यस्तो छ सहकारी छानबिन समितिको कार्यविधि, हेर्नुहोस्

यस्तो छ सहकारी छानबिन समितिको कार्यविधि, हेर्नुहोस्

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको छानबिन विशेष समितिको कार्यविधि तय भएको छ। कार्यविधिमा सहकारी संस्था अनुगमन, नियमन र सुपरिवेक्षण गर्ने मन्त्रालय, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति, निकाय सम्बन्धित प्रदेश सरकारको विषय हेर्ने मन्त्रालय वा निकाय, सम्बन्धित स्थानीय तह र नेपाल राष्ट्र बैंकका जिम्मेवार अधिकारीसँग सोधपुछ, अन्तर्क्रिया गरिने उल्लेख गरिएको छ।

त्यस्तै, अनुसूची–२ मा “उल्लिखित सहकारी संस्थाका अध्यक्ष, सञ्चालक वा व्यवस्थापक र व्यवस्थापकीय भूमिकामा रहेका अन्य व्यक्ति, अनुसूची–२ मा उल्लिखित सहकारी संस्थाहरूबाट रकम प्रवाह भएका गोरखा मिडिया नेटवर्क प्रा.लि.लगायत अन्य कम्पनी वा संस्थाहरूका तत्कालीन र वर्तमान सञ्चालक, व्यवस्थापक वा र व्यवस्थापकीय भूमिकामा रहेका अन्य व्यक्ति, र सहकारीपीडितका तर्फबाट प्रतिनिधि, कानुन, बैंक तथा वित्तीय व्यवस्थापन क्षेत्रका विषयविज्ञहरू, समितिले उपयुक्त ठानेका अन्य सरोकारवाला व्यक्ति तथा संस्था र विषयविज्ञहरूसँग सोधपुछ गरिने” कार्यविधिमा उल्लेख छ ।

समितिले सभाका अन्य विषयगत समिति, मन्त्रालय, विभाग, राष्ट्र बैंक र निकायहरूसँग समन्वय गर्नसक्ने जनाइएको छ। निर्णय गर्दा बैठकबाट सर्वसहमति नभएमा बहुमत सदस्यबाट निर्णय गरिने कार्यविधिमा उल्लेख छ ।यद्यपी फरक मतलाई समितिले अभिलेख राखी प्रतिवेदनमा समावेश गरिनेछ। आवश्यक परे कार्यक्षेत्रभित्रको काम गर्नका लागि समितिकै सदस्यको नेतृत्वमा कार्यदल वा उपसमिति बनाउन सकिने कार्यविधिमा उल्लेख छ। सहकारी रकम अपचलनबारे छानबिन गर्न नेकपा (एमाले)का सांसद सूर्य थापा सभापति रहेको संसदीय समिति जेठ १५ गते बनाइएको थियो। सो समिति ७ सदस्यीय समितिले काम अगाडि बढाएको छ । 

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संवाद बढाउन प्रमुख दल सहमत

काठमाडौँ । प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउन सहमत भएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा रहेको विधेयकलाई अगाडि बढाउने सहमति भएको हो । प्रतिनिधिसभाको कानुन समितिमा विचाराधीन विधेयकका विवादित विषयमा छलफल गरी उपसमितिले अधिकांश विषयमा सहमति जुटाएको छ।समितिले शीर्ष सहमति खोजेको विषयमा पनि प्रमुख दलहरू सहमति नजिक पुगेका थिए । तर त्यही बेला सत्ता गठबन्धन फेरिएपछि यो विषय ओझेलमा परेको थियो । गठबन्धन फेरिए पनि प्रधानमन्त्री प्रचण्डले काँग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुबीच संवाद गरिरहेका थिए ।आजको बैठकले विधेयक अगाडि बढाउने र सहमति जुट्न नसकेका विषयमा सहजीकरण गर्न तीन दलले एकएक जना नेतालाई तोक्ने सहमति समेत गरेको छ ।

एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्ष थप्ने, केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वरिष्ठ उपाध्यक्ष पद थप्ने भएको छ। बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको हो ।  अब नेकपा (एकीकृत समाजवादी)ले वरिष्ठसहित सात उपाध्यक्ष, सचिव सातदेखि ९ जनासम्म हुने, केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने छ। एकीकृत समाजवादीको महाधिवेशन आउँदो असार १६–२० मा काठमाडौंमा हुँदै छ। 

प्रमुख तीन दलका नेताहरू छलफलमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवलगायत शिर्ष नेताहरुको वालुवाटारमा छलफल भैरहेको छ ।  शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा केन्द्रित रहेर प्रमुख तीन दलका नेताहरूको बिहीबार छलफल भएको हो।  'शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा केन्द्रित रहेर प्रमुख तीन दलका नेताहरूको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।' प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

विनियोजन विधेयक राष्ट्रिय सभामा प्रस्तुत

काठमाडौँ। राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८१ प्रस्तुत भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ सभा समक्ष प्रस्तुत गरेका हुन् । उनले आर्थिक वर्ष २०८१/०८२ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन र सो रकमको विनियोजन गर्न वाञ्छनीय भएकाले प्रस्तुत विधेयक पेश गर्नुपरेको बताए। उनले विधेयकले सङ्घीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा तथा कार्यहरुको निमित्त विनियोजन गर्नसक्ने व्यवस्था गरेको उल्लेख गरे। उनले भने, ‘‘आर्थिक वर्ष २०८१/०८२ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन र सो रकमको विनियोजन गर्न वाञ्छनीय भएकाले प्रस्तुत विधेयक पेश गर्नुपरेको हो । प्रश्तुत विधेयकले सङ्घीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा तथा कार्यहरुको निमित्त विनियोजन गर्नसक्ने व्यवस्था गरेको छ । राष्ट्रिय सभा नियमावली २०७५ को नियम १३३ (क) को उपनियम २ बमोजिम विनियोजन विधेयक, २०८१ लाई यस सम्मानित सभा समक्ष प्रस्तुत गर्दछु ।’’ राष्ट्रिय सभाको अर्को बैठक आजै १५ मिनेट बस्नेगरी स्थगित भएको छ ।

लोकप्रिय