मलाई मत दिएबापत तपाईँहरूले कहिल्यै पछुताउनुपर्ने छैन : सुहाङ

मलाई मत दिएबापत तपाईँहरूले कहिल्यै पछुताउनुपर्ने छैन : सुहाङ

काठमाडौँ । इलाम २ मा भएको उपनिर्वाचनमा विजय भएपछि एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदातालाई आभार प्रकट गरेका छन् । साथै उनले आफूलाई मत दिएबापत कहिल्यै पछुताउनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता पनि जनाएका छन् । 


साथै उनले चुनाव प्रचारप्रसारमा अट्ने नेता कार्यकर्ताप्रति पनि ऋणी भएको बताएका छन्।उनले भनेका छन्–‘मकै गोड्ने, चिया टिप्ने, तरकारी रोप्न, अलैँची स्याहार्ने’ अनेकन कामलाई थाँती राखेर निर्वाचन अभियानमा अहोरात्र खट्नुभएका आमाबुवा, दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार प्रकट गर्दछु।'


हेर्नुहोस् सुहाङको आभार तथा धन्यवाद


हार्दिक आभार तथा धन्यवाद 

अति आदरणीय इलामेली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु 

इलाम क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य पदमा आफ्नो अमूल्य मत दिएर अत्यधिक मतले विजय गराउनुभएकोमा इलाम–२ का अति आदरणीय मतदाताहरुप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । हजुरहरुको मनमा रहेको हामीप्रतिको अगाध माया, गहिरो विश्वास र भरोसालाई मतमा परिणत गरेर आफ्नो प्रतिनिधिको रूपमा मलाई छनोट गर्नुभएको छ ।  

हाम्रा अग्रजहरूले गर्नुभएको कष्टसाध्य सङ्घर्ष, बलिदान र असाधारण त्यागको जगमा आज हामी उभिएका छौँ । इलामको माटोमा जन्मिएर पञ्चायती व्यवस्थाविरुद्ध देशभरी क्रान्तिको उज्यालो फैलाउने आदरणीय शहीदहरु रत्नकुमार वान्तवा, बमप्रसाद वान्तवाप्रति हार्दिक श्रद्धा–सुमन व्यक्त गर्दछु । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणको नेतृत्वकर्ता इलामेली जनताका प्रिय नेता मेरो बुवा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धा–सुमन व्यक्त गर्दछु । 

सर्वप्रथम उहाँले देखाउनुभएको निष्ठाको बाटो र दिएर जानुभएको इमानको उज्यालोलाई शिरमा राखेर ‘समृद्ध इलाम ः  सुखी इलामेली’ हाम्रो साझा सपना र सङ्कल्प पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । इलामको माटोको कसम खाएर म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु, ‘मलाई मत दिएबापत तपाईँहरूले कहिल्यै पनि पछुताउनुपर्ने छैन ।’

तपाईँ हामीलाई थाहा छ, परिवर्तनको आन्दोलनमा इलामेली अग्रजहरूले गौरवमय इतिहास निर्माण गर्नुभएको छ । उहाँहरूको नाम लिदा सबैको शिर श्रद्धाले झुक्छ । हाम्रो छाती गर्वले चौडा हुन्छ । यही गरिमा र गौरवलाई पछ्याएर हामीले समृद्धिको महाअभियानमा उज्यालो इतिहास निर्माण गर्नु छ । मैले अभियानको दौरानमा हजुरहरुसँग भनेको थिएँ, ‘वैशाख १५ गते इलामको समृद्धिको नयाँ अध्याय आरम्भ गर्ने दिन हो । मलाई एकपटक विश्वास जित्ने मौका दिनुहोस् ।’ हो, त्यो मौका दिनुभएको छ । अब समृद्धिको नयाँ अध्याय सुरु भएको छ । 

‘मकै गोड्ने, चिया टिप्ने, तरकारी रोप्न, अलैँची स्याहार्ने’ अनकन कामलाई थाँती राखेर निर्वाचन अभियानमा अहोरात्र खट्नुभएका आमाबुवा, दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार प्रकट गर्दछु । घर–दैलोको क्रममा वृद्ध आमाबुवाहरूले दिनुभएको आशीर्वादलाई शिरमा सजाएको छु । कलिला नानी बोकेर घर–दैलो गर्नुहुने आमा दिदीबहिनीहरु, भविष्यप्रतिको उज्यालो आशासहित अहोरात्र निर्वाचनमा खट्नुभएका इलामेली नौजवान साथीहरुको समर्पण र साथ अवर्णनीय छ । ‘अल द बेस्ट सुहाङ दादा’ भन्दै मसँग झुम्मिने कलिला नानीहरूका आँखामा प्रतिविम्बित निश्छल माया मनभरी सजाएको छु । समयको सीमाले कति ठाउँमा पुग्न सकिनँ । अभियानको क्रममा भेट्न नसके पनि आँखा रसाउनेगरी पठाउनु भएको भिडियो शुभकामना र सन्देशहरुले भावुक र अवाक बनाएको छ । सबैलाई एकमुष्ट धन्यवाद भन्छु । ती सबै भिडियो सन्देश, शुभकामनाहरू मसँग सुरक्षित छन् । तपाईँहरूसँग सकेसम्म छिट्टै भेट्ने बाचा पनि गर्दछु । 

मेरो हात समाएर ‘बाबु, अब युवाहरु तयार हुनुपर्छ । अब तिमी इलामेली जनताको सेवाको लागि तयार हुनुपर्छ’ भनेर इलामेली जनताको न्यानो काखमा पठाउनुहुने हाम्रो पार्टी नेकपा ९एमाले०का श्रद्धेय अध्यक्ष कमरेडप्रति आभारी छु । 

नेकपा ९एमाले० इलाम जिल्ला कमिटीका आदरणीय नेतृत्वगण, इलामका सबै आदरणीय नेता कमरेडहरूप्रति आभारी छु। इलामबाट राष्ट्रिय सन्देश प्रवाह गर्ने गहिरो सङ्कल्पका साथ अहोरात्र खट्नुहुने नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी, नेपाल परिवार दलका आदरणीय नेता तथा कार्यकर्ताहरूप्रति आभार व्यक्त गर्दछु । 

म उम्मेदवार बन्दै गर्दा आफ्नो जिन्दगीको उर्वर समय पार्टीको विकास, विस्तार र आन्दोलनका लागि खर्चिनुभएका इलामका आदरणीय नेताहरूको भावनालाई शिरमा राखेको छु । उहाँहरूको कष्टसाध्य सङ्घर्ष, अभूतपूर्व त्याग र असाधारण योगदानप्रति सधैँ नतमस्तक छु । उहाँहरूप्रति असाध्यै ऋणी छु । 

हाम्रो सपना र सङ्कल्पलाई जनताका बिचमा प्रवाह गरिदिनुहुने सबै सञ्चारकर्मीहरू, निर्वाचन सम्पन्न गराउने कार्यका लागि मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षाकर्मीहरू र कर्मचारी मित्रहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु ।

गएको एक महिनायता सफलताको सङ्कल्प बोकेर निर्वाचनमा खटिने पार्टी कमरेडहरू, मत दिनकै लागि प्रवास, काठमाडौँदेखि समेत आइपुग्नुभएका प्रियजनहरूप्रति कृतज्ञ छु ।  स–शरीर इलाम उपस्थित हुन नसके पनि प्रवास र देशभरिबाट विभिन्न माध्यमबाट मलाई शुभकामना व्यक्त गर्नुहुने एवं प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दछु । 

अन्तमा, फेरि पनि भन्छु, ‘हाम्रा अग्रजहरूले परिवर्तनको आन्दोलनमा गौरवमय इतिहास निर्माण गर्नुभएको छ । त्यही गरिमा र गौरवलाई बचाइराख्दै अब समृद्धिको अभियान सुरु गर्नेछौँ ।’ 

हाम्रो समाज इन्द्रेणी जस्तै धेरै रङ मिलेर बनेको छ । सात रङ मात्रै मिलेको इन्द्रेणी त त्यति राम्रो छ, अझ हाम्रो देश त सयौँ जातजाति, भासाभासी, धर्म, संस्कृति र भूगोलका जनता मिलेर बनेको छ । हाम्रो राष्ट्र गानले भने जस्तै यो सयौँ थुङ्गा फूलहरू मिलेर बनेको माला जस्तै छ । यो विविधता हाम्रो सम्पदा हो, हाम्रो शक्ति हो । विविधतायुक्त पहिचान हाम्रो साझा सम्पत्ति, अजस्र शक्ति र सामर्थ्य हो । इलामको निर्वाचनमा यही भावना प्रतिबिम्बित भएको मैले पाएको छु । हाम्रो सप्तरङ्गी समाजको शक्तिलाई थप बलियो र दरिलो बनाएर समृद्धिको बाटोमा मुलुकलाई लैजाने ऐतिहासिक जिम्मेवारी हाम्रो हो । 

इमान र निष्ठाको साथ मन, वचन र कर्मले लाग्ने वाचाको साथ फेरि पनि सबैप्रति आभार र धन्यवाद १ 

१८ वैशाख २०८१

इलाम 

उही तपाईँहरूको स्नेही

सुहाङ नेम्वाङ

पशुपतिनाथको भेटी चोर्ने आठ जनाको समूह पक्राउ

काठमाडौं । पशुपतिनाथको मन्दिरको भेटी चोरी गर्ने आठ जनाको समूह पक्राउ परेको छ । मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्नेहरु पक्राउ परेको पशुपति क्षेत्र विकास कोषले जनाएको हो । पक्राउ पर्नेहरुमा कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली र कुमार दमाई रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पनि प्रहरीले जनाएको छ । यस्तै पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कका एक कर्मचारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । मन्दिरको भेटी गन्दा चोरी गर्दै गरेका उनीहरुलाई सिसि क्यामेराबाट हेरेर रंगेहात पक्राउ गरिएको हो । पक्राउ परेका अनिल परियारले कोषाध्यक्ष नारायण सुवेदीको निर्देशनमा रकम लुकाउने गरेको बयान दिएका छन् । दैनिक तीन हजारदेखि १५ हजार रुपैयाँसम्म लुकाउने गरेको पनि उनले बताएको प्रहरी स्रोतले जनाएको छ ।

काठमाडौंको थलीमा भेटिएको शव भक्तपुरका कृष्ण नगरकोटी

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मंगलबार बिहान बेवारिशे अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ। प्रहरी वृत्त बौद्धका अनुसार उक्त शव भक्तपुर–७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी भएको खुलेको हो। प्रहरीले शवसँगै भेटिएको सवारी चालक प्रमाण पत्रका आधारमा परिचय यकिन भएको जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । म‌गलबार बिहान थलीको उकालोमा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको अवस्थामा उनको शव फेला परेको थियो। घटनास्थलमा ब्लेडसमेत फेला परेको थियो।

कुरिनटारमा ट्रकले माइक्रो बसलाई ठक्कर दिँदा १३ जना घाइते

काठमाडौं । चितवनको कुरिनटारमा ट्रकले माइक्रो बसलाई ठक्कर दिँदा १३ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा केही यात्रु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।  गम्भीर घाइतेलाई चितवनको पुरानो मेडिकल कलेजमा र सामान्य घाइतेहरुलाई कुरिनटारकै सहकारी अस्पतालमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । कुरिनटारबाट मुग्लिन जाँदै गरेको माइक्रोलाई मंगलबार बिहान ट्रकले ठक्कर दिएको हो । ट्रक चालकलाई मुग्लिन प्रहरीले नियन्त्रणमा लिएको छ। उनी सकुशल छन् ।

काठमाडौँको थलीमा पुरुष मृत फेला

काठमाडौँ । काठमाडौँको थलीमा एकजना पुरुष मृत अवस्थामा भेटिएका छन्। थलीबाट साँखुतर्फ जाने उकालोमा करिब ५५ वर्षका पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए। घटनास्थलमा भक्तपुरको छालिङ्ग ठेगाना भएका कृष्ण नगरकोटीको लाइसेन्स फेला परेको छ। प्रहरी वृत्त बौद्धका डीएसपी राजु पाण्डे नेतृत्वको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। 

लोकप्रिय