आज रामनवमी पर्व मनाइँदै
काठमाडौँ । हिन्दु धर्मावलम्बीहरूले आज श्रद्धापूर्वक रामनवमी पर्व मनाउँदै छन् । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम श्री रामचन्द्रलाई भगवानको रुपमा स्मरण गर्ने परम्परा रहि आएको छ ।
असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा हिन्दुहरुले पूजापाठ गर्दै आएका छन् ।
त्रेतायुगमा यसै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको धार्मिक विश्वास रहेको छ ।
सोही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।
आजका दिन व्रत बसी श्रीरामको पूजापाठ, व्रत, उपासना र जप(ध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने धार्मिक मान्यता हिन्द
समुदायमा रहेको छ ।
अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मेका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नास गरेका थिए ।
रामनवमीको अवसरमा काठमाडौँको बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपति आर्यघाट पारिको राममन्दिर, गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको राम मन्दिरलगायत देशभरका विभिन्न राम मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।रामनवमी पर्वको अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा समेत दिएको छ ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नु परेकाले दैनिक १० घण्टा बन्द हुने भएको बताइएको छ । विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिब ५ महिना लाग्ने हुँदा कार्तिकमा नै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ।
एकीकृत समाजवादीमा एक पद एक व्यक्ति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ । सङ्गठनलाई सुदृढीकरण गर्दै गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’को अवधारणा कार्यान्वयन गर्न लागिएको बताइएको छ । पार्टीमा आलोचनात्मक टिप्पणी गर्ने, फरक विचार पक्षधरलाई ठोस जिम्मेवारीमा केन्द्रित गर्नेगरी नेताको जिम्मेवारीको कार्यविभाजन गर्न लागिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारीको कार्यदल गठन गरिएको छ । कार्यदलले पार्टीका असन्तुष्ट नेतासँग छलफल गरी उनीहरूलाई पनि केन्द्रीय जिम्मेवारी प्रदान गर्ने तयारी गरेको पनि जनाइएको छ । हाल अध्यक्ष नेपाल विदेश भ्रमणमा हुनुहुन्छ । उहाँ स्वदेश फिर्ता भएपछि पार्टी विभागीय प्रमुख तथा जनवर्गीय सङ्गठन, प्रदेश इन्चार्ज तोकिने र आवश्यकतानुसार अन्य नेताहरूको कार्यविभाजन गरिने जनाइएको छ । पार्टीले समान विचारधारा भएका पार्टी, कम्युनिष्ट पार्टीको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरूसँग कार्यदलले छलफल गरेको पनि सचिव पाण्डेयले जानकारी दिनुभयो ।
प्रहरी महानिरीक्षक इन्टरपोलको ९२औँ महासभामा सहभागी
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवर अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को ९२ औँ महासभामा सहभागी भएका छन् । स्कटल्यान्डमा आयोजित महासभा कार्तिक २२ सम्म सञ्चालन हुनेछ । इन्टरपोलको महासभामा सहभागी हुन आईजीपी कुँवर कार्तिक १८ गते बिहान १ बजे त्यसतर्फ प्रस्थान गरेका थिए । महासभामा सशस्त्र प्रहरी बलका डीआईजी अन्जनी कुमार पोखरेल र नेपाल प्रहरीका एसपी कोमल शाह पनि सहभागी छन् । १९६ सदस्य राष्ट्रहरूको सहभागिता रहने यस इन्टरपोल महासभामा इन्टरपोलका महत्त्वपूर्ण नीतिगत विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान रहेको छ । जसमा नेपालले पनि भाग लिनेछ ।
पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार
काठमाडौं । रवि लामिछानेलाई राजनीतिक प्रतिशेधका आधारमा पक्राउ गरिएको भन्दै विसमर्थकहरुले प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आज पोखराको जिरो किलोमा आयोजित प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरि तिररवितर पारेको हो। प्रदर्शनका क्रममा रास्वपा समर्थकहरु जिरो किलोबाट वाइचोक तर्फ अघि बढेका थिए । प्रहरीले वाइचोकबाट प्रवेश निषेध गरेको थियो । सोही क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । सो क्रममा प्रहरीले ४ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनस्थलबाट सभापति लामिछानेका स्वकीय सचिव अविनाश आचार्यसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पूर्वउपप्रधान एवं गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी तथा संगठित अपराध कसुरमा काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो । तर संसदीय छानबिन समितिले क्लिन चिट दिइसकेको अवस्थामा रविमाथि राजनीतिक प्रतिशोध साँधिएको र हिरासतमा राख्ने नियतले आकर्षित नै नहुने कसुर लगाइएको भन्दै पोखरा लगायत देशभर आन्दोलन भईरहेको छ ।