मधेशका मुख्यमन्त्रीसँगै १३ मन्त्रीले लिए शपथ

मधेशका मुख्यमन्त्रीसँगै १३ मन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।जनमतका सिंहले शपथलगत्तै नियुक्त गरेका १० मन्त्री र ३ राज्यमन्त्रीलाई पनि शपथ गराइएको हो । मन्त्रीहरूलाई प्रदेश प्रमुख सुमित्रा भण्डारी र राज्यमन्त्रीलाई मुख्यमन्त्रीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नयाँ मन्त्रीहरूमा नेकपा एमालेबाट सरोजकुमार यादव भौतिक पूर्वाधार विकासमन्त्री, शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्यामन्त्री, राजकुमार लेखी शिक्षा तथा संस्कृतिमन्त्री र प्रमोद जैसवाल खेलकुद तथा समाज कल्याण मन्त्री नियुक्त भए ।

नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा तथा सिंचाइमन्त्री । यी दुवैजना अघिल्लो सरकारमा पनि मन्त्री थिए ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट भरतप्रसाद साह अर्थमन्त्री र यूवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन मन्त्री नियुक्त भए । उनी दुबैजना पनि शपथग्रहण गरे ।

नेपाल समाजवादी पार्टीकी विमला अंसारी गृह सञ्चार तथा कानून मन्त्री र नागरिक उनमुक्ति पार्टीकी उर्मिलादेवी सिंह श्रम तथा यातायातमन्त्रीको शपथ लिएकी छन् । उनी दुवैजना पार्टीको एक्ली सांसद हुन् ।

यस्तै तीनजना राज्यमन्त्री पनि नियुक्त गरिएको छ । एमालेबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा शारदादेवी थापा र शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा केशव राय तथा जनमतकी रञ्जु खंगलाई विना विभागीय राज्यमन्त्री नियुक्त गरिएको हो ।

बाढी पहिरोको सम्भावित क्षति र जोखिम न्यूनिकरणमा हातेमालो गर्न अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढी पहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनिकरण गर्न व्यवस्थित सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण समितिको बैठक राखेर आवश्यक पूर्वतयारीको काम गरिरहेकोले सम्भावित क्षति र जोखिम न्यूनिकरणमा हातेमालो गर्न अपिल गरेका छन् । उनले सामाजिक संञ्जाल फेस्बुक मार्फत बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अपिल गरेका हुन् । साथै, प्रधानमन्त्री प्रचण्डले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्दार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन समेत दिएका छन् ।

भारतको सिलोङमा नेपालीसहित चार जनाको हत्या

काठमाडौं ।भारतको सिलोङमा एक नेपालीसहित  चारजना हत्या गरिएको छ।  मेघालय राज्य अन्तर्गत सुत्ंगा, जयन्तिया हिल्समा उनीहरूकाे बीभत्स हत्या भएको हो । पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ। मारिने ४ जना ईलाम, धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ। ती मध्ये एक जना ईलामका रवि राई रहेकाे समाचारमा उल्लेख छ। ४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ। यो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी पुगेको छ।

सप्तकोशीमा जलसतह बढ्यो, ४१ ढोका खोलिए

धरान । सप्तकोशी नदीको जलसतह बढेको छ। आज बिहान ६ गरिएको मापन अनुसार कोशी ब्यारेजमा पानीको बहाव तीन लाख १६ हजार आठ सय क्युसेक पुगेको छ। सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढे पछि कोशी ब्यारेजका ५६ मध्ये ४१ वटा ढोका खोलिएका छन्। सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ । कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति खतराको संकेत रातो बत्ती बाल्ने गरिन्छ। पानीको बहाव एक लाख ५० हजार कट्दा पश्चिमतर्फ  र दुई लाख कट्दा पूर्वतर्फ रातो बत्ती बाल्ने गरिन्छ। पानीको बहाव तीन लाख काट्नासाथ मध्य भागमा पनि रातो बत्ती बाल्ने गरिएको छ।

सुकुम्बासी बस्तीमा बाढी पसेर बिजोग हुनुमा ओलीको दोषी : मेयर बालने

काठमाडौं । गएरातिदेखि लगातार परेको पानी र बढेको नदीको बाढीले किनाराका बस्तु डुवानमा परेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह आक्रोषित बनेका छन् । नदी किनाराका बासिन्दालाई सुकुम्बासी भन्न पनि नचाहेका बालेनले यस्ता २ हजार मानिसलाई अन्यत्र व्यवस्थापन गर्ने आफ्नो प्रयासमा राजनीति भएको बताए ।   एमालेले सुकुम्बासीका नाममा भोटको राजनीति गरेको र उनीहरुको व्यवस्थापन गर्न खोज्दा अबरोध गरेको उनको संकेत थियो । यस्ता २ हजार परिवार मात्र हैन गिरीबन्धु चिया बगानमा १५ हजार मानिसको व्यवस्थापन हुन सक्ने उनले हिसाव सुनाए।   बालेनले फेसबुकमा लेखेका छन्, 'माननीय केपी ओलीज्यू, आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे। खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो  अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ? काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन्। तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धुुमा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ। अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित। अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु। '

लोकप्रिय