आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै हाेली, तराइमा भाेलि
रङको पर्व कुन देशमा कसरी मनाइन्छ ?
काठमाडौँ । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । तर तराइका जिल्लामा भाेली मनाइन्छ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।
यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चिरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुँछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चिरको खरानीको टीका लगाइन्छ ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रूखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चिरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन रहेको छ ।
त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।
यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा तोयराज नेपालले राससलाई जानकारी दिए ।
राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चिरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, आयुर्वेद प्रवर्द्धन शाखाका प्रमुख डा वंशदीप शर्मा खरेल बताउँछन् ।
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा मङ्गलबार होली मनाइँदै छ । तराइका जिल्लामा मङ्गलबार नै सरकारले सार्वजनिक बिदा दिएको छ ।
यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति नशालु पदार्थ सेवन गरी झैझगडा गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम हुँदै गएका छन् ।
यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोसाकमा सजिएर स–परिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ ।
रङको पर्व कुन देशमा कसरी मनाइन्छ ?
फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ ।
अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिसहरू विभिन्न प्रकारका हास्यात्मक वेशभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ ।
यसैगरी, श्रीलङ्का र इन्डोनेसियाको जाभामा आगोको पूजा गरेर, म्यान्मार र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुहरूलाई दान दिएर, जापान र इन्डोनेसियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ ।
फरक फरक नाममा मनाइए पनि फागु खेल्ने परम्परा धेरै देशमा भएको पाइन्छ । सबैतिर आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने मूल उद्देश्यले यो पर्व मनाउने गरिएको पाइन्छ ।
वरिष्ठ पत्रकार कौशल चेम्जोङको ‘नेपालको इतिहासमा उदयपुर’ पाठककाे हातमा
उदयपुर । वरिष्ठ पत्रकार तथा अनुसन्धानकर्ता कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर (वि.सं. १९००–२००७)’ शुक्रबार लोकार्पण गरिएको छ। त्रियुगा नगरपालिका कार्यालय, गाईघाटमा आयोजित कार्यक्रममा नगरप्रमुख बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन्। वि.सं. १९०० देखि २००७ सम्मको १०७ वर्षे ऐतिहासिक कालखण्डलाई केन्द्रमा राखेर तयार गरिएको ३६८ पृष्ठको यो पुस्तक सात अध्यायमा विभाजित छ। पुस्तकले उदयपुरको राजनीतिक विकासक्रम, प्रशासनिक संरचना, सामाजिक परिवर्तन, आर्थिक अवस्था र सांस्कृतिक रूपान्तरणलाई तथ्यपरक ढंगले प्रस्तुत गरेको प्रकाशक उदयपुर अनुसन्धान केन्द्र ले जनाएको छ। यसअघि ‘उदयपुरको इतिहास’ मार्फत प्रागैतिहासिक कालदेखि वि.सं. १९०० सम्मको इतिहास दस्तावेजीकरण गरिसकेका लेखक चेम्जोङले यो पुस्तकलाई त्यसै अनुसन्धान यात्राको दोस्रो खण्डका रूपमा प्रस्तुत गरेका हुन्। पुस्तकमा विशेषतः राणाकालीन शासन व्यवस्था, स्थानीय प्रशासनिक संरचना, सामाजिक विभाजन, शिक्षा, आर्थिक गतिविधि तथा राजनीतिक चेतनाको विकासलाई ऐतिहासिक प्रमाणका आधारमा विश्लेषण गरिएको छ। लोकापर्ण कार्यक्रममा पुस्तकका टिप्पणीकार तथा त्रियुगा जनता बहुमुखी क्याम्पस का प्रमुख प्राध्यापक डा. कैलाशकुमार राई ले केही भाषागत कमजोरी भए पनि उदयपुरको १०७ वर्षे इतिहासलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्नु पुस्तकको ठूलो उपलब्धि भएको बताए। उनका अनुसार इतिहासका विद्यार्थी, शोधकर्ता तथा स्थानीय इतिहासमा रुचि राख्ने पाठकका लागि यो कृति उपयोगी दस्तावेज बन्नेछ। लेखक चेम्जोङले झण्डै दुई दशकको अध्ययन, अभिलेख संकलन र क्षेत्रीय अनुसन्धानपछि पुस्तक तयार पारेको बताए। उनले अनुसन्धान क्रममा प्राप्त सामग्रीमा त्रुटि वा कमी देखिए आगामी संस्करणमा सुधार गर्दै जाने प्रतिबद्धता जनाए। साथै, पाठक र अनुसन्धानकर्ताबाट सुझावको अपेक्षा पनि व्यक्त गरे। चेम्जोङले अब वि.सं. २००७ देखि २०४६ सम्मको उदयपुरको राजनीतिक–सामाजिक इतिहास समेट्ने अर्को पुस्तक तयार पार्ने जानकारी पनि दिए। लेखकका अनुसार पुस्तक तयार गर्ने क्रममा प्रकाशित तथा अप्रकाशित पुस्तक, पुराना पत्रपत्रिका, सरकारी अभिलेख, स्थानीय दस्तावेज, अनलाइन स्रोत तथा पुरातात्त्विक सामग्रीको गहिरो अध्ययन गरिएको छ। यससँगै स्थानीय ज्येष्ठ नागरिक, सामाजिक अगुवा, पूर्वकर्मी, क्रान्तिकारी मुक्ति योद्धा तथा अनुसन्धानसँग सम्बन्धित व्यक्तिहरूसँग अन्तरक्रिया गरी मौखिक इतिहास पनि संकलन गरिएको छ। यसले पुस्तकलाई केवल लिखित सामग्रीमा सीमित नराखी बहुआयामिक बनाएको लेखकको भनाइ छ। पाण्डुलिपि अध्ययन तथा सुधार प्रक्रियामा त्रिभुवन विश्वविद्यालय इतिहास विभागका सह–प्राध्यापक डा. विजय मिश्र बाट महत्वपूर्ण सुझाव र मार्गदर्शन प्राप्त भएको लेखकले उल्लेख गरेका छन्। स्थानीय तहबाट प्राप्त सहयोगले पनि पुस्तक प्रकाशनमा महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ। प्रकाशकीयमा उदयपुर अनुसन्धान केन्द्रले काठमाडौं–केन्द्रित इतिहासले नेपालको समग्र यथार्थ चित्रण गर्न नसक्ने उल्लेख गर्दै क्षेत्रीय तथा स्थानीय इतिहास लेखनलाई राष्ट्रिय आवश्यकता भएको स्पष्ट पारेको छ। केन्द्रका अनुसार वि.सं. १९०० देखि २००७ सम्मको अवधि नेपालको इतिहासमा राजनीतिक उतारचढाव, सामाजिक परिवर्तन र शासन व्यवस्थाको संक्रमणकालका रूपमा महत्वपूर्ण मानिन्छ। यही अवधिमा उदयपुरले भोगेका प्रशासनिक संरचना, आर्थिक सम्बन्ध, सामाजिक रूपान्तरण र राजनीतिक चेतनाको विकासलाई पुस्तकले ऐतिहासिक तथ्यका आधारमा उजागर गरेको दाबी गरिएको छ। पुस्तक सात अध्यायमा संरचित छ। पहिलो अध्यायमा अनुसन्धान पद्धति, स्रोत तथा पूर्वकार्यको समीक्षा समेटिएको छ। दोस्रो अध्यायमा नेपालको राष्ट्रिय राजनीतिक इतिहाससँग उदयपुरको सम्बन्ध र प्रभावबारे चर्चा गरिएको छ। तेस्रो अध्यायमा प्रशासनिक, न्यायिक र सैनिक संरचनाको अध्ययन गरिएको छ भने चौथो अध्यायमा सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाको चित्रण गरिएको छ। पाँचौं अध्यायमा वि.सं. १९००–२००७ सम्मका महत्वपूर्ण घटनावली तथा २००७ सालको जनक्रान्तिमा उदयपुरको भूमिकालाई समेटिएको छ। छैटौं अध्यायमा निष्कर्ष र सातौं अध्यायमा स्रोत सामग्री तथा अनुसन्धान प्रक्रिया समावेश गरिएको छ। लेखक चेम्जोङका यसअघि ‘भूत लघुकथा संग्रह’, ‘उदयपुरको पर्यटन विकास, सम्भावना र चुनौती’, ‘जीवनका रङ्गहरू’, ‘उदयपुरको इतिहास’ र ‘उदयपुरको साहित्य’ लगायत कृतिहरू प्रकाशित छन्। लामो समयदेखि आख्यान र गैर–आख्यान दुवै विधामा सक्रिय उनी अनुसन्धानमूलक लेखनका परिचित नाम मानिन्छन्। मोफसलमा बसेर अनुसन्धान र प्रकाशन गर्नुपर्ने चुनौतीबारे बोल्दै लेखकले स्रोत अभाव, आर्थिक कठिनाइ, अभिलेखीय समस्या तथा संस्थागत सहयोगको कमीले अनुसन्धानमूलक लेखन कठिन बनेको बताए। उनका अनुसार स्थानीय इतिहास संरक्षण र अभिलेखीकरणका लागि राज्यले थप सहयोग गर्न आवश्यक छ। स्थानीय इतिहासलाई राष्ट्रिय विमर्शसँग जोड्ने उद्देश्य बोकेको ‘नेपालको इतिहासमा उदयपुर’ उदयपुरको ऐतिहासिक पहिचान उजागर गर्ने महत्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ। इतिहास अध्ययनमा रुचि राख्ने पाठक, विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि यो पुस्तक उपयोगी सन्दर्भ सामग्री बन्ने अपेक्षा गरिएको छ।
भक्तपुरमा आजदेखि प्रसिद्ध बिस्का जात्रा सुरु
भक्तपुर । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । साँझ तमारीस्थित पाँचतल्ले मन्दिरअगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्याई भैरवनाथ (भैलखः) को रथ तानातान गर्दै जात्राको औपचारिक सुरुआत हुनेछ । यससँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्नेछ । जात्राको मुख्य आकर्षण भैलखः रथ तानातान हो । पहिलो दिन पाँचतल्ले मन्दिरबाट भैलखःलाई थने (माथिल्लो) र क्वने (तल्लो) टोलका स्थानीयले डोरी तानेर आ–आफ्नो टोलतर्फ लगिन्छ । यस क्रममा दत्तात्रेयसम्म पुर्याई पुनः तमारी हुँदै गःहिटीमा पुर्याएर पहिलो दिनको जात्रा सम्पन्न गरिन्छ । जात्राको चौथो दिन ल्यसिङखेलमा ५५ हात लामो यसींद्यो (लिङ्गो) उठाइन्छ भने पाँचौं दिन नयाँ वर्षको दिन भैरवनाथ र भद्रकालीको रथलाई जुधाई ‘द्योः ल्वाकिगु’ जात्रा मनाइन्छ । अन्तिम दिन भैलखःलाई पुनः तानातान गरी जात्रा समापन गरिन्छ । संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार बिस्का जात्रा भैरवनाथ र भद्रकालीसँग सम्बन्धित छ । यसलाई प्रचलित ‘सर्प मार्ने’ किंवदन्ती गलत भएको उहाँको भनाइ छ । जात्रालाई मर्यादित र शान्तिपूर्ण बनाउन प्रशासनले विशेष सुरक्षा व्यवस्था गरेको छ । पहिलो र अन्तिम दिन भैलखः तान्ने समय दिउँसो ३ बजेदेखि ५ बजेसम्म मात्र सीमित गरिएको छ । रथमा निश्चित व्यक्तिबाहेक अरूलाई चढ्न नदिने, नाङ्गो खुट्टा राख्ने व्यवस्था मिलाइएको छ । करिब २ हजार प्रहरी परिचालन गरिने र चोक–चोकमा सिसी क्यामेरा जडान गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभएको छ ।
आज हनुमान जन्मजयन्ती मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजाआराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा विशेष पूजाआराधना गरिन्छ । हनुमानढोका दरबारको नासलचोकनजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजाआराधना गर्ने चलन छ । संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर हनुमान शब्द बनेको छ । हनुको अर्थ चिउँडो हो । यो हन् धातुबाट बनेको छ । ‘हन्’ धातुको अर्थ हिंसा अथवा गति भन्ने हुन्छ । अतः हनुमान शब्दको अर्थ वेगवान् गतियुक्त शक्ति भन्ने हुन्छ । हनुको अर्को अर्थ आज्ञापालक पनि भनिएको छ । त्यसैले पनि हनुमान भगवान् रामभक्त थिए भनिन्छ । भगवान् रामको जीवनमा भएका घटनाले हनुमानको व्यक्तित्वलाई सर्व प्रतिष्ठित ‘देव’ बनाइदिएको शास्त्रमा उल्लेख छ । भय मनुष्यको मूलभूत प्रवृत्ति हो । दुष्ट आत्माको प्रकोपबाट बचाउने वाला शक्तिको नाम हनुमान हो । पहिले बाँदरको नाम स्मरण वा दर्शन अशुभ मानिन्थ्यो । हात्तीलाई शुभ मानिन्थ्यो । हनुमानलाई ‘मङ्गलमूरत’का रूपमा अथवा सङ्कट मोचकको रूपमा पूजन गर्न थालियो । त्यसकारण बच्चादेखि बूढासम्म सबैले भयबाट मुक्तिका लागि ‘हनुमान चालिसा’को पाठ गर्ने परम्परा सुरु भएको जानकारहरू बताउँछन् । हनुमानलाई वायुका छोरा मानिन्छ । हनुमानले जुनसुकै रूप धारण गर्न सक्ने विश्वास गरिन्छ । शत्रुद्र संहितामा एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ । रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनु पूर्व नै अस्तित्वमा आइसकेको बताइन्छ । यसरी रामायणभन्दा पूर्व हनुमानको अस्तित्व रहेको शास्त्रीय मत छ । रामायण नै हनुमानका बारेमा जानकारी दिने सबभन्दा आधिकारिक स्रोत हो । वैदिक शास्त्रीय ग्रन्थमा पनि विष्णु अवतारका रूपमा जन्म लिनुभएका रामचन्द्रलाई सहयोग गर्न शिव अवतारका रूपमा हनुमानले पनि जन्म लिनुभएको वर्णन गरिएको छ । स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगत्मा ठुलो प्राणी कोही छैन भन्ने व्याख्या गरिएको छ । परब्रह्म, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठुलो कोही पनि छैन भनी वर्णन गरिएको छ । यस अवसरमा आज स्त्री पुरुष बाल वृद्ध सबैले पवित्र नदीमा स्नान गरी व्रत एवं पूजाआराधना गर्दछन् । हनुमानलाई बजरङ्ग बलि पनि भनिन्छ, किनकि हनुमानको शरीर एक वज्रको समान थियो । हनुमान पवन पुत्रका रूपमा चिनिन्छन् । पाँचमुखी, अत्यन्त तेजस्वी पराक्रमी, पञ्चत्व र पञ्चरुद्र स्वरूपी, अति भयानक रौद्ररूपी हनुमानको ध्यान गर्नाले सबै काम पूर्ण हुन्छन् भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटा बताउँछन् । हनुमानको पूजाआराधना गरेमा रोगव्याधि, बाधा, राजाको भय, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्त्व, बतास, खोला, आगो, राक्षसी शक्तिको प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता छ । हनुमानले भक्ति योग र कर्मयोगद्वारा रामको निकटता प्राप्त गर्नुभएको थियो । वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिका लागि पनि पूजा गर्ने चलन छ । आठ प्रकारका यौगिक शक्ति अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व हनुमानमा थिए । हनुमानलाई परब्रह्म र रौद्ररूपमा पनि स्मरण गरिन्छ । हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ । सिन्दूरले हड्डी एवं मांसलाई सुसङ्गठित शरीर निर्माणमा भूमिका खेल्दछ । यस अवसरमा आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजाआराधना गर्नाका साथै शोभायात्रा निकाल्ने गरिएको छ । मङ्गलबार र शनिबार हनुमानको विशेष आराधना गर्ने गरिन्छ ।
आज महावीर जैनको २६२५औँ जन्म जयन्ती मनाइँदै
काठमाडौँ । जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँडेका महावीर जैनको २६२५औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन भारतको वैशाली नजिकैको ‘कुण्डलग्राम’ नामक गाउँमा राजा सिद्धार्थ र रानी त्रिशूलाबाट उनको जन्म भएको थियो । राजपरिवारमा जन्मिए पनि शान्तिको खोजीका लागि महावीर जैन तपस्यामा निस्कनुभएको विभिन्न जैन ग्रन्थमा उल्लेख गरिएको छ । करिब १२ वर्ष तपस्या गरेपछि उनले मानव समुदायलाई जैन दर्शन बाँडेका हुन् । नेपाल जैन परिषद्का अध्यक्ष सुशीलकुमार जैन शास्त्रीय मान्यताअनुसार २४ वटा तीर्थङ्कर जैन छन् । धर्मको बाटो देखाउने भएकाले तीर्थङ्कर नाम दिइएको हो । हिंसा, सत्य र आफूलाई चाहिनेभन्दा बढी सङ्ग्रह नगर्ने सन्देश महावीरले दिएका थिए । अरूलाई दुःख दिनु पनि हिंसा भएकाले अरूको उपकार गर्नु नै अहिंसा हुने महावीरको विचार छ । उनको उत्तर अध्याय सूत्र कृति चर्चित छ । जसको नेपाली अनुवाद मानव लिन केन्द्रका संस्थापक डा मणिभद्र मुनिजीले गरेका छन् । महावीरको जन्मजयन्तीका अवसरमा नेपाल जैन परिषद्लगायत विभिन्न सङ्घ संस्थाले कार्यक्रम आयोजना गरी यो दिवस मनाउने जनाइएका छन् ।

