अग्रजहरुको अनुभव नयाँ पिँढीलाई आवश्यक छ : अध्यक्ष दाहाल

अग्रजहरुको अनुभव नयाँ पिँढीलाई आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वसांसदहरुको अनुभव र क्षमता नयाँ पिँढीका सांसदलाई आवश्यक रहेको बताएका छन्।

पूर्वसांसद मञ्च नेपालको २४औँं वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले मञ्च संसदीय अनुभवको कारखाना भएकाले नयाँ पिँढीका सांसदलाई आवश्यक रहेको धारणा राखेका हुन। संसद्को प्रभावकारिता बढाउन अग्रजहरुको अनुभव नयाँ पिँढीलाई प्रदान गर्नुपर्नेमा उनले जोड दिए।

 ‘लामो संसदीय अनुभव र क्षमतावान् व्यक्तित्व रहेको पूर्वसांसद मञ्चले दिने सुझाव संसद्, सरकार र राष्ट्रका लागि महत्वपूर्ण हुने कुरामा दुई मत छैन’,अध्यक्ष दाहालले भने, ‘मञ्चले सङ्घीय संसद्लाई सल्लाह सुझाव र आवश्यक परामर्श दिँदै आएको छ, यसले संसद्को प्रभावकारितामा महत्वपूर्ण सहयोग पुगेको महसुस गरेको छु।’ संविधान निर्माणको बेलामा मञ्चले खेलेको भूमिकाबारे चर्चा गर्दै उनले आगामी दिनमा मुलुकमा राजनीतिक जटिलता आएमा सकारात्मक परिणामका लागि अनुभवी तथा पुराना सांसदहरुको सक्रियता र सुझाव आवश्यक हुने बताए।

नेपाली जनताको त्याग, तपस्या र बलिदानका कारण मुलुकले नयाँ संविधान पाएको चर्चा गर्दै अध्यक्ष दाहालले अहिलेको संविधानलाई केन्द्रमा राखेर सबै एकजुट भई अगाडि बढ्नुपर्ने धारणा राखे। दलीय आग्रहबाट माथि उठेर राष्ट्रसामु देखा परेका समस्या समाधानमा साझा धारणा बनाउने पूर्वसांसद मञ्चको कार्यशैलीबारे प्रशंसा गर्दै उनले समयानुकूल संस्थाको विश्वसनीयतालाई बढाउँदै लैजानुपर्नेमा जोड दिए।

नेपालको छ दशक लामो संसदीय इतिहासमा राजनीतिक फेरबदल र उतारचढाव धेरै भएको उल्लेख गर्दै राष्ट्रियसभा अध्यक्ष दाहालले संसदीय इतिहासमा पूर्वसांसद मञ्च संसद्को परामर्शदातृ संस्थाका रुपमा रहेको बताए।अहिले पनि सङ्घीय संसद्का दुवै सदनले नियमावलीमा परामर्श सेवा दिने संस्थाका रुपमा मञ्चलाई लिएको उनको भनाइ छ। कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाटसहित राष्ट्रियसभा र प्रतिनिधिसभाका पूर्वसदस्यहरुको सहभागिता थियो। 

सहमतिबाटै नेतृत्व चयन हुन्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने बताएका छन् । बिहीबार काठमाडौंमा पार्टीका शीर्ष तहका नेताहरूसँग छलफल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।  पार्टीको महाधिवेशनमा महासचिव घनश्याम भुसालले अध्यक्षमा दाबी गरेका थिए । वार्तापछि सहमतिबाटै नेतृत्व टुंगो लाग्ने निष्कर्षमा पुगेको पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष नेपालले बताए ।  “छलफल चलिरहेको छ । सर्वसम्मत नेतृत्व चयन हुन्छ । पहिलो महाधिवेशन हुँदै छ, दोहोरिने होइन,” अध्यक्ष नेपालले भने ।  अध्यक्ष नेपालले महाधिवेशन पार्टीको पहिलो भएकाले अध्यक्षमा दोहोरिने नभई नयाँ नेतृत्व चयन हुने उल्लेख गरे ।

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक मध्याह्न सवा १२ बजेबाट सुरु हुनेछ ।  बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत  वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालयका विनियोजित शिर्षकहरूमध्ये छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजित शिर्षकहरूमा छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र परराष्ट्र मन्त्रालयका विनियोजित शिर्षकहरूमा छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।     

एकीकृत समाजजादीका मन्त्रीले राजीनामा नदिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) बाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । नेकपा एसबाट सरकारमा सहभागी भएका दुई जना मन्त्रीहरुले राजीनामा नदिने भएका हुन् ।  नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्रीलाई आफ्नो पार्टीको विश्वासको मत रहेको भन्दै पार्टीका मन्त्रीहरुले राजीनामा नदिने बताए । एकीकृत समाजवादी सहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन सहित २ मन्त्रालय लिएर सरकारमा सहभागी छ । सहरी विकास  मन्त्रालयमा धन बहादुर बुढा र सामान्य प्रशासन मन्त्रालयमा भानुभक्त जोशी छन् । सरकार फेरबदलसँगै नेकपा एमालेका मन्त्रीहरुले राजीनामा बुझाएका छन् भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । त्यसैगरी रास्वपाका मन्त्रीहरुले पनि बिहीबार राजीनामा बुझाउने तयारी गरेका छन् । 

रास्वपा महामन्त्री ढकाल पदबाट निलम्बन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं प्रवक्ता मुकुल ढकाल पदबाट निलम्बन भएका छन् ।  बुधबार बसेको केन्द्रीय समितिको बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनका लागि निलम्बन गरेको हो । केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटासँग परामर्श गरेर ढकाललाई सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले बताए । केन्द्रीय समितिले सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र आफुलाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी समेत दिएको झाले बताए । साथै, ढकालको गतिविधिका सम्बन्धमा यथोचित कारवाहीको सिफारिससहितको प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन समेत दिइएको उनको भनाई छ । बुधबारको केन्द्रीय समिति बैठकमा बोल्न नपाएको भन्दै मुखमा कालो टेप लगाएर बसेका ढकालले आफूलाई ‘ह्यारेसमेन्ट’ गरिएको भन्दै बैठक बहिस्कार गरेका थिए । पत्रकारहरुसँग उनले पार्टी सभापति रवि लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । लामिछानेले हिजो गोर्खा मिडियामा भएको गलत कामको दोष जीबी राईलाई लगाएको र अहिले पार्टीमा आफूलाई दोष थुपारेर उम्किन खोजेको ढकालले बताएका थिए । उनले भनेका थिए, ‘मैले चाहिँ कहिल्यै गल्ती गर्दिन भन्ने व्यवहार सभापतिले देखाउनुभएको छ ।’ उनले अगाडि भनेका थिए, ‘जब उहाँ पत्रकार हुनुहुन्थ्यो तब नेता दोषी, जब नेता हुुनुहुन्थ्यो, तब पत्रकार दोषी, जब उहाँ प्रतिपक्ष हुनुहुन्थ्यो, तब सत्तापक्ष दोषी, जब सत्तापक्ष हुनुहुन्थ्यो, तब प्रतिपक्ष दोषी यो प्रकारको व्यवहार चित्तबुझ्दो भएन ।’

लोकप्रिय