एमाले प्रतिनिधिलाई विद्याको पत्र: 'मेरो सदस्यतालाई विधि, मूल्य,र लोकतान्त्रिक अभ्याससँग जोडेर हेर्न आग्रह गर्छु'

एमाले प्रतिनिधिलाई विद्याको पत्र: 'मेरो सदस्यतालाई विधि, मूल्य,र लोकतान्त्रिक अभ्याससँग जोडेर हेर्न आग्रह गर्छु'

ललितपुर। नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ ।  भदौ २१ गते आइतबारसम्म चल्ने यो महाधिवेशनले पार्टीको १४ औं महाधिवेशनका लागि विधान र नीति तर्जुमा गर्ने मुख्य उद्देश्य राखेको छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महाधिवेशनका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै १,३०० शब्दभन्दा बढीको पत्र पठाएकी छन्। पत्रमा उनले नेकपा (एमाले) को केन्द्रीय कमिटीको साउन ५ र ६ गते बसेको नवौं पूर्ण बैठकले आफ्नो पार्टी सदस्यता नवीकरणमाथि प्रश्न उठाएर आफूप्रतिको आस्था र विश्वासमाथि कुठाराघात गरेको गम्भीर आरोप लगाएकी छन्।

पत्रमा भण्डारीले आफ्नो लामो राजनीतिक यात्रा र पार्टीप्रतिको समर्पणलाई उजागर गर्दै आफ्नो सदस्यतामाथि उठाइएको प्रश्नले पार्टी र राष्ट्रकै लागि गम्भीर स्थिति सिर्जना गरेको उल्लेख गरेकी छन्। उनले लेखेकी छन्, "मैले २०३७ सालमा प्राप्त गरेको पार्टी सदस्यता मेरो गहिरो आस्था र विश्वासको प्रतीक हो। तर, पार्टीले विशेष निर्णय गरेर मलाई राष्ट्रपति बनाएर पठाएपछि मैले कुशलतापूर्वक जिम्मेवारी पूरा गरें। राष्ट्रपति पदबाट फर्किएपछि पार्टीमा सक्रिय हुन चाहँदा मेरो सदस्यतामाथि प्रश्न उठाउनु दुखद र अन्यायपूर्ण छ।"

भण्डारीले आफ्नो सदस्यता २०८२ असार १४ गते मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा नवीकरण भएको र त्यसलाई सार्वजनिक रूपमा घोषणा गरेको स्मरण गराएकी छन्। उनले उक्त अवसरमा जनताको बहुदलीय जनवाद (जबज) को अजेयता, सामाजिक–आर्थिक रूपान्तरण, र पार्टीको सुदृढीकरणका विषयमा सम्बोधन गरेको उल्लेख गरिन्।

"राष्ट्रपति निर्वाचित भएपछि मैले २०७२ कार्तिक १२ मा प्रेस नोट जारी गरी पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेको थिएँ। तर, सामान्य नागरिकको रूपमा फर्किएपछि पार्टी नेतृत्वको सल्लाहमा नै मैले सदस्यता नवीकरण गरेको हुँ," उनले पत्रमा स्पष्ट पारेकी छन्।

पार्टीभित्रको विवाद र लोकतान्त्रिक संस्कार

भण्डारीले केही नेताहरूले आफ्नो सदस्यता नवीकरण नभएको भन्दै सञ्चारमाध्यममा गरेको टिप्पणीले पार्टीभित्र भ्रम र जनतामा अन्योल सिर्जना भएको बताएकी छन्। उनले प्रश्न गरेकी छन्, "पार्टीले विधिवत् रूपमा नवीकरण गरेको मेरो सदस्यतामाथि अहिले किन विवाद? यो जबजले सिकाएको लोकतान्त्रिक संस्कार र संस्कृतिसँग मेल खाँदैन।"

उनले पार्टी संगठन सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयता भएको र आफ्नो नवीकृत सदस्यता स्वीकार गर्नु विधानसम्मत हुने जोड दिएकी छन्। "यो विषय मेरो व्यक्तिगत मात्र होइन, पार्टीका सम्पूर्ण सदस्यको आस्था, विश्वास, र अधिकारसँग जोडिएको छ," उनले लेखेकी छन्।

पत्रमा भण्डारीले आफ्नो लामो राजनीतिक यात्रामा महिला अधिकार, मानव अधिकार, न्याय, र समानताका लागि निरन्तर लड्दै आएको उल्लेख गरेकी छन्। उनले पार्टीभित्रको एकता, समझदारी, र सक्रियताले मात्र सामाजिक–आर्थिक रूपान्तरण र समृद्ध नेपालको लक्ष्य हासिल गर्न सकिने बताएकी छन्।

"पार्टीको विधानले पूर्वराष्ट्रपतिलाई सदस्य हुनबाट रोक्ने कुनै प्रावधान छैन। नेपालको संविधानले पनि प्रत्येक नागरिकलाई सहभागिता र स्वतन्त्रताको अधिकार दिएको छ। मेरो सदस्यतामाथिको प्रश्नले पार्टीको लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाउँछ," उनले जोड दिएकी छन्।

पार्टी एकताका लागि आग्रह

भण्डारीले आफ्नो पत्र आत्मरक्षाका लागि नभई पार्टीको उज्ज्वल भविष्य र लोकतान्त्रिक अभ्यासका लागि लेखिएको बताएकी छन्। उनले विधान महाधिवेशनका प्रतिनिधिहरूलाई आफ्नो आग्रहलाई गम्भीरतापूर्वक लिन र पार्टीको एकता तथा सुदृढीकरणका लागि सकारात्मक निर्णय गर्न अनुरोध गरेकी छन्।

"पार्टी बलियो भएमात्र देश बलियो हुन्छ। हाम्रो पार्टी हाम्रो समर्पण, आकांक्षा, र लोकतन्त्रको प्रतीक हो। मेरो सदस्यताको विवादलाई व्यक्तिगत नठानी विधि, मूल्य, र लोकतान्त्रिक अभ्याससँग जोडेर हेर्न आग्रह गर्छु," उनले भनेकी छन्।

यो विधान महाधिवेशनले नेकपा (एमाले) को आगामी १४ औं महाधिवेशनका लागि मार्गदर्शन गर्ने नीति र विधान तय गर्नेछ। पार्टीको संगठनात्मक संरचना सुदृढ गर्ने, वैचारिक स्पष्टता कायम गर्ने, र सामाजिक–आर्थिक रूपान्तरणको लक्ष्यलाई तीव्र बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

भण्डारीको पत्रले महाधिवेशनमा थप बहस र छलफलको वातावरण सिर्जना गरेको छ। उनको आग्रह र पार्टी नेतृत्वको निर्णयले एमालेको आन्तरिक एकता र भविष्यको दिशालाई प्रभाव पार्ने देखिन्छ।

रवि लामिछानेविरुद्ध आरोपपत्र संशोधन विवाद: रिट आज पूर्ण इजलासमा सुनुवाइ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दामा आरोपपत्र संशोधनसम्बन्धी निर्णयविरुद्ध दायर रिट निवेदनको सुनुवाइ आजका लागि तोकिएको छ। सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर जोडिएको मुद्दामा आरोपपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालय को निर्णयविरुद्ध परेको रिट आज सर्वोच्च अदालत को पूर्ण इजलासमा पेशीमा राखिएको हो। यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासले २०८२ चैत १५ गते आदेश जारी गर्दै उक्त विवादमा गम्भीर संवैधानिक तथा कानुनी व्याख्या आवश्यक देखिएको भन्दै पूर्ण इजलासमा पठाएको थियो। संयुक्त इजलासले ‘थप प्रमाण’को व्याख्यामा अस्पष्टता र गलत अर्थ लाग्ने सम्भावनालाई औँल्याउँदै यस विषयमा विस्तृत व्याख्या आवश्यक रहेको जनाएको छ। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ अनुसार ‘थप प्रमाण फेला परेमा’ मात्र अभियोग संशोधन गर्न मिल्ने व्यवस्था छ। तर, यस प्रकरणमा प्रतिवादी स्वयंले दिएको निवेदन वा स्वघोषणालाई ‘थप प्रमाण’का रूपमा मान्न मिल्ने कि नमिल्ने भन्ने विषयमा कानुनी प्रश्न उठाइएको छ। त्यसैगरी, जिल्ला अदालतको क्षेत्राधिकारभित्र पर्ने विषयमा सर्वोच्च अदालतले हस्तक्षेप गर्न मिल्ने वा नमिल्ने भन्ने प्रश्नसमेत उठेको छ। आरोपपत्र संशोधनको अन्तिम अनुमति दिने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुने भएकाले, जिल्ला अदालतले निर्णय नगर्दै सर्वोच्च अदालतबाट हस्तक्षेप गर्न मिल्छ कि मिल्दैन भन्ने प्राविधिक तथा संवैधानिक विषयमा पनि पूर्ण इजलासले टुंगो लगाउने अपेक्षा गरिएको छ।

हुम्लाको विकासलाई राष्ट्रिय प्राथमिकतामा राख्न डा. दीपेन्द्र रोकायाको ६४ बुँदे ज्ञापनपत्र

काठमाडौँ  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डा. दीपेन्द्र रोकायाले हुम्ला जिल्लाको समग्र विकासलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्न माग गर्दै सरकारलाई ६४ बुँदे ज्ञापनपत्र बुझाएका छन् । हुम्ला एक समय राज्यको केन्द्रमा रहेको ऐतिहासिक तथ्य स्मरण गराउँदै निरन्तरको उपेक्षाका कारण आज दुर्गमताको प्रतीक बनेको उनले उल्लेख गरेका छन् । “अब सामाजिक न्यायको आधारमा सबैभन्दा पछाडि परेको हुम्लालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,” उनले भनेका छन् । डा. रोकायाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हुम्लालाई ठोस र परिणाममुखी ढङ्गले सम्बोधन गर्नुपर्ने माग गर्दै प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयमा यो ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा कर्णाली करिडोरअन्तर्गत पिलु–तुम्च, तुम्च–छार्या, छार्या–सिमकोट र सिमकोट–हिल्सा खण्डको स्तरोन्नति, प्रत्येक गाउँसम्म राष्ट्रिय प्रसारण लाइन विस्तार र सबै पालिका केन्द्र हुँदै सीमावर्ती हिल्सासम्म अप्टिकल फाइबर पुर्‍याउने प्रस्ताव गरिएको छ । त्यस्तै, हिमाली क्षेत्र विकास प्राधिकरण स्थापना, हिल्सामा क्वारेन्टाइन तथा यारीमा सुक्खा बन्दरगाह निर्माण गरी हुम्लालाई क्षेत्रीय व्यापार र आवागमनको केन्द्र बनाउने, कर्णाली–१ र कर्णाली–२ जस्ता ठूला जलविद्युत् आयोजनामा सहजीकरण गर्ने, साना जलविद्युत् आयोजनालाई राष्ट्रिय ग्रिडमा जोड्ने र सिमकोटलाई सौर्य ऊर्जामार्फत लोडसेडिङमुक्त बनाउने प्रस्ताव समेत अघि सारिएको छ । कैलाश–मानसरोवर दृश्यावलोकन केन्द्र निर्माण, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, नयाँ पदमार्ग तथा चलचित्र छायाङ्कन स्थल विकास गरी हुम्लालाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

विद्यार्थी संगठनहरूलाई स्कुल–कलेजमा प्रतिबन्ध लगाउन पाइँदैन : नेपाली कम्युनिष्ट पार्टी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले विद्यार्थी संगठनहरूलाई स्कुल वा कलेजमा प्रतिबन्ध लगाउन नपाइने निष्कर्ष निकालेको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका नेता जगन्नाथ खतिवडाले बैठकको निष्कर्षबारे जानकारी दिँदै भने, “जनसंगठनहरू, खासगरी विद्यार्थी संगठनहरूलाई कलेजमा प्रतिबन्ध गर्ने र ट्रेड युनियनलाई प्रतिबन्ध गर्ने कुरा बेठिक हो । यसले जनता र ट्रेड युनियनका अधिकारलाई कुण्ठित गर्छ । यो गलत हो । यस्तो गर्न पाइँदैन । हामी यसको विपक्षमा उभिन्छौं ।” सरकारले आफ्नो १०० बुँदे कार्यसूचीमा विद्यार्थी संगठनहरू खारेज गर्ने विषय उल्लेख गरेपछि विभिन्न राजनीतिक दल र संगठनहरूले विरोध जनाउँदै आएका थिए । नेकपाले पनि यो निर्णय गलत भएको ठहर गर्दै विद्यार्थी तथा जनसंगठनहरूको अधिकार रक्षाको पक्षमा उभिने स्पष्ट गरेको छ । नेता खतिवडाका अनुसार केन्द्रीय कार्यसंयोजन समितिको अर्को बैठक आगामी ३ वैशाखमा बस्नेछ । उक्त बैठकका बाँकी निष्कर्ष र निर्णयहरू पनि त्यसबेला सार्वजनिक गरिने छन् ।

संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलको आज पहिलो बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को पहिलो बैठक आज बस्दै छ । बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा यो कार्यदल गठन गरिएको थियो । कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल पनि सदस्यका रूपमा छन् । कार्यदलको सदस्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदी रहेका छन् ।

लोकप्रिय