुन सकेन ।”

मगर, दलित तथा केही कुमाल समुदायको मात्र बसोबास रहेको यस गाउँमा सरसफाइ र जनचेतनाको स्तर पनि न्यून रहेको स्थानीय तहका प्रतिनिधि बताउँछन् । स्वास्थ्य, शिक्षा र पोषणजस्ता जनचेतनामूलक कार्यक्रमको यहाँ खाँचो देखिएको विनयी त्रिवेणी गाउँपालिका–१ की वडासदस्य मोतिसरा लोहनीले बताए । “गाउँभित्र सडक त निर्माण भएको छ तर बीचमा खोला र जङ्गल पर्ने भएकाले पूरा हुन पाएको छैन”, उनले भने, “सुगम ठाउँमा भएर पनि विकट बनेको बस्तीमा शिक्षा र चेतनास्तर अभिवृद्धि गर्न विशेष पहल गर्नुपर्छ ।”

गण्डकी प्रदेशको गौरवको आयोजनाअन्तर्गत रहेको कोरला–त्रिवेणी सडक क्षेत्रभित्र रहेको बगुवनगाउँ त्रिवेणीमार्ग नखुल्दा पनि विकट बन्न पुगेको विनयी त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्ष दीपक पौडेलले बताए । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेको गाउँ भएकाले विकास निर्माण र भौतिक पूर्वाधारका काममा धेरै अवरोध सहनुपरेको अध्यक्ष पौडेलको भनाइ छ । “बगुवन–दुम्कीवास सडक, नदी नियन्त्रण, सुरक्षित आवास, माध्यमिक विद्यालय स्थापना र आयआर्जनका कार्यक्रमलाई समग्र विकासको प्याकेजका रूपमा सङ्घीय सरकारले नै अघि बढाउनुपर्ने देखिन्छ”, उनले भने ।

बाढीबाट सुरक्षित बस्ती, गाउँमै पढ्न पाउने विद्यालय र युवालाई गाउँमै टिकाउने रोजगारीका अवसर सृजना गर्ने योजना स्थानीयको मुख्य चासोको विषय वनेका छन् । वगुवनका जनताको एउटै भनाइ छ, “यसपटकको नेतृत्वले विकासका अधूरा बाचा होइन, परिणाम दिने कामको थालनी गरोस् ।”

आज पनि भारी वर्षा हाेला ?

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ ।  तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।”  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ ।  जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा  र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्‍याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

पर्सामा  दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।  भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र  प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

लोकप्रिय