फाेनकाे घण्टीले बदलिएको माओवादी निणर्य

फाेनकाे  घण्टीले बदलिएको माओवादी निणर्य

काठमाडौं, कात्तिक १ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कुरा फेर्नमा कहलिएका छन् । केही घन्टाकै अवधिमा मंगलबार उनको वचन फेरिएपछि पुनः राजनीति तरंगित बनेको छ ।

मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई दिउँसोसम्म सरकार सञ्चालनमा सजिलो बनाइदिन मन्त्रीहरू फिर्ता बोलाउने वचन दिएका उनले दिउँसो २ बजे फोन गरेर भने, ‘अहिलेलाई यस्तै भयो, हामी अहिले सरकार छाड्न नसक्ने भयौं ।’

वाम गठबन्धन गर्दै एमालेसँग चुनावी तालमेल र पार्टी एकता गर्ने घोषणा गरेपछि माओवादीलाई सरकार छाड्ने दबाब थियो । विपक्षी पार्टीसँग चुनावी तालमेल र सत्तारुढसँग सरकारमा सहकार्य, माओवादीमाथि दबाबसँगै नैतिक संकट पनि थियो ।

जेठ २३ गते प्रधानमन्त्रीमा नियुक्त देउवासँगको १ सय ३३ दिनको सहयात्रापछि माओवादी मन्त्रीहरू मंगलबार सरकारबाट बाहिरन लागेका थिए । तर, एकाएक माओवादीले सरकार नछाड्ने निर्णय लियो ।

दिउँसो गृहमन्त्री जनार्दन शर्माले मन्त्रालयमा भेला भएका पत्रकारसामु भने, ‘तपार्इंहरूलाई खास बोलाएको सरकार छाड्ने विषयमा जानकारी गराउन हो तर निर्वाचन सार्ने प्रपञ्चबारे निर्वाचन आयोगमार्फत सूचना पायौं । सरकार छाड्ने पत्रमा अध्यक्षले हस्ताक्षर गर्न लाग्दा त्यस्तो सूचना आएपछि अहिलेलाई सरकारबाट बाहिरिने निर्णय स्थगित गरेका छौं ।’

मंगलबार बिहानै सरकारमा पार्टीका तर्फबाट नेतृत्व गरिरहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई लिई दाहाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।‘राप्रपालाई सरकारमा ल्याएको छु, उहाहरूसँग लिखित सहमति छ, सरकार तपार्इंहरू कहिले छाडिदिनुहुन्छ ?’ आफूसँग भेट्न आएका दाहाललाई प्रधानमन्त्रीले सुरुमै प्रश्न गरे ।

भेटमा सँगै रहेका महराका अनुसार सहमति तोडेर एमालेसँग एकता गर्न लागेपछि मन्त्री हटाउन बाध्य भएको देउवाले भनेपछि दुई शीर्ष नेताबीच केहीबरे भनाभन भएको थियो ।

देउवाले वाम गठबन्धन गरेकोमा आपत्ति जनाएपछि दाहालले माओवादीसँग सहमति नगरी निर्वाचन आचारसंहिताविपरीत सरकार विस्तार गरेको आरोप लगाएका थिए । ‘हामी सरकारमा रहँदा ठीक लाग्छ रहौँला, नरहँदा तपाईंलाई फाइदा हुन्छ रहँदैनौं, भन्नुहोला ?’

दाहालको त्यस्तो भनाइपछि देउवाले विपक्षी गठबन्धन र सरकार दुवैतिर नबिसदिन र आफूलाई सहज बनाइदिन आग्रह गरे । दाहालले सहजाताका लागि मंगलबारै सरकारबाट बाहिरिने निर्णय लिने भन्दै बाहिरिए । उनले महरालाई सरकार छाड्ने पत्रको मस्यौदा बनाउन आग्रह पनि गरे ।

‘निर्धारित समयमा निर्वाचन सम्पन्न गर्ने सर्तमा सरकारलाई दिइँदै आएको पार्टीको समर्थन कायम राख्दै आफ्ना मन्त्री फिर्ता बोलाउने गरी मस्यौदा गर्न महरालाई आग्रह गरेपछि दाहाल लाजिम्पाट पुगेका थिए । जहाँ पार्टीका केही नेतासँग प्रधानमन्त्रीसँगको भेट र सरकार छाड्ने विषयमा अनौपचारिक छलफल गरे ।

उता, दाहालको आग्रहबमोजिम महराले आफ्नो निवास पुल्चोक पुगेर पत्रको ‘ड्राफ्ट’ बनाएर इमेल गरे । इमेल पढेका दाहाल त्यसपछि हान्निए, ललितपुर मानभवनस्थित सैलुङ कन्ट्रक्सनका मालिक शारदा अधिकारीको निवासतिर । त्यहाँ दाहालले एमाले अध्यक्ष ओलीसहितका एमाले(माओवादी एकता संयोजन समितिका सदस्यसँग देउवासँगको छलफल र पार्टी तयारीका विषयमा जानकारी दिए।

स्रोतका अनुसार दाहालको त्यस्तो निर्णयमा ओलीले पनि सहमति जनाइदिए । त्यसबेलासम्म माओवादी सरकारबाट बाहिरिन लागेको खबर सार्वजनिक भइसकेको थियो । त्यसपछि दाहाल सिंहदरबारस्थित पार्टी दलको कार्यालय पुगे ।

फोनको घन्टीले रोक्यो
यता, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री महराले दिउँसो १ बजे र गृहमन्त्री शर्माले दिउँसो २ बजे आफ्नै मन्त्रालयमा पत्रकार सम्मेलन तय गरेका थिए । महराले सोमबार संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद् सदस्यमा नेपाल निर्वाचित भएको जानकारीका लागि पत्रकार सम्मेलन आयोजना गरेका थिए । तर, गृहमन्त्री शर्माले भने सरकार छाड्न लागेको जानकारी दिन पत्रकार बोलाएका थिए ।

गृहमन्त्रीले पत्रकार सम्मेलन गरेर सरकार छाडेको जानकारी दिनुअगावै प्रधानमन्त्रीलाई आफ्ना पार्टीका मन्त्री फिर्ता बोलाइएको पत्र पठाउने तयारी गर्दै थिए । सिंहदरबार दलको कार्यालयमा बसेर दाहालले पार्टी शीर्ष नेताहरूसँग महराले तयार पारेको ड्राफ्ट पढेर सुनाएका थिए । पत्रमा सरकारलाई पार्टीले दिएको समर्थन जारी राख्ने, तोकिएकै मितिमा निर्वाचन गराउने सर्तमा आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाइएको व्यहोरा उल्लेख थियो ।

माओवादीका एक शीर्ष नेताका अनुसार छलफलकै क्रममा दाहालको मोबाइलमा घन्टी बज्यो । त्यसपछि दाहालले ड्राफ्ट छाडेर सरकार निर्वाचन सार्ने तयारीमा रहेको, सर्वोच्चमा रहेको मतपत्रसम्बन्धी मुद्दाको निर्णय आउन लागेको कारण केही दिन सरकार छाड्न नहुने धारणा सुनाए । दाहालले अदालतमा रहेको उक्त मुद्दामा निर्वाचन आयोगले तयार पारेको मतपत्र नभई अलग–अलग मतपत्र कायम गर्ने निर्णय गरेर निर्वाचन हुन नदिन खोजिएकाले सरकार छाड्न तत्काल उचित नहुने बताएका थिए ।त्यसलगत्तै गृह मन्त्रालयमा कर्मचारीसँग बिदाइ कार्यक्रम गरिरहेका जनार्दन शर्मालाई दलको कार्यालय बोलाइयो ।

कार्यकक्षमा पत्रकारलाई कुराइराखेका शर्मा दलको कार्यालयबाट फर्केपछि प्रतीक्षारत पत्रकारसमक्ष पुगे । उनले प्रधानमन्त्री देउवालाई पठाउन तयार पारेको पत्र देखाउँदै निर्वाचन सार्ने षड्यन्त्र थाहा पाएर सरकार छाड्ने निर्णयमा पुगे पनि हाललाई उक्त निर्णय फिर्ता नहुने निष्कर्षमा पुगेको बताए ।

अब के गर्छ माओवादी ?
सरकारबाट नबाहिरिने निर्णय गरी ‘यूटर्न’ गरेपछि मंगलबार साँझ माओवादी मन्त्रीलाई प्रधानमन्त्री देउवाले विभागीय जिम्मेवारी खोसेर ‘विनाविभागीय’ मा थन्क्याइदिएका छन् ।तैपनि, माओवादीले निर्वाचन सुनिश्चितताका लागि सरकार नछाड्ने बताएको छ । प्रवक्ता पम्फा भुसालले अन्नपूर्णसँग भनिन्, ‘निर्वाचनको सुनिश्चितताका लागि हामी अब पहिलो चरणको निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयनको दिनसम्म सरकारबाट हट्दैनौं ।’निर्वाचन आयोगले प्रत्यक्षतर्फ ५ कात्तिकमा उम्मेदवारी दर्ताको कार्यतालिका बनाएको छ ।

के थियो अदालतमा मुद्दा ?
निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि दुईवटा मतपत्रमै निर्वाचन गराउने गरी २२ भदौमा निर्णय गरेको थियो । प्रत्यक्ष तर्फका एउटै र समानुपातिकतर्फ पनि एउटै मतपत्रमा मतदान गर्ने गरी मतपत्र बनाउने निर्णय गरेको थियो । त्यहीअनुसार आयोगले समानुपातिक तर्फको मतपत्र छाप्ने काम गरिसकेको छ ।

आयोगको यस्तो निर्णयले प्रदेश र केन्द्रका कुन(कुन हुन् भनेर एकै स्थानमा हुँदा मतदातालाई छुट्ट्याउन अप्ठ्यारो हुने दाबी गर्दै छुट्टाछुट्टै मतपत्र बनाउनुपर्ने मागसहित राजपा नेता सर्वेन्द्रनाथ शुक्लले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

उनको रिटमाथि सोमबार सर्वोच्चमा दुई जना न्यायाधीशको बेन्चमा बहस थियो । निर्वाचन रोक्न नभई मतपत्र प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिक दुवैको अलग(अलग हुनुपर्ने माग दाबीसहित रिट दर्ता गराएका थिए ।

सोमबार आयोगका पदाधिकारी लगायतलाई समेत बोलाई सर्वोच्चले राय लिने काम गरेको थियो । यस विषयमा सर्वोच्चले बुधबार ९आज० निर्णय दिने गरी रोकेको छ । आयोगले अलग(अलग मतपत्र छाप्न निर्देशन दिएमा निर्वाचन आयोगले अहिले गरिरहेको काम प्रभावित हुने र निर्वाचन रोक्ने षड्यन्त्र हुन सक्ने आशंका माओवादीको छ । अन्नपूर्ण पोष्टबाट

बाढी पहिरो अपडेटः देशभर २४ को मृत्यु, २७ बढी बेपत्ता

काडमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी २४ जनाको मृत्यु भएको छ। ललितपुरमा ९, भक्तपुर, काभ्रे र पाँचथरमा ३–३, सिन्धुपाल्चोक र धनकुटामा २–२ तथा काठमाडौं, झापामा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। २७ जना बेपत्ता छन्। ललितपुरमा मात्रै बाढी पहिरोमा परी ९ जनाको मृत्यु भएको छ। ११ जना हराइरहेका छन्। उनीहरुको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। भक्तपुरमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका– ९ पलाँसेमा पहिरोले घर पुर्दा कालिकोटका तीन जानको मृत्यु भएको हो। मृत्यु हुनेमा कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका ५ स्थायी घर भएकी २४ वर्षीया बिमला शाही, उनकी बहिनी १४ वर्षिया मनिषा र ४ वर्षिया छोरी सूर्या बमको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता मोहनमणि अधिकारीले जानकारी दिए। त्यस्तै, काभ्रेको तेमाल गाउँपालिका–७ मा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान करिब ३ बजेतिर भीमबहादुर तामाङको घर पहिरोले पुर्दा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। थप एकजना मृतको भने पहिचान खुलेको छैन्। यस्तै सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका ३ मा पहिरोले घर पुर्दा पूर्व वडाध्यक्ष काजीबहादुर लामा र उनकी श्रीमती सुन्तली तामाङको मृत्यु भएको हो। उता, पाँचथरको फिदिममा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ। वडा नं ४ मा २४ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो। यस्तै फिदिम–१ मा गएको पहिरोमा परि स्थानीय ५० वर्षका गोपी विश्वकर्माको मृत्यु भएको छ। फिदिम–१ कै पाँचजना अझै वेपत्ता छन्। धनकुटामा पहिरोमा परी आमाछोरीको मृत्यु भएको छ। पाख्रिबास नगरपालिका ५– गुराँसेमा सन्तोष तामाङकी ३० वर्षिया श्रीमती आशा तामाङ र उनकी आमा रामकुमारी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए। काठमाडौंको नागार्जुन नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बलका अनुसार घर अरु केही व्यक्ति पुरिएका छन्। मृतक र बेपत्ताको परिचय खुल्न बाँकी छ। झापामा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। झापा गाउँपालिका–२, बालुवाटार बस्ने ३५ वर्षीया धनमाया घोरासैनीको माइखोलामा आएको बाढीमा परी मृत्यु भएको हो । दुई जना बेपत्ता छन्। यस्तै काभ्रेको पनौती नगरपालिका– ११ थुम्कीमा पहिरोले घर बगाउँदा पाँचजना सम्पर्कविहीन भएका छन्। स्थानीय अर्जुन भण्डारीको घर पुरिँदा उनी र श्रीमतीसहित पाँचजना बेपत्ता भएका हुन्। श्रीमान–श्रीमती र आफन्त तीनजना पहिरोमा पुरिएको खबर पाए पनि ठाउँठाउँमा पहिरो गएका कारण त्यहाँ पुग्न कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ। सिस्नेरीका ३० घर बगायो अविरल वर्षाका कारण आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ। सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए। बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन्। अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज बिहान बाँधका दुई वटा ढोका खोलिएको थियो। विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ। बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ। स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ। पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ।

सिस्नेरीमा एन्फा एकेडेमीका ६ विद्यार्थी बगे

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीमा रहेको बत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका ६ जना विद्यार्थीलाई बाढीले बगाएको छ। आज बिहान ६ बजेतिर सिस्नेरी खोलामा आएको बाढीले बगाउँदा ६ जना बेपत्ता भएको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिनुभयो । कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा बाढीले बगाएको ठकुरीले बताउनुभयो । एन्फाले गत वर्ष उक्त विद्यालयसँग सहकार्य गरेर ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो। बेपत्ता विद्यार्थीहरुमा अनुप घलान मकवानपु, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य, काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी, निजगढ, दिवस बानियाँ मकवानपुर रहेका छन ।

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र सुरु भएको छ ।  विहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका निर्धारण गरेको भए पनि प्रतिनिधि टुंगो लाग्न समय लागेको र झरीका कारण साँझ पौने ५ बजे मात्रै बन्दसत्र सुरु भएको हो । बन्दसत्रले अध्यक्ष पञ्चा सिंह नेतृत्वको कार्यसमिति भंग गरी अध्यक्षता मण्डल गठन गरेको छ । बन्दसत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अब बन्दसत्रको सबै काम बीरबहादुर थापाको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ भने विधान र प्रतिवेदन पारित भएपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने छ । नेतृत्व सहमतिबाट चयन गर्न पार्टी नेताहरुले प्रयास जारी राखेका छन्, सहमति नभएको खण्डमा प्रत्यक्ष निर्वाचनबाट नै सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् ।   नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवक्ता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति खटाएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरुले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् । एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।

पर्यटन आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ’– उहाँले भन्नुभयो– ‘मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटन भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।’ चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

लोकप्रिय