पार्टी फुटेपछि बल्ल मन्त्रिको जिम्मेवारी लिए अहिरले
काठमाडौं । लुम्बिनी प्रदशमा जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले कृषिमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।
मुख्यमन्त्री जोखबहादुर महरासँग भएको छलफलपछि उनले सोमबार मन्त्रालयमा गएर काम सुरु गरेका हुन् ।
२५ चैतमा मन्त्री नियुक्त भएका अहिरलाई मुख्यमन्त्रीले ६ वैशाखमा कृषि मन्त्रालयको जिम्मेवारी सुम्पिएका थिए । सरकार गठनका क्रममा जसपालाई दुई वटा मन्त्रालय दिने लिखित सहमति भए पनि एउटा मन्त्रालय मात्र दिएको भन्दै जसपाले सरकार छाड्ने निर्णय गरेपछि अहिरले ९ वैशाखमा राजीनामा दिए ।
मुख्यमन्त्रीले असन्तुष्टि सम्बोधन गर्दै जाने वचन दिएपछि फेरि पदभार सम्हाल्न तयार भएको उनले बताए । ‘
जनता समाजवादी पार्टी आइतबार साँझ विभाजन भएको छ । अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । मन्त्री अहिरले आफु कुन पक्षमा बस्ने भनेर अहिले कुनै निर्णयमा नपुगेको बताएका छन् ।
प्याब्सन दाङकाे अध्यक्षमा न्याैपाने
दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङकाे अध्यक्षमा निर्मल न्याैपाने विजयी भएका छन् । आइतबार भएकाे प्याब्सन दाङकाे १६ओैँ अधिवेशनबाट न्याैपाने अध्यक्षमा निर्वाचित भएका हुन् । न्याैपाने ६२ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी विजयमान जिएमले ५६ मत लिएका थिए । कुल १५७ मतमा ११८ मत खसेकाे थियाे । त्यस्तै बरिस्ठ उपाध्यक्षमा बिरेन्द्र चन्द विजयी भएका छन् । चन्दले ६० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी गिरीराज डाँगीले ५८ मत लिएका थिए । उपाध्यक्षमा शाेभाखर भुसाल, सचिवमा आदिम केसी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै काेषाध्यक्षमा हरि वली ६० मतका साथ निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी पाेषण न्याैपानेले ५८ मत लिएका थिए । सहसचिवमा कृष्णप्रसाद पाेख्रेल, सहकाेषाध्यक्षमा बिमल अधिकारी निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा विजय गाैतम, हरि प्रसाद पाैडेल, सुनिल गाैतम, केश कुमार खड्का, बामदेव शर्मा, पार्वता भुसाल, पुष्करदेव चाैधरी, गाेविन्द खनाल, दिपक पाेख्रेल र विष्णु हमाल निर्विरोध निर्वाचित भएका छन् ।
रामेछापमा जुनारको उत्पादन बढेपछि किसान खुसी
रामेछाप । मन्थली र रामेछाप नगरपालिकाकाका विभिन्न वडामा जुनार पाकेर पहेँलपुर भएपछि बिक्री गर्न थालिएको छ । रामेछाप नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनी, वडा नम्बर ७ को सुकाजोर र मन्थली नगरपालिकाको वडा नम्बर ४ सालु र वडा नम्बर १३ र १४ फुलासीमा भएका बगैँचामा जुनार पाकेर पहेँलपुर भएपछि बिक्री थालिएको हो । गत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन बढेको किसानले बताएका छन् । जुनारका लागि यस वर्ष उपयुक्त हावापानी भएका कारण तथा किसानले नियमित प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिन प्रयोग गर्न पाएपछि जिल्लाको जुनार उत्पादन पनि बढेको छ । मन्थली र रामेछाप नगरपालिकामा लगाइएको बगैँचाबाट मात्र यस वर्ष २२ करोड ७५ हजार बराबरको जुनार बिक्री हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाकी प्राविधिक भवानी बस्नेतले बताइन् । परियोजनाका अनुसार गत वर्ष बगैँचाबाट १९ करोडको मात्र जुनार बिक्री भएको थियो । पन्ध्र रोपनी क्षेत्रफलमा आफूले गरेको व्यावसायिक जुनार खेती राम्रो भएकाले गत वर्षको तुलानमा ५० प्रतिशत नै बढी उत्पादन भएको रामेछाप नगरपालिका–६ ओख्रेनीका किसान हिमाल तामाङले बताए । अघिल्लो वर्ष दुई लाख ५० हजारको जुनार बिक्री गरेको भए पनि यस वर्ष भने तीन लाख ५० हजार बराबरको जुनार बिक्री गर्ने योजना रहेको तामाङले बताए । ओख्रीनीकै दिलमाया तामाङले पनि आफूले सात रोपनी क्षेत्रफलमा लगाएको जुनार गत वर्षको तुलनामा ४० प्रतिशत भन्दा बढी उत्पादन भएको बताइन् । ओख्रेनीका अर्का किसान शेरबहादुुर तामाङले पनि आफूले २० रोपनीभन्दा बढी जग्गामा गरेको जुनार खेतीको उत्पादन गत वर्षको तुलनामा ३५ प्रतिशतले बृद्धि भएको बताए । ओख्रेनीका मात्र नभइ सुकाजोरका रामकुमार कार्की र ज्ञानुका कार्कीको बगैँचामा पनि जुनार पहेँलपुर भएको छ । पुरुष मात्र होइन, जुनार उत्पादनमा महिलाको पनि त्यत्तिकै बढी सकृयता रहेको छ । जुनारको बगैँचाभित्र भटमास, तोरी, लसुन, प्याज, काउली जस्ता कोसेबाली र तरकारी बाली लगाएर छुट्टै आम्दानी गर्न सकिने हुनाले जुनार किसानले दोहोरो फाइदा लिने गरेका छन् । ओख्रेनीकै युगराज पाख्रिन, डेगराज तामाङलगायत किसानको बगैँचामा रहेको जुनारको उत्पादन पनि बढेको उनीहरूले बताएका छन् । रामेछाप नगरपलिकामा बढी जुनार उत्पादन हुने क्षेत्र हिमगङ्गा, रापमुर सुकाजोर, ओख्रेनी, गोठगाँउ र रामेछाप हो । रामेछाप नगरपालिकाका बाली संरक्षण अधिकृत कृष्ण भुजेलले वडाहरूमा गत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन झण्डै ५० प्रतिशतले वृद्धि भएको बताए ।
राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनीको अध्यक्षमा बस्याल
बाँके । राष्ट्रिय दलित पत्रकार संघ नेपालको लुम्बिनी प्रदेश अधिवेशनबाट बाँकेका टेकेन्द्र बस्यालको अध्यक्षतामा लुम्बिनी प्रदेशको कार्य समिति निर्वाचित भएको छ । जसको बरिष्ठ उपाधयक्षमा लोकेन्द्र सुनार (प्युठान), उपाध्यक्षहरु कृष्ण दर्नाल (पाल्पा) र भरत नेपाली (रोल्पा), सचिव अनिल नेपाली (अर्घाखाँची), सहसचिवहरुमा विवेक विश्वकर्मा (रुपन्देही) र अमृतकुमार नेपाली (दाङ) तथा कोषाध्यक्षमा बिधुत्मा रैका (बाके) रहनुभएको मछ । सदस्यहरुमा जगलाल नेपाली (रुपन्देही), सिग्मति रैका (नवलपरासी), रामबहादुर गन्धर्व (कपिलवस्तु), रामसरण रैदाश (कपिलवस्तु), रावन बिश्वकर्मा (बर्दिया) र अनिता नेपाली (बाके) निर्वाचित हुनुभएको छ ।
भरतपुर वडा नम्बर ६ बालमैत्री वडा घोषणा
चितवन । भरतपुर वडा नम्बर ६ लाई बालमैत्री वडा घोषण गरिएको छ । एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा बालमैत्री वडा गर्नुभयो । भरतपुर ६ बालमैत्री वडा घोषण भएसँगै भरतपुरका ५ वटा वडा बैलमैत्री घोषणा भएका छन् । यस अघि भरतपुर १४, १३, २३ र २१ घोषणा भइसकेको छ । भरतपुरलाई आथिर्क वर्ष २०८३ /०८४ मा पूर्ण बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको छ । बालमैत्री वडा तथा नगर घोषणा गर्न ५१ वटा सूचकहरु तय गरिएको छ । त्यसमध्ये बालमैत्री घोषणा कार्यविधि अनुसार केही सुचक सत प्रतिशत र केही ८० प्रतिशत पुरा भए घोषणा गर्न मिल्ने व्यवस्था छ । यसका ४ वटा खम्बा रहेका छन् । सहभागिता, विकास, संरक्षण, बाच्न पाउने अधिकार रहेका छन् । यी सूचकहरु पुरा भएकाले वडा नम्बर ६ लाई बालमैत्री वडा घोषाणा गरिएको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिनुभयो । वि.सं.२०७६ सालमा भरतपुर–१४ लाई बालमैत्री वडा घोषणा गरिएको थियो। भरतपुरलाई बालमैत्री नगर बनाउन २०६८ सालदेखि नै अभियान थालिएको हो। भरतपुर महानगरपालिका प्रमुख दाहालले सिङ्गो महानगरपालिकालाई बालमैत्री महानगरपालिका घोषणा गर्ने अभियान जारी रहेको उल्लेख गर्नुभयो । उहाँले बालबालिकाको शिक्षा स्वास्थ्य लगायतका कुरामा आफुहरु लागिपरेको भन्दै अभिभावक पनि जिम्मेवार भएर लाग्न अुरोध गर्नुभयो । अपाङ्गता भएका बालबालिकाहरुको शिक्षाका लागि छुट्टै स्रोत कक्षा समेत सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । महानगरपालिकामा सडक बालबालिका समेत नरहेको उहाँले जानकारी दिनुभयो । भरतपुरमा बालबालिकाविरुद्ध हुने सबै खाले हिंसाहरु, यातनाहरु, भेदभाव, शोषणबाट मुक्त गराई सभ्य, सुन्दर र समृद्ध महानगर बनाउन प्रतिवद्ध रहेको उहाँको भनाई छ। उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा कायम राख्न सबै पक्षले विशेष चासो र चिन्ता लिनुपर्ने बताउनुभयो । अधिकारीले महानगरपालिका पूर्वाधार विकाससँगै सामाजिक र मानव अधिकारका विषयमा त्यतिकै ध्यान दिएको बताउनुभयो । घोषणा गर्ने तर व्यवहारमा फरक हुने परम्परा रहेको भन्दै सबै वडावासी जिम्मेवार बन्नु पर्ने बताउनुभयो । बालमैत्री घोषणासँगै थप चुनौती र जिम्मेवारी थपिएको उहाँको भनाई छ । कार्यक्रम वडा अध्यक्ष कृष्णलाल श्रेष्ठको अध्यक्षतामा भएको हो।