सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्र सञ्चालन हुने
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्ने मार्ग करिब ८० प्रतिशत निर्माण सकिएको पर्यटन विभागले जनाएको छ ।
विभागका निर्देशक हिमाल गौतमका अनुसार यो मार्ग खुम्बु आइसफलतर्फको भन्दा सुरक्षित रहेकाले आगामी वसन्तयाम (स्प्रिङ) मौसमभित्र सञ्चालन हुने गरी तयारी भइरहेको छ । यो करिब २०० मिटर जति लामो हुने भएकाले छोटो बाटोका लागि सिधै खुम्बु आइसफल हुँदै सगरमाथा आरोहण गर्ने मार्ग खोलिएको उनले बताए ।
खुम्बु आइसफलको बाटो पहिलोपटक सन् १९८४ मा सञ्चालनमा ल्याइएको विश्व पर्वतारोहण महासङ्घका विज्ञ एवं पर्यटनविद् आङ्छिरिङ शेर्पा बताए । उनका अनुसार खुम्बु आइसफलको बाटो खुलेपछि परम्परागत मार्गको नामले परिचित नुप्सेतर्फको उक्त बाटो उपयोगविहीन भएको हो । यो बाटो खुम्बु आइसफलतर्फको भन्दा धेरैगुणा सुरक्षित र भरपर्दो रहेको उनको भनाइ छ ।
सोही मार्गको खोजी, अनुसन्धान तथा पुनः सञ्चालनका लागि विश्वविख्यात आरोही तथा अनुसन्धानकर्ता काजी शेर्पा, फ्रान्सका आरोही मार्क वटाई र फ्रान्सकै अर्का विश्वविख्यात आरोही एन्ट्वान एरोेलाई जिम्मा दिइएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए । उनका अनुसार नुप्से हिमालको फेदीमा सगरमाथा आधार शिविर हुने गरी उक्त मार्ग निर्माणको करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ ।
बाँकी २० प्रतिशत कार्य पूरा गरी आगामी वसन्तयाम (फागुन–चैत) भित्रमा सञ्चालन गर्ने गरी तयारी भइरहेको विभागका निर्देशक गौतमले बताए । “विश्वविख्यात आरोही नेपालका काजी शेर्पा र सगरमाथा आरोही फ्रान्सका मार्क वटाईको टोली सक्रिय भएका छन्, मन्त्रिपरिषद्को निर्णयअनुसार विभागले अनुमति दिइसकेको छ”, उनले भने, “यद्यपि त्यसका लागि सरकारको आर्थिक लगानी भने गरेको छैन ।”
फ्रान्सस्थित विभिन्न पर्वातारोहण सङ्घसंस्थाको आर्थिक सहयोगमा पर्यटन मन्त्रालयले उक्त ऐतिहासिक बाटोलाई वैकल्पिक रूपमा खुलाउन लागेको गौतमले जानकारी दिए । “सगरमाथा आरोहणका लागि अहिले सञ्चालनमा रहेको खुम्बु आइसफल हुँदै क्याम्प एकसम्मको बाटो असाध्यै जोखिमयुक्त मानिन्छ । बर्सेनि आधा दर्जनभन्दा बढी आरोहीले अरोहणका क्रममा सगरमाथा क्षेत्रमा ज्यान गुमाउने गरेका छन् । तीमध्ये एक चौथायी घटना खुम्बु आइसफलमा हुने गरेको छ”, विभागका निर्देशक गौतमले भने ।
सगरमाथा आरोहण गर्दा पहिलो जोखिम भनेको खुम्बु आइसफलमा हो । यहाँ हिउँ पग्लने, फाट्ने भइरहने हुनाले धेरै खतरा मोलेर जानुपर्ने सगरमाथा आरोही विजय घिमिरेले बताए । नयाँ मार्ग नुप्सेको फेदीबाट खुम्बु आइसफल छलेर जाने भएकाले अत्यन्त उपयोगी र कम जोखिमयुक्त हुनसक्ने उनको भनाइ छ ।
सोही बाटो हुँदै ७२ वर्षअघि तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सगरमाथा शिखरमा पाइला टेकेका थिए । यही पुरानो मार्गलाई पुनः जीवन दिने गरी करिब १० जना विश्वविख्यात आरोहीसहितको समूहले करिब तीन वर्षअघिदेखि सक्रिय नयाँ पदमार्ग खोजी गरेको खोज तथा अनुसन्धानकर्ता काजी शेर्पाले बताए ।
उनका अनुसार आगामी वसन्तयाम (स्प्रिङसिजन) भित्र सो आरोहण मार्ग औपचारिक रूपमा खुल्ने तयारी तीव्र गतिमा अघि बढेको छ । काजीले भने, “यो केबल हिमाल आरोहणको बाटो होइन । यो नेपालको इतिहास, गौरव र पहिचानको पुनर्जन्म हो, जसमा यसपटक स्थानीय समुदाय, नेपाली आरोही, अन्तर्राष्ट्रिय दाताहरू र नेपाल सरकार सबैको सहकार्य जोडिएको छ । अहिलेसम्म पूरै मार्गको ८० प्रतिशत काम पूरा भइसकेको छ । बाँकी काम आगामी मार्च–अप्रिल अर्थात् वसन्तयामभित्र सक्ने लक्ष्य राखिएको छ ।”
सरकारद्वारा अनुमति प्राप्त
सगरमाथाका लागि ऐतिहासिक उक्त मार्ग खुलाउन सरकारले काजी शेर्पा र फ्रान्सका मार्क वटाईको नेतृत्वमा अनुमति प्रदान गरेको छ । सङ्घीय सरकारको २०८१ पुस २१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शेर्पा र वटाईको टोलीलाई लिखित रूपमा अनुमति दिइएको विभागका निर्देशक गौतमले जानकारी दिए ।
विभिन्न फ्रान्सेली संस्था तथा दाताहरूको आर्थिक सहयोगमा काम अघि बढे पनि अन्य सहयोग र समन्वयमा सङ्घीय सरकारअन्तर्गत पर्यटन विभागको साथ रहेको उक्त समूहको नेतृत्व लिनुभएका शेर्पाले बताए ।
विभागले आरोही शेर्पाको नेतृत्वमा रहेको समूहलाई छ हजार १०० मिटर उचाइसम्म मार्ग विस्तार र निश्चित मार्ग निर्माणको लिखित अनुमति दिएको छ । “सगरमाथा क्याम्प एकसम्म मात्रै अनुमति दिइएको छ । क्याम्प एकभन्दा माथि जाने बाटो भने एउटै छ”, पर्यटन विभागका निर्देशक गौतमले भने । यो मार्ग सञ्चालनमा ल्याउन सके आरोहण यामका बेला हालको आधार शिविरमा भइरहेको मानवीय चाप, कोलाहल तथा प्रदूषणलाई कम गर्न सकिने विभागको विश्वास छ ।
यो परियोजना नेपालको पर्वतारोहण इतिहाससँग सम्बन्धित भएकाले मन्त्रालयको सहमति र पर्यावरणीय स्वीकृतिसहित अघि बढाइएको गौतमले बताए । उनले भने, “हामीले यसलाई सुरक्षित र स्थायी बनाउन सबै प्राविधिक मापदण्डमा ध्यान दिएका छौँ ।”
स्थानीय र अन्तर्राष्ट्रिय सहकार्यको नमुना
यो अभियानको विशेषता केबल सरकारी परियोजना मात्र नभएर मुलुकको इतिहाससँग जोडिएको विज्ञको भनाइ छ । यस अभियानमा हिमालयन एक्सपेडिसन लुम्बिनी विकास कोषका गुडविल एम्बासडर तथा ग्रिसका कन्सुलर विक्रम पाँडेकाजीले पनि आर्थिक सहयोग गरेका छन् । साथै पर्यटन विभागका तत्कालीन महानिर्देशक डा नारायणप्रसाद रेग्मीले प्राविधिक र नीतिगत समन्वयमा सक्रिय रूपमा साथ दिएको शेर्पाले उल्लेख गरे ।
फ्रान्सका एन्तोनियो इरोडले पनि उक्त टोलीसँग जोडिएर काम गरिरहेका छन् । “यो केबल मार्ग निर्माण होइन, यो विश्वका आरोहीहरूसँग नेपालको पुरानो सम्बन्ध पुनः स्थापना हो”, इरोडले भने । उनका अनुसार अहिलेसम्म करिब २२० वटा निश्चित खुट्किला तयार भइसकेका छन् । “यसले आरोहणमा प्रयोग हुने सुरक्षा डोरी र सिँढीहरूको आधार तयार गर्छ । कूल करिब २७० वटा खुट्किला बनाउनुपर्नेमा बाँकी ५० वटाको काम आगामी फागुन, चैतभित्र सम्पन्न हुने योजना छ”, उनले भने ।
चार लाख अमेरिकी डलरको अनुमानित लागत
यो मार्ग पूर्ण रूपमा तयार गर्नका लागि करिब चार लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । अहिलेसम्म तीन लाख डलर खर्च भइसकेको आरोही काजी शेर्पाले बताए । बाँकी एक लाख डलर दाताहरूले अझै सङ्कलन गरिरहेको उनको भनाइ छ ।
शेर्पाले भने, “मुख्य सहयोग फ्रान्सका पर्वतारोहण प्रेमी र निजी दाताबाट आएको छ । यो रकम निश्चित मार्गसहित खुट्किला निर्माण, सुरक्षा व्यवस्थापन, प्राविधिक उपकरण र मार्ग सफाइका लागि प्रयोग भइरहेको छ ।”
नयाँ बाटो: कम जोखिम, बढी सुरक्षा
नयाँ बाटो पुरानो खुम्बु आइसफल मार्गको विकल्पका रूपमा तयार हुँदैछ । खुम्बु आइसफल सगरमाथाको सबैभन्दा जोखिमपूर्ण भाग मानिन्छ । जहाँ वार्षिक रूपमा हिउँपहिरो र हिउँका ब्लक खस्ने घटनाले आरोहीको ज्यान लिने गर्छ । आरोहीको ज्यान लिने अधिकांश घटना खतरायुक्त खुम्बु आइसफल क्षेत्रमा हुने गरेको पर्यटन विभागका निर्देशक गौतमले बताए ।
उनका अनुसार सगरमाथा आरोहणका लागि बर्सेनि करिब ५०० जना विदेशी तथा ३०० जति नेपाली सहयोगी गरी ८०० जनाभन्दा बढीले अनुमति लिने गर्दछन् । खुम्बु आइसफल जोखिमयुक्त भएकाले कतिपय आरोहीले आरोहण नगरी फर्कने गरेका गौतमको भनाइ छ ।
अब खुल्ने भनिएको वैकल्पिक बाटो दूरीको हिसाबले करिब २०० मिटर जति लामो रहेको जनाउँदै जोखिम निकै कम हुने आरोहण क्षेत्रका जानकारहरू बताउँछन् । पर्यटन विज्ञ आङ्छिरिङ शेर्पाले भने, “यो बाटोले खुम्बु आइसफलको खतरा घटाउँछ र सगरमाथा आरोहण अझ सुरक्षित र विश्वसनीय बन्नेछ ।”
यो बाटो खुल्दा नेपालको पर्वतारोहण उद्योगमा क्रान्ति ल्याउने विश्वास व्यक्त गर्दै उनले यो बाटो खुल्ने हो भने नेपालमा सगरमाथा आरोहणका लागि आउने आरोहीहरूको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि हुने बताए ।
अन्तर्राष्ट्रिय ध्यान पुनः सगरमाथातर्फ
यो परियोजनाले अन्तर्राष्ट्रिय पर्वतारोहण जगत्को ध्यान फेरि नेपालतिर तानेको छ । विश्वका प्रमुख पर्वतारोहण संस्था र डोनरहरूले यसलाई ‘हिस्टोरिक रुट रिभाइभल’ का रूपमा नियालेका छन् । मार्ग निर्माणका क्रममा उनीहरुले पर्यावरणीय सन्तुलनमा विशेष ध्यान दिएका छन् ।
पर्यटनमा हुने सम्भावित प्रभाव
यो मार्ग खुल्नेपछि सगरमाथा आरोहणका लागि आउने पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ । नेपाल पर्वतारोहण सङ्घका अनुसार हरेक वर्ष करिब ८०० भन्दाबढी आरोही सगरमाथाको अनुमति लिन्छन् । तर खुम्बु आइसफलको जोखिमका कारण धेरै आरोही नेपाल बाहिरका अन्य हिमाल रोज्ने गरेका छन् । नयाँ मार्गले त्यो धारणा तोड्ने अपेक्षा गरिएको छ ।
सगरमाथा क्षेत्रका पर्यटन व्यवसायी दावा शेर्पाले भने, “यो बाटो खुल्दा नेपालका गाइड, पोर्टर र स्थानीय व्यवसायी सबैको रोजगारी बढ्नेछ । सगरमाथा पुनःविश्व पर्वतारोहणको केन्द्र बन्नेछ ।”
इतिहास, संस्कृति र आत्मसम्मानको पुनर्जन्म
तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले सन् १९५३ मा सगरमाथा आरोहण गर्दा नेपाली जनताको आत्मसम्मान विश्वमाझ पुगेको थियो । सगरमाथा आरोही तेम्बा छिरी शेर्पाले भने, “हिँडेको बाटो पुनःखुल्दैछ, त्यसले त्यो गौरवलाई पुनर्जीवित गरेको अनुभूति सबैमा छ ।”
यो मार्ग नेपालका युवाका लागि प्रेरणाको बाटो हो, सगरमाथा राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले भने, “यो केबल चढाइ होइन, इतिहाससँगको पुनः सम्बन्ध हो ।”
आज पनि भारी वर्षा हाेला ?
काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।” हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल
झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
पर्सामा दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

