अन्तर्राष्ट्रिय शान्ति स्थापनामा १० हजार सेना तैनाथ गर्न नेपाल तयार : उपप्रधानमन्त्री खड्का

अन्तर्राष्ट्रिय शान्ति स्थापनामा १० हजार सेना तैनाथ गर्न नेपाल तयार : उपप्रधानमन्त्री खड्का

घाना। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल संयुक्त राष्ट्रसङ्घको अनुरोधमा १० हजारसम्म सेना तैनाथ गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

घानाको आक्रामक भएको अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा सम्बोधनका क्रममा उपप्रधानमन्त्री खड्काले नेपालले धेरैजसो प्रतिबद्धता पूरा गरिसकेको र बाँकी केही प्रतिबद्धता पूरा गर्ने क्रममा रहेको समेत बताए ।

मन्तव्यका क्रममा उपप्रधानमन्त्री खड्काले घाना सरकारलाई शिखर सम्मेलन आयोजना गरेकोमा समेत धन्यवाद दिए । उनले संयुक्त राष्ट्रका महासचिवद्वारा पहलमा सुरु गरिएका एक्सन फर पिस र एक्सन फर पिस प्लस कार्यक्रमलाई नेपालले सदैव समर्थन गर्दै आएको समेत बताए । यसले शान्ति सैनिकहरूको सुरक्षा र सुरक्षाको आवश्यकता र नागरिक सुरक्षाप्रतिको प्रतिबद्धता सुनिश्चित गर्ने उनको भनाइ छ ।

“हामीले हाम्रा सैनिकहरूलाई जस्तो सुकै चुनौतीपूर्ण अवस्थामा पनि तैनाथीका लागि तयार राखेका हुन्छौँ। हामी सुनिश्चित गर्छौँ कि हाम्रा शान्ति सैनिकहरूले आचरण र अनुशासनको उच्चतम मापदण्ड पूरा गर्छन्, र हामी यौन शोषण र दुर्व्यवहार विरुद्ध शून्य–सहिष्णुता नीतिलाई दृढतापूर्वक पालन गर्छौँ”, उपप्रधानमन्त्री खड्काले भने ।

नेपाल शान्ति स्थापनाको प्रभावकारिता सुनिश्चित गर्न टी÷पीसीसीलगायत सम्बन्धित प्रमुख सरोकारवालाहरूबिच सुधारिएको समन्वय संयन्त्र धेरै महत्त्वपूर्ण छ भन्नेमा नेपाल विश्वास गर्ने उनले बताए। उनले शान्ति स्थापना साझेदारीपूर्ण कार्य भएको र घोषित लक्ष्य पूरा गर्न सबै एकजुट हुनुपर्ने धारणा राखे ।

उपप्रधानमन्त्री खड्काले नेपाल यस वर्ष विशेष सुरक्षा बल र तत्काल प्रतिकार्य बललाई कायम राख्दै एउटा मेकानाइज्ड इन्फन्ट्री बटालियन र दुई वटा इफपीयू र आरडीएलमा स्तरोन्नति गर्न प्रतिबद्धता समेत जनाए । उनले नेपाल इओडी इहाई, एकल इकाई, रेकी इकाई, क्यूआरएफ कम्पनी र एमपी कम्पनीलाई समेत स्तरोन्नति गर्न प्रतिबद्धता जनाए ।

“हामी हाम्रो वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र यसका प्रशिक्षकहरूलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति स्थापना तालिम सञ्चालन गर्न तत्पर छौँ। नेपालले आईटीएस, डीपीओलाई यूएनएममओ कोर्सको लागि सिमुलेशन सफ्टवेयर प्रदान गर्दै आएको छ”, उनले भने।

त्यस अवसरमा उपप्रधानमन्त्री खड्काले नेपालले संयुक्त राष्ट्रसङ्घका महासचिवको लैङ्गिक समानता रणनीतिको लक्ष्य पूरा गर्न महिलाहरूलाई अपरेसनल भूमिकामा परिचालन गर्दै अर्थपूर्ण सहभागिता बढाउन कार्यलाई निरन्तरता उल्लेख गरे ।

“हामी शान्ति स्थापना मिसनहरूमा वातावरणीय पदचिह्न कम गर्न नवीकरणीय ऊर्जाको प्रयोग र प्रवर्द्धन गर्न प्रतिबद्ध छौँ। हामी यूएनएमआईएसएस र हाम्रो तालिम केन्द्रमा साझेदारीमा नवीकरणीय ऊर्जाहरू प्रयोग गर्दैछौं र यो लक्ष्य पूरा गर्न द्विपक्षीयरबहुपक्षीय साझेदारीको खोजीमा छौँ”, उनले भने । नेपाल संयुक्त राष्ट्र सङ्घको संरक्षणमा विश्व शान्तिका लागि आफ्नो दृढ प्रतिबद्ध रहेको समेत उनको भनाइ छ ।

नेपाल सन् १९५८ देखि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यमा निरन्तर योगदान दिँदै आइरहेको छ । नेपालले शान्ति स्थापनाका लागि विश्वभरका १६ विभिन्न मिसनमा छ सय १६ महिलासहित छ हजार दुई सय ७८ शान्ति सैनिकहरू तैनाथी गरी दोस्रो ठुलो शान्ति सेना र प्रहरी खटाउने देशका रूपमा रहेको छ । शान्ति स्थापनाका क्रममा हालसम्म ८६ शान्ति सैनिकले शान्ति स्थापनाका लागि आफ्नो प्राण त्याग गरेका छन् भने ६६ जना घाइते भएका छन् ।

हिजो भएको सम्मेलनको उद्घाटनमा घानाका उपराष्ट्रपति महमुदु बहुमियाले विश्व शान्ति, स्थिरता र सुरक्षाका लागि सबै देशबिच सहकार्य हुनुपर्नेमा जोड लिए ।

‘पिस बिगन्स विथ मि’ भन्ने नाराका साथ हिजोदेखि सुरु भएको सम्मेलनमा करिब ९० देशका प्रतिनिधिमण्डलको सहभागिता थियो । उपप्रधानमन्त्री खड्का र नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्य मंगलबार साँझ घानाका उपराष्ट्रपति बहुमियाले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी भए ।

सम्मेलनले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनलाई थप प्रभावकारी बनाइ विश्व शान्ति स्थापनाका लागि सहकार्य, समन्वय र सहयोगका साथै यो सम्मेलनमा व्यक्त भएका प्रतिबद्धताहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं ।  आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।  आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको अवधि असोज १० देखि १६ गतेसम्मलाई तोकेको छ । आयोगले निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायत कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार आयोगले कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदानको व्यवस्था गर्ने कार्यतालिका स्वीकृत गरेको छ । २०७९ को निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरू पदमुक्त भएपछि रिक्त रहेका ४१ पदका लागि निर्वाचन हुन लागेको हो ।

नयाँ पुस्ताले देखेको प्रचण्ड सपना (फोटो फिचर)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरएसँगै देशब्यापी जनभेटघाटमा जुट्नुभएको छ । सातै प्रदेशमा एकपटक नेता कार्यकर्तासँग भेटघाट सकेर उहाँले भदौ २९ र ३० गते पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा भाग लिनुभएको छ । तिनै जिल्लामा गरेर एक हजार पाँच सय बढीले पार्टी प्रवेश मात्रै गरेनन्, खासगरी नयाँ पुस्ता प्रचण्डलाई नजिकबाट देख्दा निकै हर्षित पनि भएको छ । अब देश बनाउने प्रचण्डले नै हो भन्दै उनीहरु यसपटक प्रचण्डसँग निकै आकर्षित पनि देखिए । त्यसकै छोटो झलकको रुपमा यहाँ फोटो फिचर राखिएको छ । तस्विर सौजन्यः प्रचण्ड सचिवालय  

अखिल(क्रान्तिकारी) प्रदेश १ को अध्यक्षमा चन्द्र बहादुर माङ्मु, यस्तो छ कार्यसमिति

काठमाडौं। नेकपा(माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको प्रदेश १को प्रदेश समिति चयन गरेको छ । जसको अध्यक्षमा चन्द्र बहादुर माङ्मु रहनुभएको छ ।त्यस्तै उपाध्यक्षहरुमा पदम बहादुर खड्का, अम्बिर काजी कुलुङ, बिमल कार्की,प्रतिमा शाह र देव बाहिङ रहनुभएको छ । प्रमुख सचिवमा नयन राइ चयन हुनुभएको छ भने सचिवहरुमा प्रदिप घिमिरे आदेश थापा,हेमराज राइ, लक्ष्मी मण्डल, ऋषिहाङ राइ र कोषाध्यक्ष भने पछि टुंग्गो लगाइने भएको छ ।  

राष्ट्रियसभामा दुई समितिमा एमाले र माओवादीबाट सभापति निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित हनुभएको छ । सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुनुहुन्छ ।  यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र एमालेकी तुलसाको उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गर्नुभएको हो । सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।

लोकप्रिय