समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्छ : प्रधानमन्त्री

समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरूबीच भएको समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्ने बताएका छन् ।

शनिबार दिउँसो तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले समीकरणमा कुनै समस्या र असमझदारी नरहेको स्पष्ट पार्दै समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्ने बताएका हुन् ।

महाधिवेशनले सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘‘आजभोलि बजारमा सरकार के हुन्छ, सत्तासमीकरण के हुन्छ भन्नेखालका प्रश्न उठाउन खोजिएको छ। यस्तो प्रचार र आशंका म प्रधानमन्त्री भएको दिनदेखि नै थियो। तर, कुनै समस्या छैन। अहिले पनि सरकार के हुन्छ भन्ने जिज्ञासा र भ्रम पनि देख्छु। तर, केही हुँदैन। हामी समझदारीका साथ नै अगाडि बढेका छौँ। समझदारीका साथ नै अगाडि बढ्छौँ। सत्तासमीकरणमा कुनै समस्या छैन र हुँदैन।’’

कार्यक्रममा प्रधानमन्त्रीले नेपालका जाति जनजातिहरूले गरेको त्याग र सकारात्मक योगदानका कारण देशमा ठूलो राजनीतिक परिवर्तन सम्भव भएको बताए।

प्रधानमन्त्रीले भने, ‘‘विभिन्न जाति जनजातिहरूको योगदान नभएको भए आजको राजनीतिक परिवर्तन सम्भव थिएन। उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगको मुद्धा हाम्रो हो। उत्पीडितहरूले जति अधिकार पाएका छन्, त्यो माओवादीले गर्दा नै भएको हो।’’

सम्बोधनका क्रममा प्रधानमन्त्रीले जनयुद्ध कुनै पार्टी विशेषको नभएर आम नेपाली जनताको मुक्तिकामी सङ्घर्ष भएको स्पष्ट पारेका थिए ।

उनले भने, ‘‘जनयुद्ध जनताको युद्ध थियो। लाखौँ जनताले आफ्नो मुक्तिका लागि सङ्घर्ष नगरेको भए आजको परिस्थिति आउँदैनथ्यो। आज हामी नितान्त भिन्न परिस्थितिमा छौँ। हामी परिवर्तनका उपलब्धि रक्षा गर्न र समाजवादको आधार तयार पार्न शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धासहितको समझदारीमा आएका हौँ। यही आधारमा टेकेर समाजवादको तयार गर्छौं।’’

कार्यक्रममा प्रधानमन्त्रीले छिट्टै पार्टी केन्द्रीय समितिको बैठक बोलाएर विशेष महाधिवेशनको मिति निर्धारण गरिने बताउँदै पार्टीका सबै नेता–कार्यकर्ताले फुर्सद नपाउने गरी अभियानको तयारी गरिनेसमेत जानकारी गराए ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संवाद बढाउन प्रमुख दल सहमत

काठमाडौँ । प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउन सहमत भएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा रहेको विधेयकलाई अगाडि बढाउने सहमति भएको हो । प्रतिनिधिसभाको कानुन समितिमा विचाराधीन विधेयकका विवादित विषयमा छलफल गरी उपसमितिले अधिकांश विषयमा सहमति जुटाएको छ।समितिले शीर्ष सहमति खोजेको विषयमा पनि प्रमुख दलहरू सहमति नजिक पुगेका थिए । तर त्यही बेला सत्ता गठबन्धन फेरिएपछि यो विषय ओझेलमा परेको थियो । गठबन्धन फेरिए पनि प्रधानमन्त्री प्रचण्डले काँग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुबीच संवाद गरिरहेका थिए ।आजको बैठकले विधेयक अगाडि बढाउने र सहमति जुट्न नसकेका विषयमा सहजीकरण गर्न तीन दलले एकएक जना नेतालाई तोक्ने सहमति समेत गरेको छ ।

एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्ष थप्ने, केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वरिष्ठ उपाध्यक्ष पद थप्ने भएको छ। बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको हो ।  अब नेकपा (एकीकृत समाजवादी)ले वरिष्ठसहित सात उपाध्यक्ष, सचिव सातदेखि ९ जनासम्म हुने, केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने छ। एकीकृत समाजवादीको महाधिवेशन आउँदो असार १६–२० मा काठमाडौंमा हुँदै छ। 

प्रमुख तीन दलका नेताहरू छलफलमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवलगायत शिर्ष नेताहरुको वालुवाटारमा छलफल भैरहेको छ ।  शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा केन्द्रित रहेर प्रमुख तीन दलका नेताहरूको बिहीबार छलफल भएको हो।  'शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा केन्द्रित रहेर प्रमुख तीन दलका नेताहरूको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।' प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

विनियोजन विधेयक राष्ट्रिय सभामा प्रस्तुत

काठमाडौँ। राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८१ प्रस्तुत भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ सभा समक्ष प्रस्तुत गरेका हुन् । उनले आर्थिक वर्ष २०८१/०८२ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन र सो रकमको विनियोजन गर्न वाञ्छनीय भएकाले प्रस्तुत विधेयक पेश गर्नुपरेको बताए। उनले विधेयकले सङ्घीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा तथा कार्यहरुको निमित्त विनियोजन गर्नसक्ने व्यवस्था गरेको उल्लेख गरे। उनले भने, ‘‘आर्थिक वर्ष २०८१/०८२ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन र सो रकमको विनियोजन गर्न वाञ्छनीय भएकाले प्रस्तुत विधेयक पेश गर्नुपरेको हो । प्रश्तुत विधेयकले सङ्घीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा तथा कार्यहरुको निमित्त विनियोजन गर्नसक्ने व्यवस्था गरेको छ । राष्ट्रिय सभा नियमावली २०७५ को नियम १३३ (क) को उपनियम २ बमोजिम विनियोजन विधेयक, २०८१ लाई यस सम्मानित सभा समक्ष प्रस्तुत गर्दछु ।’’ राष्ट्रिय सभाको अर्को बैठक आजै १५ मिनेट बस्नेगरी स्थगित भएको छ ।

लोकप्रिय