देश र जनताका हितमा सरकारले एतिहासिक काम गरेको छ : प्रधानमन्त्री प्रचण्ड

'श्रीलङ्का नै बन्दैछ, भन्ने भाष्य चिरेर अर्थतन्त्रलाई लयमा फर्काएका छौं'

देश र जनताका हितमा सरकारले एतिहासिक काम गरेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन्। नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले देश र जनताका हितमा राम्रा काम मात्र गर्ने प्रण गरेको बताएका हुन्।

“मैले पदभार ग्रहण गर्दा भनेको थिएँ, देश र जनताको हितमा राम्रा कामहरू मात्रै गर्नेछु र सरकारी संयन्त्रलाई पनि राम्रा कामहरू मात्रै गर्न निर्देशित गर्दछु,” प्रधानमन्त्री प्रचण्डले भने, “यस अवधिमा सरकारबाट भएका कामहरूलाई हेर्ने हो भने इतिहासले नै सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन् ।”

सङ्कटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा राम्रो सुधार आएको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाल श्रीलङ्का नै बन्दैछ, भन्ने भाष्य चिरेर अर्थतन्त्रलाई लयमा अघि बढाइएको बताए। 

“शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति, विप्रेषण आय, राजस्व सङ्कलनमा सुधार आएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “अर्थतन्त्रका सूचकाङ्कहरू सकारात्मक दिशातर्फ उन्मुख छन् । वित्तीय नीति र मौद्रिक नीतिमा एकरूपता ल्याई लगानीमैत्री वातावरण सिर्जना गरिएको छ।”

पछिल्लो समय बैंकको ब्याजदर घटेको, लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको र सार्वजनिक संस्थान व्यवस्थापनमा सुधार आएको उल्लेख गर्दै उनले पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुँदा पर्यटन क्षेत्रमा उत्साह थपिएको बताए।

सरकारले चालेको सुशासनका कार्यहरूबारे प्रधानमन्त्री प्रचण्डले भने, “नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कार्वाही, सुनकाण्डको निष्पक्ष छानविनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास भएको छ ।”

मिटरब्याज पीडितहरूको पक्षमा उठाइएका कदम, नागरिकताविहीन नेपाली नागरिकका सन्तानहरूका लागि नागरिकता ऐन निर्माण र नागरिकता प्रदान जनताको पक्षमा महत्त्वपूर्ण काम भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले  राहादानी, सवारी चालक अनुमतिपत्रजस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम र सामाजिक न्यायको क्षेत्रमा महत्त्वपूर्ण काम भएको बताए। 

उनले देशभरिका ५५ लाखभन्दा बढी विद्यार्थीका लागि यसपटक पनि समयअगावै पाठ्यपुस्तक पुर्‍याइएको, किसानहरूका लागि समयमै रासायनिक मलको प्रबन्ध भएको, बिपन्न र असहाय नागरिकका लागि अस्पतालमा दुई हजार ९ सय निःशुल्क शैया तथा गैरआवासीय नेपालीहरूका लागि आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच दश वर्षमा दश हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुनु, बङ्गलादेशसँग पनि विद्युत् बिक्रीको सहमति हुनु र देशभित्र विद्युत् उत्पादनमा जोड दिनुले देशको आर्थिक भविष्य उज्वल रहेको छ भन्ने स्पष्ट भएको बताए। 

राहदानी विभागको सेवा ठप्प

काठमाडौँ । केही दिनदेखि राहदानी आवेदन प्रणाली अवरुद्ध हुन पुगेको छ । राहदानी विभागले राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरूमा भाइरस प्रवेश गरेकाले यसको फैलावट रोक्न पर्याप्त सतर्कता अपनाउनु पर्ने भएकोले जिल्लारईलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियोगहरूको राहदानी सेवा बन्द गर्नु परेको जनाएको छ ।  विभागले एक सूचनामार्फत उक्त स्थानहरूमा सेवा क्रमशः कार्य प्रारम्भ हुँदै जाने गरी व्यवस्था मिलाइएको र पूर्ण रूपमा कार्य प्रारम्भ हुन १–२ हप्तासम्म लाग्न सक्ने जनाएको छ ।  विभागले समस्या समाधान गर्दै २ दिन भित्रमा नयाँ आवेदन फाराम भर्नका लागि भने बुकिङ खुला गरिने छ ।‘भाईरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाईएको तथा आवेदकको तथ्याङ्क पूर्ण सुरक्षित रहेको बेहोरा अनुरोध गर्दै धैर्यता अपनाउनका लागि विभाग अनुरोध गर्दछ’, सूचनामा भनिएको छ।  सेवाग्राहीलाई पर्नजाने असुविधाप्रति आफूहरु संवेदनशील रहेको भन्दै विभागले यथाशीघ्र समस्या समाधानका लागि आवश्यक सम्पूर्ण कार्यहरू गरिरहेको जनाएको छ । 

रविलाई अझै १५ दिन हिरासतमा राख्न अनुमति

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

नेता राईको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भयो : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य पदम राईको निधनबाट नेपाली कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ । राइप्रति माओवादी केन्द्रको पार्टी कार्यालयमा अन्तिम श्रद्धान्जली दिने क्रममा शोक वक्तव्य मार्फत  श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले भन्नुभयो 'हाम्रो पार्टी कमरेड पदमबहादुर राईप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ। उहाँको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति हुन पुगेको छ । शोकको यस घडीमा आम पार्टीपंक्ति र जनसमुदायमा शोकलाई शक्तिमा बदल्न हाम्रो पार्टी हार्दिक अपील गर्दछ ।' 'हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कमरेड पदमबहादुर राईको ५८ वर्षको उमेरमा २०८१ मंसिर ८ गते बेलुकी ६ बजेर ३० मिनेट जाँदा वीर अस्पताल काठमाडौंमा निधन भएको खबरले हाम्रो सिङ्गो पार्टी मर्माहत भएको छ। यस शोकको घडीमा हाम्रो पार्टी दिवंगत कमरेड पदमबहादुर राई प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । उहाँ केही वर्ष यता पाकिन्सन्स रोगले बिरामी भई उपचारत हुनुहुन्थ्यो । कमरेड पदमबहादुर राईको जन्म २०२३ साल पुष १५ गते भोजपुर जिल्ला षडानन्द नगरपालिका १४ साविक बोया गाविसमा बुबा लालबहादुर राई र आमा दौलती राईको कोखबाट भएको थियो । उहाँका दुई दाजु, १ भाई र ६ जना दिदीहरु हुनुहुन्छ। उहाँको श्रीमती जमुना राई, छोरा सन्देश राई र छोरी सामना राई हुनुहुन्छ । उहाँले विद्योदय मा.वि.भोजपुरबाट एसएलसी उत्तीर्ण गरी त्रिभुवन विश्वविद्यालय अन्तरगत जनता क्याम्पस सुनसरीबाट स्नातक तहसम्मको अध्ययन गर्नुभएको थियो,' उहाँले भन्नुभयो। राई २०४६ सालबाट अनेरास्ववियु छैटौंको सदस्यता प्राप्त गरी विद्यार्थी संगठनको इकाई र जिल्ला समिति हुदै तेह्रौ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य, २०४७ सालमा पार्टी सदस्यता प्राप्त गरी पार्टीको स्थानीय इकाई हुँदै २०५२ सालमा सुनसरी मोरङ जिल्ला पार्टी सदस्य, भोजपुर जिल्ला सचिव हुँदै २०५६ मा भोजपुर(तेह्रथुम(संखुवासभाको इन्चार्ज, २०६१ सालमा जनमुक्ति सेनाको ब्रिगेड कमिसार, पार्टी केन्द्रीय समिति सदस्य हुँदै विगतमा पार्टी पोलिट्व्यूरो सदस्य बन्नुभएको थियो । उहाँले २०६३ को अन्तरिम व्यवस्थापिका संसदको सदस्य तथा भौतिक योजना राज्यमन्त्री, २०६४ सालको संविधानसभा निर्वाचनमा भोजपुर जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएको थियो ।

काठमाडौंमा भ्रष्टाचारीहरुको र्‍याली देख्न परेको छ  :  विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौंमा भ्रष्टाचारीहरुले र्‍याली गरेको देख्न परेको बताउनुभएको छ । नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले सरकार भ्रष्टाचारीहरुले कब्जा गरेर सडकमा समेत भ्रष्टाचारीहरुले नै प्रर्दशन गर्ने गरेको बताउनुभएको हो । सो क्रममा उहाँले केपी ओली नेतृत्वको सरकार एक रातमै ढल्न सक्ने बताउनुभयो ।हिजो प्रचण्डले दिनैपिच्छे आफ्नो सरकार नढल्ने दाबी गरे पनि रातारात ढलेको उदाहरण दिँदै उहाँले ओली सरकार राति नै ढल्ने जनताले भनिरहेको विप्लवले बताउनुभयो । ‘हिजो प्रचण्डले दिनैपिच्छे सरकार ढल्दैन भन्नुहुन्थ्यो । आज ओलीको कामै सरकार ढल्दैन भनिरहनुभएको छ । जनतालाई के लागेको छ भने यो सरकार राति ढल्न सक्छ । वर्षैपिच्छे सरकार बनेका बनेका छन् । वर्तमान ओली सरकार पनि कति दिन टिक्ने हो ? देशलाई भ्रष्टाचारीले कब्जा गर्न सक्छन् । यस्तो पाराले देशको विकास कहिले हुन्छन्’, उहाँले भन्नुभयो।  नेपालमा अवैध ढंग्गले सामानहरु ल्याउने गतिविधि भैरहेको बताउनुभयो । उहाँले बिआरआई जस्तो विकासको योजना ल्याउन हुँदैन भन्ने तर विदेसी सेनालाई नेपालमा आमन्त्रण गर्ने खालका एमसिसि, एसपीपी जस्ता योजनाहरुलाई स्वागत गर्ने काम गरेको बताउनुहँदै आक्रोश समेत व्यक्त गर्नुभयो ।  उहाँले सरकारसँग गरेको ३ बुँदे सहमतिलाई इमान्दारी पूर्वक कायान्वयनको माग गर्नुभयो । सो सहमति लागु गरेर जेल परेका नेकपाका नेता कार्यकर्ताहरुलाई रिहा गरे आगामी चुनावमा प्रतिस्प्रर्धा गरेर अगाडि बढ्न तयार रहेको उहाँले बताउनुभयो ।

लोकप्रिय