आज पाल्पामा भगवतीको रथयात्रा, दशौं हजार भक्तजन रातभरि जाग्राममा

आज पाल्पामा भगवतीको रथयात्रा, दशौं हजार भक्तजन रातभरि जाग्राममा

काठमाडौं । पाल्पामा आज भगवतीको रथयात्रा हुदैंछ । रथयात्राको पूर्वसन्ध्यामा सोमबार राति १० हजारभन्दा बढी श्रद्धालु जाग्राम बसेका छन् ।

नेपाल–अंग्रेज युद्धको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन तानसेनमा भगवतीको रथयात्रा हुँदै आएको छ । रथयात्राको जाग्राममा मध्यरातमा सयौं श्रद्धालु जयजयकारको गुन्जनसहित सहभागी भएका हुन् । पाल्पा तानसेन–३ स्थित भगवतीटोलको भगवती मन्दिर परिसरमा मध्यरातमा भगवतीको दर्शन गर्ने र रथलाई प्रारम्भ गर्दा जाग्राममा सहभागी हुन श्रद्धालुको सहभागिता रहेको प्रहरीले जनाएको छ ।

आतिसबाजीका साथै लाखे नाचको रौनकले मध्यरातसम्म भिड नघटेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले बताए । नेपाल–अंग्रेज युद्धमा कर्णेल उजीरसिंह थापाले नुवाकोट (पाल्पा) जितगढी किल्ला विजयी गरेको सम्झनामा भगवतीको रथयात्रा २०५ वर्षदेखि तानसेन बजारमा निकालिँदै आएको छ । कृष्णअष्टमीको मध्यरातमा पूजाआजासहित राँगो, बोकालगायतका बलि दिइएको छ । तीन/तीन पटक रथलाई मन्दिर परिक्रमा गराएपछि रथयात्राका लागि मन्दिरअगाडि राखिएको छ ।

हरेक वर्ष भाद्र कृष्णअष्टमीको भोलिपल्ट भगवतीको रथयात्रा गर्ने प्रचलन तत्कालीन कर्णेल उजीरसिंह थापाले चलाएको इतिहासविद् कर्णबहादुर बाँनियाको पुस्तकमा उल्लेख छ । कृष्ण जन्माष्टमीको रातभर भगवतीको जयजयकारसहित भजन गाउने र जाग्राम बसिएको छ । कृष्णअष्टमीको बेलुकी लाखे नाच निकालिएको छ । लाखेमा सयौंको संख्यामा सहभागी भए ।

प्रशासन र प्रहरी साथै नगरपालिका, नेपाली सेनाले पूजा दिने प्रचलन छ । यसपटक भगवती जात्रामा पहिलो पटक राष्ट्रप्रमुखको सहभागिता रहने मन्दिर व्यवस्थापन समितिले जनाएका छ । भगवतीको पूजाआराधनाका साथै भगवतीको रथयात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेलको सहभागिता रहने समितिका अध्यक्ष महर्जनले जानकारी दिए ।

विक्रम सम्वत् १८७१/७२ मा नेपालमा कुमाउ–गडवाल, मकवानपुर गढी, कोशी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज र हिन्दुस्तानी फौजसँग लडाइँ भएकोमा जितगढीमा मात्र विजयी हासिल गरेको सम्झनामा अहिलेसम्म रथयात्रा गरिँदै आएको छ । विक्रम संवत् १८७७ मा सुरु भएको भगवतीको रथजात्राले अहिलेसम्म निरन्तरता पाएको भगवती मन्दिर व्यवस्थापन समितिका सचिव प्रकाश गंगोलले बताए ।

पूर्वमन्त्री शर्मालाई पितृशोक

काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माका बुवा दाङका बरिष्ठ साहित्यकार गिरिराज शर्माको आज ८४ वर्षको उमेरमा आज निधन भएको छ । केही समयदेखि भैरहवास्थित निवासमा बसोबास गर्दै आउनुभएका शर्मालाई आज विहान स्वास्थ्यमा समस्या देखिएपछि गौतम बुद्ध मुटु अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो । उहाँको दिउँसो सवा ३ बजे निधन भएको अस्पतालले जनाएको छ । शर्माको पार्थिक शरीर आज साँझ घोराही १८ मसिनास्थित निवासमा पुर्याएर अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । उहाँको अन्त्येष्टि भोलि विहान ८ बजे मसिना सतीघाट कटुवाखोलामा गरिने शर्माका ज्वाई कृष्णध्वज खड्काले जानकारी दिनुभयो । शर्माको विसं १९९७ साल जेठ १५ गते जन्म भएको थियो । नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा ऐतिहासिक एवं नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका बरिष्ठ साहित्यकार शर्माका झण्डै एक दर्जन कृति प्रकाशित छन् भने सयौं कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । उहाँ निवृत्त शिक्षक पनि हुनुहुन्छ । उहाँका चार छोरी र एक छोरा हुनुहुन्छ। शर्माकी श्रीमती पार्वती शर्मा पौडेलको २०७७ चैत ९ गते निधन भएको थियो ।

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् गौतम बताउँछन् । कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउँछन्। यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय धर्मग्रन्थमा उल्लेख गरिएको छ । आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका समिति सदस्य प्राडा भट्टराईले जानकारी दिए । त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक एक सय आठ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् गौतमले सुनाए । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।

रुकुमपश्चिममा एक मृत फेला

रुकुमपश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ९ मा एक पुरुष मृत फेला परेका छन् । वडाको बलचौरका अन्दाजी ६५ वर्षीय भूपाल ओलीको शव वडाकै काउलेखोला छिनडाँडीमा फेला परेको वडाध्यक्ष शशीराम पुनले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै खुट्टा पुरिएको र निर्वस्त्र अवस्थामा खोला किनारमा शव फेला परेको हो । उनका आफन्त कोही नभएको र हिजो परेको वर्षातपछि आएको भेलले बगाएको अनुमान गरिएको छ। बुढाको शव मङ्गलवार बिहान स्थानीयले फेला पारेका हुन । शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ओली सोमबार बेलुकी घरबाट निस्किएको बताइएको छ । सोमबार ठुलो पानी परेको र खोलामा आएको बाढीले ओलीलाई बगाएको आशङ्का गरिएको छ । तर घटनाको बारेमा थप विवरण भने आइसकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

बालेन समर्थकलाई धमाधम पक्राउ गर्दै प्रहरी

काठमाडौं । इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ । उनीहरुलाई नियन्त्रणमा लिएको भन्दा पनि उनीहरुकै सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए ।  

लोकप्रिय