पोखरामा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय महत्त्वपूर्ण छ : प्रधानमन्त्री
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने विश्वास व्यक्त गरेका छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षदेखि एम.बि.बि.एस. तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका कामहरू अगाडि बढाउन निर्देशन दिए।
“चिकित्सा शिक्षाको स्नातकोत्तर तह सञ्चालनमा आएपछि यस प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने सरकारको अपेक्षा छ,” प्रधानमन्त्री प्रचण्डले भने, “आगामी आर्थिक वर्षदेखि एम।बि।बि।एस। तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका कामहरू अगाडि बढाउनेछ ।”
भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा र समग्र देशकै लागि दक्ष चिकित्सक उत्पादनमा यस प्रतिष्ठानले खेलेको भूमिका सबै प्रतिष्ठानका लागिसमेत अनुकरणीय रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रतिष्ठानको विकास, विस्तार र उनन्नयनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। उनले अर्थतन्त्रमा विद्यमान दवाव र स्रोत विनियोजनमा देखिएको सङ्कुचनका बीच पनि सरकारले प्रतिष्ठानको विकास र सेवा विस्तारमा प्राथमिकता दिएको उल्लेख गरे।
प्रतिष्ठान चिकित्सा शिक्षामा समग्र देशकै लागिसमेत उदाहरणीय शैक्षिक संस्थाका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण सरोकारवाला निकाय र पोखरेली जनसमुदायमा बधाइ ज्ञापन गर्दै प्राप्त अवसरको पर्याप्त सदुपयोगका गर्न सुझाव दिए।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विगतमा समेत सबै राजनीतिक दल, सामाजिक संघसंस्था, स्वास्थ्य क्षेत्रसँग सरोकार राख्ने विज्ञहरूलगायत सबैसँग सहकार्य गर्दै अगाडि बढेको स्मरण गर्दै प्रधानमन्त्रीले सहकार्यका आधारमा पोखरेलीको गौरवको यस परियोजनालाई पूर्णत सफल पार्नुपर्नेमा जोड दिए।
उपनिर्वाचनबाट पूर्वी नेपालले माओवादीलाई देशकै पहिलो पार्टी बन्ने संकेत गरिसक्योः प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयअघि भएको स्थानीय तहको उपनिर्वाचनमा आएको मतपरिणामबाट पूर्वी नेपालले माओवादीलाई पहिलो पार्टी बनाइसकेको उल्लेख गरेको यो आगामी निर्वाचनका लागि महत्वपूर्ण संकेत भएको बताउनुभएको छ । पार्टी प्रवेश, बधाई तथा उदयपुर जिल्लाका नेता कार्यकर्ताहरुसँग आज पार्टी कार्यालय पेरिसडाँडामा भएको भेटमा उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘यसपटकको उनिर्वाचनमा प्रदेश नम्बर १ मा जितेका स्थान र लोकप्रिय मत दुबै हिसाबले हाम्रो पार्टी पहिलो बनेको छ’– उहाँले भन्नुभयो– ‘वडा मात्रै होइन, यसपटक पहिले तेस्रो भएको स्थानमा गाउँपालिकामा नै अत्यधिक मतले विजयी हुनु निकै महत्वपूर्ण संकेत हो, अब पार्टीलाई एकताबद्ध बनाउँदै मेहनत गरेर जाने हो भने आगामी निर्वाचनमा देशभरि नै पहिलो पार्टी बन्ने आधार तयार भएको छ ।’ उदयपुरमा यसअघि हारेका दुई वटा वडामा अत्यधिक मतका साथ विजयी हुनु उल्लेख प्रगति भएको स्पष्ट गर्दै अध्यक्ष प्रचण्डले यसका लागि उदयपुरको पार्टी नेतृत्वलाई बधाई दिंदै मतदातालाई धन्यवाद दिनुभयो । ‘यो उपनिर्वाचनबाट हामी देशैभरि पनि तेस्रोबाट दोस्रोमा उक्लेका छौं, अब हाम्रो विजय यात्रालाई कसैले रोक्न सक्दैन’– उहाँले भन्नुभयो– ‘आजबाट निकै उत्साहपूर्ण रुपमा स्थायी समिति बैठक सुरु भएको छ, अब हामी स्थायी समितिहुँदै केन्द्रीय समिति बैठकबाट पार्टीलाई जनतासँग जोड्ने स्पष्ट कार्ययोजनासहित नयाँ उचाईमा उठाउने छौं ।’ आफूले गत भदौमा मोरङ, सुनसरी र झापाको भ्रमण गर्दा, उदयपुरको बेलकामा आयोजित पार्टीको परामर्श बैठक मात्र होइन, भर्खरै रुपन्देही, कञ्चनपुर र झापामा भएको उल्लासपूर्ण पार्टी प्रवेशले देशव्यापीरुपमा जनलहर बढ्दै गएको पुष्टि गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘यो जनलहर २०८४ को जीतको लहर हो, सबैले एकताबद्ध भएर मेहनत गरौं फेरि पनि पार्टीलाई एक्लै लडेर पहिलो शक्ति बनाउन सकिने छ।’ सो क्रममा एकीकृत समाजवादी युवा संघ उदयपुरका अध्यक्ष खिलराज राई र तामाङ भाषाको चलचित्रका स्थापित कलाकार ऋतुराम पोख्रिन माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । त्यस्तै लामो समय माओवादी आन्दोलनमा रहेर केही समयअघि एमालेमा प्रवेश गर्नुभएका स्थापित नेता गञ्जु शेर्पाको दम्पत्ति पनि पुनः माओवादी केन्द्रमा समायोजन भएको छ । उहाँहरुलाई अध्यक्ष प्रचण्डले खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष प्रचण्डले त्रियुगा १२ नवनिर्वाचित वडा अध्यक्ष नवीनकुमार वान्तवा राईलाई सम्मान गर्नुभएको थियो ।
पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउने छः प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणको क्षेत्रलाई महत्व दिइएको बताउनुभएको छ। जनसांस्कृतिक महासंघले आज गरेको कला संस्कृतिसँग सम्बन्धित विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगका पदाधिकारीहरुसँगको भेटघाटमा उहाँले यस्तो जानकारी दिनुभएको हो। ‘आजदेखि निकै उत्साहपूर्णरुपमा पार्टी स्थायी समितिको बैठक सुरु भएको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हामी रुपान्तरण र पुनर्निर्माणको अभियानमा जाँदैछौं, यो बेलामा सांस्कृतिक रुपान्तरणलाई महत्वका साथ अघि सारिएको छ ।’ पार्टीको स्थायी समितिहुँदै केन्द्रीय समिति बैठकबाट विभिन्न अभियानसहितको महत्वपूर्ण कार्ययोजना पारित गरेर जाने तयारी रहेको उल्लेख गर्दै उहाँले यसले पार्टीभित्रको सांस्कृतिक रुपान्तरणलाई नयाँ आयाम दिने भएकाले त्यही अनुरुप राजनीतिक प्रतिवेदनमा सांस्कृतिक पक्षलाई महत्व दिइएको बताउनुभयो । पार्टी र राज्यसत्ता दुबैमा सांस्कृतिक रुपान्तरणलाई महत्वका साथ हेरिनुपर्ने पनि उहाँले स्पष्ट गर्नुभयो । ‘राज्यसत्तामा अझै पनि एकीकृत, केन्द्रिकृत र एकल संस्कृतीय सोंच हावी छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हामीले जसरी राजनीतिक परिवर्तन गर्यौं, त्यसलाई संविधानमार्फत संस्थागत गर्यौं तर सांस्कृतिक रुपान्तरणको क्षेत्र राजनीतिक परिवर्तन र कानुन निर्माणबाट मात्रै संभव हुने कुरा होइन, यो आम मानिसको सोंच र चिन्तनसँग पनि सम्बन्धित हुने भएकाले सोंच र चिन्तन बदल्न अझै धेरै मेहनत गर्न आवश्यक छ ।’ पार्टीको तर्फबाट नियुक्त भएर विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगको जिम्मेवारीमा गएकाहरुले सुधारका लागि राम्रो प्रयासको थालनी गरेको उल्लेख गर्दै उहाँले यसलाई अझै बढाएर लैजानुपर्ने बताउनुभयो । त्यसका लागि पार्टीले नियमित छलफल र परामर्शका कार्यक्रम राख्दै जाने पनि उहाँले स्पष्ट गर्नुभयो । महासंघका अध्यक्ष भीम कुमाखीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगका पदाधिकारीहरुले आफूहरुले गरेका सुधारका प्रयास र चुनौतीका बारेमा चर्चा गरेका थिए ।
माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्न बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदनको बारेमा चर्चा गर्नुभएको । पार्टीका आगामी कार्यक्रम र कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदनबारे छलफल सुरु भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । स्थायी समिति बैठक पुनः पुस १९ गते विहान ११ बजे सुरु हुने छ ।
‘प्रचण्ड’को सचिवालयले भन्यो- 'शेरा दरबारको जग्गाबारे आधारहीन कपोलकल्पित कुप्रचार बन्द गरियोस्'
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालयले शेरा दरबार जग्गा प्रकरणमा पार्टी र पार्टी नेतृत्वलाई जोडेकोप्रति आपत्ति जनाएको छ । ‘प्रचण्ड’की स्वकीय सचिव गंगा दाहालले विभिन्न काल्पनिक र भ्रामक विषयहरू राखेर विनाकुनै प्रमाण र तथ्यविना दिवंगत भइसकेका व्यक्तिमाथि गरिएको कुप्रचार बन्द गर्न माग गर्नुभएको हो । ‘शेरा दरबार प्रकरणलाई माओवादी केन्द्रसँग जोड्नु भ्रामक मात्र नभएर बदनियत पूर्णसमेत छ । उक्त प्रकरणका अभियुक्तहरूमाथि छानबिन गरी कानूनी कारबाही गर्न पार्टीले सरकारसँग मागसमेत गरिसकेको छ । अभियुक्त जुनसुकै आस्था, दल वा समुदायको होस्, पूर्वाग्रह नराखी अनुसन्धान र कारबाही गर्नुपर्छ भन्नेमा हामी दृढ र स्पष्ट छौँ।’उहाँले भन्नुभएको छ । भ्रष्टाचार र अनियमिततामा जोसुकै जोडिए पनि निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्छ भन्ने अठोटका साथ नै पार्टीले सुशासनको मुद्दालाई प्राथमिकता दिएको उहाँले बताउनुभएको छ । उहाँले कुनै आधार र प्रमाणविनाको कपोलकल्पित कुप्रचार बन्द गर्नसमेत माग गर्नुभएको छ ।