आन्तरिक राजस्व बढाउन नसक्दा कमजोर बन्दै पर्साका स्थानीय तह
वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक आयबाट रु तीन करोड २६ लाख ६० हजार राजस्व सङ्कलन गर्ने महत्वाकांक्षी योजनासहित बजेट ल्यायो ।
तर, नगरपालिकाले वर्षभरिमा आन्तरिक तर्फको आयबाट भने मुस्किलले लक्ष्यको ३१ दशमलव ७३ प्रतिशत अर्थात् रु एक करोड तीन लाख ६५ हजार ९ सय ९० रकम मात्रै राजस्व सङ्कलन गर्न सक्यो ।
पछिल्लो समय स्थानीय तहले आफ्नो आन्तरिकतर्फको आय र करको दायरा बढाउन नसक्दा पर्सासहितका मधेस प्रदेशका पालिकाहरू आर्थिक रूपमा दरिलो बन्नुको सट्टा झन–झन् कमजोर भइरहेका छन् । पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद साहले नगरपालिकाको आन्तरिकतर्फको आयस्रोत कम हुँदा पनि पर्याप्त मात्रामा आन्तरिकतर्फको राजस्व सङ्कलन गर्न नसकेको बताए ।
“कर उठाउने सीमित स्रोतसाधन हुँदा पनि लक्ष्य अनुसारको आन्तरिक आय सङ्कलन गर्न सकिएको छैन,” उनले भने, “करको दर बढाउँदा स्थानीयले विरोध गर्ने भएकाले पनि करको दायरा बढाउनेतर्फ अग्रसर भइरहेका छौँ ।”
पर्सागढी नगरपालिकाले आव २०८०/८१ मा पनि आन्तरिक आयतर्फबाट रु ६ करोड ७९ लाख ९९ हजार सात सय ७३ राजस्व उठाउने लक्ष्य राखेको थियो । तर, सो वर्ष पनि नगरपालिकाले मुस्किलले रु एक करोड २४ लाख १० हजार एक सय ८२ राजस्व मात्रै आन्तरिक आयबाट उठायो ।
त्यस्तै पर्सागढी नगरपालिकाले आव २०७९/८० मा पनि तीन करोड ७५ लाख ७१ हजार ६२ आन्तरिक आय गर्ने लक्ष्य राखेको थियो । तर, सो वर्ष पनि पालिकाले लक्ष्यभन्दा धेरै न्यून अर्थात् रु ९७ लाख २१ हजार ३९ रकम मात्रै राजस्व उठायो ।
विगतका तीन वर्षमा पर्सागढी नगरपालिका मात्रै नभएर वीरगञ्ज महानगरले पनि अपेक्षाकृत रूपमा आन्तरिकतर्फको आय वृद्धि गर्न सकिरहेको छैन । वीरगञ्ज महानगरले आव २०८१/८२ मा आन्तरिक आयतर्फ रु ८१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर, सो आवको अन्त्यसम्म महानगरले रु ६२ करोड ९३ लाख ८५ हजार तीन सय ४४ रकम मात्रै राजस्व सङ्कलन गर्न सक्यो । गत आव मात्रै होइन, महानगरले आव २०८०/८१ मा पनि ९५ करोड तीन लाख ३२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।
तर, सो आवमा महानगरले रु ६१ करोड ४७ लाख १७ हजार एक सय ३१ रकम मात्रै आन्तरिकतर्फ आय गरेको छ । त्यस्तै महानगरले आव २०७९/८० मा आन्तरिक आयतर्फ रु ६० करोड ७६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा सो आवमा भने रु ५७ करोड एक लाख ७३ हजार दुई सय १ रकम मात्रै आन्तरिक आयतर्फ राजस्व सङ्कलन गर्यो ।
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले महानगरको आन्तरिक आय वृद्धि गर्ने प्रयास गरे पनि अपेक्षाकृत रूपमा राजस्व वृद्धि हुन नसकेको बताए । “हामीले यहाँका जनतालाई करको दायरा बढाउने प्रयास गरिरहेका छौँ । तर, अझै पनि जनता स्वतस्फूर्त रूपमा कर तिर्न आइरहेका छैनन्,” प्रमुख सिंहले भने, “महानगरको आन्तरिकतर्फको आयवृद्धि गर्नका लागि विभिन्न कर तथा राजस्व सम्बन्धित जनचेतनामूलक कार्यक्रम पनि गर्दै आइरहेका छौँ ।”
प्रमुख सिंहले महानगरले विगतमा घर बनाइसकेका नगरबासीलाई नक्शपासको जरिवाना माफी गर्दासमेत नक्शापास गराउन नआउने गुनासो गरे । “वीरगञ्ज महानगर क्षेत्रमा ८० प्रतिशतभन्दा धेरै घर नक्शापासबिनै सञ्चालनमा हुँदै आइरहेका छन् । हामीले बारम्बार नक्शापास गर्नका लागि आह्वान गरिरहेका छौंँ । तर, सर्वसाधारण भने आउन मानिरहनुभएको छैन,” प्रमुख सिंहले भने, “वीरगञ्ज महानगर क्षेत्रमा ९५ प्रतिशतभन्दा धेरै उद्योग/कलकारखाना पनि महानगरमा नक्शापास बिनै सञ्चालन हुँदै आइरहेका छन् । जसले गर्दा पनि आन्तरिक आय वृद्धि हुन सकिरहेको छैन ।”
प्रमुख सिंहले महानगरले फोहर मैला बापतको शुल्क उठाउनको लागि दुई पटकसम्म बोलपत्र आह्वान गर्दा कुनै पनि बोलपत्र नपरेको बताए । “हामीले वार्षिक रु सात करोड राजस्व उठाउने गरी फोहरमैलाको राजस्व सङ्कलनको लागि बोलपत्र आह्वान गरेका थियौँ । तर, दुई पटक बोलपत्र आह्वान गर्दा पनि कसैको नपरेपछि नगरपरिषद्बाट रकम घटाएर फेरि प्रस्ताव आह्वान गर्ने तयारी भइरहेको छ ।”
सङ्घीयता तथा स्थानीय शासनविद् डा खिमलाल देवकोटाले स्थानीय पालिकामा करमा चुहावट र जभाभावी कर छुट दिने प्रवृत्तिको पनि अन्त्य हुनुपर्ने बताए । उनका अनुसार रौतहटको मौलापुर गाउँपालिकामा विद्युत् महसुल छुट दिनेजस्ता गलत खालको अभ्यास भइरहेको छ ।
यस्ता खालका अभ्यासले स्थानीय सरकार आर्थिक रूपमा सवल नभएर झन् कमजोर बन्नेतर्फ पनि ध्यान दिन जरुरी भइसकेको छ । उनले भने, “स्थानीय सरकारले कर तथा राजस्व छुट नै छुट दिने गलत अभ्यास गर्दा स्थानीय सरकारको आन्तरिक आय कसरी सबल हुनसक्छ ?” उनले भने, “स्थानीय सरकारले गलत ढङ्गले कर छुट तथा कर चुहावट गर्ने पालिकालाई सङ्घीय सरकारले उपलब्ध गराउने अनुदानमासमेत रोक लगाएर भए पनि गलत प्रवृत्ति अन्त्य गर्न जरुरी भइसकेको छ । यस्ता कारण स्थानीय सरकारको आन्तरिक क्षमतामा ह्रास आइरहेको छ ।”
स्थानीय सरकारको विशेष गरेर आन्तरिक स्रोत परिचालनमा कमजोरी, कर सङ्कलन प्रणाली कमजोरी, व्यावसायिक गतिविधि र सेवाको दायरा सीमित हुँदा पनि आन्तरिक आयतर्फ कमजोर हुँदै आइरहेका छन् । अहिले स्थानीय तहले विशेष गरेर सम्पत्ति कर, भूमिकर,मालपोत कर, घरबहाल कर, सवारी साधन कर, पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर, अन्य मनोरञ्जन कर, व्यवसाय रजिष्ट्रेशन कर, अखेटोपहारमा लाग्ने कर, सरकारी सम्पत्ती बहालबाट प्राप्त आय, नक्शापास दस्तुर, सिफारिस दस्तुर, व्यक्तिगत घटना दर्ता र प्रशासनिक दण्ड, जरिवाना र जफत बापतको कर लिँदै आइरहेका छन् ।
पर्साको जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले यहाँका पालिकासँग आन्तरिक आय बढाउने स्रोतसाधन निकै न्यून रहेको बताए । “यहाँका पालिकासँग आफ्नो आफैँ आम्दानीको स्रोत जुटाउने संरचना नै बनेका छैनन् । जसले गर्दा पनि आन्तरिक आय बढाउन सकिएको छैन,” उनले भने, “जनप्रतिनिधि र कर्मचारी नेतृत्वले आफ्नो पालिकामा आन्तरिक आम्दानी वृद्धि गर्नेतर्फ निकै मेहनत गर्नुपर्ने जरुरत देखिएको छ,” उनले भने, “तराईका पालिकको आन्तरिक आयतर्फको स्रोतमा माछा पोखरी, पोखरी, ढुङ्गागिटी र बालुवा र अन्य विभिन्न शीर्षकक सेवाग्राहीबाट लिने कर नै हुन् । त्यसैले सोतर्फ गम्भीर भएर ध्यान दिन जरुरी छ ।” पालिकाले बजेट बनाउँदा पनि स्रोतको सुनिश्चितता नभइ आन्तरिकतर्फ हचुवाको भरमा आय लेख्ने गर्दा पनि अपेक्षाकृत रूपमा राजस्व सङ्कलन हुन सकिरहेको छैन ।
सङ्घीयता तथा स्थानीय शासन विद् डा देवकोटाले स्थानीय कर प्रणालीलाई व्यवस्थित बनाउने सम्पत्ति कर, व्यवसाय कर, सेवा शुल्क जरिवाना र अन्य शुल्कलाई प्रभावकारी रूपमा सङ्कलन गर्न राजस्व प्रशासनलाई सुदृढ बनाउँदै लैजाउनुपर्ने बताए ।
“स्थानीय सरकारले करको दायरा विस्तार गर्ने र प्रविधिमैत्री कर प्रणालीको विकास गर्नेतर्फ अग्रसर हुन जरुरी भइसकेको छ,” उनले भने, “स्थानीय सम्भावनाको पहिचान र रूपान्तरण गर्दै कृषि, पर्यटन, जलस्रोत, वनजन्य उत्पादन, जडीबुटीलगायत क्षेत्रमा आधारित योजना निर्माण गरी रोजगारी सिर्जना गर्ने र राजस्व बढाएर अघि बढ्न जरुरी छ ।”
सङ्घीयता तथा स्थानीय शासनविद् डा.देवकोटाले पालिकाले विगतको तुलनामा आन्तरिकतर्फको कर तथा राजस्व वृद्धि गर्ने पालिकालाई प्रोत्साहनस्वरूप अनुदान थप गरिदिने परिपाटीको पनि विकास गर्न जरुरत भएको बताए ।
“संवैधानिक रूपमा नै अहिले स्थानीय तहले कर लगाउने र राजस्व उठाउने अधिकार पाएका छन्,” उनले भने, “तर, अहिले कतिपय पालिकामा पहिला र अहिले आन्तरिक तर्फको राजस्व सङ्कलनको अवस्था कस्तो छ भन्ने विषयमा पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विशेष चासो दिएर समीक्षा गर्नुपर्ने बेला भइसकेको छ ।”
आज पनि भारी वर्षा हाेला ?
काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।” हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल
झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
पर्सामा दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

