आधा महिना वित्दापनि सहमति किन गुपचुप?

लोकतन्त्रको आधार स्तम्भको रुपमा रहेका पारदर्शिता र खुलापनमाथि ठाडो चुनौति

आधा महिना वित्दापनि सहमति किन गुपचुप?

समाचार टिप्पणी

काठमाडौं । नेपाली काङ्ग्रेस र नेकपा एमालेका बीच भएको भनिएको सहमतिको १५ दिन पुरा भएको छ । 

असार १७ गते मध्यरात कांग्रेस र एमालेबीच भएको भनिएको सत्ता साझेदारीको सहमति १५ दिन पुरा हुँदा समेत सार्वजनिक भएको छैन । सहमति कार्यान्वयन अन्तर्गत नयाँ सरकार बनिसक्दा पनि दुवै दलले नागरिकका लागि त्यो सम्झौता सार्वजनिक गर्न सकिरहेका छैनन् ।

सामान्यतया दलहरुबीच भएका यस्ता सहमति तत्काल सार्बजनिक गर्ने गरिन्छ । तर आधा महिना वितिसक्दा समेत भएको भनिएको सहमति सार्वजनिक नराखेर जनतालाई गुमराहमा राख्ने काम काङ्ग्रेस र एमालेले गरेका छन् । 

अनौठो त के छ भने नेपाली कांग्रेसको कार्यसम्पादन समिति र एमालेको सचिवायल बैठकले भएको भनिएको सहमतिलाई अनुमोदन गरिसकेका छन् । 

मध्यरातमा काङ्ग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी  ओलीबीचको सहमति दुबै पार्टीका अन्य नेताहरुलाई पनि जानकारी नदिइ नै अनुमोदन भएको छ । 

जानकारी दिइएको भए कुनै न कुनै रुपमा त्यो सार्बजनिक हुने अवस्था आउने थियो । यसको मतलब काङ्ग्रेसको कार्यसम्पादन समिति र एमालेको सचिवालय समितिका सदस्यहरुलाई खाली चेकमा हस्ताक्षर गराइएको छ । 

बैठकमा सहभागीहरुलाई सत्ता सहकार्यको सहमति भएको मात्रै भनिएको छ, तर किन सहमति गरिएको र सहमतिका बुँदामा के छ भनेर बैठकमा समेत खुलाईएको छैन । 

यसले शीर्ष नेताहरुको सहमति भएमा जे पनि गर्न सकिन्छ भन्ने भाष्य पनि निर्माण भएको छ । पार्टीका शीर्षस्थ सदस्यहरुलाई पनि जानकारी नभएको सहमति नागरिकसामु कहिले आउला ? किन अहिलेसम्म सार्बजनिक हुन सकेको छैन त ? त्यो भएको भनिएको सहमति सार्बजनिक गर्न के ले रोकिएको छ ? दिनहरु वित्दै जाँदा झनपछि झन् विभिन्न अड्कलबाजीहरु हुन थालेका छन् ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्नेगरी दुई पार्टीबीच नयाँ सहमति भएको लेखेका थिए । तर संविधान संशोधन गर्ने त्यो नयाँ सहमति के के हो ? भन्ने कुरा खुलाइएको छैन ।  

सहमति कार्यान्वयन हुँदै जाँदा हाल गृहमन्त्री बनिसकेका काङ्ग्रेस नेता रमेश लेखकले एउटा टेलिभिजनको टक शोमा उपयुक्त समय आएपछि दुई पार्टीबीच भएको सहमति सार्वजनिक गर्ने बताएका थिए । अब नयाँ सरकार बनिसकेको अवस्थामा समेत त्यो ‘उपयुक्त समय’ कहिले हो र नागरिकसँग गोप्य राख्नुपर्ने काङ्ग्रेस र एमालेको बाध्यता के हो ? प्रश्न झन् टड्कारो बनिरहेको छ ।

संविधान नै संशोधन गर्ने गरी काङ्ग्रेस र एमालेबीच भएको भनिएको त्यो सहमतिको विवरण सार्वजनिक नगरिनु लोकतन्त्र र नागरिकको सूचनाको हकको सम्मानमा समेत ठेस पुगेको टिप्पणी हुन थालेको छ ।

आफुलाई लोकतन्त्रको मसिहा भन्ने दलहरुबाट सहमति सार्बजनिक नगर्नुले लोकतन्त्रको आधार स्तम्भको रुपमा रहेका पारदर्शिता र खुलापनमाथि ठाडो चुनौति दिएको छ । 

संसदीय लोकतान्त्रिक अभ्यासमा विरलै हुने संसदको पहिलो र दोस्रो दलले सत्ता सहकार्य गर्नुपर्ने गरी सहमति गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो ? यसको जवाफ नदिएर कांग्रेस र एमालेले लोकतन्त्रका नागरिकको अवमुल्यन गरिरहेका छन् ।

शेरबहादुर देउवा र केपी शर्मा ओलीको निजी कम्पनी वा घर चलाउन जस्तो यो सहमति भएको पटक्कै होइन । देश चलाउनका लागि दुई नेता बीच भएको सहमति बाहिर सात बुँदे भनिएर चर्चा गरिए पनि कति बुँदे हो र त्यसका बुँदामा के के छन् ? भनेर अहिलेसम्म भनिएको छैन । संविधान संशोधन सम्म गर्ने कुरामा भएको भनिएको सहमति सार्बजनिक नहुनु शक्तिको स्रोतको रुपमा रहेका नागरिकमाथिको दायित्वबोध नगरेको रुपमा लिन सकिन्छ । यसले काङ्ग्रेस र एमालेमाथि राजनीतिक र नैतिक प्रश्न उब्जीरहेको छ । 
 
त्यसो त दिउसोसम्म एउटा कुरा गर्ने र मध्यरातमा अर्को सहमति गर्नेहरुसँगै धेरै नैतिकताको अपेक्षा गरिरहनु पनि राम्रो होइत । तर नागरिकका विवेक बन्दकी राखेर यसरी गुपचुप गरिएको सहमतिले सरकारप्रति नागरिकको विश्वास अझै कमजोर भएको छ । 

सहमति गोप्य राख्नुका दुईवटा उद्देश्य हुन्छन् । 

पहिलो, विभिन्न अध्ययनहरूले पारदर्शिता भएमा भ्रष्टाचार र शक्तिको दुरुपयोग कम हुने देखाएको छ । भ्रष्टाचारका काण्डै काण्डहरुमा मुछिएका नेतृत्वहरुको बहुमत रहेका मन्त्रीपरिषदमा सूचनामा पहुँच नदिने र भ्रष्टाचारलाई थप कानुनी बैधता दिने धृष्टता हुन सक्छ । यसले आन्तरिक रुपमा भ्रष्टाचारमा नाम मुछिएकाहरुलाई जोगाउने कुचेष्ट हुन सक्छ । 

दोश्रो, बाहिर चर्चा भए अनुसार सहमतिमा संविधानमा भएको समानुपातिक र समाबेशीताको कुरा हटाउने कुरा छ । यो सार्बजनिक गरिहाल्दा विपक्षी मात्र नभई काङ्ग्रेस र एमालेकै महिला, जनजाती, दलित तथा अल्पसंख्यकहरुको चर्को विरोध आउन सक्ने डर शिर्ष नेतालाई हुन सक्छ । 

उद्देश्य जे भएपनि शीर्ष नेता सत्ता स्वार्थमा रुमल्लिदा नागरिकले लोकतन्त्रमा पाउनुपर्ने पारदर्शीताको प्रश्नमा सुर्यग्रहण लगाइएको छ । अँध्यारो कोठामा मध्यरातमा सहमति गर्ने र त्यसलाई अँध्यारोमै राखिरहने काङ्ग्रेस र एमालेको प्रबृत्तिले नागरिकका सपना पुरा गर्ने काम गर्नै सक्दैन । 

अर्को आश्चार्य यो पनि छ कि, लोकतान्त्रिक अभ्यासमा नै नभएको यस्तो प्रबृत्ति देखिदा पनि ठूला भनिएका सञ्चारमाध्यम र सरोकारवालाहरुले चाहिने जति प्रश्न उठाएको पाइदैन । 

दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र

काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।

एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।

कीर्तिपुर नगर चुनावमा माओवादीले सार्वजनिक गर्याे प्रतिवद्वता पत्र (पूर्णपाठ सहित)

काठमाडौँ ।मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आज नेकपा (माओवादी केन्द्र)ले उमेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने  कार्यक्रममा  पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रबक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रिय नेताको सहभागिता रहेको छ । ‘कीर्तिपुरको समग्र विकास तथा समग्र सामाजिक जीवनलाई समुन्नत गर्न, अस्तव्यस्त कीर्तिपुरको अवस्थालाई व्यवस्थित गरी प्रगति र समृद्धितर्फ माथि उठाउन, सुशासन, सुव्यवस्था र सबैलाई समान न्याय प्रदान गर्न, भ्रष्टाचारको हिंजोदेखि जमेर बसेको बलियो जग भत्काएर भ्रष्टाचार पूर्ण नियन्त्रण गरी सबै जनतालाई सुन्दर सुशासनको प्रत्याभूति दिन जिम्मेवारीपूर्ण दायित्व वहन गर्ने शपथ लिनु भएका प्रा।डा।शिवशरण महर्जनलाई नगर प्रमुख पदका लागि यस उपनिर्वाचनमा विजयी गराउन हामी हार्दिक अपिल गर्न चाहान्छौं’, प्रतिबद्धतापत्रसहितको अपिलमा  उल्लेख गरिएको छ ।   विकसित र समृद्ध कीर्तिपुर नगरपालिका बनाउन भ्रष्टाचार विरोधी स्वच्छ र पवित्र छविका उम्मेदवारलाई जिताए मात्र सम्भव हुने अपिलमा उल्लेख छ ।  के छ त प्रतिवद्वतापत्रमा ?  

प्रधानमन्त्री सडकमा

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली सडकमा ओर्लिने भएका छन् ।सरकारले भ्रष्टाचारी संरक्षण गरेको, विपक्षीहरुलाई अनावश्यक प्रतिशोध साधेको लगायतका विषयमा प्रर्दशन हुन र सरकारको विरोध हुन थालेपछि प्रधानमन्त्री स्वंयम पार्टीको शक्ति परिचालन गर्दै सडकमा उत्रिन लागेका हुन् । प्रधानमन्त्रीको दल नेकपा (एमाले)ले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन  गर्न लागेको छ भने सो प्रर्दशनको प्रमुख वक्ता प्रधानमन्त्री  नै रहेका छन्। प्रदर्शन अपरान्ह साढे १२ बजे काठमाडौँको दरबारमार्गमा हुन लागेको छ । सभा अघि बिहान साढे ११ बजे काठमाडौँको शहीद गेटबाट जुलुस सुरु भएर जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्ने बताइएको छ । दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तालिका रहेको छ । शुक्रबार काठमाडौँको कोटेश्वरमा दुर्गा प्रसाईँ समर्थकको र माइतीघरमा सहकारी पीडितको पनि प्रदर्शन रहेकाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त हुनसक्ने अनुमान गर्न सकिन्छ ।

लोकप्रिय