कथा : लोग्नेमान्छेको संगत

कथा : लोग्नेमान्छेको संगत

‘कहिलेकाहीँ त्यता साँघुरो भए सुत्न मेरोतिर आए पनि हुन्छ नि भाइ । कुनै अप्ठेरो मान्नुपर्दैन, आफ्नै सम्झे हुन्छ,’ म डेरा सरेको तीन दिनपछि डेरावाल दिदीले भनेकी थिइन् ।

दिदीको त्यो भनाइ वास्तवमै सहज थिएन, उनले मलाई किन त्यसो भनिन् ? तीन-चार दिनसम्म मलाई सोचमग्न बनाएको थियो ।

रको तल-माथि गर्दा देखादेख हुन्थ्यो । उनी मलाई देख्ने बित्तिकै मसक्क मस्केर केही न केही सोधिहाल्थिन् – ‘चिया पिउनुभो ? खाना खानुभो ? नुहाउनुभो … ?’म बस्ने माथिल्लो तलामा दिदीको कोठा थियो । उनी को हुन्, यो शहरमा के गर्छिन् र उनको परिवारमा को कति छन् भन्ने केही जानकारी थिएन मलाई । एउटै घरमा बस्ने भएकोले उनीसाग मेरो हाइ-हेल्लोको मात्र सम्बन्ध थियो ।

यस्तै-यस्तै सवाल रहन्थे उनका । उनले सोधेका सवालहरुको सीधा जवाफ दिनु नै उचित ठान्थेँ म, साथमा फिस्स मुस्कान छोडेर बाटो लाग्थेँ । हुन पनि घरमा बसेकै हकमा सबै डेरावालसँग सम्पर्क बढाउने र दोस्ती गर्ने मेरो बानी कहिल्यै बसेन । म शहरमा बस्न थालेको पनि अठार वर्ष भयो होला । एउटै छानामुनि बसे पनि कति जनासाग त एकपटक समेत चिनजान नभई डेरा बदलिएको पनि हुँला । यो मेरो अनौठो बानी छ ।

पेशाले म एक कलमजीवी हुँ । पेशाभित्र मेरो औकात के कति छ, त्यो मलाई थाहा छैन । तर, शहरमा मेरो सम्पर्क हरेक मान्छेसाग बेग्लाबेग्लै किसिमको छ ।

मेरोमा दिनहुँ साथीहरु आइरहन्छन् । उनीहरुसँगको भेटघाट र कुराकानी मलाई बडो महत्वपूर्ण लाग्छ । त्यसैले पनि हामी कहिले कता कहिले कता समूहमै रात काट्छौं । डेरावाली दिदीलाई मेरोमा आउने साथीहरु देख्दा कोठामा साँघुरो होला भन्ने लागेर पनि मलाई आफूकहाँ बोलाएकी हुन सक्छ । नत्र अरु कारण के होला र !

उमेरले दिदी मभन्दा ५/६ वर्ष पाकै लाग्थिन् । त्यसैले पनि मैले उनलाई दिदी भन्न कुनै आपत्ति थिएन । हप्ता दिनपछि मात्र मैले दिदीको नाम सोध्ने साहस गरेँ । नाम शकुन्तला रहेछ । तर, उनको घरपरिवार, पेशा मलाई अझै थाहा थिएन । शकुन्तला दिदी मलाई देख्नेबित्तिकै आँखा गाडेर नियाल्थिन् । मायाको भाव झल्काउँथिन् । कोठामा बोलाउँथिन् र अवसर मिल्नेबित्तिकै खाजा र खानाका लागि समेत हार्दिकताका साथ आग्रह गर्थिन् ।

दिदीका ती सबै व्यवहारले मलाई निकै असहज लाग्थ्यो । तर पनि दिदीको कुरा टार्न नसकेर उनको कोठामा पुग्थेँ । दिदीले कोठाभरि यौन उत्तेजनाका अर्धनग्न तस्बिरहरु सजाएको देख्दा म खग्रङ्ग हुन्थेँ । मुटु जोडले फुल्थ्यो र हातगोडा काँप्थे । म दिदीले दिएको खानेकुरा छिटो-छिटो कपाकप खान्थेँ र तल ओर्लिहाल्थेँ ।

म काँतर मान्छे पटक्कै होइन । ठूल्ठूला मान्छेसग अन्तर्क्रिया गर्दा होस् वा जोखिमपूर्ण समाचार सम्प्रेषणमा प्रहरी प्रशासनसँग सामना गर्दा होस्, मलाई रत्तिभर डर लाग्दैनथ्यो । तर, दिदीको अगाडि किन म गरुडको छायामा परेको सर्प जस्तो भयभीत भइरहन्छु, आफैंलाई पत्तो हुँदैनथ्यो ।

शकुन्तला दिदीको कोठामा सधैंजसो लोग्नेमान्छेहरुको आउजाउ चलिरहन्थ्यो । आउने-जाने सबैसँग दिदीको आफ्नै प्रकारको नाता-सम्बन्ध कायम रहन्थ्यो । त्यस कुरामा पनि म निकै आश्चर्यमा पर्थेँ, किन दिदीको संगत लोग्नेमान्छेसँग मात्र हुन्छ ?

केही दिन अरु बितेपछि मैले साथीहरुलाई शकुन्तला दिदीको बारेमा हल्काफुल्का कुरा गर्छु । साथीहरुले पनि उनको क्रियाकलापबारे शंका लागिसकेको बताउँछन्, ‘यो धन्दावाली आइमाई हो । यो सँग जोगिएर हिँडनू । नत्र फसाउली । बाहिर पनि यसको कुरा निकै सुन्न थालेका छौं । हामीले यसको बारेमा सायद समाचार रिपोर्ट बनाउनुपर्छ होला ।’

साथीहरुको त्यस्तो विचारलाई मैले ठाडै अस्वीकार गरेँ । उनीहरुलाई त्यसो नगर्न दबाब दिएको थिएा । जसका कारण उनीहरु हच्किएका थिए ।

दिदी हरेक बिहान उठ्नेबित्तिकै नुहाउँथिन् । सोह्र शृंगार गरेर चिटिक्क पर्थिन् । उनको शरीर चौबीसै घण्टा मगमगाइरहन्थ्यो । तर, उनको दिनचर्या कोठाभन्दा बाहिर बित्दैनथ्यो । त्यसमा अचम्म लाग्थ्यो मलाई । एकदिन मैले उनलाई उनको श्रीमानका विषयमा सोधेको थिएँ । त्यसको कुनै जवाफ दिइनन् उनले । म पनि त्यसै चुप लागेको थिएँ ।

दिदीकोमा किन थरीथरीका लोग्नेमान्छे मात्र आइरहन्छन् ? किन आजसम्म उनको कोठामा एउटा मात्र पनि स्वास्नीमानिसको आगमन हुँदैन ? पक्कै पनि यी दिदी धन्दावाली हुन सक्छिन् । मैले अड्कल काटेको थिएँ ।

शकुन्तला दिदीको कोठामा आउने लोग्नेमान्छेहरुसँग घण्टौं उनले के वार्तालाप गर्छिन्, त्यो थाहा हुँदैनथ्यो । तर, भित्र पस्दा चम्किलो अनुहारमा पस्ने लोग्नेमान्छेहरु बाहिर निस्किँदा निस्तेज भएर बाटो लाग्थे ।

दिदी धन्दावाली भन्ने निश्चित भएपछि उनको रुप र उनको कोठा समेत मलाई एचआईभी संक्रमणको अखडा भएको महसुस हुन थाल्यो । त्यसपछि उनले जति धेरै हार्दिकता देखाए पनि मैले उनको कोठामा जाने साहस गरिनँ । उनीसँग टाढिनुमै आफ्नो भलाइ देखेँ मैले । तर, दिदीको आत्मीयता अलि बेग्लै प्रकारको थियो । ज्यादै ममतामयी लाग्थिन् उनी । त्यस्ती आइमाई के प्राप्तिको लागि दिनहुँ आफ्नो शरीर बेचिरहेकी छन् ? उनको त्यो विवशता हो वा स्वेच्छा हो, थाहा पाउनुपर्ने विषय थियो मेरो लागि । यसैले पनि म दिदीको इतिवृत्तान्त थाहा पाउन निकै प्रयास गर्थें । फलस्वरूप महिनौंपछि उनको सम्पूर्ण कहानी मलाई प्रष्ट भएको थियो ।

विवाह गरेको दुई वर्ष पनि पुग्दानपुग्दै शकुन्तला दिदीको लोग्नेले सौता हालेछ । घरमा सौता आएपछि र लोग्नेबाट पनि बेवास्ता भएपछि उनी माइतीमा बस्न थालिन् । एउटी चेलीका लागि माइती भनेको त बाबु-आमा जिउँदो छउन्जेल मात्र न हो ! बाबु-आमा दुवैलाई दैवले लगेपछि माइती उनको लागि विरानो भयो । दाजु-भाउजूको अप्रिय वचन खप्न नसकेपछि दिदी माइत पनि छोडेर शहर पसिन् ।

शहर आएपछि केही समयसम्म उनले सानो चिया पसल खोलेर जीवनयापन गरिरहेकी थिइन् । यसै समयमा उनीसँग दोस्रो लोग्नेमान्छेको संगत भयो । एउटा लोग्नेमान्छेबाट सधैंका लागि लत्यालिएकी शकुन्तला दिदीलाई विवाह गर्ने मीठो आश्वासन दिएर अर्को लोग्नेमान्छेले पनि लुट्यो मात्रै । त्यसपछि ऊ आाधी जस्तै बिलायो ।

दोस्रो लोग्नेमान्छेसँगको बिछोड उनको जीवनमा अझ घातक सिद्ध भयो । निकै दिनसम्म दिदी आहत् भइन्, किनकि उनको पेटमा उसको गर्भ थियो । सबैतिरबाट एक्लिएकी दिदीले पेटको बच्चालाई सकुशल जन्म दिन उचित सम्झिनन् । गर्भपतन गराइन् । त्यसपछि उनको जिन्दगीले अर्कै मोड लियो । होटल पनि छोडेर दिदीले आफैं बजारमा निस्किँदै स्वतन्त्र पेशा थालिन् ।

एउटी आइमाईमान्छे २०/२२ वर्षको फक्रँदो यौवनमा जब लोग्नेमान्छेबाट विस्थापित गराइन्छे, त्यसपछि उसभित्रको दमित यौन चाहना एकैपटक विष्फोट भएर समाजमा पोखिन्छ । ऊ गलत क्रियाकलापमा संलग्न हुन्छे । शकुन्तला दिदीको जीवन त्यही घटनाचक्रको प्रतिविम्ब थियो ।

शकुन्तला दिदीको मोलमोलाइ आज हरेक यौन पुरुषहरुले आ-आफ्नै शैलीले गरिरहेका छन्  ।  जसरी मन लाग्छ, पैसामा उपभोग गरिरहेका छन् । शकुन्तला दिदी हिजोआज आफूलाई लुटाउनमै खुशी छन् । परिबन्दको खेलमा उनी बडो नमज्जाले हारेकी छन् । उनीकहाँ आज पनि कामोत्तेजक लोग्नेमान्छेहरु उनको पराजित नारी अस्तित्वसँग खेल्न आउँछन् र देहसँग खेलेर जान्छन् ।

देख्दादेख्दै शकुन्तला दिदीको अनुहार बेग्लै प्रकारको देखिन थालेको छ । पहिले जस्तो सौन्दर्य छैन । मसाग पनि पहिले जस्तो दिल खोलेर बोल्दिनन् उनी । हुन त मैले उनलाई पटकपटक यो पेशा छोड्न दबाब दिएको थिएँ । एउटी नारीको लागि सबैभन्दा मूल्यवान् वस्तु उसको अस्मिता हो । जुन उसले आफ्नो जीवनमा एकजना लोग्नेमान्छेका लागि मात्र सुम्पिन्छे ।

मैले दिदीलाई उपदेश दिएको थिएा, पैसा शरीरका लागि हो, शरीर पैसाका लागि होइन । मेरो कुरा दिदीले कति बुझिन् वा बुझिनन् पत्तो भएन । तर, उनले आफ्नो पेशा छाडिनन् । शरीर बेच्ने बाटोमा निरन्तर लागिरहिन् । केही गर्दा पनि उनी नमानेपछि मैले उनीबारे पत्रिकामा छापिदिने धम्की समेत दिएँ । सायद मेरो त्यही कुरा उनलाई चित्त बुझेको थिएन ।

शहरमा अरु पनि केही धन्दावाली आइमाईहरु मैले पत्ता लगाएको थिएा । कतिपयले आफ्ना किशोरी छोरीहरु समेतलाई बलजफ्ती पेशामा सहभागी गराएर जिन्दगीको अँध्यारो सुरुङतिर धकेलिरहेका थिए । तर, त्यसो गर्नुको पछाडि सबैको आ-आफ्नै विवशता पनि थिए ।

समय बगिरहेछ । दिन, हप्ता र महिनाहरु क्रमशः समयको पछाडि परिरहेका छन् आज । शहरमा म आफ्नो परिवारसहित छु । पहिलेको डेरा बदलिइसकेको छ । शकुन्तला दिदीको बारेमा पनि केही थाहा छैन मलाई । एकपटक उनको डेरामै गएर भेटूँ भन्ने पहिलेदेखि नै लागेको थियो । सायद उनी यतिखेर एचआईभीले पूर्ण ग्रस्त भएर पो बाँचिरहेकी छिन् कि ? त्यसैले उनलाई भेट्न जाने हिम्मत पनि आएको थिएन ।

एकदिन मैले शकुन्तला दिदीको दुःखद् समाचार पाएँ मेरै साथीहरुबाट । उनीहरुले तयार पारेको रिपोर्टमा जिल्लाभरका एचआईभी एड्स पीडितहरु र यौन व्यवसायीहरुको सूची तयार थियो । शकुन्तला दिदीलाई एचआईभी पोजेटिभ भएको खबरले मलाई भित्रैदेखि दुःखी बनायो । मैले थाहा पाए अनुसार उनीकहाँ अहिले कुनै पुरुषहरु धाउादैनन् । लोग्नेमान्छेलाई दिनका लागि दिदीसँग कुनै त्यस्तो चिज बाँकी छैन ।

खबर सुन्दा मलाई किन हा, तुरुन्त गएर दिदीलाई भेटूँ जस्तो लागेको थियो । तर, म त्यहाँ जाँदा बित्तिकै लामो समयदेखि देखभेट नभएकी दिदी अति दुःखी भएर मेरो उपस्थितिमा आफ्नो पीडा देखाउँलिन् र मलाई झन् अप्ठेरोमा पार्न सक्छिन् । त्यसैले त्यहाँ जान उपयुक्त ठानिनँ । किनकि आफ्नो सबथोक सकेर बसेकी दिदीसँग अहिले आर्थिक समस्या होला, घरबेटीले पैसा मागेको समस्या तेर्साउलिन् अनि म… । हुनसक्छ आज उनी सडकमा माग्दै पो छिन् कि ? दिदीलाई भेट्ने मेरो चाहना दोस्रोपटक पनि आफूभित्रै मर्‍यो ।

केही दिनपछिको कुरा हो, शकुन्तला दिदीले सडकमा हात फैलाएर माग्दै हिँडेको मैले आफ्नै आाखाले देखेँ । भित्र पसेका आँखा, कलेटी परेका ओठ, दुब्ली, निःसहाय अवस्थामा रहेकी भए पनि मैले उनलाई चिनेँ । गहिरो दुःख लाग्यो ।

यतिबेला उनीसँग कुनै लोग्नेमान्छे थिएन । किनकि लोग्नेमान्छेलाई दिनको लागि अब दिदीसँग केही बचेको थिएन । त्यसैले आज एक्लै छिन् उनी । मृत्युले गाँज्दै लगेको छ । शकुन्तला दिदी आज पीडादायी अवस्थामा छिन् । बाटोमा दयनीय जीवन बाँचिरहेकी छिन् । तर, यस्तो बेला म आफ्नो परिचय र कुनै सहानुभूति नदिईकनै रुमालले मुख छोपेर उनीबाट टाढा भाग्छु । सायद दिदीसँग अब कहिल्यै नभेट्ने गरी… ! ( ओमप्रसाद घायलकाे कथा अनलार्इनखबरबाट साभार गरिएकाे हाे । )

लु सुनको कथा: क्रान्तिकारीको रात

रात गहिरो थियो। गाउँको कुनामा रहेको सानो टहरामा एक टुकीको मधुरो उज्यालो बलिरहेको थियो। त्यो टहरामा बसेका थिए, स्याओ चेन, एक जवान क्रान्तिकारी। उसको अनुहारमा थकान थियो, तर आँखामा आगोको ज्वाला। ऊ रातभर कागजमा केही लेख्दै थियो– क्रान्तिको सन्देश, जसले गाउँका मानिसहरूको मनमा आशा जगाउन सक्थ्यो। स्याओ चेन गाउँको साधारण परिवारमा जन्मिएको थियो। उसका बा-आमा किसान थिए, जसले वर्षौंदेखि जमीन्दारको खेतमा पसिना बगाएका थिए। तर स्याओ चेनले सधैं प्रश्न गर्थ्यो, “हाम्रो पसिनाको फल किन हामीले पाउँदैनौं?” स्कूलमा पढ्दा उसले किताबहरूमा स्वतन्त्रता र समानताको कुरा पढ्यो। ती शब्दहरूले उसको मनमा आगो सल्कायो। उसले गाउँमा फर्केर मानिसहरूलाई बुझाउन थाल्यो, “हामीले यो अन्याय सधैं सहनुपर्दैन। हामीले लड्नुपर्छ!” तर गाउँलेहरू डराउँथे। “जमीन्दारसँग लड्ने? त्यो त मृत्युको बाटो हो,” उनीहरू भन्थे। स्याओ चेनलाई यो डरले कहिल्यै रोकेन। ऊ रात-रातभर गाउँका जवानहरूसँग भेट्थ्यो, उनीहरूलाई एकजुट हुन सिकाउँथ्यो। उसले लेखेका पर्चाहरू गाउँका पर्खालहरूमा टाँसिन्थे, जसमा लेखिएको हुन्थ्यो– “जाग! आफ्नो हकको लागि लड!” त्यो रात, स्याओ चेनलाई थाहा थियो, जमीन्दारका मानिसहरू उसको पछि लागेका छन्। गाउँमा उसको बारेमा कुरा फैलिसकेको थियो। उसका साथीहरूले भने, “स्याओ चेन, भाग! तँलाई पक्रेर मार्छन्!” तर उसले हाँस्दै भन्यो, “भागेर म कसरी क्रान्तिको कुरा गर्छु? यो त मेरो गाउँ हो, म यहाँ लड्छु।” रातको अन्तिम पहरमा, टहराको ढोका ढकढकायो। स्याओ चेनले आफ्नो लेखेको पर्चा लुकायो र ढोका खोल्यो। त्यहाँ जमीन्दारका गुन्डाहरू उभिएका थिए, हातमा हतियार बोकेर। “स्याओ चेन, अब तँ सकियौ!” एकजना गुन्डाले चिच्यायो। स्याओ चेनले शान्त स्वरमा भन्यो, “तिमीले मलाई मार्लान्, तर मेरो विचारलाई मार्न सक्दैनौ। यो गाउँ एकदिन जाग्नेछ।” त्यो रात, स्याओ चेनलाई समातेर लगियो। भोलिपल्ट बिहान, गाउँको चौरमा उसलाई फाँसी दिइयो। गाउँलेहरू चुपचाप हेरिरहेका थिए। कोही-कोहीको आँखामा आँसु थियो, कोही डरले थरथर काँपिरहेका थिए। तर त्यो दिनपछि, गाउँमा केही परिवर्तन आयो। स्याओ चेनका पर्चाहरू गाउँका पर्खालहरूमा फेरि देखा परे। जवानहरू रात-रातभर भेट्न थाले। उनीहरूले स्याओ चेनको सपना बोकेर लड्ने बाचा गरे। स्याओ चेनको मृत्युले गाउँमा क्रान्तिको बीउ रोप्यो। उसको बलिदानले मानिसहरूलाई बुझायो– डरले होइन, साहसले स्वतन्त्रता जितिन्छ।

कथाः भूतलाई हेर्ने आँखा

दिपक तिमल्सिना तपाईंहरूको बाल्यकालमा आत्मा, भूतप्रेत, तर्साउने आत्मा भन्ने विषयमा विभिन्न कथाहरू सुन्नुभएको होला । मृत्युपछिको यात्रा प्रायः नर्क र स्वर्गमा पुग्ने कल्पना गरिन्छ। जसले मृत्यु देख्यो, त्यो फर्केर धर्तीमा आउदैन यो ध्रुवसत्य कुरा हो। वास्तवमा आज तपाईहरू माझ यस्ता केही तथ्यपरक एवम् विश्लेषणात्मक रूपका कथा प्रस्तुत गर्ने छु। एकदिनको कुरा हो, करिब रातको सात बजेतिर म घरबाट टिभि हेर्न भनी गाउँको घरमा लागे। घरमा पुग्न करिब ३० मिनेट लाग्थो। बाटो पूरा गोरेटो अनि अप्ठ्यारो थियो। बुढापाकाका अनुसार करिब ७८ वर्ष पहिले त्यहाँ एक जनाको भिरमा खर काट्ने क्रममा खसेर मृत्यु भएको रहेछ।  म विस्तारै ओरालो लाग्दै गए, कत्तैबटा खस्राक खुस्रूक आवाज आयो। मेरो मन अत्तालियो। भूतप्रेत हाम्रो खेवाली पुलाउ हो भनी हिम्मतका साथ अझ अगाडि बढें। फेरि सोचे आज साँच्चै भूतको अनुहार हेर्ने हो। मसँग हिन्दु धर्मकर्म अनुसारको जन्यौ छदै छ भनी टर्च निभाएँ।  टर्च निभ्नासाथ एउटा जुनकीरीलाई देखे । त्यसाई छुन खोजे तर एक्कासी हरायो। अलि  परतिर जुनकीरीहरूको जत्था थियो। एकछिन चुप लोर बसें सबै हरायो।  मेरो मन अच्चानक बहक्किन थाल्यो। त्यसपछि टर्च लाइट तलतिर बालेर दायाँतिर अनुहार मोडें, त्यहाँ सेतो बोरा जस्तो केही चिज थियो । बिस्तारै टर्च लगें, त्यही ठाउमा नै । मान्छे मरेको कथा मेरो मनमा झलझलि आइनैरहेको छ।  एक्कासि हेरेको त त्यहाँ त रूख मात्र छ। म अत्ताल्लिए छिटोछिटो पाइला चालेंं । हतार हतार अघि बढे मुटुको धड्कन बढिरहेको थियो तर पनि अब कहिले पुग्ने हो गन्तव्य भनी सोचिरहें। त्यहा माथि लामाहरूको झाँक्री मन्त्र लगाउछन् भन्ने सुनेको थिएँ । कसैलाई राति देख्यो भने बनझाँक्रीले लग्छन भनी बच्चादेखि नै हामिलाई तर्साइएको थियो।   मेरो होस हवास गुम्यो । पहिलोपटक आउदा त बुबा सँगै हुनुहुन्थो र डर पनि लागेको थिएन। आज अचानक यो सब चिज हुँदा अब भोलिदेखि यहाँबाट नआउने प्रण लिएँ। मससँग भएको ॐ नमः सिवाय मन्त्र फुक्दै अघि बढे।  यसरी भोलिपल्ट घरमा सबै कुरा सुनाएपछि आमाले भन्नुभयो कि खुर्सानीको एक दाना गोजीमा राख्नुपर्छ वा अगुल्टो बोकेर डिड्नुपर्छ तब मात्र तर्साउदैन। म जहिल्यै एक खुर्सानीको खिल्ली बाकेर जान थालेपछि केही भएन।  मलाई म निकै शक्तिशाली भएको अनुभव हुन थाल्यो। म त्यतिखेर कक्षा ७ मा पढ्थे । मैले एक एक घटना आफ्ना साथीहरूलाई सुनाउन थालें । त्यसै क्रममा एक साथीले भन्यो त्यसो भए हजार हजारको बाजी ल त रातको १२ बजे आर्यघाट पुगेर आइजो अनि तलाई म मान्छु । मलाई लाग्यो आज बाजी जितिने भो, एकदमै उत्साहित भएर फोनमा मम्मीलाई आज म घर आउदिन साथीकोमा बस्छु भनें। त्यसपछि रातको ११ः३० बजे आर्यघाट पुगें, त्यहा धेरै मलामीहरू रहेछन्। एउटी आमाको लाश जलाएर अन्तिम चरणको हड्डीहरू ठोस्द‌ै थिए। यसरी म सर्त अनुसार त्यहा पुगेर करिब आधा घण्टापछि फर्किए। म खुसी हुँदै आउदै थिए घर नजिक फर्किएर आइपुग्नै लाग्दा गोजी छामे खुर्सानी नै छैन रैछ। त्यसपछि म हतार हतार साथीको कोठामा गई हेर्छु त मेरो पाइन्ट  साथीले नै लगाईरहेको रहेछ।  उसलाई उठाएर उसको गोजीको खुुर्सानी निकाल्दै भनें– यार  तैले यो के गरेको ? उसले भन्यो– ‘तैले नै मेरो पाइन्ट पहिले लगाएको होस्।’ ‘पुगेर आइस’– उसले सोध्यो । ‘अँ आए’– जवाफ फर्काएँ । उसले नरम स्वरमा भन्यो त्यो मेरो गोजीको चोर गोजीमा छ हजारको नोट निकालेर लैजा । म विस्तारै उसको नजिक गई सुते। अनि सोच्न थालें ओहो ! यो सब कसरी सम्भव भयो। असरी समस्या समाधान गर्ने त खुर्सानी थिएन, मेरो हिम्मत र आत्मविश्वास नै थियो । यो भूत प्रेत, आत्मा, धामी झाक्री त सबै भ्रम न रहेछन, जुन हाम्रो समाजले हाम्रो अवचेतन मनमा बाल्यकालदेखि नै विभिन्नका कथाका माध्यमले हालेका रहेछन्। आत्मविश्वास, हिम्मत र साहसले मानिसको डरलाई पनि मेटाउने रहेछ। यो सब त भ्रम पो रहेछ, मेरो मनको डर। अहिले मेरो भूतलाई हेर्ने आखा यसरी फेरिएको छ। 

त्यसपछि उनी कहिले फर्किनन् !

शान्ति पनेरु मौसम धमिलो । चारैतिर सन्नाटा थियो । शिशिर ऋतुको आगमन मनमा बेचैन तर जीवन प्रतिको उज्जल सपनाको अदृष्य आकृति एक साथ मस्तिष्कमा कैद थियो । हाम्रो यात्रा अटुट माया दृढ बिश्वास अनि दृढ सङकल्प यात्रा अबिचलित थियो । अचम्म छ, नियम भनौ या कर्तव्यनिष्ट जिम्मेवारी बोध हाम्रो दैनिकी जस्तै भयो । कतै उद्देश्य नभेटिएर अलमलिएको यात्री जस्तै थियौं हामी । भुगोलको अनज्ञिता, विकेन्द्रित कार्ययोजना हाम्रा लागि फलामकै चिउरा सरह थियो । तर मित्रतामा आत्मियभाव हामीमा अझै प्रगाढ थियो । हामीलाई दिएको जिम्मेवारी जति सुकै चुनौती मोलेर भए पनि पुरा गर्नुपर्छ भन्ने कुरामा अडिग थियौं हामी । नेतृत्वले गर्ने बिश्वासलाई कहिल्यै पनि कमि हुन दिएनौं । समयले पनि कहिलेकाँही जिन्दगीकै ठूलो परीक्षामा अनायसै सामेल गराईदिन्छ । तेस्तै थियो र भयो हामीमा पनि । एक अथक यात्री, कलिलो मस्तिष्क, कडा जिन्दगीका अग्नि परिक्षाहरु । सायद, पास भईन्छ या फेल । जीवनका भोगाईले बारबार परीक्षा दिईरह्यो । उ बारबार भन्थी, ‘हामी महासमरका यात्री हौं । बीचमा को कहाँ छुटिन्छौं, कसैलाई पत्तो छैन ।’ लाग्थ्यो, जीवनका हाम्रा सपना, साझा जिम्मेवारी फरक उद्देश्य अबिचलित तर यात्रा सँगै, पार्टीकै योजनामा थियौं । मिठा अनुभुतिका स्मृति, शुभचिन्तकहरुको जो देशको मायामा आफ्ना हरेक ब्यक्तिगत ईच्छालाई तिलान्जली दिएका हुन्छन् । उनिहरुका अनुभव, अतीत र वर्तमान हाम्रा लागि एक पाठशाला जस्तै थिए । हामी सुनिरह्यौं । उनिहरुका भोगाई । म बिचैमा जिज्ञासु बन्दै बोल्न पुगें । ‘सजिना, हाम्रा गन्तव्य सोझ्याउनु पर्ने होईन र ? मेरा अनुत्तरित प्रश्न निर्भिकताका साथ प्रस्तुति हुने उसको स्वभाव प्रति म सधैं नतमस्तक थिएँ । समय आफ्नै रफ्तारमा दौडदै थियो । हामी कसैको पर्खाईमा बेलुकीको मिरमिर साँझ हाम्रा धैर्यतालाई छिचोल्दै थियौं । त्यही बखत् कोही परिचित आवाज ठोकिदै आउछ र सम्मानमा बदलिदै जान्छ । ‘साथीहरु हामी एउटा महत्वपुर्ण मिसनमा सहभागी बन्दै छौं ।’ सेन्सिटिभ ईलाका हाम्रो लागि कम चुनौतिपूर्ण थिएन । सामान्य छलफल पछि हामी अर्को पोईन्ट जानु थियो । हाम्रो अन्तिम बिन्दु त्यही ठाउँ भेट्ने गरि छुटियौं । काम र कर्तव्य प्रतिको उत्सुकतामा रमाउदै हामी त्यतै हानियौं । बाटामा अनगिन्ति तिता मिठा कुरा गर्दागर्दै उसका भावना पोखिएको पत्तै पाईन उसले । जिन्दगीले परीक्षा पनि कस्तो कस्तो लिन्छ । अनायसै मेरो मन चिप्लियो । भन्न म ताकेता गर्दै थिए । हामी वर्गीय लडाईमा छौं । उ भन्दै गई ‘मृत्युलाई पचाउदै महासागरमा हेलिएका छौं । जीवन कहाँ कति खेर के हुन्छ, कसलाई के थाहा ?’ अनकन्टार जङ्गलको बाटो छिचोल्दै गन्तव्य छोट्याउँदै थियौं । फेरि उ बोली ‘मैले उसको जिम्मेवारी पनि पुरा गर्नु छ अनु ।’ म जिज्ञासु भावमा सोधें । उ लजिलो भाबमा बोली ‘सेबक, म उसलाई धेरै माया गर्थे र उ पनि मलाई । तर अचम्मको उसको प्रम स्नेह कसरी सम्झनु जस्को जीवित वा मृत कुन अबस्थामा छ सुईको सम्म छैन, तर उसकै लागि हर रात दिन स्मृतिमा जीवित राख्नु, यो कस्तो प्रेमभाव ।’ मनमा कतिपय उसका प्रेमिल शब्दहरुका प्रस्न मेरा मन भित्रै कैद भए । आज सम्म पनि उत्तर छैन र थिएन । कैयौं, भावना जीवित हुँदाहुदै गन्तव्य आईपुग्यो । हामी पुग्दा सबै जम्मा भईसक्नु भएको रहेछ । पोखरा उसका लागि अनुकुल हाम्रा लागि प्रतिकुल । प्रतिकुलतालाई छिचोल्दै हामी योजना कार्यान्वयनको पक्षमा दृढताका साथ सहभागी भयौं । कार्य बिभाजन पछिका कार्यन्वयन पनि उतिकै जटिल थियो हाम्रा लागि । कहिलेको मिलन कहिलेको बिछोड जीवन रफ्तारमा नै थियो । ‘राम्रो सँग होसियारी अपनाउनु’ मैले बोलें । उ भाबुक अनि आत्मा बिश्वासका साथ बोली –‘म कहिँ ढलें भने मेरो शन्देश पु¥याईदिनु र भन्नू, क्रान्तिमा अबिचलित लागि रहनु ।’ हामी फेरि भेट्ने मीठो आशामा छुटियौं । युद्धको नियम तेस्तै नै छ । भावना भन्दा निर्ममता प्यार जस्तो । बेलाबेलामा झस्काई दिने मृत्यु पनि कति मीठो ,आन्नदको । अफसोच, उसका अबोध भावना कसैको पर्खाईमा तड्पिएकी पूरा हुन नपाईनै अधुरै रहने त्रासले हरपल सताईरह्यो । उज्यालोलाई पाखा लगाउँदै रातहरुको सन्देश पाएको आभास भयो । मनमा त्रास सँगै फुल जस्तै मुस्कुराएको आस, मिसन जसरी नि पुरा गर्नु पर्ने चुनौती थियो हाम्रा लागि । दिन रात जस्तै थियो तर रात हाम्रा दिनमा परिणत हुन्थ्यो । हामी नजिकै सेल्टरमा थियौं । हाम्रा गतिबिधिले उनिहरुका उपस्थिति सिबिलमा परिचालन गरेछ । हाम्रा गतिबिधिलाई उ सम्म पु¥याउने । हाम्रो आन्दोलन प्रतिको तिक्तता जो सँग थियो उसले पु¥यायो । रातीको समय अँधेरी रातलाई चिर्दै मिरमिर उज्यालोको सङ्केत दिदै गर्दा कसैका राक्षसी बुट बज्रियो । घरै छेउमा आवाज आयो ‘ठोक ’ । थोरै पनि दया नभएका राक्षसी हात उसका कोमल शरिरमा बज्रिन पुग्छ । भाग्दै गरेको योद्धा पटक पटक लडेर पनि खुनी पञ्जा बाट उम्किन सफल रह्यो । शिव र आकास छिनभरमै बर्साएको गोलीले गिज्याउदै पछ्याउँथ्यो । तर एक निरीह महिला जो हजारौ बुट उसका शरिरमा बज्रिदा पनि आफुलाई मृत्युसँग हस्ताक्षर गरिनन् । क्रान्तिको बाधक बन्दै बनिनन् । हामी नजिकै बाट उसका गतिबिधि नियाल्दै थियौं । सयौं बर्दिधारीहरुका बिचमा एक निरीह नारीलाई हातमा फलामे जँजिरले बाधेर पनि आफ्नो कायरतामा बहादुर ठान्दै थियो उ । हामी नजिकै एक अबोध अन्जान जस्तै थियौं । पर्ख र हेर हाम्रा लागि यहि अन्तिम उपाय । एकछिनमा अर्काे दानब भाब झल्काउँदै आयो र भन्यो ‘यसले हामीले भनेको मानिन, यसलाई जङ्गलमा लगेर तड्पाई तड्पाई मार्नुपर्छ ।’ कति क्रुर छ । निरङ्कुशता भित्र रहेका दानवहरुलाई हामी केही पर जङ्गलबाट नियालिरह्यौं । उसका निरीह अनुहार । तर उसमा कुनै निरिहता थिएन । थियो त बदलाभाव । भन्दै थिई ‘तँ एक मार्दैमा उ हजार जन्मिदैछ, क्रान्तिको यात्रा हो रोकिन्छ र कहाँ ?’ कतै उ मृत्युलाई सहज ठान्दै थिई । लाग्थ्यो उनि हरेक क्रान्तिका अधुरा सपना पुरा गर्न हामीलाई निर्देश गर्दै थिई । समय हाम्रा लागि अनुकुल पटक्कै थिएन । एउटा सहयोद्धा छिनभरमै खुनी पिपासुको पन्जामा परेको क्षण । मनमा बेचैन छाउँदै आयो । आशा म¥यो । उ बिना हजारौ सहयात्रीहरुको भिडमा एक्लो महसुस गरायो । धेरै रातहरु निदाउन सकिन । कयौं दिनहरु रातजस्तै भए मेरा लागि । आफुलाई सम्हाल्दै फेरि एक पटक उठ्ने कोशिस गरेँ र दुश्मनलाई भनें ‘तिम्रो बदला पनि त लिनुछ !’उनलाई सम्झिएर प्रण गरें ‘तिम्रो सपना पुरा गरेरै छाड्नेछु ।’

शिल्पीमा नेपालको शिक्षा प्रणाली दर्शाउने नाटक ‘ज्ञानको चिहान’

काठमाडौं ।नेपालको शिक्षा प्रणाली दर्शाउने ‘ज्ञानको चिहान’ नामक नाटक गोठाले नाटक घरमा मञ्चन भैरहेको छ । जुन युवा विद्यार्थी अविभावक तथा शिक्षा क्षेत्रसँग सरोकार राख्ने सबैले हेर्नुपने नाटक रहेको छ । पुस १३ देखी शिल्पीको गोठाले नाटकघर बत्तिसपुतलीमा मञ्चन सुरु भएको उक्त नाटक ‘ज्ञानको चिहान’ ले विभिन्न राजनीति दलका विद्यार्थी संगठन र क्षमता योग्यताका आधारमा भन्दा पनि राजनीतिक नियुक्ति र भागबण्डामा विश्व विद्यालयका पदाधिकारी तथा प्राध्यापक छनोट हुने चंगुलमा फसेको शिक्षा प्रणालीलाई दर्शाउने काशिस नाटकले गरेको छ । शिक्षामा व्यापारिकरण मौलाएको, विश्वविद्यालयका भवनहरू खण्डहर हुँदै गएको, विश्वविद्यालयकको गुणस्तर खस्किँदै गएको, वैज्ञानिक शिक्षा प्रणालीको विकासमा ध्यान नपुगेको जस्ता कुराहरु जोडदारसँग नाटकमा उठाइएको छ । विश्वविद्यालयमा विद्यार्थी संगठनको आवरणमा हुने गुण्डागर्दी, प्राध्यापकमाथिको अनावश्यक आरोप, सार्वजनिक शिक्षा सुधार गर्न चाहानेहरु एक्लै बनेको जस्ता विषयवस्तु कथाले जीवन्त रुपमा उठान गरेको छ । नाटकले राजनीति आफैमा खराब नहुने कुरालाई जोड दिएको देखिन्छ । विद्यार्थी राजनीतिका केही पात्र र प्रवृतिमा समस्या रहेको उल्लेख गर्दै नाटकले सचेत मान्छेहरु राजनीतिलाई सहि बाटोमा हिडाउन आफैं सक्रिय हुन प्रेरित समेत गरेको छ । साथै, विश्वविद्यालयमा ज्ञानको उत्पादन नभई सप्लाई हुने गरेको भन्ने भाष्य मार्फत नेपालको शैक्षिक प्रणाली माथि निकै तिखो प्रहार गरीएको छ नाटकमा । राष्ट्रिय इस्युहरुमा विश्व विद्यालय बोल्नुपर्ने र देशको मस्तिष्कको रुपमा विश्वविद्यालयले काम गर्नसक्नुपर्ने जस्ता विषयले आम विद्यार्थीको आफ्नै नाटक जस्तो बनेको छ ज्ञानको चिहान । विद्यार्थी संगठनहरूको भागवन्डामा होइन् विभिन्न खोज तथा अनुसन्धानमा केन्द्रित भएर देश निर्माणका लागि मुख्य भूमिका खेल्नुपर्ने नाटकले सन्देश दिन खोजेको छ । अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहको परिकल्पनामा र अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय शैक्षिक विभागको सहकार्यमा कलासी प्रोडक्सनले नाटक मञ्चन गरेको हो । संगीत सापकोटाले निर्देशन गरेको नाटक ‘ज्ञानको चिहान’लाई पूर्णबहादुर गन्धर्व, नरेश रेग्मी र आशिष घिमिरेले लेखेका हुन् । नाटक पुस ३० गतेसम्म मञ्चन हुने प्रोडक्सन म्यानेजर सगुन पोख्रेलले जानकारी दिइन् ।

लोकप्रिय