कानुन निर्माणको रफ्तार बढाउनु पर्ने आवश्यकता छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल

कानुन निर्माणको रफ्तार बढाउनु पर्ने आवश्यकता छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले कानुन निर्माणको काम जुन रफ्तार हुनुपर्ने हो त्यसरी हुन नसकेको बताएका छन्।संसदीय अभ्यास, प्रक्रियाको जानकारी एवं प्रभावकारी भूमिकाको लागि सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुसँगको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

नयाँ संविधान निर्माणसँगै देशमा संघीय शासन प्रणालीको शुरुवात भएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधानको कार्यान्वयनका लागि संघीय शासन व्यवस्था अनुसारका थुप्रै ऐन बनाउनु पर्ने काम अझैं बाँकी रहेको बताए।

“अहिले कानुन निर्माणको आवश्यकता र कानुन निर्माणको जुन रफ्तार छ, यसले ठूलो अन्तरविरोध पैदा भएको छ,” अध्यक्ष दाहालले भने, “नयाँ संविधान निर्माण भइसकेपछि जुन रफ्तारमा कानुन निर्माण हुनुपर्ने हो त्यसरी हुन सकिरहेको छैन। यसतर्फ कानुन निर्माणको जिम्मेवारी लिएका सांसद र संघीय संसद गम्भीर हुनु जरुरी छ।”

null

समयमै कानुन निर्माण गर्न नसक्दा अन्योल र निराशाको खतरा बढिरहेको भन्दै अध्यक्ष दाहालले देशलाई आवश्यक ऐन कानुन निर्माण गरेर संविधान कार्यान्वयनको कार्यभार पूरा गर्न सबै प्रतिबद्ध र इमान्दार हुनुपर्नेमा जोड दिए। 

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रमले संसदीय अभ्यास र प्रक्रिया बुझ्न महत्वपूर्ण हुने भन्दै अध्यक्ष दाहालले सिक्ने काम कहिल्यै नसकिने भएकाले यस्ता कार्यक्रमहरु सबैका लागि नियमित सञ्चालन गर्न आवश्यक रहेको बताए। 

कानुन निर्माणका विभिन्न चरणहरुबारे सिक्न, विधेयकमा छलफल, संशोधन र कानुनी कार्यमा पोख्त हुन बेला बेलामा यस्ता अन्तरक्रिया, गोष्ठी र छलफल हुनु जरुरी रहेको उनको भनाई थियो।

अभिमुखीकरणमा विधेयक निर्माण प्रकृया, विधेयकको संसदीय चरण, संशोधन प्रकृया, प्रत्यायोजित व्यवस्थापन र सांसदहरुको भूमिकाका बारेमा संविधानविद् काशीराज दाहालले सहजीकरण गरेका थिए भने राष्ट्रिय सभाका समितिहरु र निगरानी सम्बन्धी कार्यका बारेमा राष्ट्रिय सभाका पूर्वसदस्य राधेश्याम अधिकारी, संघीयता, संघ प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्ध तथा वित्तीय संघीयताबारे राष्ट्रिय सभाका पूर्व सदस्य डा। खिमलाल देवकोटाले प्रस्तुति प्रस्तुत गरे।

त्यसैगरी, संसदीय मर्यादा र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, संसदमा प्रभावकारी भूमिकाको लागि महिला सांसदहरुको सशक्तिकरणबारे पूर्वसभामुख ओनसरी घर्ती, लैङ्गिक तथा समावेशी मुद्दामा संसद र संसदीय समितिहरुले खेल्नुपर्ने भूमिकाका विषयमा राष्ट्रिय सभाका निवर्तमान सभापति दिलकुमारी रावल थापा पार्वतीले बोल्ने कार्यक्रम रहेको छ।

त्यस्तै, राष्ट्रिय सभाको संशोधित नियमावली र सभाको प्रभावकारिताबारे राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्याल र संघीय संसद सचिवालय, सांगठनिक संरचना र सेवा प्रवाहबारे सचिवालय सचिव सुदर्शन खड्काले जानकारी दिने कार्यक्रम रहेको छ।

संघीय संसद सचिवालयले आयोजना र जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चको सहकार्यमा भएको १ दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटनका अवसरमा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले स्वागत तथा कार्यक्रमको उद्धेश्यबारे प्रकाश पारेका थिए भने जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चका महासचिव तथा संविधान सभा सदस्य डा.भीष्मनाथ अधिकारीले विषय प्रवेश गरेका थिए।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय