नयाँ पर्यटकीय गन्तव्यको पहिचान र विकास गर्छौं : मन्त्री तामाङ

नयाँ पर्यटकीय गन्तव्यको पहिचान र विकास गर्छौं : मन्त्री तामाङ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नयाँ पर्यटकीय गन्तव्यको पहिचान र विकास गरी पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८१ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री तामाङले भने, “नयाँ पर्यटकीय गन्तव्यको पहिचान र विकास गरी पर्यापर्यटन गन्तव्य, हिल स्टेसन, ग्रेट हिमालयन ट्रेललगायत पर्यटकीय पूर्वाधार विकास कार्यक्रम तय गरिएको छ ।”

उहाँले स्वीस सरकार, पर्यटन मन्त्रालय र कोशी प्रदेशका २९ स्थानीय तहको सहभागितामा ‘ट्रेल बेस्ड टुरिजम प्रोग्राम’ आगामी आवबाट सञ्चालन गर्ने कार्यक्रम रहेको अवगत गराए। होटेल, होमस्टे, क्यासिनो, पर्यटक यातायात लगायतका सेवा सुविधा दिने क्षेत्रको नियमन र सुधार गर्ने कार्यक्रम रहेको पनि मन्त्री तामाङले जानकारी दिए। सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य सहजरुपमा हासिल भएकाले नै आगामी आवमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको उनले बताए। 

छिमेकी मुलुक चीन र भारतबाट उल्लेख्य रुपमा पर्यटक आकर्षित  गर्न नेपाल पर्यटन बोर्डबाट स्थान लक्षित र संस्कृति केन्द्रित भई ती देशका पर्यटकको आवश्यकतामा आधारित भाषामा प्रचारप्रसार गर्ने गरी पर्यटक प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने मन्त्री तामाङले जनाए। उनले भने “नेपाल पर्यटन बोर्डले बृहत्तर जनकपुर क्षेत्र विकास परिषदसँगको सहकार्य र साझेदारीमा वैवाहिक केन्द्र सञ्चालन गर्नका लागि आवश्यक तयारी गरी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।”

लुम्बिनी विकास कोषलाई राष्ट्रिय गौरवको योजनाका रुपमा घोषणा गरी गुरु योजना बमोजिमका कार्य भइरहेका भन्दै मन्त्री तामाङले विगतमा जस्तो बजेटको कमी हुन नदिन उच्च चासोका साथ सम्बोधन गर्ने प्रयास गरिएको बताए। गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन मन्त्रालयबाट अध्ययन कार्यदल गठन गरिएको र प्रतिवेदनबाट प्राप्त सुझावअनुसार थप कार्य गरिने उनको भनाइ थियो । 

स्नातक तहको चौथो वर्षमा अनुत्तीर्ण भए, तत्काल मौका परीक्षा दिन पाइने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको वार्षिक कार्यक्रम तर्फका विद्यार्थीलाई पनि मौका परीक्षा दिने व्‍यवस्था गर्ने भएको छ। स्नातक तहको पहिलो, दोस्रो, तेस्रो वर्षको परीक्षा उत्तीर्ण गरिसकेको तर चौथो वर्षमा एक वा दुई विषय लागेर अनुत्तीर्ण भएका विद्यार्थीले तत्काल मौका परीक्षा दिन पाउने व्यवस्था गर्ने निर्णय गरिएको त्रिविका रजिष्ट्रार प्रा.डा.केदार रिजालले जानकारी दिए।  विद्यार्थीको शैक्षिक वर्ष खेर नजाओस भन्ने उद्देश्यले निर्णय गरेको प्रा.डा.केदार रिजालले जानकारी दिए ।

परराष्ट्र सचिव लम्साल चीन जाँदै

काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल सोमबार चीन भ्रमणमा जाने भएकी छन् । कुनमिङमा हुने पाँचौं ‘चीन दक्षिण एसिया समन्वय फोरम’मा सहभागी हुन लम्साल सोमबार चीन जान लागेकी हुन् । परराष्ट्र सचिवले फोरमलाई मंगलबार सम्बोधन गर्ने कार्यक्रम छ । फोरममा सहभागीहरूसँग सचिव लम्सालले उच्चस्तरीय साइडलाइन वार्ता गर्ने परराष्ट्र स्रोतले जानकारी दियो । लम्साल शनिबार काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले विश्वासघाती राजनीति गर्नुभयो : माधवकुमार नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासघाती राजनीति गरेको आरोप लगाएका छन्। प्रतिनिधि सभा बैठकमा आइतबार प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विगतमा ओलीले स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भनेर आश्वासन दिएपनि बिचबाटोबाटै छाडेर अर्को बाटो लागेको भन्दै नेपालले कटाक्ष गरे। अध्यक्ष नेपालले भने, ‘पाँच वर्ष सँगै जाने, स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भन्ने सुन्दै आनन्द लाग्ने कुरा थियो। तर आफू स्वगतिर गयो, अर्कोलाई लात्ती हिर्काएर नर्कतिर र्पुयायो ।’ ओलीले विगतका घटनामा आत्मसमीक्षा गर्नुपर्ने बताउँदै नेपालले तिनमा आत्मालोचना गर्नसमेत सुझाव दिए। नेपालले ओलीको विगत सम्झाउँदै २०७८ असार २८ को बर्हिगमन सम्झिन भनेका छन्। ‘ओली जी तपाई हुन दिन सत्ताबाट आउट हुनुभएको थियो । त्यही दिन दिन इन हुनु भएको छ। बोलेको कुरा पुरा गर्नुभएन । जनता उत्साहित छैनन्। विगतबारे समीक्षा गर्न सामान्य अनुरोध गर्छु । नेतामा विश्वसनीयता र इमानदारता हुनुपर्छ। अहिलेसम्मको अनुभवबाट तपाईँले कस्तो शिक्षा लिनुभएको छ’, उनले भने।

ढुक्क छैनन् देउवा, भने- 'सहमतिप्रति एमाले दृढ रहने विश्वास लिएको छु'

काठमाडौं। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नयाँ समिकरण निर्माणको बेला कांग्रेस र एमालेबीचको सहमति कार्यान्वयन हुनेमा ढुक्क देखिएका छैनन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि समर्थन जनाउँदै सम्बोधन गर्दा देउवाले ओली अध्यनशिल र मिहनेती नेता भएको भन्दै प्रशंसा गरे तर सहमति कार्यानव्यन हुनेमा एमाले इमान्दार बन्नेमा संका व्यक्त गरे ।  गत असार १७ गते काँग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिको कार्यान्वयनप्रति काँग्रेस दृढ रहेको र दृढ रहिरहने अवगत गराउँदै सभापति देउवाले एमाले पनि यस कुरामा दृढ रहने विश्वास व्यक्त गरेको बताए।   ‘असार १७ गते नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिको कार्यान्वयनप्रति नेपाली काँग्रेस दृढ छ, दृढ रहिरहनेछ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने, ‘साथै, नेकपा एमाले पनि यस कुरामा दृढ रहनेछ भन्ने कुरामा पूर्ण रूपले विश्वास छु। उनले नेपाली जनताको अपेक्षाअनुसार स्थिर सरकार, तीव्र आर्थिक विकास, रोजगारी सिर्जना तथा भौतिक संरचनाको शीघ्र निर्माण गर्न वर्तमान सरकार गठन भएको उल्लेख गरे। सभापति देउवाले संविधान संशोधन लोकतन्त्रको स्वाभाविक अभ्यास रहेको उल्लेख गर्दै संविधान संशोधन गर्दा सबै दलको सहमति खोजिने स्पष्ट पारे। ‘संविधान कार्यान्वयनको आठ वर्ष पूरा भएको छ। यसको सबल र दुर्बल पक्ष एवम् जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास हो,’ उनले भने, ‘संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ। नेपालमा क्रियाशील सबै राजनीतिक दलबीच संवाद र सहमतिबाट संविधान संशोधन गर्न उचित हुन्छ भन्नेमा हामी स्पष्ट छौं।’ सभापति देउवाले संसद्का दुई ठूला दल काँग्रेस र एमाले मिलेर बनेको सरकारले राजनीतिक स्थिरता, तीव्र आर्थिक विकास र समृद्धिका लागि काम गर्ने अपेक्षा गरे। ‘देश विकासका लागि सबैभन्दा पहिलो आवश्यकता स्थिर र मजबुत सरकार निर्माण गर्नु हो। आजको संसद्को संरचनालाई दृष्टिगत गरी स्थिर सरकारका लागि संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार निर्माण भएको छ,’ उनले भने। नयाँ सरकारले मुलुकमा देखिएको आर्थिक शिथिलतालाई चिर्दै समग्र अर्थतन्त्रलाई चलायमान बनाउने र दिगो शान्ति कायम गरी गतिशील अर्थतन्त्रको माध्यमबाट देशभित्रै रोजगारीका अवसर सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राख्ने सभापति देउवाले विश्वास व्यक्त गरे। यसबाट राजस्व संकलनमा थप वृद्धि भई विकास निर्माणका जनआकांक्षा पूरा गर्न सकिने उनको भनाइ थियो। भ्रष्ट्राचार नियन्त्रण गर्दै मुलुकलाई सुशासनतर्फ लैजान आवश्यक रहेको उल्लेख गर्दै सभापति देउवाले विधिको शासन र संविधानको पूर्ण कार्यान्वयनका लागि कानुनको निर्माण, लगानीको वातावरण बनाएर अहिले देखिएको आर्थिक शिथिलता चिरेर आन्तरिक उत्पादन बढाउने तथा रोजगारीका अवसर सिर्जना गरिने बताए। ‘प्रधानमन्त्री ओली अत्यन्त मेहनती, अध्ययनशील र अनुभवी हुनुहुन्छ। उहाँको मन्त्रिमण्डलमा रहेका साथीहरू पनि योग्य र सक्षम हुनुहुन्छ,’ सभापति देउवाले भने, ‘ओलीको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो समात्ने छ भन्ने मैले विश्वास लिएको छु। राजनीतिलाई स्थिरताको बाटोतर्फ उन्मुख गराउन गठन भएको वर्तमान सरकार सफल हुने विश्वास लिएको छु।’ सात बुँदे सहमतिमा आगामी दुई वर्ष एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्ने र त्यसपछि चुनावी सरकारको नेतृत्व काँग्रेस सभापति देउवाले गर्ने उल्लेख छ। काँग्रेसले प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतको पक्षमा मतदान गर्ने उल्लेख गर्दै उनले अन्य दललाई पनि प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको पक्षमा मतदान गर्न अपिल गरे।  

लोकप्रिय