दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिन केपी ओलीको निर्देशन

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिए देश अक्षमहरूको हातमा पुग्छ

दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिन केपी ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्नो दलका सांसदहरूलाई निर्देशन दिएका छन्।

विगतको अनुचित गठबन्धन फालेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उचित गठबन्धन बनाउन पहलकदमी लिएकाले मनमा कुनै शंका नराख्न उनको भनाइ थियो। 

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेता ओलीले देश अप्ठ्यारोमा पर्‍यो भन्ने ठानेर प्रधानमन्त्रीले वर्तमान गठबन्धनको पहल गर्नुभएकाले सबैले सहयोग गर्नुपर्ने बताए। 

कांग्रेससँगको गठबन्धनमा प्रधानमन्त्रीको कुर्सी सुनिश्चित हुँदाहुँदै पनि प्रधानमन्त्रीले देशको पक्षमा नयाँ गठबन्धन बनाएको उनको भनाइ थियो। ‘कम्तीमा एक–डेढ वर्ष प्रधानमन्त्रीको कुर्सी सुनिश्चित थियो। तर, देश अप्ठ्यारोमा पर्‍यो भनेर उहाँले यो गठबन्धनको पहल गर्नुभयो। त्यसैले हामी सबैले उहाँलाई खुला हृदयले समर्थन गर्नुपर्छ, सहयोग गर्नुपर्छ।’ उनले भने
दलका नेता ओलीले भोलि प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिन पनि निर्देशन दिए। उनले प्रधानमन्त्रीलाई विश्वासको मत नदिए देश अक्षमहरूको हातमा पुग्ने बताए। 

‘भोलि प्रधानमन्त्रीले विश्वासको मत पाउनुभएन भने संविधानको धारा ७६ को उपधारा २ को च्याप्टर क्लोज हुन्छ र राष्ट्रपतिले प्रमुख पार्टीको नेताको हैसियतले भोलि नै कांग्रेस सभापतिलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुहुन्छ,’ उनले भने, ‘त्यसपछि अल्पमतको, अयोग्य, दृष्टिकोणविहीन, स्वाभिमानहीन, भवितव्यले आइलागेको, कुनै संकल्प नभएको सरकार बन्छ। हामीले त्यस्तो सरकार बन्न दिनुहुँदैन। देशलाई अस्थिरतातर्फ जानबाट जोगाउन प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्छ।’ 

उनले कांग्रेसको दृष्टि सरकारमा मात्र रहने गरेको चर्चा पनि गरे। ‘अर्जुनले चरोको आँखो मात्र देखेजस्तो सरकार मात्र देख्ने, अरू केही नदेख्नेहरू छन्। उनीहरूको अल्पमतको सरकार बन्यो भने देश कता जान्छ ? त्यसैले मनको कुनामा कुनै चित्तदुखाइ नराखी दिल खोलेर विश्वासको मत दिन्छौँ।’  

एमालेले भन्यो-'कांग्रेसले समितिका नाममा सरकार माग्यो'

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसले संसदीय समितिका नाममा सरकार मागेको टिप्पणी गरेका छन्। आइतबार सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकबीचको बैठकपछि उनले कांग्रेसको माग सम्बोधन नहुने बताए। “उहाँहरूले समिति माग गर्नुभएको होइन, सरकार माग गर्नुभएको हो । त्यो सम्भव छैन,” उनले भने । कांग्रेसले उठाएको विषय कानुनसम्मत नरहेको उनले जिकिर गरे । हरेक विषयमा छानबिन समिति बनाउँदै जाँदा सांसद समितिमा मात्र रहनुपर्ने अवस्था आउने उनको भनाइ छ । बर्तौलाले समितिका नाममा कानुन निर्माणको दायित्वबाट सांसद च्युत हुन नसक्ने बताए । उनले कांग्रेसले संसद्लाई बेकामे बनाउन खोजेको आरोप समेत लगाए ।

नेप्सेमा ८.२६ अंकको वृद्धि, तीन अर्ब १५ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक परिसूचक नेप्से ८.२६ अंकले बढेको छ। नेप्से ०.४२ प्रतिशतले बढेर १९७४.५० को विन्दुमा पुगेको छ। यस दिन ३११ धितोपत्र (कम्पनीलगायत)का ७८ लाख ५७ हजार ३१ कित्ता सेयर तीन अर्ब १५ करोड ५१ लाख ४२ हजार १६८.४३ रुपैयाँमा कारोबार  भयो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, १२७ कम्पनीको सेयर मूल्य बढेको छ । १११ कम्पनीको सेयर मूल्य घटेको छ। सात कम्पनीको सेयर मूल्य स्थिर छ। आइतबार सबैभन्दा धेरै सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ५.४४ प्रतिशतले घटेको छ। कारोबारमा रहेका १३ उपसमूहमध्ये १० वटाको समूहगत परिसूचक बढेको छ । तीनवटाको परिसूचक घटेको छ।

गाजामा ‘तत्काल’ युद्धविराम र बन्धकलाई रिहा गर्न आह्वान

कुवेत सिटी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आइतबार गाजामा इजराइल–हमास युद्ध, बन्धकहरूको फिर्ता र घेरामा परेको प्यालेस्टाइन क्षेत्रमा मानवीय सहायतामा ‘वृद्धि’ तुरुन्त रोक्न आग्रह गरेका छन्। “तुरुन्त मानवीय युद्धविरामका लागि म विश्वको आह्वानलाई दोहोर्‍याउँछु, सबै बन्धकको बिना शर्त रिहाई र मानवीय सहायतामा वृद्धि होस”, कुवेतमा अन्तर्राष्ट्रिय दाता सम्मेलनलाई गर्नुभएको भिडियो सम्बोधनमा उनले भने, “तर युद्धविराम सुरुआत मात्र हुनेछ, यो युद्धको विनाश र आघातबाट फर्किन धेरै समय लाग्नेछ ।” गाजामा इजराइली आक्रमण आइतबार पनि जारी रहेको छ । सहरको पूर्वी क्षेत्रहरूमा सैन्य घुसपैठका बारेमा अन्तर्राष्ट्रिय आलोचनाका बाबजुद इजराइलले रफाहका लागि निकासी आदेश विस्तार गरेपछि प्रभावकारीरूपमा मुख्य सहायता क्रसिङ बन्द भएको छ । “गाजामा युद्ध भयानक मानवीय पीडाको कारण बन्दै गएको छ भने जीवनलाई तहसनहस बनाएको छ । त्यस्तै पारिवारिक विखण्डनलाई बढाएको छ । युद्धले ठूलो सङ्ख्यामा मानिसहरूलाई घरबारविहीन, भोक र आघातमा पारेको छ”, महासचिव गुटरेसले भने। कुवेतमा अन्तर्राष्ट्रिय इस्लामिक परोपकारी संस्था (आइको) र राष्ट्रसङ्घको मानवीय समन्वय संस्थाले आयोजना गरेको सम्मेलनको उद्घाटन समारोहमा उनको उक्त टिप्पणी आएको हो । शुक्रबार गाजाको रफाहमा इजराइली स्थल आक्रमणबाट ‘महामानवीय विपत्ति’ निम्त्याउने चेतावनी दिए । इजराइलमा अक्टोबर ७ मा हमासको अभूतपूर्व हमलापछि गाजाको सबैभन्दा रक्तपातपूर्ण युद्ध सुरु भयो । हमासको आक्रमणमा एक हजार एक सय ७० भन्दा बढी मानिसको मृत्यु भएको इजराइली आधिकारिक तथ्याङ्कले बताएको छ । हमासलाई समाप्त पार्ने वाचा गर्दै इजरायलले जवाफी आक्रमण सुरु गर्दा गाजामा ३४ हजार नौ सय ७१ भन्दा बढीको मृत्यु भएको छ । यसमा अधिकांश महिला र बालबालिका रहेका हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस/एएफपी

राष्ट्रपति र प्रधानमन्त्रीबिच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् । आइतबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डका बिचमा भेटघाट भएको हो । भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 

लोकप्रिय