अहिलेको सरकार बिचौलियाले बनाएको भ्रष्टाचारीहरुको सरकार हो: प्रचण्ड

‘२०६४ कै हाराहारीमा हैसियत प्राप्त गर्ने वातावरण बन्दैछ’

अहिलेको सरकार बिचौलियाले बनाएको भ्रष्टाचारीहरुको सरकार हो:  प्रचण्ड

काठमाडौं, ८ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार बिचौलियाहरुले बनाएको भ्रष्टाचारीहरुको सरकार भएको बताउनुभएको छ। शनिवार पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले गरेको भेलालाई सम्बोधन गर्दै यस्तो ठोकुवा गर्नुभएको हो ।

सरकारले भ्रष्टाचारविरुद्ध एकपछि अर्को फाइल खोल्दै, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका कार्यक्रम अघि बढाउँदै लैजाँदा दलाल र बिचौलियाहरुमा आतंक सुरु भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘३२ सिटको माओवादीले हामीलाई चुनौती दियो भनेर उनीहरु सरकार हटाउनतर्फ लागे । बाहिर हेर्दा त कांग्रेस र एमाले बसेर सरकार हटाएको जस्तो देखिन्छ तर भित्र दलाल, बिचौलिया र कमिसनखोरहरुले ती दलहरुलाई आफ्नो प्रतिनिधिको रुपमा सिंगारपटार गरेर पठाएका हुन् । अहिलेको सरकार बिचौलियाहरुले बनाएको भ्रष्टाचारीहरुको सरकार हो ।’

पछिल्लोपटक आफ्नो नेतृत्वको सरकारले परिवर्तनलाई संस्थागत गर्दै भ्रष्टाचारविरुद्ध युद्धको शंषघोष गरेकोे उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘जबसम्म भ्रष्टाचारलाई यो देशबाट निर्मूल गर्न सकिदैन, जनता र राष्ट्रको समृद्धि संभव छैन भन्ने तथ्यलाई मनन गरेर नै भ्रष्टाचारीमाथि कारवाही अभियान सुरु गरिएको हो ।’

चाहे नक्कली भुटानी शरणार्थी होस्, चाहे ललिता निवास र बाँसबारीको भूमाफियाको कुरा होस्, चाहे मिटरब्याजीको कुरा होस्, चौतर्फीरुपमा देखिएका भ्रष्टाचार, बेथिति र अपचलनविरुद्ध प्रहार गर्दै श्रमिक जनतालाई सामाजिक सुरक्षा कोषमा संगठित गरेर श्रमिक र उनीहरुका सन्तानको भविष्य सुनिश्चित गर्ने तथा लाखौं नागरिकताविहीन युवालाई नागरिक प्रदान गर्ने महत्वपूर्ण थालनी गरिएको आफ्नो कार्यकालमा गरिएको उहाँले स्पष्ट गर्नुभयो ।

सरकारबाट बाहिरिदै गर्दा मैले एउटा विजेताको रुपमा आफूलाई उच्च मनोबलका साथ प्रस्तुत गरेको छु, हामी कुनै काण्ड बोकेर फर्केनौं बरु कयौं काण्डका फाइलहरु खोलेर फर्केका छौं’– उहाँले भन्नुभयो– ‘यही नैतिक र जनबलमा हामी नयाँ अभियानको नेतृत्व गर्ने छौं ।’ आफ्नो दोस्रो कार्यकालमा लोडसेडिङमुक्त गराएर उज्यालो नेपाल बनाएको स्मरण गराउँदै उहाँले अँध्यारोमा बस्दा भ्रष्टाचार बढी गर्न चाहनेहरुलाई उज्यालो नेपाल मन नपरेको टिप्पणी पनि गर्नुभयो ।

जनताको इच्छा आकांक्षाविपरीत जाने हो भने दुई तिहाइ बहुमतले केही हुँदैन भन्ने भर्खरै बंगलादेशमा देखिएको स्मरण गराउँदै उहाँले ‘हिजो जनयुद्धको दमन गर्ने बेलामा पनि दुई तिहाई थियो, तपाइँहरुले जनयुद्ध रोक्न सक्नुभयो ?’ भन्दै प्रश्न गर्नुभयो । ‘अहिले नेपाली जनताले जुन अधिकार प्राप्त गरेका छन्, माओवादीकै कारण हो, दुई तिहाईवालाका कारण होइन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘अब संविधान संशोधन गर्ने रे, मुलुकलाई पछाडि फर्काउने रे ! हिजो प्रतिगमन हुँदा सडकमा बसेर पलेटी कसेर लोकतन्त्र पुनस्र्थापित गरिएको हो, हाम्रा जनताले पाएको अधिकार खोस्ने दुस्साहस गर्छन् भने फेरि सडकमा जाने तयारीमै छौं, जान्छौं ।’

२०६४ कै हाराहारीमा हैसियत प्राप्त गर्ने वातावरण बन्दैछ’

अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचनमा आफ्नो पार्टीले २०६४ कै हाराहारीमा हैसियत प्राप्त गरेर पहिलो दल बन्ने वातावरण बन्दै गएको बताउनुभयो । उहाँले आफ्नो पार्टी नेतृत्वको सरकारले अघि बढाएको सुशासनको अभियानले पार्टीलाई पुनः जनतासँग नयाँ सम्बन्ध स्थापित गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले पार्टीलाई २०६४ कै हाराहारीमा पुर्याउने सूत्र पनि कार्यकर्ताहरुलाई सुनाउनुभयो । ‘अब हामी २०६४ को निर्वाचनमा मत दिने जनताको घरघरमा जानेछौं, हामीले गर्न सकेका र नसकेका कामको आत्मसमीक्षा गर्दै विभाजन भएर गल्ती गर्यौं अब नयाँ भएर आएका छौं भनेर प्रतिबद्धता व्यक्त गर्ने छौं’– उहाँले भन्नुभयो– ‘२०६४ को निर्वाचनमा मत दिने जनताका छोराछोरी देशभित्र वा बाहिर कहाँ छन् खोजी गरेर उनीहरुको देश र पार्टीप्रतिको बुझाई अनि आफ्नो भविष्यबारे के सोचिरहेका छन्, गहिरो छलफल गर्न हामी सबै लाग्ने छौं।’

त्यस्तै जनयुद्धकालका कार्यकर्ता र जनमुक्ति सेनाको खोजी गरेर उनीहरुका समस्या समाधान गर्दै पुनः नयाँ क्रान्तिमा परिचालनका लागि पार्टी गम्भीरतापूर्वक लाग्ने गरी पार्टीले योजना बनाएको जानकारी दिंदै अध्यक्ष प्रचण्डले आफू देशब्यापी अभियानमा निस्कन थालेको बताउनुभयो । परिवर्तनको महत्वपूर्ण आधार जनयुद्धको महत्वको स्थापित गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘जनयुद्ध दिवसलाई राष्ट्रिय विदा र जनयुद्ध तथा जनआन्दोलनका सहिदलाई राष्ट्रिय सहिदको मान्यता दिने ऐतिहासिक काम पनि हामी अघि अघि बढाएका छौं । चाँडै शान्ति प्रक्रियालाई पूर्णता दिएर हामी नयाँ शिराबाट अघि बढ्ने छौं ।’

पार्टी एकताबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विभाजन भएर गएका पार्टीहरुसँग पनि एकता प्रक्रिया चाँडै सुरु हुने बताउनुभयो । ‘तीन प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसहितको बैठक सकिएको छ’– उहाँले भन्नुभयो– ‘पार्टी पूर्णरुपमा एकताबद्ध छ । हाम्रो पार्टीलाई कसैले फूटाउन सक्दैन बरु फूटेका गएका शक्तिलाई पनि केही समयभित्रै पनि एक बनाएर लगिने छ, एकता वार्ता चलिरहेको छ, छिट्टै एकता हुनेछ ।’

 

 

 

 

नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्छः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्ने बताउनुभएको छ । नेपाल ब्याडमिन्टन संघको आयोजनामा दशरथ रंगशाला त्रिपुरेश्वरमा आजदेखि सुरु भएका अन्तर्राष्ट्रिय प्रतियोगिता योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ र योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ को उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘नेपाल विभिन्न खेलकुद गतिविधिहरूका लागि आकर्षक स्थलको रूपमा लोकप्रिय बन्दै गएको छ । यसले खेलकुद पर्यटनको केन्द्र र प्रमुख गन्तव्य बनाउने सम्भावना बढाउँदै लगेको छ ।’ खेलले विभिन्न क्षेत्र, भाषा, र संस्कृतिका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउने उल्लेख गर्दै उहाँले थप्नुभयो– ‘जसले खेल केवल प्रतिस्पर्धाका लागि नभई विभिन्न देशका खेलाडीहरू बीच सद्भाव, मित्रता, र समझदारीको प्रतीक हो भन्ने गहिरो अर्थ दिन्छ । अन्ततः खेलकुदले राजनीतिक सिमाना भन्दा परको वैश्विक सम्बन्ध निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।’ खेलकुदलाई राष्ट्रको प्रतिष्ठा बढाउन र अर्थतन्त्रलाई अघि बढाउनको लागि महत्वपूर्ण आधार बनाउनुपर्ने उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘म तपाईंलाई स्मरण गराउन चाहन्छु कि मेरो प्रधानमन्त्रीत्वकालमा मैले खेलकुद पूर्वाधार विकास र खेलाडीहरूलाई प्रोत्साहन गर्ने महत्वपूर्ण पहलहरू सुरु गरेको थिएँ । आगामी दिनमा म नेपाली खेलकुद क्षेत्रको विकासमा समर्पित रहनेछु ।’ सरकार र सम्बन्धित निकायहरूले खेल पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै उहाँले यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्नुले नेपाललाई विश्वसँग जोड्ने र हाम्रो विकासलाई सहयोग गर्ने मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।  ब्याडमिन्टन विश्वमै एक लोकप्रिय खेल भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो खेल युवा तथा वृद्ध सबै उमेरका व्यक्तिहरूले खेल्न सक्ने भएकाले नागरिकको स्वास्थ्य र व्यक्तित्व विकासका लागि पनि महत्वपूर्ण रहेको बताउनुभयो । विश्व ब्याडमिन्टन महासंघ जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले सबै उमेर समूहका साथै शारीरिक वा बौद्धिक चुनौती सामना गरिरहेका व्यक्तिहरूको लागि पनि कार्यक्रम आयोजना गर्दै आफ्नो पहुँच बढाएको उल्लेख गर्दै उहाँले यस समावेशिताले खेलको विश्वव्यापी महत्वव र बढ्दो लोकप्रियतालाई झल्काउने बताउनुभयो । ‘म यस्ता प्रयासहरूलाई प्रवद्र्धन गर्न पूर्ण रूपमा प्रतिबद्ध छु । यस्ता ठूला स्तरका अन्तर्राष्ट्रिय कार्यक्रमको आयोजना हाम्रो देशको विकासका लागि महत्वपूर्ण आधार हुन्’– उहाँले भन्नुभयो– ‘हामीले यस्ता उच्चस्तरीय प्रतियोगिताहरूको निरन्तरताका लागि सामूहिक रूपमा काम गर्नुपर्छ र भविष्यमा अझ ठूला कार्यक्रमहरू नेपालमा ल्याउन प्रयास गर्नुपर्छ।’ अध्यक्ष प्रचण्डले प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्राविधिक अधिकारीहरू, चिकित्सकीय टोलीहरू, विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एसिया कन्फेडेरेसनका प्रतिनिधिहरूलाई नेपालमा स्वागत पनि गर्नुभयो । दुबै प्रतियोगितामा गरी पाँच महादेशबाट २२ देशका ३३५ जना खेलाडी सहभागी रहेको आयोजकले जनाएको छ ।   

चिकित्साशास्त्र अध्ययन संस्थानले करारमा माग्यो २६ उपप्राध्यापक(सूचनासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानले करारमा नियुक्त गर्नेगरी २६ जना उपप्राध्यापक मागेको छ। सोमबार सूचना जारी गर्दै संस्थानले २६ जना उपप्राध्यापक करारमा नियुक्त गर्नका लागि दरखास्त आह्वान गरेको हो। हेर्नुहोस् सूचना 

यस्ता छन् मन्त्रिपरिषदका १८ निर्णय

काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठकका  निर्णय सार्वजनिक गरेको छ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूच्ना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले आइतबार नियमित पत्रकार सम्मेलनमार्फत पुस ५ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्नुभएको हो। सरकारले सवारी साधन बिक्री गर्ने व्यवसायीको लागि यातायात व्यवस्था विभाग र इन्भेष्टमेण्ट कम्पनीको लागि नेपाल धितोपत्र बोर्डलाई सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोकेको छ। त्यस्तै सरकारले नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह र प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहरालाई बढुवा गरी क्रमशः नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग र नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा पदस्थापन गरेको छ। यस्ता छन् सरकारका निर्णयः १.सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषको लागि नेपाल राष्ट्र बैंक, सवारीसाधन बिक्री गर्ने व्यवसायीको लागि यातायात व्यवस्था विभाग र इन्भेष्टमेण्ट कम्पनीको लागि नेपाल धितोपत्र बोर्डलाई सम्पती शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोक्ने।  २.प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको परिमार्जित कार्यविवरण स्वीकृत गर्ने। ३.दैलेख–कालिकोट–जुम्ला १३२ केभी प्रसारण लाइनको टावर निर्माणका लागि दैलेख, कालिकोट र जुम्ला जिल्लामा करिव १२ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिने। ४.नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह र प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहरालाई बढुवा गरी क्रमशः नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग र नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने।  ५.खर्ज्याङ प्रहरी चौकी, गुल्मीलाई नेपाल सरकारको नाममा दर्ता रहेको सार्वजनिक प्रकृतिको ५ रोपनी जग्गा प्रयोग गर्न स्वीकृति दिने। ६.एग्रिमेण्ट बिट्विन गभर्मेण्ट अफ नेपाल एण्ड गभर्मेण्ट अफ इण्डिया फर रेगुलेशन फर प्यासेन्जर ट्राफिक बिट्विन द टु कन्ट्रिजको अवधि २४ नोभेम्बर, २०२५ सम्मका लागि नवीकरण गर्ने र सम्झौताको प्रोटोकलको अवधि सम्झौताको अवधिसँग बराबर हुनेगरी नवीकरण गर्ने। ७.तुम्लिङ्गटार सितलपाटी २२० केभी विद्युत प्रशारणलाईन आयोजना निर्माणको लागि संखुवासभा खाँदवारी नगरपालिकामा रहेको राष्ट्रिय वनको २८.४८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने। ८.शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेका सुविधा प्राप्त बाटोको सूचीमा महाँकाल–मुलखर्क–ओखेनी गाउँ ९३.५ किमी थप गर्ने र सवारी साधन र पैदल यात्रुको लागि बाटोको सूचीमा मुलखर्क–झुले–चिसापानी कायम गर्नेगरी नियमावलीको अनुसूची संशोधन गर्न स्वीकृति दिने। ९.भ्याकुरे जलविद्युत आयोजना निर्माणको लागि दोलखाको कालिञ्चोक गाउँपालिकामा रहेको राष्ट्रिय वनको ०।९८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।  १०.गोदावरी बहुउद्देश्यीय रंगशाला निर्माण गर्नको लागि ललितपुरमा रहेको राष्ट्रिय वनको ३।४५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने। १०.अरुण ३ जलविद्युत परियोजनाको ४०० केभी प्रशारण लाइन आयोजना निर्माणको लागि संखुवासभाको चिचिला गाउँपालिका र खाँदवारी नगरपालिकाः उदयपुरको, सुनकोशी गाउँपालिका, तपली गाउँपालिका, उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिका, सिरहाको कर्जन्हा नगरपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको कुल जम्मा २१३।६७ हेक्टर जग्गा प्रयोग स्वीकृति दिने। ११.कलैया उपमहानगरपालिका, बारालाई ४ धुर, बूढानीलकण्ठ नगरपालिका, काठमाडौंलाई ४ रोपनी १२ आना ३ पैसा, बारपाक सुलिकोट गाउँपालिका, गोरखालाई ४ रोपनी ५ आना २ पैसा ३ दाम,  पुनर्वास नगरपालिका, कञ्चनपुरलाई १५ कठ्ठा, एकडारा गाउँपालिका, महोत्तरीलाई ११ कठ्ठा ५ धुर जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने। १२.पोखरिया अस्पताल पर्सालाई ५० शैय्याको अस्पतालमा स्तरोन्नति गरी मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने। १३.कान्ति बाल अस्पताल विकास समितिको अध्यक्ष पदमा श्रीराम सुवेदी, कास्कीलाई मनोनयन गर्ने।  १४.साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने। १५.नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८१ संघीय संसदमा पेश गर्न स्वीकृति दिने। १६.नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने। १७.चिकित्सा शिक्षा आयोगको छैटौं वार्षिक प्रतिवेदन संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसमक्ष पेश गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति दिने। १८.धितोपत्र बजार सञ्चालनको लागि अनुमतिपत्र प्रदान गर्ने सम्बन्धमा गठित अध्ययन समितिको प्राप्त प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने।

रविसँग सम्पत्ति शुद्धीकरणमा २७ करोड बिगो माग दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध २७ करोड रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत कास्कीमा मुद्दा पुगेको छ। सहकारी संस्थाको बचत रकम ठगीसम्बन्धी आरोपमा गत कात्तिक २ गते काठमाडौंको बनस्थलीबाट पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध तीनवटा कसुरमा मुद्दा अघि बढाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माले पूर्वगृहमन्त्री लामिछानेविरुद्ध २७ करोडभन्दा बढीको बिगो मागदाबीसहित मुद्दा अगाडि बढाइएको छ। लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दातर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको निष्कर्षसहित मुद्दा लगिएको हो । गोर्खा मिडिया नेट्वर्कमा उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीको ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँको स्रोत नखुलेको सम्पत्ति भेटिएको निष्कर्षसहित मुद्दा लगिएको छ। उनी गत असोज ६ गते काठमाडौंबाट पक्राउ परेयता ९१ दिनदेखि प्रहरीको हिरासतमा छन् । जिल्ला सरकारी वकिलको कार्यालयले रवि र छविसहित हाल फरार रहेका गितेन्द्रबाबु राई (जीबी) राईको पनि सम्पत्ति जफत गर्न माग गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले रविविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी तीनवटा कसुरमा मुद्दा चलाएको छ। पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा जोशी गत असोज ६ गते र लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । त्यससँगै अन्य तीनजना पनि उक्त प्रकरणमा हिरासतमा छन् । लामिछानेविरुद्ध उनका साझेदार छविलाल जोशी पक्राउ परेको ९१ औँ दिनमा जिल्ला अदालतमा मुद्दा लगिएको हो ।

लोकप्रिय