कस्तो समस्या देखिन सक्छन् गर्भावस्थामा ?
डा. बालकृष्ण साह । गर्भावस्था एउटा जटिल अनि विशेष अवस्था हो । यो अवस्थामा एकातिर आमा बन्ने खुसी जोडिएको हुन्छ भने अर्कातिर महिलाको ज्यान जाने खतरा पनि हुन्छ । हिजोआज विस्तारित स्वास्थ्य सेवा तथा बढ्दो जनचेतनाले नियमित स्वास्थ्य परीक्षण गर्ने चलन पनि बढ्दै छ । फलस्वरूप मातृ मृत्युदरमा कमी आएको छ ।
गर्भावस्थामा विभिन्न किसिमका समस्या आउन सक्छन् तथापि नआत्तिई समयमै उपचार गरे धेरैजसो अवस्थामा आमा र शिशु दुवैलाई बचाउन सकिन्छ । अमिता नेपालीको ५ वर्षअघि पहिलो शिशु घरमै भएको थियो । त्यसबेला कुनै परीक्षण नगराए पनि यसपटक उनी महिनावारी निर्धारित समयमा नभएको ३ हप्ता नबित्दै परीक्षणका लागि अस्पताल गइन् । चिकित्सकले प्रारम्भिक परीक्षणपछि उनलाई भिडियो एक्स–रे गर्ने सल्लाह दिए । आफूलाई केही अप्ठ्यारो नभएको अनि गर्भ बसेको भर्खर दुई महिना पुग्न लागेकाले उनले भिडियो एक्स–रे गर्न उपयुक्त मानिनन् तर दुईदिन नबित्दै उनलाई धेरै पेट दुखेर अस्पतालको आकस्मिक कक्षमा पुर्याइयो । उनको गर्भ पाठेघरमा नरहेर अण्डबाहिनी नलीमा बसेको रहेछ । त्यो फुटेर समस्या देखिएको रहेछ । यो एउटा गम्भीर एवं खतरनाक अवस्था हो । यस्तो अवस्थामा तुरुन्त शल्यक्रिया हुन सकेन भने बिरामीको ज्यान जान सक्छ ।
पाठेघरबाहेक अन्य स्थानमा गर्भ रहनुलाई इक्टोपिक प्रिग्नेन्सी भनिन्छ । इक्टोपिक प्रिग्नेन्सी हुने कारण धेरै भएपनि सबै अवस्थामा यसको कारण पत्ता लगाउन सकिँदैन । समयमै भिडियो एक्स–रे गरेर इक्टोपिक प्रिग्नेन्सी रहेको थाहा पाउन सकिन्छ । इक्टोपिक प्रिग्नेन्सी भएको थाहा पाउने बित्तिकै कुनै विषमस्थिति आउनुअघि नै त्यसको अन्त्य गर्नुपर्छ । इक्टोपिक प्रिग्नेन्सीलाई समयमै परीक्षण गरियो भने शिशुको ज्यान बचाउन नसकिएपनि आमाको ज्यान बचाउन सकिन्छ ।
गर्भावस्थामा हुने अर्को प्रमुख समस्या उच्च रक्तचाप हो । अन्य रोगको कारणले पनि उच्च रक्तचाप भएको हुन सक्छ वा उच्च रक्तचाप पहिलोपटक गर्भावस्थामा देखिन सक्छ । २० साताकी गर्भवती महिला वा शिशु पाएको २४ घन्टाभित्र लगातार रक्तचाप १४०–९० हुनु वा कम्तीमा ४ घन्टाको परक पारेर दुईपटक रक्तचाप नाप्दा १४०–९० हुनु (पहिलो रक्तचाप सामान्य रहेको अवस्थामा) लाई गर्भावस्थाको रक्तचाप वा गेस्टेसलन हाइपर टेन्सन भनिन्छ । यस्तो अवस्थामा गर्भको शिशु तथा आमाको मृत्यु हुने संभावना कम हुन्छ, तर अर्को पटक गर्भवती हुँदा रक्तचाप बढी हुनुका साथै अन्य समस्या पनि देखापर्न सक्छन् ।
उच्च रक्तचापसँगै पिसाबमा प्रोटिन देखिनुले ठूलो समस्या ल्याउन सक्छ । यसबाट आमा बेहोश हुने, रक्तचाप बढ्ने, अचेत हुने, संक्रमित हुने तथा आमाको मृत्यु समेत हुन सक्ने हुन्छ। गर्भावस्थामा यस्तो समस्या आउनाले शिशु कम तौलको हुने, महिना नपुग्दै जन्मने तथा गर्भमै शिशुको मृत्युसमेत हुनसक्छ । गर्भवती महिलामा देखापर्ने यस किसिमको समस्यालाई प्रि– इक्नाप्पसिया भनिन्छ, यो पहिलो पटकको गर्भमा बढी देखिन्छ । शरीरका सम्पूर्ण रक्तनली, विशेष गरी पाठेघर, मिर्गौला र मस्तिष्कमा रक्तनलीहरू आवश्यकभन्दा बढी संकुचित भएका कारण उच्च रक्तचाप तथा प्रिइक्लाम्पसिया हुन्छ । प्रि–इक्लाप्पसियामा भएका गर्भवती महिला एकपटक मात्र पनि अचेत हुने वा बेहोस हुने अवस्थालाई इक्लाम्पसिया भनिन्छ । एक पटकमात्र पनि इक्लाम्पसिया भएका, गर्भवती महिला तथा गर्भमा रहेको शिशु दुवैका लागि खतरा बढेर जान्छ।
गेस्टेसलन हाइपर टेन्सन, प्रि इक्नाप्पसिया तथा इक्लाम्पसिया जटिल किसिमका समस्या हुन्। यसका लागि नियमित रूपमा, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नुपर्छ । यस्तो समस्याका लागि सुविधा सम्पन्न अस्पतालमा भर्ना भएर उपचार गराउँदा पनि अप्रिय समाचार सुन्नुपर्ने हुन्छ । गर्भावस्थामा अन्य सामान्य समस्या पनि देखापर्न सक्छन् । यो अवस्थामा वाकवाक लाग्नु तथा बान्ता हुन खोज्नुलाई ठूलो समस्या मानिँदैन ।
त्यस्तो अवस्थामा चिल्लो तथा मसलेदार खानेकुरा सेवन नगरी सुख्खा खानेकुरा खानुपर्छ । यस्तो समस्या सामान्यतया पहिलो तीन महिनासम्म हुन्छ । गर्भको शिशुले सामान्यतया १२ हप्ता पार गरिसकेपछि वाकवाक लाग्न छोड्छ । यद्यपि कसै–कसैलाई यो समस्याले पनि निकै पिरोल्न सक्छ। यस्तो पीडालाई हाइपरइमेसिस् ग्राभिडम् भनिन्छ। यस्तो स्थिति प्रायः पहिलो पटकको गर्भमा बढी भएको पाइन्छ । गर्भमा एकभन्दा बढी शिशु रहे तथा अव्यवस्थित गर्भ रहेको अवस्थामा पनि यो समस्या बढी देखिन्छ। यो समस्या वंशाणुगत पनि हुनसक्छ । गर्भावस्थामा एचसीजी हार्मोनको मात्रा बढ्छ । यो हार्मोनको मात्रा सामान्यभन्दा बढी भए धेरै बान्ता हुन सक्छ। एचसीजी हार्मोन धेरै अवस्थामा पत्ता लगाउन सकिँदैन। गर्भमा धेरै पानी हुनु, दुई वा त्यसभन्दा बढी शिशु हुनु आदि त्यसका प्रमुख कारण हुन्। यसबाहेक भिटामिन बी वा प्रोटिनको कमी हुनु तथा मानसिक समस्याहरूले हाइपरइमेसिस् ग्राभिडम् गराउन सक्छन्। गर्भावस्थामा पनि अन्य अवस्थामा जस्तै पिसाबको संक्रमण, पेटको अल्सर, एपेन्डिसाइटिस, पित्त थैलीको संक्रमण, कलेजोको संक्रमण आदिले बान्ता गराउन सक्छ ।
गर्भावस्थामा सामान्यभन्दा बढी वान्ता भए तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । यस्तो बेला बान्ताको कारण पत्ता लगाउन विभिन्न परीक्षण (रगत, पिसाब, भिडियो एक्स–रे) गर्नुपर्ने हुन सक्छ। कसैकसैमा धेरै बान्ता भएर धेरै पानी तथा लवण खेर गएको हुनसक्छ । त्यस्तो अवस्थामा बिरामीलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने हुन सक्छ।
पहिलो तीन महिनामा भएको सानो समस्याले पनि गर्भ तुहिने सम्भावना रहन्छ। यो अवस्थामा लामो दूरीको यात्रा गर्नु, मानसिक तनाव लिनु, धूम्रपान तथा मद्यपान गर्नु हानिकारक साबित हुनसक्छ । सामान्यतया गर्भावस्थाको दोस्रो तीन महिना समस्या बिहीन हुन्छ । यो अवस्थामा खानामा रुचि बढ्ने, तौल बढ्ने तथा पेट देखिन थाल्ने हुन्छ । यही अवस्थामा रगतको मात्रा बढाउन आइरन तथा क्याल्सियमको कमी हुन नदिन गर्भवती महिलालाई क्याल्सियम चक्कीका साथै टीटी भ्याक्सिन दिइन्छ ।
करिब ५० देखि ७० प्रतिशत महिलालाई गर्भको ४ महिनादेखि कम्मरको पीडा सुरु हुने गरेको अध्ययनले देखाएको छ । कम्मरको पीडाका अन्य कारणमा गर्भवती महिलाको तौल बढ्नु पनि एक हो । यो बढेको तौललाई पनि कम्मरले थाम्नुपर्ने हुन्छ । यो अवस्थामा पाठेघर तन्किएर बढेको हुन्छ, जसले तल्ला नशाहरूलाई च्यापेको वा प्रेसर दिएको हुन्छ । यी कारणहरूले गर्दा नै कम्मरको पीड हुन्छ भन्ने विज्ञहरूको धारणा छ । गर्भावस्थामा भएको कम्मरको पीडाका लागि आत्तिनुपर्दैन। यस्तो अवस्थामा पीडा कम गर्ने औषधि सेवन गर्नेभन्दा पनि सामान्य व्यायाम गर्ने, तातोले सेक्ने तथा पीडा कम गर्ने मल्हमहरू (डीएफओ जेल, निन्जा जेल) प्रयोग गर्नु राम्रो मानिन्छ ।
त्यस्तै यो अवस्थामा कसैकसैलाई एसिडिटीले सताउन सक्छ । मुखमा अमिलो पानी आउने, उल्टी (बान्ता) हुन खोज्ने, पेट पोल्ने वा दुख्ने एसिडिटीका लक्षण हुन् । नियमितरूपमा सन्तुलित भोजन गर्ने, चिल्लो, पिरो, अमिलो कम खाने तथा धेरैबेर भोकै नबस्ने कार्यले मात्र पनि यो समस्या कम गर्न सकिन्छ । गर्भको अन्तिम अवस्थामा आएर पनि विभिन्न किसिमका स्वास्थ्य समस्या देखापर्न सक्छन् र यस्ता समस्याले मानसिक तनावमात्र उत्पन्न गर्दैनन्, आमा एवं गर्भस्थ शिशु दुवैका लागि खतरा साबित हुन सक्छन्। त्यसैले आफूमा कुनै किसिमका समस्या भए चिकित्सकको सल्लाह लिइहाल्नुपर्छ ।
अस्पतालको छनोट कसरी गर्ने ?
साधारणतया हामीले अस्पताल छनोट गर्दा आफूलाई पायक पर्ने ठाउँ हेर्छौं । त्यसो त आपतकालीन अवस्थामा जुन अस्पताल नजिक छ त्यहीँ जान्छौं । अस्पताल छनोट गर्दा पर्याप्त ध्यान पुर्याउनुपर्छ किनभने अहिले अस्पतालबाटै पनि संक्रमण फैलन सक्छ ।
त्यसैले अस्पतालमा के-कस्ता सुविधा छन् हेर्नुपर्छ । अस्पताल छनोट गर्दा निम्न कुरामा ध्यान पुर्याउनुपर्छः
० सबैभन्दा पहिले नजिकमा भएका अस्पतालको सूची बनाउनुपर्छ।
० नजिकको अस्पतालले मात्र हुँदैन । आफ्नो स्वास्थ्यसँग सम्बन्धित सबै उपचार उक्त अस्पतालमा हुन्छ कि हुँदैन त्यो पनि हेर्नु आवश्यक छ।
० अस्पताल छनोट गर्दा आफूलाई मन पर्ने तथा चिनजानको चिकित्सक छान्नुपर्छ।
० अस्पतालमा बिरामीप्रति गरिने व्यवहार कस्तो छ विचार पुर्याउनु आवश्यक हुन्छ।
० अस्पतालको सरसफाइ तथा बिरामीलाई दिइने सुविधाका विषयमा ध्यान दिनुपर्छ।
० अस्पतालको संक्रमण रोक्न के-कस्ता उपाय अपनाइन्छ विचार पुर्याउनुपर्छ।
महमा ऊर्जा
एक चम्चा महले मानिसको शरीरमा ऊर्जा प्रदान गर्छ। यसमा पाइने ग्लुकोज तथा फुट क्रोजका कारण कलेजोलाई ग्लाइकोजेन नामक रसायन प्राप्त हुन्छ। यो रसायन शरीरका लागि अत्यन्त लाभदायक मानिन्छ।
नियमित महको सेवनले ऊर्जा प्रदान गरेर कुनै पनि काम गर्ने जाँगर बढाउँछ।
महमा कुनै बाहिरी तत्व मिसिएको हुनुहुँदैन । राति राम्रो शुद्ध मह खाए मस्तिष्कले राम्रोसँग काम गर्छ। कलेजोमा जम्मा भएको फुटक्रोजले मस्तिष्कलाई काम गर्ने शक्ति दिन्छ । महले रोग प्रतिरोधक क्षमता पनि बढाउँछ । महको सेवनले शरीरलाई विभिन्न प्रकारका विकारबाट टाढा राख्न सहयोग पुर्याउँछ। महमा आन्तरिक एवं बाह्य रूपमा ब्याक्टेरियासँग लड्ने तत्व हुन्छ ।
जाडो मौसममा धेरै मानिस रुघाखोकीको सिकार हुने भएकाले नियमित मह सेवन गरे उक्त संक्रमणबाट बच्न सकिन्छ । अनुसन्धानबाट पनि महमा विषाणु नष्ट गर्ने क्षमता भएको कुरा प्रमाणित भैसकेको छ ।
निद्रामा पनि क्रियाशील
मानिसहरू आफ्नो सुन्दरता बढाउन विभिन्न उपाय अपनाउँछन् । दिनभरिको व्यस्ततामा सुन्दरता बढाउने क्रियाकलाप सम्भव नहुन सक्छ । त्यसैले सुत्ने बेला केही उपाय अपनाएर बिहान उठ्दा पहिलेभन्दा फुर्तिलो र तेजिलो महसुस गर्न सकिन्छ । मानिसहरू आफ्नो छाला नरम राख्न सुत्ने बेला विशेष किसिमका प्रसाधन प्रयोग गर्छन् । कोही आफ्नो हातमा भ्यासलिन लगाएर पन्जा लगाउँछन् त कोही अनुहारमा फेसप्याक वा दाग–धब्बामा टुथपेस्ट लगाएर सुत्छन् ।
छाला विशेषज्ञ इव लोभका अनुसार निदाएका बेला शारीरिक प्रक्रियामा परिवर्तन भइरहन्छ र केही हार्मोनको स्राव बढी हुन्छ । निदाएका बेला तन्तुको मर्मत र पुनर्जीवनका अतिरिक्त छालाका कोशिकाहरू, रक्त वा मस्तिष्क कोशिकाहरू टुट्ने–फुट्ने तथा मर्मत र पुनर्जीवन हुने कार्य भइरहन्छ। निद्राले हाम्रो रोग प्रतिरोधक क्षमता बढाउँछ । एक अमेरिकी पोषण विशेषज्ञका अनुसार शारीरिक अङ्गको पुनर्जीवन र मर्मतको कार्य तबसम्म सुरु हुँदैन जबसम्म कमसेकम ६ घन्टाको निद्रा पूरा हुँदैन ।
जब हामी निदाएका हुन्छौँ तब हाम्रो अनुहार स्थिर हुन्छ । यसले दिनभरिको श्रम र थकानबाट राहत दिलाउँछ । छाला विशेषज्ञ करेन बुर्कका अनुसार निदाएका बेला अनुहारले अनावश्यक तनावबाट मुक्ति पाउँछ । करेन बुर्कको सुझावअनुसार पीठको बलमा सुत्दा वा घुँडाको तलतिर सिरानी राखेर सुत्दा आराम महसुस गर्न सकिन्छ । छाला विशेषज्ञ निकोल लोवेका अनुसार सुत्दा मोस्चराइजरको प्रयोग आवश्यक छ। तातो कोठामा सुत्दा छाला रुखो अर्थात् फुस्रो हुनसक्छ । त्यसैले ओछ्यानमा जानुभन्दा पहिले क्रिम लगाउनुपर्छ।
रातिको खाना ढिलो खाने बानी परिवर्तन गर्नुपर्छ । सुत्दा शारीरिक मेटाबोलिज्मको गति सुस्त हुन्छ किनभने त्यतिबेला हाम्रो शरीरको शक्ति क्यालोरीमा खर्च भएको हुँदैन । सुत्नुभन्दा अघि व्यायाम गर्नु राम्रो हुन्छ, यसले एड्रोनाइल बढाउँछ र शरीर जाग्छ । सुत्नुअघिको सहवास पनि प्रकृति प्रदत्त व्यायाम हो । यसका अतिरिक्त योगासन एवं ध्यान पनि सहायकसिद्ध हुन्छन् ।
दीपकलाल श्रेष्ठ
गर्मीका लागि स्वास्थ्य टिप्स
बिहानै पौष्टिक तत्व समावेश भएको नास्ता खानुपर्छ।
बिहान–बेलुका हल्का खाना खानु राम्रो हुन्छ।
खाना खानुअघि तथा खाना खानासाथ तुरुन्त पानी पिउनु हुँदैन। पर्याप्त मात्रामा कागती पानी सेवन गर्नु उपयुक्त हुन्छ।
भोक लागेको बेला मात्र खाना खानुपर्छ
कम चिल्लो भएका खानेकुरा खानुपर्छ।
पानी पर्याप्त मात्रामा पिउनुपर्छ।
तरबुजाको जुस पिउनुपर्छ।
बिहान उठ्नासाथ तामाको भाँडामा राखिएको मनतातो पानी पिउनुपर्छ।
राति सुत्ने बेलामा एक गिलास मनतातो पानीमा कागती हालेर पिउँदा फाइदा पुग्छ।
भात एवं रोटी कम तथा तरकारी र फलफूल बढी खानुपर्छ।
खाना खानासाथ तुरुन्त सुत्नु हुँदैन।
खाना खाएपछि ४०-५० कदम हिँडडुल गरेर मात्र सुत्न जानुपर्छ।
दैनिक खुला हावामा हिँड्ने तथा हल्का व्यायाम गर्ने बानी बसाल्नुपर्छ।
वजन कम गर्ने सरल उपाय
डाइटिसियनबाट डाइट चार्ट बनाउनुपर्छ।
निर्धारित समयमा खाना खानुपर्छ।
खाना खाएको तीन घन्टासम्म केही खानु हुँदैन।
दिनहुँ बिहान व्यायाम गर्नुपर्छ।
बाहिरको खाना कम खानुपर्छ।
प्रत्येक हप्ता आफ्नो वजन जाँच गर्नुपर्छ।
सलाद तथा जुस प्रशस्त सेवन गर्नुपर्छ।
मस्तिष्कलाई कसरी सक्रिय बनाउने ?
मांसपेशी जस्तै मस्तिष्कलाई पनि कसरतको आवश्यकता पर्छ। निम्न लिखित उपायले मस्तिष्कलाई वृद्धावस्थासम्म पनि सक्रिय राख्छ ।
बालबालिकाका साथमा चलचित्र हेर्नुपर्छ ।
बाधा–अड्चनको समाधान गर्नुपर्छ ।
अफिस जाने नयाँ बाटो रोज्नुपर्छ ।
श्रीमान्–श्रीमती प्रेमपूर्वक बस्नुपर्छ । यसले मानिसको न्युरोन्स विकसित गर्न मद्दत गर्छ।
भरसक दिनहुँ नयाँ(नयाँ प्रयोग गर्नुपर्छ ।
जीवनमा तनावलाई स्थान दिनु हुँदैन।
रक्त अल्पताका लागि भोजन
पालुंगो एवं गाजरको रसमा मह मिसाएर पिउनु लाभदायक हुन्छ।
अनार, अंगुर, सुन्तला, मौसम, केरा, स्याउ, गोलभेंडा, चुकन्दर, बन्दा आदि नियमित रूपमा सेवन गर्नुपर्छ।
हरिया सागपात, पालुंगो, बाँबरी नियमित भोजनमा समावेश गर्नुपर्छ।
अन्जिर एवं दाख खानु पनि फाइदाजनक हुन्छ।
मेथी, बेसार, निमका पात पनि रक्त अल्पताका रोगीका लागि वेश हुन्छ।
गहुँको जमराको रस दिनहुँ पिउँदा पनि राम्रो हुन्छ।
चोकर सहितको गहुँको परिकार, ब्राउन राइस, हरिया सागपात, बन्दा आदिमा प्राकृतिक रूपमै आइरन तत्व पाइन्छ।
माछा, मासु, कलेजो, अण्डा आदिले हेमोग्लोबिन बन्न सघाउ पुर्याउँछ । शाकाहारीले दूध, दूधबाट बनेका परिकार, भटमास, बदाम आदि खानुपर्छ ।
सय ग्राम ब्राउन राइसमा ३० ग्राम कालो भटमास तथा ३० ग्राम छोकडा मिसाई पकाउने र सख्खर मिसाएर खाए फाइदा हुन्छ।
पालुंगोको सागमा कलेजो मिसाएर पकाउने र सुपका रूपमा खाए लाभदायक हुन्छ।
अण्डा, कुरिलो, राजमा, ओखर पनि रक्त अल्पताका लागि उपयोगी मानिन्छ।
राति किन बाउँडिन्छ गोडा
राति कसै–कसैको गोडा बाउँडिन्छ। यसका धेरै कारणमध्ये काम गर्ने बेलामा मांसपेशी तन्किनु, धेरै समयसम्म एउटै ठाउँमा उभिनु, एन्टी साइकोटिक्स, डियोरेक्टिस औषधिको सेवन तथा शरीरमा पोटासियम, क्याल्सियम तथा पानीको कमी आदि हुन सक्छ । यस्तो समस्याबाट छुटकारा पाउन पोटासियमयुक्त खाद्यपदार्थ मेथी, पालुंगो तथा बन्दागोभी आदि खानुपर्छ । पर्याप्त पानी पिउनुपर्छ । अल्कोहल तथा कफिन सेवन गर्नुहुँदैन। गोडाको कसरत गर्नुपर्छ र गोडा बाउँडिएका बेला ओछ्यानबाट उठेर हिँड्नुपर्छ ।
डाइनेटिक्स स्वास्थ्यको आधुनिक विज्ञान
डा.आदर्श प्रधान
वर्तमान युग तीव्रगतिमा दौडिरहेको छ । समयसँगै हामी पनि एक–अर्काबीच प्रतिस्पर्धा गर्दै बाँचिरहेका छौं । यस्तो भागदौड तथा तनावयुक्त वातावरणमा हाम्रो स्वास्थ्य चाहेर पनि सोचेजस्तो राम्रो हुन सक्दैन । अहिलेको जीवनशैलीमा हामीभित्र नचाहिँदा संवेग, उत्तेजना, सनक, भयजस्ता मानसिक भावना जम्मा भैरहेका हुन्छन् । यस्ता नकारात्मक मानसिक भावनाले गर्दा हामीमध्ये धेरैमा आत्मविश्वासको कमी, निराशा, हीनताबोध, भय बढ्दै गएको पाइन्छ । मेडिकल साइन्सले पनि यदि यस्तो अवस्था बढ्दै गयो भने असाध्य रूपमा मानसिक रोगी हुनसक्ने कुरा स्वीकार गरेको छ ।
डाइनेटिक्स एउटा यस्तो आधुनिक विज्ञान हो जसको प्रयोगले हाम्रो मस्तिष्कभित्र दबिरहेको अनावश्यक संवेग, उत्तेजना, सनक, भय, दुःख आदि मानसिक भावनालाई उत्खनन गरेर नकारात्मक मानसिक अवस्थालाई सही अवस्थामा ल्याउन मद्दत गर्छ । डाइनेटिक्सको सिद्धान्तअनुसार मानसिक तनावले गर्दा नै मानिसलाई रोग लाग्छ । मानिसको जीवनमा तनाव त आइरहन्छ, तर तनावलाई कसरी लिने र दबिरहेको तनावलाई मस्तिष्कबाट कसरी मुक्त गर्ने भन्ने कुरा डाइनेटिक्सले सिकाउँछ । एलरोन हर्बडले प्रतिपादन गरेको यो आध्यात्मिक ज्ञानले हाम्रो आत्मा, मस्तिष्क र शरीरलाई सन्तुलनमा राख्न सिकाउँछ । डाइनेटिक्समा अडिटिङको माध्यमबाट रोगीको उपचार गरिन्छ । यो उपचारबाट जस्तोसुकै मानसिक, शारीरिक, भावनात्मक रोगीको सफल उपचार गर्न सकिन्छ । डाइनेटिक्सको सिद्धान्तअनुरूप प्रत्येक मानिसमा दुईवटा मस्तिष्क हुन्छन् । ती दुईवटा मस्तिष्कमध्ये प्रतिक्रियात्मक मस्तिष्कमा रहने मानसिक छाया चित्रहरूको संकलनलाई इनग्राम भनिन्छ । हामीमा भएको शारीरिक पीडा, दुर्घटना, भय, बेहोस हुँदा हुने अनुभूतिको छाप उक्त मस्तिष्कमा हुन्छ । हाम्रो मस्तिष्कमा भएका यी इनग्रामले गर्दा हामीमा अनावश्यक भय, निराशा, मानसिक समस्या, शारीरिक पीडा आदि उत्पन्न हुन्छन् ।
डाइनेटिक्स एउटा माध्यमिक परामर्श विधि हो, जसमा अडिटरद्वारा रोगी वा निरोगीलाई अनावश्यक इनग्राम हटाउन अडिटिङ गरिन्छ । डाइनेटिक्सको भाषामा अडिटिङ गराउन आउने व्यक्तिलाई प्रि–क्लियर (स्पष्ट हुन बाँकी) भनिन्छ ।
जसको मस्तिष्कभित्र नकारात्मक आवेग, संवेदना, भावना हुन्छ त्यस्तो व्यक्तिलाई प्रि(क्लियर भनिन्छ । प्रि–क्लियरलाई अडिटिङ गरिसकेपछि मानिसभित्र रहेको नकारात्मक आवेग, संवेदना हट्नुका साथै उसभित्र रहेको समस्यालाई ऊ आफैंले बोध गर्छ । आफूभित्र रहेको समस्यालाई बुझेर हटाएपछि प्रि–क्लियरलाई स्पष्ट भएको मानिन्छ । अतः डाइनेटिक्स लक्ष्य भनेको मानिसलाई प्रि–क्लियरबाट क्लियर बनाउनु हो । डाइनेटिक्स सिद्धान्तका प्रवर्तक एलरोन हर्बडले तनाव नाप्ने मेसिनको पनि आविष्कार गरेका छन्, जुन मेसिनबाट मानिसभित्र रहेको तनावलाई सजिलै नाप्न सकिन्छ । नापेर आएका अंकका आधारमा मानिसमित्र रहेको मानसिक अवस्था पत्ता लगाइन्छ ।
एलरोन हर्बडका पुस्तकहरूः एलरोन हर्बडले सयौं महत्त्वपूर्ण पुस्तक लेखेका छन् । ती पुस्तकहरूको अध्ययन एवं प्रयोगपछि हामीले दिमागी अवरोधहरूबाट पार पाउन सक्नुका साथै तिनीहरूको नियन्त्रणमाथि क्रमिक सफलता पाएर भविष्यका खुसीहरू कसरी पाउन सकिन्छ भन्ने जानकारी प्राप्त गर्न सक्छौं । एलरोन हर्बडको विश्वभर सर्वाधिक बिक्री भएको पुस्तक डाइनेटिक्सः मानसिक स्वास्थ्यको आधुनिक विज्ञान हो जुन पुस्तकमा डाइनेटिक्स सिद्धान्तको प्रयोग, अडिटिङ प्रक्रिया, डाइनेटिक्सको प्रयोगले जीवनमा कसरी काम गर्छ भन्ने कुरा समावेश छ ।
नेपालमा डाइनेटिक्सः नेपालमा लोकेन्द्रबहादुर चन्द प्रधानन्त्री भएको बेलामा अमेरिकाबाट डाइनेटिक्स विज्ञहरू ल्याएर सबै मन्त्रीलाई होटल र्याडिसनमा प्रशिक्षण दिइएको थियो । नेपालमा ५ वर्षअघि पुस्तक बिक्रीबाट सुरु भएको डाइनेटिक्स संस्थाको कार्य हाल डाइनेटिक्स वर्कसप, अडिटिङ, जीवन विधायक शिक्षण कोर्सको संचालनसम्म पुगेको छ । काठमाडौंको न्यूप्लाजास्थित यो संस्थाका संस्थापक अध्यक्ष एमएलगुरुङ तथा कार्यकारी निर्देशक नगेन्द्र पौड्याल हुन् । हाल यो संस्थामा तनाव नाप्ने मेसिनका साथै ओशिय परीक्षण पनि गरिन्छ । ओशिय परीक्षणबाट हाम्रो मानसिक एवं भावनात्मक अवस्थाका बारेमा सजिलै थाहा पाउन सकिन्छ ।
डाइनेटिक्सका जीवन विधायक शिक्षण कोर्स अरू शिक्षण कोर्सजस्तो होइन । यसका कोर्सहरू प्रयोगात्मक हुन्छन्, जुन हामीले आफ्नो जीवनमा प्रयोग गर्नुपर्छ । यो जीवन विधायक शिक्षण कोर्सको अध्ययनपछि अध्ययन गर्ने व्यक्तिको जीवनमा परिवर्तन आउँछ भन्ने संस्थाको दाबी छ । एजेन्सी
बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
बागलुङ । जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गत वर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल १५ हजार बढेर एक लाख ४१ हजार ५०९ जना पुगेका छन् । नौ वर्षअघि सुरु भएको स्वास्थ्य बिमामा आबद्ध हुनेको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ । जिल्लाको धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बिमाको प्रथम सेवाविन्दु दिइरहेका छन् । बिमामा आबद्ध हुनेको सङ्ख्या बढ्दै गएपछि हाल बडिगाड आधारभूत अस्पताल प्रथम सेवा विन्दुमा थालिएको स्वास्थ्य बिमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताए । उनका अनुसार एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका मध्ये ७४ हजार ६०२ महिला र ६६ हजार ९०३ पुरुष रहेका छन् । “स्वास्थ्य बिमामा आबद्ध भएपछि निःशुल्क एक लाखसम्मको स्वास्थ्य उपचार पाइने भएकाले नागरिक यसमा आबद्ध भएका छन्”, पौडेलले भने, “क्रमशः स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढिरहेको छ, यो वर्ष मात्रै १६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । वर्षमा एकपटक प्रिमियम तिरेपछि वर्षभरि सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बिमा गर्न थालेका हुन् ।” दुई लाख ४९ हजार २११ जनसङ्ख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बिमा गरिसकेका छन् । जनसङ्ख्या धेरै भए पनि रोजगारी र अन्य कारणले विदेश पलायन दर तीव्र बढिरहेकाले यहाँ बस्ने अधिकांशले स्वास्थ्य बिमा गर्न थालेको पौडेलको भनाइ छ । स्वास्थ्य बिमा कार्यक्रमअनुसार पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रतिसदस्य रु ७०० का दरले शुल्क बुझाइ एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको वार्षिक रु एक लाखसम्म निःशुल्क उपचार खर्च हुने व्यवस्था छ । बिमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्य चौकी जाने प्रचलनसमेत बढेको स्वास्थ्य बिमा दर्तामा आबद्ध कर्मचारी सरिता शर्माले बताइन् ।
स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने
काठमाडौं । रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ । मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पूरानो भवनमा आंशिक क्षति हुन पुगे पनि नयाँ भवन भने जोगिएको छ । स्वास्थ्य मन्त्रालयको चार तल्ले भवनसँगै फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेका सवारी साधन पूर्णरूपमा जलेर नष्ट भएका छन् । मन्त्रालयका सचिव डा. विकास देवकोटाले हाललाई एनएचआरसीको नयाँ भवनबाट अस्थायी रूपमा काम गर्ने योजना रहेको बताए । उनले भने, “सोही भवनबाट नियमित काम थाल्छौँ । हाललाई मन्त्रीका लागि भनेर कोठा तयार पारिँदैछ । पछि सिंहदरबारभित्रै सर्ने योजना हो ।” भवन जलेर नष्ट हुँदा दैनिक कामकाजमा समस्या भएको सचिव देवकोटाले बताए । हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ भने कमर्चारीहरूले रजिष्टरमा हाजिरी गरिरहेका छन् । उनका अनुसार मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ अहिले वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ ।
वीरगन्जमा ९३ जनामा देखियो हैजा
पर्सा । वीरगन्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमितको सङ्ख्या घटेको छैन । आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगन्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिए। उनका अनुसार हालसम्म वीरगन्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् । नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रमण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगन्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ । अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् । त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकरएक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ ।
विश्व थाइराइड दिवस : ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’
चितवन । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा.सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउछन्। उनले भने, “समयमा उपचार गरेर थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ”, भारतको नयाँदिल्लीस्थित एम्स्बाट इण्डोक्राइनोलोजिमा डिएम गरेका खतिवडा कुनै खानेकुराले थाइराइड बनाउने नभई शरीरको ‘एन्टीबडी’का कारणले हुने बताउछन् । उनले भने, “थाइराइड कुनै भाइरल इन्फेक्सनपछि दुख्ने हुन्छ । कुनै जेनेटिक कारणले हुन्छ । थाइराईडको परीक्षण र उपचार पद्धति राम्रोसँग विकास भएको छ ।” चितवन मेडिकल कलेजमा कार्यरत खतिवडा थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताउछन्। उनले भने , “थाइराइडका अरु समस्या त झनै सजिलै समाधान गर्न सकिन्छ । चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ । औषधि आफैँ खान बन्द गर्नुहुँदैन । खानपान चिकित्सकले भनेमा मात्रै बार्ने गर्नुहोला ।” उनले थाइराइडका बिरामीले खानेकुरा बार्नु नपर्ने बताए । उनले समयसँगै थाइराइडसम्बन्धी रोग परिवर्तन भएको बताउँदै भने, “अहिले थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने गर्दछ । त्यसकारण कुनै खानेकुराका कारण हुने होइन”, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नु नै उत्तम उपाय भएको उनको भनाइ छ । उनका अनुसार घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ । यसमा दुई वटा भाग हुन्छन् । यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्मोन उत्पादन गर्दछ । उक्त हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ । यो हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्छ। थाइराइड हर्मोन कमी वा बढी भएमा फरक फरक लक्षण देखिने डा.खतिवडा बताउछन् । उनले भने , “थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरमध्येमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो । यस्तो ट्युमरको उपचार गर्दा बिरामीको आयु पनि घट्दैन ।” साधारणतया मानिसलाई थाइराइड हर्मोन घट्दा थकाइ लाग्ने, कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्नेजस्ता लक्षण देखिने उनको भनाई छ । यस्तै बढ्दा आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुनेजस्ता लक्षण देखिन्छन् । थाइराइडको उपचार तीन किसिमले गरिने उनले बताए । एउटा औषधिको सेवन, दोस्रोमा झोल औषधिको प्रयोग गरेर ग्रन्थी सुकाउने र तेस्रो शल्यक्रिया गर्नुपर्ने उनी बताउछन् । तर पछिल्लो समय शल्यक्रियाभन्दा झोल औषधिको प्रयोग गरेर सुकाउने विधि धेरै प्रयोगमा आउने गरेको उनको भनाइ छ । घाँटी दुख्दैमा थाइराइड नहुने बताउँदै बताउदै उनले भने, “घाँटी दुखेमा कहिलेकाहीँ मात्रै थाइराइड हुन सक्छ । त्यसैले घाँटी दुख्दा भेट्ने भनेको नाक, कान घाँटी विशेषज्ञ चिकित्सकलाई हो ।” कहिलेकाहीँ थाइराइडबाट क्यान्सरमा परिणत हुन सक्ने उनको भनाइ छ । उनले भने “घाँटीमा गाँठागुँठीजस्ता लाग्यो भने त्यसको अल्ट्रासाउण्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउँछौँ । कहिलेकाहीँ ट्स्यिुको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउँछौँ ।” क्यान्सर पहिचान भयो भने पनि शल्यक्रिया र रेडियोथेरापी गरेर सजिलै निको पार्न सकिने उनको भनाइ छ । थाइराइड भएको बिरामीले के खान हुन्छ, के खानु हुँदैन भन्ने धेरैलाई जिज्ञासा हुने उनको अनुभव छ । उनले भने , “समयसँग थाइराइडसम्बन्धी रोग परिवर्तन भएको छ । पहिला पहिला गलगाँडको धेरै समस्या हुन्थ्यो, त्यो समयमा काउली, बन्दा, तरुललगायतका तरकारी कम प्रयोग गर्नुपर्छ भन्ने चलन आएको थियो ।” पछिल्लो समय थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने भन्दै उनले कुनै खानेकुराका कारण थाइराइड नहुने बताए । रासस

