तनहुँमा समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौती
तनहुँ । तनहुँका तीन ठुला सडक आयोजना निर्माण सुरु भएको लामो समय भएपनि सम्पन्न गर्न नसक्दा चुनौती थपिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण सुरु गरिएका यहाँका तीन सडकलाई समस्याग्रस्त आयोजनामा राखिएको छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको बजेटबाट सुरु गरिएका जिल्लाका तीन सडकलाई पूर्वाधार विकास कार्यालय तनहुँले समस्याग्रस्त आयोजनाका रूपमा राखेको कार्यालय प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए ।
तिवारीका अनुसार आँबुखैरेनी छिम्केश्वरी सडक, दुलेगौडा हर्कपुर सडक र भानुमार्ग चन्द्रावती पिलिगार्ग, कुन्छा कालीमाटी सडकलाई समस्याग्रस्त आयोजनाका रूपमा राखिएको छ । उक्त सडक सम्पन्न हुन नसक्दा समस्या भएको उनले उल्लेख गरे । उनले भने, “लामो समयदेखि निर्माण सुरु भएर पनि समयमै काम सम्पन्न हुन नसकेका यी आयोजनामा काम सम्पन्न गराउन खबरदारी गर्दै आएका छौँ ।”
आँबुखैरेनी छिम्केश्वरी सडक (पहिलो खण्ड) कालोपत्रका लागि विसं २०७६ मङ्सिर ६ गते सम्झौता भएको थियो । विसं २०७८ फागुन १३ गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद भए पनि पटक–पटक म्याद थप गरिएको कार्यालयले जनाएको छ । उक्त सडकको अन्तिम विसं २०८२ असोजसम्म थियो ।
प्रमुख तिवारीका अनुसार उक्त सडकको भौतिक प्रगति ९१ प्रतिशत र वित्तीय प्रगति ८९ प्रतिशत भएको छ । उक्त सडकका लागि रु ३६ करोड पाँच लाख ५० हजार पाँच सय १५ मा एमएस शर्मा काष्ठमण्डप जेभी बल्खुसँग सम्झौता भएको थियो । १६ किलोमिटर लम्बाइ उक्त सडकका लागि रु ३१ करोड ९२ लाख ९७ हजार चार सय ४२ भुक्तानी भइसकेको छ । गत आर्थिक वर्षमा उक्त सडकका लागि रु तीन करोड ५० लाख बजेट विनियोजन भएको थियो ।
भानुमार्ग चन्द्रावती पिलिमार्ग कुन्छा कालिमाटी सडक निर्माणका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । सम्झौता अनुसार विसं २०७८ माघ १५ गते सम्पन्न गर्नुपर्ने थियो । तर उक्त खण्डमा पनि पटक पटक म्याद थप गरिएको छ । हाल उक्त सडकको म्याद विसं २०८२ चैतसम्म थप भएको छ ।
१० दशमलब १२ किलोमिटर उक्त खण्डमा हालसम्म ५० प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको छ ।
रु २३ करोड दुई लाख ८० हजार छ सय ६१ को लागतमा एमएस शङ्करमालि निर्माण सेवा प्रालिसँग सम्झौता भएकामा रु दश करोड ११ लाख एक हजार सात सय ५० भुक्तानी भएको छ । गत आर्थिक वर्षमा उक्त सडकका लागि रु तीन करोड ५० लाख बजेट विनियोजन गरिएको थियो ।
यस्तै एमएस शङ्करमाली निर्माण सेवाले नै ठेक्का पाएको दुलेगौडा हर्कपुर सडकको काम पनि अलपत्र छ । उक्त सडक स्तरोन्नतिका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । विसं २०७८ माघ १५ मा सकिनुपर्नेमा उक्त खण्डको म्याद पनि पटक पटक थप भएको छ । हाल विसं २०८२ चैत प्रस्ताव गरिएको पूर्वाधारा विकास कार्यालयले जनाएको छ ।
उक्त सडकमा ५० प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको छ । हालसम्म रु १३ करोड चार लाख ११ हजार सात सय ५३ भुक्तानी भएको छ । गत आर्थिक वर्षमा उक्त सडकका लागि रु दुई करोड बजेट विनियोजन भएको थियो ।
१० दशमलब १८ किलोमिटर सडक स्तरोन्नतिका लागि रु २५ करोड ९९ लाख दुई हजार आठ सय ९५ मा सम्झौता भएको थियो । शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ ।
दुई वर्षमा कालोपत्रे हुनुपर्ने सडक सात वर्षसम्म पनि भएन
बागलुङ । दक्षिण बागलुङको ‘लाइफलाइन’ का रूपमा रहेको कुश्मीसेरा–बरेङ–शान्तिपुर सडकको पहिलो खण्ड कालोपत्रे नहुँदा यस क्षेत्रका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको छ । पहिलो खण्डमा पर्ने कुश्मिसेरा–राङ्खानी खण्डको १० किलोमिटर सडक निर्माण कम्पनीको ढिलासुस्तीका कारण कालोपत्रे हुन नसकेको हो । विसं २०७६ असोजमा २४ गते शर्मा/क्याराभान जेभीले दुई वर्षमा सक्ने गरी जिम्मा पाए पनि अहिलेसम्म कालोपत्रे नगर्दा यात्रा र सामान ढुवानीमा समस्या भएको छ । विसं २०७८ असोजसम्म कालोपत्रे गरिसक्नुपर्ने सडक हालसम्म जम्मा ७८ प्रतिशत काम सकिएको छ । गण्डकी प्रदेश सरकारको रु २४ करोड ५८ लाख लागतमा कालोपत्रको काम अगाडि बढाइएको थियो । निर्माण कम्पनीले सुरुदेखि नै काम गर्न आनाकानी गर्दै आएको पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर प्रकाश श्रीसले बताए । अहिले मूल्य वृद्धिको बहाना बनाएर काम रोकेको उनको भनाइ छ । काम सम्पन्न गर्नका लागि ताकेता गरे पनि अटेर गरिरहेको श्रीसले बताए । उनका अनुसार हालसम्म निर्माण कम्पनीले पाँच पटक म्याद थप गरेको छ । अन्तिम पटक थपिएको म्याद गत चैत ४ गते सकिएको इन्जिनियर श्रीसले जानकारी दिए । अब म्याद थप गर्ने कि सम्झौता अन्त्य गर्ने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । निर्माण कम्पनीले हालसम्म काम गरेको भुक्तानी भने लगी सकेको उनी बताउँछन् । इन्जिनियर श्रीसले भने, “काम सक्नका लागि धेरै पटक तातेका गरेका गर्यौँ, तर निर्माण कम्पनीले सुन्दै सुनेनन्, सरासर काम गरेको भए पाँच वर्ष अगाडि नै सकिनु पर्थ्यो तर अहिलेसम्म कामले राम्रासँग गति लिएको छैन, काम त पहिलेदेखि गरी रहेको थिएन, अहिले महङ्गीका कारण काम गर्न सकिएन भन्छ ।” उक्त सडकको राङखानी–बरेङ खण्ड भने दुई वर्ष अगाडि नै कालोपत्रे भइसकेको छ । निर्माण कम्पनी लामो समय सम्पर्कविहीन हुँदै आएको थियो । सडक कालोपत्रे हुने आशमा सात वर्ष बितिसकेको जेमिनी नगरपालिका–१० राङखानीका भक्तबहादुर थापाले बताए । गाउँको सडकमा दैनिक गाडी गुड्दा हिउँदमा धुलो र वर्खामा हिलो घरभित्रै आउने गरेको उनले गुनासो पोखे । “यो बाटो पिच हुन्छ, हुन्छ भनेको पनि धेरै वर्ष भयो, अहिलेसम्म जस्ताको त्यस्तै छ, हिउँदभरि बाटोको धुलो उडेर भान्छाकोठा मै आउँछ, बारीका तुलफूल पनि धुलैधुलो हुन्छन्”, थापाले भने, “वर्खामा बाटोको भल सबै बारीमा पसेर दुःख दिने गरेको छ, यसको समाधान कहिले हुने रैछ कुन्नि ?” स्थानीय पुष्पा श्रीसले सडकको दुरावस्थाका कारण सामान ढुवानी र यात्रा गर्न निकै कठिन हुने गरेको बताए । गाडीवालाले अप्ठ्यारो सडक देखाएर छोटो दूरीमा पनि बढी भाडा लिने गरेको उनको भनाइ छ ।
रुकमपश्चिममा काम गर्ने गोपाल, झुटको खेती गर्ने जनार्दन
रुकमपश्चिम । रुकुम पश्चिम निर्वाचन क्षेत्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा राजनीतिक रंग चर्किरहेको छ। विकासका काम र त्यसको श्रेयको बहस पनि चुनावी माहोलमा तातिरहेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता तथा उम्मेदवार जनार्दन शर्माले हेलिकोप्टरमार्फत डोजर खसालेर सडक निर्माण गरेको दाबी गर्दै आफैंलाई श्रेय दिन खोजेका छन्। तर स्थानीय स्रोत र पूर्व प्रशासनका विवरणले स्पष्ट पारेका छ कि रुकुम पश्चिममा सडक निर्माण, खानेपानी, विद्यालय र स्वास्थ्य चौकीजस्ता विकासका वास्तविक कामहरू गोपाल शर्माले गरेका हुन्। उनि नेपाली कम्युनिस्ट पार्टीका (नेकपा) का उम्मेदवार पनि हुन् । कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले भने, “म अर्थमन्त्री हुँदा बजेटको व्यवस्था गरेर गाउँ–गाउँमा सडक निर्माण अघि बढाइएको हो। कठिन भूगोल र सीमित स्रोतको बाबजुद पनि स्थानीय आवश्यकताअनुसार सडक निर्माण भएको थियो। प्रचारभन्दा कामलाई प्राथमिकता दिइएको कारण आज सडक देखिन्छ।” स्थानीय नेताहरू र स्रोतका अनुसार २०७८ सालमा आठबिसकोट–चैतिखारा–बारिङ्गे सडक निर्माणका लागि हेलिकोप्टरमार्फत डोजर ढुवानी गरिएको थियो। तर त्यसको भाडा ठेकेदारहरूसँगको समझदारी र कमिसनबाट तिरेको थियो, जनार्दनले कुनै आर्थिक योगदान नगरी अवास्तविक प्रचार गरेर आफैंलाई श्रेय लिन खोजेका थिए। नेकपाका नेता हरिभक्त खड्काले भने, “हेलिकोप्टरमार्फत डोजर ढुवानी गर्दा हाम्रो टोलीले ज्यान जोखिममा राख्यो। त्यसको भाडा ठेकेदारहरूसँगको सम्झौताबाट तिरेको हो। जनार्दनले आफैंलाई श्रेय दिन खोज्नु लज्जास्पद छ।” स्थानीयवासीहरूले पनि विकास कार्यमा गोपाल शर्माको सक्रियता र अनुगमन देखिरहेका छन्। बजेट व्यवस्थापनदेखि कार्यान्वयन, उपभोक्ता समितिसँग समन्वय र समस्या समाधानसम्म उनी प्रत्यक्ष संलग्न रहँदै आएका छन्। रुकुम पश्चिममा विकास र प्रचारको बहसले मतदातालाई सचेत बनाएको छ। कार्य गर्ने व्यक्ति र प्रचार गर्ने नेता अलग देखिनु निर्वाचन नजिकिँदै गर्दा अझै बढी ध्यानाकर्षक विषय बनेको छ। गलत प्रचार गर्नतिर लागेकाे जनार्दनकाे मानसिक हार भइसकेकाे र गाेपालकाे जित सुनिश्चित भएकाे स्थानीय विश्लेषकहरुकाे भनाइ छ ।
बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्रिय राजमार्ग विस्तार गर्ने आयोजना अघि बढेको एक वर्ष हुन लाग्दा आवश्यक नदीजन्य सामग्री र माटोको अभाव देखिएको हो । संरचना निर्माणका कामले गति लिए पनि नदीजन्य सामग्री अभाव हुँदा काम प्रभावित भएको छ । आयोजनाका लागि करिब ३० लाख घनमिटर नदीजन्य सामग्री आवश्यक रहेकामा हालसम्म करिब पाँच लाख ८० हजार घनमिटर मात्रै प्राप्त भएको आयोजना कार्यालयले जनाएको छ । बुटवलदेखि कपिलवस्तुको बेल नदीसम्म करिब ५० किलोमिटर सडकलाई दुई भागमा विभाजन गरी निर्माण भइरहेको छ । आवश्यक नदीजन्य सामग्रीका लागि स्रोतको खोजी भइरहेको निर्र्माण कम्पनीका इन्जिनियर राजकुमार श्रेष्ठले जानकारी दिए । उनले यसक्षेत्रका स्थानीय तहहरुलाई सम्भावित स्रोतको खोजी गर्न सहयोगको अनुरोध गरे । बुटवलदेखि रुपन्देहीको सैनामैना सालझण्डीदेखि कपिलवस्तुको सीमावर्ती क्षेत्र कोठी नदीसम्म पहिलो भागको रुपमा सडक विस्तार भइरहेको छ । यो खण्डमा मात्रै आठ लाख ७१ हजार घनमिटर नदीजन्य सामग्री आवश्यक पर्ने इन्जिनियर श्रेष्ठले बताए । हालसम्म यहाँ जम्मा ६३ हजार घन मिटर मात्रै सैनामैना नगरपालिकाको पहलमा प्राप्त भएको छ । अरु सामग्रीका लागि बुटवल उपमहानगरलगायतसँग आग्रह गरे पनि सुनिश्चित हुन सकेको छैन । यही खण्डमा माटो भर्नका लागि आवश्यक आठ लाख ७९ हजार घन मिटर माटोमध्ये हालसम्म २७ हजार घन मिटर मात्रै सङ्कलन भएको छ । हालै पाल्पाको तिनाउ गाउँपालिकासँग एक लाख घन मिटर माटो उत्खनन गर्ने सम्झौता भएपछि केही सहज भएको आयोजनाका साइट इन्जिनियर अशोक पौडेलले बताए । यही खण्डको चार किलोमिटर क्षेत्रमा माटो भर्ने काम भइरहेको छ । २५ किमीको खण्डमा ६७ वटा ‘बक्स कल्भर्ट’मध्ये ३७ वटाको निर्माण अन्तिम चरणमा पुगेको, दुईवटा ‘एनिमल क्रसिङ’ लगभग सम्पन्न भइसकेको, १२ वटा ठूला पुलमध्ये अधिकांशमा पाइलिङसहितको काम अन्तिम चरणमा पुगेको र छ वटा बक्स ब्रिजमध्ये दुई स्थानमा निर्माण भइरहेको आयोजना कार्यालयका प्रमुख इन्जिनियर कुशलता न्यौपानेले जानकारी दिए । सो खण्डमा आवश्यक १९ हजार प्रिकास्ट नाली निर्माण पूरा भइसकेको छ । पाँच वटा ‘भेहिकल अण्डरपास’ को काम सुरु भइसकेको छ । यस भागअन्तर्गतको सडक खण्डमा हालसम्म करिब १७ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ ।
नारायणगढ–बुटवल सडक विस्तार आयोजना: भौतिक प्रगति ७६ प्रतिशत
नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक म्याद थप गरिएको समयसीमाभित्र नै काम सम्पन्न गर्ने लक्ष्यका साथ अहिले कामलाई गति दिइएको छ । उनका अनुसार पछिल्लो पटक थप भएको म्याद २०८३ असारमा सकिन्छ । हाल उपलब्ध गराएको समयसीमामा काम सम्पन्न गराउनका लागि आफूहरू लागेको सूचना अधिकारी खनालले बताए । उनका अनुसार अहिले पूर्वी खण्डमा काम गर्न बाँकी रहेका सबै जसो क्षेत्रमा धमाधम काम भइरहेको छ । गैँडाकोटको जय श्री पुल, चोरमारा बजारको पुल, अरुणखोला पुल र दुम्किबासमा कालोपत्रको काम बाँकी रहेको छ । अन्य क्षेत्रमा कालोपत्रको काम सकिएको छ । लामो पुलमा चोरमारा र अरुणखोला मात्र सञ्चालनमा आउन बाँकी रहेकाले सो क्षेत्रमा समेत काम चलिरहेको सूचना अधिकारी खनालले बताए । कालोपत्र सकिएको बजार क्षेत्रमा सर्भिस लेनको कालोपत्र गर्ने काम समेत चलिरहेको छ । त्यसबाहेक सडकबीचको डिभाइडर सफा गर्ने, यस अघि तोकिएकोभन्दा पातलो कालोपत्र गरिएको स्थानमा थप कालोपत्र गर्ने कार्य जारी राखिएको छ । पूर्व खण्डमा दाउन्ने क्षेत्रमा समेत प्राथमिकता दिएर काम अघि बढाइएको छ । दाउन्ने क्षेत्रमा कल्भर्ट निर्माण अन्तिम चरण रहेको उहाँले बताए । चैतसम्ममा काम सक्नेगरी कल्भर्ट निर्माणसहित सडक ढलानको काम चलिरहेको उनले बताए । “दाउन्नेमा कामलाई गति दिएका छौँ, चैतसम्ममा आयोजनाको बाँकी चौध प्रतिशत कामसमेत सकिन्छ”, सूचना अधिकारी खनालले भने । नारायणगढ–बुटवल सडक विस्तार विसं २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साल साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालि काम सुरु गरेको थियो । नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न भएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको थियो । अहिले चौथो पटक म्याद थप गरेर काम अघि बढिरहेको छ । एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ । ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नको चौध किलोमिटर क्षेत्रमा तीन लेनको सडक निर्माण हुनेछ ।

