सिमलताल पहिरो: भेटिएका दुबै मृतक भारतीय नागरिक

सिमलताल पहिरो: भेटिएका दुबै मृतक भारतीय नागरिक

चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–७ स्थित नारायणी नदी किनार तथा चितवनको भरतपुर–२८ गोलाघाटमा भेटिएका दुवै पुरुषको शवको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले गैंडाकोटमा भेटिएको शव भारत बेतिया मझेलिया थाना, गुठिया ईन्दु घर भएका ३० वर्षका सजाद अन्सारीको भएको जनाएको छ । प्रहरीका अनुसार उनका दाजु मेराज हुसेनले शवको सनाखत गरेका हुन् ।

उनी कलंकीमा ब्यवसाय गरेर बस्ने गरेका थिए । उनी वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसका यात्रु रहेको प्रहरीले जानकारी दिएको छ । उनको शव मुचुल्का गरेपछि पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ ।

यस्तै पश्चिम चितवनको भरतपुर–२८ गोलाघाटमा आइतवार बिहान भेटिएको अर्को शव पनि भारतीय नागरिककै भएको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले मृतक व्यक्ति ३० वर्षीय भारतीय नागरिक जयप्रकाश ठाकुर रहेको जानकारी दिएको छ ।

भारत बिहार पश्चिम चम्पारण बेतियाथाना बस्ने ठाकुरको शव उनका दाइ ओमप्रकाश ठाकुरले सनाखत गरेको प्रहरीको भनाई छ ।

ठाकुर काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बसका यात्रु थिए ।

यही असार २८ गते बिहान भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा आएको पहिरोले दुईवटा बस बगाएको थियो । काठमाडौंबाट गौर जाँदै गरेको बसमा ३८ र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा २७ यात्रु रहेको अनुमान रहेको छ । तीमध्ये काठमाडौंबाट रौतहट जाँदै गरेको बसका ३ यात्रुले मात्रै पौडिएर ज्यान बचाएका थिए ।

वेपत्ता भएकाहरुमध्ये अहिलेसम्म ५ जनाको मात्र शव भेटिएको छ । पाँचै जनाको सनाखतसमेत भैसकेको छ । शनिवार ३ जनाको र आज २ जनाको मात्रै शव भेटिएको हो ।

यसअघि शनिवार दिउँसो भरतपुर–२८ गोलाघाटमा भारतीय नागरिक ऋषि पल साह र पूर्वी नवलपरासीको गैंडाकोटमा चितवनको माडी नगरपालिका–१ का विकास परियार र सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझीको भएको पुष्टि भएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले अन्य बेपत्ता भएकाहरुको खोजी जारी राखेको छ । 

प्रतिपक्षी दलहरुले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं । विपक्षी दलहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएका छन्। बाढीपहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराएर अल्पकालीन र दीर्घकालीन योजनासहित पुनर्स्थापना र पुनर्निर्माणमा लाग्न सरकारसँग माग गर्दै प्रमुख प्रतिपक्ष दल माओवादी, प्रतिपक्ष दलहरू रास्वपा, एकीकृत समाजवादीलगायतका दलहरूले ज्ञापनपत्र बुझाउन लागेका हुन् । माओवादी उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल सम्मिलित कार्यदलले ज्ञापनपत्रको मस्यौदा टुंग्याएको छ । विज्ञले वेलैमा सचेत गराउँदा पनि सरकारको लापरबाहीले जनधनको ठुलो क्षति भएको निष्कर्षसहित विपक्षी दलहरूले पीडितलाई तत्काल राहत उपलब्ध गराउन ज्ञापनपत्र बुझाउन लागेको जनाएका छन् । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने विपक्षी दलहरूको तयारी छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा गत शुक्रबार बसेको विपक्षी दलहरूको बैठकले सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।

आज जुम्लामा जनसभाको तयारी, अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुहुने

जुम्ला ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनसभालाई सम्बोधन गर्न आज जुम्ला पुग्नुभएको छ । उहाँले सिंजा क्षेत्रको कनकासुन्दरीमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  नेकपा माओवादी केन्द्र जुम्लाका अनुसार खस भाषा र सभ्यताको केन्द्र सिंजाको कनकासुन्दरीमा अवलोकन तथा जनसभालाई सम्वोधन गर्ने कार्यक्रम तय भएको छ । नेकपा माओवादी केन्द्र जुम्लाका अध्यक्ष नवराज न्यौपानेका अनुसार कनकासुन्दरीको गोरुचौरमा जनसभाको तयारी हुँदैछ । जिल्ला ईन्चाज नरेश भण्डारीका अनुसार अध्यक्ष प्रचण्डले अहिले राराको अवलोकन गरिरहनुभएको छ । 

भ्रष्टाचारको जगमा बनेको ओली सरकार ढाल्नैपर्छः लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको ढोकाबाट प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस भएको आरोप लगाएका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ गरी पोखरा पुर्‍याइएका लामिछानेले कास्की जिल्ला अदालतमा उपस्थित हुने क्रममा ओलीले जनतालाई सधैँ दुःखमा राखेर र आफूलाई डेढ वर्ष लगाएर झुटो मुद्दामा फसाएको बताए । उनले सरकार नढलेसम्म ओलीले निर्दोष मान्छे फसाउँदै जाने भएकाले सरकार ढल्नुपर्ने तर्क पनि गरे । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले भने, ‘मलाई जस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने देशमा सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो । म फेरि पनि भन्छु – न्याय अदालतको एकदमै धेरै विश्वास गर्छु ।’ आफू अदालती प्रक्रियामा सघाउन आएको लामिछानेले बताए । उनले थपे, ‘यिनीहरूको यो वर्चस्व र राज्यसत्ता कब्जा गर्ने, आफ्ना मान्छे भर्ने र जनतालाई सधैँ दुःखमा राख्ने अन्तिम लडाइँ हो । राम्रो मान्छे फसाउने यिनीहरूको सत्ता अब अन्त्य हुनुपर्छ । पोखरामा भएका र देश विदेशबाट नेपाली नागरिकहरू एक भएर सरकारको विरोध गर्न अनुरोध गर्छु ।’

रास्वपा प्रदर्शनमाथि प्रहरी हस्तक्षेप, पानीका फोहरा र अश्रुग्याँस प्रहार

पोखरा। स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि प्रहरीले पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का नेता कार्यकर्तालाई हटाउन खोज्दा तनाव सिर्जना भएको छ । पार्टीका सभापति रवि लामिछानेलाई 'राजनीतिक प्रतिशोध' मा समातिएको भन्दै रास्वपाका नेता कार्यकर्ताले सहिद चोकमा प्रदर्शन गरेका छन् । निषेधित क्षेत्रबाट प्रदर्शनकारीलाई हटाउन प्रहरीले पानीको फोहरा हानेको छ । केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ । त्यस्तै अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ । सहिद चोकआसपास र गैह्रापाटनआसपास क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।

लोकप्रिय