शीर्ष नेताको बैठक : शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले सर्च कमिटी टुङ्ग्याउने

शीर्ष नेताको बैठक : शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले सर्च कमिटी टुङ्ग्याउने

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग (टीआरसी) गठनका लागि सर्च कमिटी बन्ने भएको छ। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले सर्च कमिटी टुंग्याउने निर्णय गरेको हो। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार भोलि (शुक्रबार) बस्ने मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको नाम टुंग्याउनेछ। 

सोही विषयमा छलफल गर्न शीर्ष तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू बालुवाटारमा जुटेका थिए। 

उपनिर्वाचन तयारीः आयोगको निर्देशनपछि बढ्ला त महिला उम्मेदवारको संख्या ?

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको प्रमुख वा उपप्रमुखको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ ।  आयोगले गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाका प्रमुख वा उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्ये बहाल रहेको पदमा पुरुष कार्यरत भए रिक्त पदको उपनिर्वाचनमा महिलालाई उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको हो । आयोगले जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, वडाध्यक्ष १० तथा नगरपालिकाका मेयर १, उपमेयर १ र वडाध्यक्ष २१ गरी ४१ सिटका लागि उपनिर्वाचन गर्न लागेको छ । आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम यस्तो निर्देशन दिएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए । ‘कानुनमा यस्तो अवस्थाको प्रस्ट व्यवस्था छैन । जस कारण कानुनको भावनाबमोजिम उपनिर्वाचन हुने स्थानीय तहमा बहाल रहेको पदमा पुरुष भए रिक्त पदको उपनिर्वाचनमा महिलालाई उम्मेदवार बनाउन आयोगले निर्देशन दिएको हो,’ उनले भने । स्थानीय तह निर्वाचन ऐनले राजनीतिक दलले स्थानीय तहका प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिँदा दुईमध्ये एक पदमा महिलालाई उम्मेदवार बनाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । तर दुईमध्ये एक मात्रै पदमा उम्मेदवारी दिँदा त्यस्तो व्यवस्था अनिवार्य छैन । आयोगले कानुनको अस्पष्टता रहेको अवस्थामा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम यस्तो निर्देशन जारी गरेको आयोगका सूचना अधिकारी घिमिरेले बताए । साथै आयोगले उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ । स्थानीय तहको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय रहने गरी व्यवस्था गरेको छ । आयोगका अनुसार रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ । वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय सभा अध्यक्ष दाहाल र स्वीस नेसनल काउन्सिलका अध्यक्ष एरिकबिच द्विपक्षीय भेटवार्ता

जेनेभा, असोज ३० । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले स्वीजरल्याण्डको नेसनल काउन्सिलका अध्यक्ष एरिक नसबाउमर (Eric Nussbaumer) सँग द्विपक्षीय भेटवार्ता भएको छ। अन्तर-व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा आउनुभएका अध्यक्ष दाहालले स्वीस नेसनल काउन्सिलका अध्यक्ष एरिकसँग भेटवार्ता गर्नुभएको हो। भेटवार्तामा द्विपक्षीय र आर्थिक सम्बन्ध, अन्तर्राष्ट्रिय मुद्दा, बहुपक्षीय सहयोगका साथै नेपालको शान्ति प्रक्रियामा स्वीस सरकारको सहयोगका बारेमा छलफल भएको थियो। सो अवसरमा अध्यक्ष दाहालले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियामा स्वीस सरकारले महत्वपूर्ण सहयोग गरेको उल्लेख गर्दै नेपाली जनताको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो। संयुक्त राष्ट्रसंघ, आइपीयू लगायतका बहुपक्षीय मञ्चहरुमा नेपाल र स्वीजरल्याण्डले आपसी सहयोग र सहकार्य गर्दै आइरहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि दुई देशबिचको पारस्परिक हित र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ पार्न द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा स्विट्जरल्याण्डसँग काम गर्न नेपाल सधैं तयार रहेको बताउनु भयो। प्रत्यक्ष लोकतन्त्र र संघीयताको अभ्यासमा स्वीट्जरल्याण्ड विश्वकै सफल उदाहरण भएको चर्चा गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “संघीय गणतन्त्रको रुपमा भर्खरै अभ्यास गरिरहेको नेपालले स्वीट्जरल्याण्डका असल अभ्यास बुझ्न र सिक्न प्रयासरत छ। हामी लोकतन्त्रको सुदृढीकरण र लोकतान्त्रिक संस्थालाई जनस्तरसम्म सुदृढ गर्न प्रयास गरिरहेका छौं।” राज्यको शासकीय संरचनामा सीमान्तकृत वर्गको सहभागिता गराउन समावेशी सिद्धान्त लागू गरिरहेको भन्दै उहाँले संघीय संसद र प्रदेश सभामा ३३ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएको बताउनु भयो।   सङ्क्रमणकालीन न्यायका लागि द्वन्द्वपीडितलाई न्याय र क्षतिपूर्ति दिन नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष दाहालले संघीय संसदका दुवै सदनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको जानकारी दिनुभयो। “शान्ति प्रक्रियाका बाँकी काम पूरा गरि हामी दिगो शान्ति, स्थायित्व र विकासको लक्ष्यतर्फ अघि बढेका छौं,” अध्यक्ष दाहालले भन्नुभयो, “नेपालको शान्ति प्रक्रियालाई पूर्णता दिन स्वीस सरकारको महत्त्वपूर्ण सहयोग हुनेछ भन्ने हामीले अपेक्षा लिएका छौं।” संघीय संसदले नेपाल-स्वीट्जरल्याण्ड संसदीय मैत्री समूह गठन गरेको जानकारी दिदै अध्यक्ष दाहालले मैत्री समूहले दुई देशका संसदीय अनुभव, अभ्यास, सहकार्य र आपसी सहयोगका लागि संवादको ढोका खोलेको बताउनु भयो। स्वीट्जरल्याण्ड नेपालको एक प्रमुख विकास साझेदार भएको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “स्वीस सरकारले प्रदान गर्दै आएको विकास सहयोगमा नेपाललाई प्राथमिकतामा राखी निरन्तरता दिनुभएकोमा म स्वीस जनता र सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। स्वीस विकास सहयोगले नेपालको सामाजिक-आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।” भेटमा स्वीस नेसनल काउन्सिलका अध्यक्ष एरिक नसबाउमरले दुई देशको सम्बन्ध प्रगाढ रहेको चर्चा गर्दै आइपीयूको महासभाका सन्दर्भमा नेपाली समकक्षीलाई स्वीजरल्याण्डमा भेट्दा आफूलाई खुसी लागेको बताउनु भयो। नेपालले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन कानुन पारित गरेकोमा बधाई दिदै अध्यक्ष नसबाउमरले कानुन कार्यान्वयनमा लैजानका निम्ति आफूहरुले आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो। “शान्ति प्रक्रियालाई पूर्णता दिन आवश्यक कानुन पारित गर्नुभएकोमा बधाई दिन चाहन्छु,” अध्यक्ष नसबाउमरले भन्नुभयो, “कानुन कार्यान्वयनका क्रममा आवश्यक सहयोगका लागि हामी तयार छौं।” नेपालले नयाँ संविधानमार्फत् संघीय शासन प्रणाली अवलम्बन गरेकोमा खुसी व्यक्त गर्दै उहाँले संघीयताको कार्यान्वयनमा पनि स्वीस सरकारको सहयोग हुने बताउनु भयो। नेपाल पर्यटकीय रुपमा निकै सम्भावनायुक्त देश भएको चर्चा गर्दै अध्यक्ष नसबाउमरले नेपालको पर्यटन प्रवर्द्धन र हवाइ सेवाको गुणस्तर एवं विकासमा स्वीस सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो। सो अवसरमा अध्यक्ष नसबाउमरले आफूले नेपालको भ्रमण गर्न चाहेको पनि बताउनु भयो।

माओवादी केन्द्र सुदूरपश्चिममा जिम्मेवारी तोकियो

काठमाडौं । काठमाडौँ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको कार्यविभाजन तोकिएको छ । प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले मंगलबार प्रदेश, जिल्ला, सदन, विभाग, जबस/मोर्चाहरूमा नेताहरूको कार्य विभाजन तोकेका हुन् ।  इन्चार्ज पोखरेलले प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको तीन सदस्य कार्यालय गठन गरेको मातहतका समितिमा परिपत्र पठाएका छन् । जसमा प्रदेश इन्चार्ज पोखरेल, सह इन्चार्ज बिना मगर र स्थायी समिति सदस्य खगराज भट्ट रहेका छन् ।  यसैगरी सङ्घीय र प्रादेशिक निर्वाचन क्षेत्रमा नेताहरूको जिम्मेवारी तोकिएको छ । सङ्घीय निर्वाचन क्षेत्र अन्तर्गत कैलाली १ मा तिलकबहादुर परियार, २ मा लालबहादुर सोडारी, ३ मा कृष्णकुमार चौधरी, ४ मा लक्षीराम आचार्य र ५ नम्बर क्षेत्रमा ओमप्रकाश पुनलाई जिम्मेवारी दिएको छ । यस्तै कञ्चनपुर १ मा दीपा चौधरी, २ मा निर्मला बडाल जोशी र ३ मा मानबहादुर सुनारलाई जिम्मेवारी दिएको छ ।  अछाम १ मा दीपकबहादुर साउद र २ मा रामप्रसाद तिमिल्सिना रहेका छन् । यसैगरी डोटी १ मा त्रिलोचन भट्ट, डडेलधुरा १ मा कुन्ती जोशी, बैतडी १ मा नरेन्द्रबहादुर कुँवर, दार्चुला १ मा लक्ष्मणदत्त जोशी, बझाङ १ मा मीनबहादुर कुँवर, बाजुरा १ मा कर्णबहादुर बिक रहेका छन् । सुदूरपश्चिमका ९ जिल्लामा १६ वटा सङ्घीय निर्वाचन क्षेत्र र ३२ वटा प्रादेशिक निर्वाचन क्षेत्र रहेका छन् । यसैगरी प्रदेशका सम्बन्धित विभागमा संयोजन गर्नेगरी ३२ वटा विभागमा जिम्मेवारी तोकिएको छ । जनवर्गीय सङ्गठन र जातीय मोर्चासँग सम्बन्धित नेताहरूको जिम्मेवारी तोकिएको छ । नेता गणेश बमको उपचारका लागि सबै केन्द्रीय सदस्य र केन्द्रीय निकायका नेताहरूले दुई हजार जम्मा गर्न पोखरेलले निर्देशन दिएका छन् । 

डेंगुबाट देशभर १९ हजार संक्रमित

काठमाडौं । देशभर डेङ्गी सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गी सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेङ्गी सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गी सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेङ्गी सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् । यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । यस्तै तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामा तीन सय ३५ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन भन्छन्,'पोस्ट मनसुन सुरु हुँदा डेङ्गीको जोखिम बढ्ने सम्भावना हुन्छ । दसैँ लगत्तै अस्पताल आउने डेङ्गीका बिरामी बढिरहेका छन् । समुदायमा डेङ्गी सङ्क्रमण फैलिएको देखिन्छ ।' विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेङ्गी सङ्क्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो । डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ । डेङ्गी सङ्क्रमणबाट बच्न मुख्यतः लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ । डा. पुन भन्छन्, 'झूलको प्रयोग गर्नु राम्रो हुन्छ । जटिल लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।'

लोकप्रिय