काठमाडौं,वैशाख २४ । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन अभियोगमा संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीलाई २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ । आयोगले निर्वाचन आचारसंहिताविपरीत राजनीतिक गतिविधि गरेको स्पष्टीकरण दिन भनेको हो ।

‘निर्वाचन आचारसंहिताविपरीत कामकारबाही गरेको कसुरमा हदैसम्मको कारबाही किन नगर्ने ? कारबाही गर्नुनपर्ने कुनै कारण भए प्रस्तुतपत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेस गर्नुहुन आदेशानुसार अनुरोध छ,’ आयोगको स्पष्टीकरणमा उल्लेख छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नयाँ शक्ति र फोरमको मोटरसाइकल ¥याली शनिबार अनुगमनमा निस्किएका बखत ललितपुरको महालक्ष्मी नगरपालिकामा रोकेका थिए । उनले निर्वाचन आचारसंहिताविपरीत मोटरसाइकल ¥याली निकालिएको भन्दै तत्काल रोकेका हुन् । सो नगरपालिकामा संघीय समाजवादी फोरम र नयाँ शक्तिले जनक थापालाई प्रमुखको उम्मेदवारबनाएका छन् ।

निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ५ को ‘क’ को १३ मा ‘निर्वाचन प्रचारप्रसारका क्रममा मोटरसाइकललगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरुगाडाजस्ता सवारीसाधन प्रयोग गरी ¥याली गर्न वा गराउन नहुने’ उल्लेख छ ।

यसैगरी, आयोगले निर्वाचन आचारसंहिताविपरीत केही सञ्चारमाध्यमले मत सर्वेक्षणको नाममा मतदातालाई प्रभावमा पारेको भन्दै प्रस्टीकरणसहित सचेत गराएको छ ।

आयोगले आमजनताले आफूले कसलाई मत दिने र किन दिने भन्ने विषय गोप्य राख्न पाउने कानुनी प्रावधानलाई बेवास्ता नगर्न सचेत गराएको जनाएको छ ।

निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ४ को (त) मा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मत परिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने उल्लेख छ ।