नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको १२औँ स्मृति दिवस
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १२औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। नेपालको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका कर्माचार्यको सम्झनामा आज ललितपुरको बगलामुखी, कुम्भेश्वरमा रहेको उनको सालिकमा माल्यार्पण गरिएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माल्यार्पण गरी स्मृति दिवसको औपचारिक शुभारम्भ गरेका छन्।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आज ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक विचार गोष्ठीको आयोजना गरेको छ। अपराह्न १२:३० बजे सुरु हुने यो गोष्ठीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कम्युनिस्ट नेताहरू मोहन वैद्य, मोहनविक्रम सिंह, युवराज ज्ञवाली, अनिल शर्मा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रतिष्ठानका कार्यवाहक अध्यक्ष गिरिराजमणि पोख्रेलले पत्रकार सम्मेलनमार्फत वर्षभरि आयोजना गरिने कार्यक्रमहरू सार्वजनिक गरेका छन्। यी कार्यक्रमहरू कर्माचार्यको व्यक्तित्व, उनको सपना र तिनलाई साकार पार्ने योजनामा केन्द्रित रहने बताइएको छ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना २००६ वैशाख १० गते भएको थियो, जसमा कर्माचार्य एक संस्थापक सदस्य थिए। अन्य संस्थापकहरूमा पुष्पलाल श्रेष्ठ (महासचिव), निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोतिदेवी श्रेष्ठ थिए। राणा शासन, सामन्तवाद र साम्राज्यवादविरुद्ध सङ्घर्ष गर्न स्थापित यो पार्टीले नेपालमा कम्युनिस्ट आन्दोलनको जग बसालेको थियो।
कर्माचार्यले मजदुर सङ्गठनको संस्थापक अध्यक्षको भूमिका निर्वाह गरेका थिए। २०१६ सालको निर्वाचनमा उनी ललितपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। साथै, २०१९ सालको तेस्रो महाधिवेशनबाट उनी नेकपाको केन्द्रीय सदस्य बनेका थिए। पार्टी टुटफुट र विभाजनका बाबजुद कर्माचार्यले क्रान्तिकारी व्यक्ति र समूहलाई एकीकृत गर्न निरन्तर पहल गरे। २०३१ सालमा नेकपा चौमको केन्द्रीय सदस्य, २०४८ मा एकता केन्द्रको केन्द्रीय सदस्य र जीवनको अन्तिम समयसम्म उनी नेपाल कम्युनिस्ट पार्टीको संरक्षकको भूमिकामा सक्रिय रहे।
कर्माचार्यलाई चरित्रवान, सामाजिक र लोकप्रिय व्यक्तित्वको रूपमा लिइन्छ। उनको सादा जीवन र उच्च विचारले कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण प्रभाव पारेको छ। उनले नेपाली समाजमा सामाजिक न्याय, समानता र मजदुर वर्गको उत्थानका लागि अथक प्रयास गरे।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत कर्माचार्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले कर्माचार्यको योगदानलाई स्मरण गर्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाउन उनको प्रेरणा अझै जीवन्त रहेको उल्लेख गरे।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना २००६ सालमा भएको थियो, जुन समयमा राणा शासनको दमनकारी नीतिहरूविरुद्ध सङ्घर्ष आवश्यक थियो। ७० वर्षभन्दा लामो इतिहास बोकेको यो आन्दोलनले नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको छ। यद्यपि, पार्टीभित्र समय-समयमा देखिएका टुटफुट र वैचारिक मतभेदले आन्दोलनलाई कमजोर बनाएको इतिहास पनि छ।
आजको विचार गोष्ठीले नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था र भविष्यका चुनौतीहरूलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ। कर्माचार्यको स्मृति दिवसले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन र उनको सपनालाई साकार पार्न नयाँ प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।
रवि लामिछानेविरुद्ध आरोपपत्र संशोधन विवाद: रिट आज पूर्ण इजलासमा सुनुवाइ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दामा आरोपपत्र संशोधनसम्बन्धी निर्णयविरुद्ध दायर रिट निवेदनको सुनुवाइ आजका लागि तोकिएको छ। सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर जोडिएको मुद्दामा आरोपपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालय को निर्णयविरुद्ध परेको रिट आज सर्वोच्च अदालत को पूर्ण इजलासमा पेशीमा राखिएको हो। यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासले २०८२ चैत १५ गते आदेश जारी गर्दै उक्त विवादमा गम्भीर संवैधानिक तथा कानुनी व्याख्या आवश्यक देखिएको भन्दै पूर्ण इजलासमा पठाएको थियो। संयुक्त इजलासले ‘थप प्रमाण’को व्याख्यामा अस्पष्टता र गलत अर्थ लाग्ने सम्भावनालाई औँल्याउँदै यस विषयमा विस्तृत व्याख्या आवश्यक रहेको जनाएको छ। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ अनुसार ‘थप प्रमाण फेला परेमा’ मात्र अभियोग संशोधन गर्न मिल्ने व्यवस्था छ। तर, यस प्रकरणमा प्रतिवादी स्वयंले दिएको निवेदन वा स्वघोषणालाई ‘थप प्रमाण’का रूपमा मान्न मिल्ने कि नमिल्ने भन्ने विषयमा कानुनी प्रश्न उठाइएको छ। त्यसैगरी, जिल्ला अदालतको क्षेत्राधिकारभित्र पर्ने विषयमा सर्वोच्च अदालतले हस्तक्षेप गर्न मिल्ने वा नमिल्ने भन्ने प्रश्नसमेत उठेको छ। आरोपपत्र संशोधनको अन्तिम अनुमति दिने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुने भएकाले, जिल्ला अदालतले निर्णय नगर्दै सर्वोच्च अदालतबाट हस्तक्षेप गर्न मिल्छ कि मिल्दैन भन्ने प्राविधिक तथा संवैधानिक विषयमा पनि पूर्ण इजलासले टुंगो लगाउने अपेक्षा गरिएको छ।
हुम्लाको विकासलाई राष्ट्रिय प्राथमिकतामा राख्न डा. दीपेन्द्र रोकायाको ६४ बुँदे ज्ञापनपत्र
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डा. दीपेन्द्र रोकायाले हुम्ला जिल्लाको समग्र विकासलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्न माग गर्दै सरकारलाई ६४ बुँदे ज्ञापनपत्र बुझाएका छन् । हुम्ला एक समय राज्यको केन्द्रमा रहेको ऐतिहासिक तथ्य स्मरण गराउँदै निरन्तरको उपेक्षाका कारण आज दुर्गमताको प्रतीक बनेको उनले उल्लेख गरेका छन् । “अब सामाजिक न्यायको आधारमा सबैभन्दा पछाडि परेको हुम्लालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,” उनले भनेका छन् । डा. रोकायाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हुम्लालाई ठोस र परिणाममुखी ढङ्गले सम्बोधन गर्नुपर्ने माग गर्दै प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयमा यो ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा कर्णाली करिडोरअन्तर्गत पिलु–तुम्च, तुम्च–छार्या, छार्या–सिमकोट र सिमकोट–हिल्सा खण्डको स्तरोन्नति, प्रत्येक गाउँसम्म राष्ट्रिय प्रसारण लाइन विस्तार र सबै पालिका केन्द्र हुँदै सीमावर्ती हिल्सासम्म अप्टिकल फाइबर पुर्याउने प्रस्ताव गरिएको छ । त्यस्तै, हिमाली क्षेत्र विकास प्राधिकरण स्थापना, हिल्सामा क्वारेन्टाइन तथा यारीमा सुक्खा बन्दरगाह निर्माण गरी हुम्लालाई क्षेत्रीय व्यापार र आवागमनको केन्द्र बनाउने, कर्णाली–१ र कर्णाली–२ जस्ता ठूला जलविद्युत् आयोजनामा सहजीकरण गर्ने, साना जलविद्युत् आयोजनालाई राष्ट्रिय ग्रिडमा जोड्ने र सिमकोटलाई सौर्य ऊर्जामार्फत लोडसेडिङमुक्त बनाउने प्रस्ताव समेत अघि सारिएको छ । कैलाश–मानसरोवर दृश्यावलोकन केन्द्र निर्माण, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, नयाँ पदमार्ग तथा चलचित्र छायाङ्कन स्थल विकास गरी हुम्लालाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्नुपर्नेमा पनि जोड दिइएको छ ।
विद्यार्थी संगठनहरूलाई स्कुल–कलेजमा प्रतिबन्ध लगाउन पाइँदैन : नेपाली कम्युनिष्ट पार्टी
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले विद्यार्थी संगठनहरूलाई स्कुल वा कलेजमा प्रतिबन्ध लगाउन नपाइने निष्कर्ष निकालेको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका नेता जगन्नाथ खतिवडाले बैठकको निष्कर्षबारे जानकारी दिँदै भने, “जनसंगठनहरू, खासगरी विद्यार्थी संगठनहरूलाई कलेजमा प्रतिबन्ध गर्ने र ट्रेड युनियनलाई प्रतिबन्ध गर्ने कुरा बेठिक हो । यसले जनता र ट्रेड युनियनका अधिकारलाई कुण्ठित गर्छ । यो गलत हो । यस्तो गर्न पाइँदैन । हामी यसको विपक्षमा उभिन्छौं ।” सरकारले आफ्नो १०० बुँदे कार्यसूचीमा विद्यार्थी संगठनहरू खारेज गर्ने विषय उल्लेख गरेपछि विभिन्न राजनीतिक दल र संगठनहरूले विरोध जनाउँदै आएका थिए । नेकपाले पनि यो निर्णय गलत भएको ठहर गर्दै विद्यार्थी तथा जनसंगठनहरूको अधिकार रक्षाको पक्षमा उभिने स्पष्ट गरेको छ । नेता खतिवडाका अनुसार केन्द्रीय कार्यसंयोजन समितिको अर्को बैठक आगामी ३ वैशाखमा बस्नेछ । उक्त बैठकका बाँकी निष्कर्ष र निर्णयहरू पनि त्यसबेला सार्वजनिक गरिने छन् ।
संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलको आज पहिलो बैठक
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को पहिलो बैठक आज बस्दै छ । बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा यो कार्यदल गठन गरिएको थियो । कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल पनि सदस्यका रूपमा छन् । कार्यदलको सदस्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदी रहेका छन् ।

