कोरोना भाइरसः चीनबाट नेपाली विद्यार्थीको गुहार, ‘हामी टुहुराजस्तै भयौँ, सरकारले वास्ता गरेन’
बीबीसीः चीनको वुहान सहरबाट सुरु भएर विभिन्न देशमा फैलिएको नयाँ कोरोनाभाइरसका कारण विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य सङ्कट घोषणा गरेका बेला वुहानमा रहेका नेपाली विद्यार्थीहरूले आफूहरूले “टुहुरो महसुस गरेको” बताएका छन्।
वुहानबाट बीबीसीको सम्पर्कमा आएका नेपाली विद्यार्थीहरूले नेपाल सरकारले हालसम्म आफूहरूको उद्धारका लागि कुनै कदम नचालेको र आफूहरू अलपत्र परेको भन्दै निराशा व्यक्त गरेका छन्।
वुहानस्थित ह्वाङ्जुङ यूनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजी (हस्ट) मा इन्जिनीयरिङमा स्नातकोत्तर गरिरहेका नेपाली विद्यार्थी सम्पत न्यौपानेले भने, “हामी शारीरिक रूपमा सुरक्षित छौँ, तर आफ्नै कोठावरपर भएका साथीहरू गइसके।”
“सुरुमा अमेरिका र फ्रान्सले उनीहरूका नागरिक लग्दा हामीलाई डब्ल्यूएचओको भन्दा उच्च मापदण्ड भएका देशले मात्र उद्धार गरेका हुन् जस्तो लागेको थियो,” उनी भन्छन्, “तर अहिले भारत, बाङ्ग्लादेश, श्रीलङ्काजस्ता देशले पनि लान थाले।”
टुहुरो महसुस
आफ्नै छात्रावासमा बस्ने अन्य देशका विद्यार्थी स्वदेश फर्केपछि नेपालीहरू चरम मानसिक तनावमा परेको न्यौपानेले बताए।
उनले भने, “बेइजिङस्थित नेपाली राजदूतज्यूसँग हाम्रो कुराकानी भएको थियो। उहाँ अभिभावकत्व लिन्छु भन्नुहुन्छ, तर हामीलाई यहाँ टुहुरा बच्चाजस्तो महसुस भइरहेको छ।”
“हामीलाई चाँडो भन्दा चाँडो नेपालमा लगेर आइसोलेशन गरेर राखियोस्।”
सोही विश्वविद्यालयमा बायोकेमिस्ट्रीमा विद्यावारिधि गर्दै गरेका सरोज खनाल पनि नेपालका छिमेकी मुलुक र नेपालजस्तै गरिब भनिएका देशले पनि आफ्ना नागरिकलाई उद्धार गर्दा नेपालले बेवास्ता गर्दा मानिसक तनाव उत्पन्न भएको बताए।
“हामीले चीन सरकारले बस्न र खान दिएन भनेर त भनेकै होइनौँ नि! तर कम्तीमा सरकारले हाम्रो कुरा सुनोस् र हामीलाई नेपालमा लगेर आइसोलेशनमा राखोस् भन्ने चाहेका हौँ,” उनले भने, “त्यस्तो गरे कम्तीमा हामीलाई मानसिक तनाव कम त हुन्थ्यो।”
शङ्का
नेपाल सरकारले बेवास्ता गर्नुमा दूतावासले सही सूचना उपलब्ध नगराएको हुन सक्ने नेपाली विद्यार्थीहरूको शङ्का छ।
खनालले भने, “हामीलाई यहाँ जेलमा बसेको जस्तो महसुस भइरहेको छ। तर सरकारले किन बाङ्लादेश, श्रीलङ्का र माल्दिभ्सजस्ता देशले आफ्ना नागरिकको उद्धार गर्दा पनि हामीलाई वास्ता गर्दैन?”
वुहानमै यूरोसर्जरीमा विद्यावारिधि गर्दै गरेका डा. गौरव पोखरेल नेपाली विद्यार्थीहरूमा मानसिक तनाव निकै बढेको बताउँछन्।
नेपाली दूतावासका अधिकारीहरू पनि रहेको एउटा वीच्याट समूहमा संलग्न नेपालीमध्ये झन्डै १०० जति वुहानमा बसोबास गर्नेहरू भएको उनले बताए।
तनावले अस्वस्थ
तीमध्ये अधिकांशलाई अहिले अरुचि, अनिद्रा र पेटको समस्या समस्या देखिएको जानकारी आफूले पाएको ती डा. गौरव पोखरेल बताउँछन्।
“यो सबै मानसिक तनाव र चिन्ताका कारण भएको हो,” उनले भने, “छिमेकी देशहरूले आफ्ना नागरिकको धमाधम उद्धार गर्न थालेपछि नेपालीमा चिन्ता बढेको छ।”
चीनमा सङ्क्रमण र मृतकको सङ्ख्या दिनानुदिन बढिरहेको बेला कोरोनाभाइरस फैलिएको वुहानबाट नेपालीलाई तत्काल उद्धार गरिनुपर्ने उनको माग छ।
डा. पोखरेलले भने, “हामी अहिले सङ्क्रमणको मुहानमा नै बसेका छौँ। कमसेकम मुहानबाट अन्यन्त्र जान पाए जोगिने सम्भावना बढी हुन्छ।”
“तर हामी सङ्क्रमित त होइनौँ नि। सरकारले हामी सङ्क्रमित भए जसरी व्यवहार गर्यो।”
उनी नेपाली विद्यार्थीहरू नेपाल आएपछि पनि सरकारले व्यवस्था गरिदिएको जुनसुकै स्थानमा अरूभन्दा पर १४ दिनसम्म अरूलाई सङ्क्रमणको सम्भावना नहोस् भनेर छुट्टै बस्न तयार भएको बताउँछन्।
अभिभावकको माग
वुहानमा रहेका विद्यार्थीले उद्धारको माग गरिरहेका बेला उनीहरूका अभिभावकले पनि सरकारसँग आफ्ना छोराछोरी नेपाल ल्याइदिन माग गरेका छन्।
त्यस्तैमध्येका एक अभिभावक दिनेश श्रेष्ठले आफ्ना छोराछोरी अहिले “वरिपरि आगो लागेको स्थानमा बीचमा परेको जस्तो” महसुस भएको बताए।
उनले भने, “आगो लागेर त्यो घरको दैलोमा आइसके जस्तो अवस्था भएको छ। हाम्रा बच्चाहरू बसेको २०० मिटरसम्मका मानिसहरूमा सङ्क्रमण देखिएको छ। उता पनि तनाव छ, यता पनि तनाव छ।”
उनले नेपालमा ल्याएर सरकारले आफ्ना छोराछोरीलाई कतै टाढा राखे पनि हुने बताए।
‘ठूलो सङ्ख्या राख्न पनि सकिन्छ’
चीनबाट ठूलो सङ्ख्यामा नेपालीहरूको उद्धार गरिए उनीहरूलाई आइसोलेशन वार्ड बनाएर राख्न स्थान अभाव हुने कतिपयको भनाइ रहने गरेको छ।
तर पूर्वस्वास्थ्यसचिव डा. किरण रेग्मी चाहिँ त्यस्तो अवस्था नआउने बताउँछिन्।
उनी भन्छिन्, “उताबाट आएका सबै सङ्क्रमित हुन्छन् भन्ने छैन। तर पनि १४ दिनसम्म निगरानीमा राख्नुपर्ने हुन्छ।”
“त्यस्तो गर्नलाई पनि काठमाण्डूभित्रै स्थानहरू रहेका छन्। एउटा विकल्प कीर्तिपुरस्थित आयुर्वेदिक अध्ययन संस्थान नै पनि हुनसक्छ। त्यहाँ फराकिलो स्थान छ।”
उनी नेपाल सरकारले वुहानमा रहेका नेपालीहरूलाई कूटनीतिक पहल गरेर नेपाल ल्याउनुपर्ने वा चीनकै अर्को सहरमा सार्नुपर्नेमा जोड दिन्छिन्।
उनी भन्छिन्, “सरकारले चाहेमा त्यही पनि अर्को सुरक्षित सहरमा नेपालीहरूलाई छुट्टै निगरानीमा राख्न सक्छ।”
नेपाली दूतावासको भनाइ
चीनस्थित नेपाली दूतावासले चाहिँ वुहानसहित अन्य सहरमा रहेका नेपालीहरूको सम्पर्कमा आफू रहेको बताउँदै आएको छ।
हालसम्म नेपालीहरूमा सङ्क्रमण नदेखिएको र उनीहरू सुरक्षित रहेको दूतावासको भनाइ रहेको छ।
चीन सरकारसँग सहकार्यमा काम भइरहेकाले अहिले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै दूतावासले धैर्य गरेर बस्न विद्यार्थीहरूलाई आग्रह गरेको छ।
तर वुहानमा रहेका नेपालीहरू व्याकुल हुँदा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग बारम्बार सम्पर्क गर्दा पनि उनीहरू बीबीसीको सम्पर्कमा आउन चाहेका छैनन्।
स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले वुहानका नेपालीको परिस्थिति र उद्धारको आग्रहबारे कुनै प्रतिक्रिया दिएका छैनन्।
चीनद्वारा दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’को सजाय
काठमाडौं । चीनको एक सैन्य अदालतले भ्रष्टाचारको अभियोगमा दोषी ठहर गर्दै दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’को सजाय सुनाएको छ । सन् २०१८ देखि २०२३ सम्म रक्षामन्त्री रहेका वेई फेङ्हे र सन् २०२३ मा केही महिना मात्र उक्त पद सम्हालेका उनका उत्तराधिकारी ली शाङ्फुलाई बिहीबार घुस लिएको अभियोगमा दोषी ठहर गरिएको हो । लीमाथि घुस दिएको अभियोग पनि प्रमाणित भएको बताइएको छ । दुवैलाई दुई वर्षको ‘रिप्रिभ’ अर्थात् निलम्बनसहित मृत्युदण्डको सजाय सुनाइएको छ । साथै, उनीहरूलाई ‘प्यारोल’को सुविधा नदिइने अदालतले जनाएको छ । चीनमा यस्तो सजाय प्रायः दुई वर्षपछि स्वतः आजीवन कारावासमा परिणत हुने प्रचलन रहेको छ । चीनको सरकारी समाचार एजेन्सी ‘सिन्ह्वा’का अनुसार, दुवैको राजनीतिक अधिकार आजीवनका लागि खोसिएको छ भने उनीहरूको सम्पूर्ण व्यक्तिगत सम्पत्ति जफत गरिनेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङका निकट मानिएका ली शाङ्फु मन्त्री नियुक्त भएकै वर्ष अर्थात् सन् २०२३ मा अन्य धेरै उच्च सैन्य अधिकारीहरूसँगै सार्वजनिक जीवनबाट अचानक गायब भएका थिए । सन् २०१२ मा सी चिनफिङ सत्तामा आएपछि सुरु गरिएको भ्रष्टाचारविरुद्धको शुद्धीकरण अभियानअन्तर्गत हालसम्म लाखौँ अधिकारीहरू कारबाहीमा परिसकेको बताइएको छ । विभिन्न रिपोर्टअनुसार केही उच्च पदस्थ अधिकारीहरूको हिरासतकै क्रममा मृत्यु समेत भएको छ ।
इरानी कार्गो जहाज अमेरिकाले कब्जा गरेपछि चीनको विराेध
काठमाडौं । अमेरिकी सेनाले इरानी झण्डावाला कार्गो जहाजलाई बलपूर्वक नियन्त्रणमा लिएको घटनाप्रति चीनले गम्भीर चासो व्यक्त गरेको छ । सोमबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सम्बन्धित पक्षहरूलाई जिम्मेवार भई युद्धविराम सम्झौता पालना गर्न आग्रह गरे । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले होर्मुज जलमार्गको अवस्था संवेदनशील र जटिल रहेको बताएका छन् । सम्बन्धित पक्षहरूले थप तनाव बढ्न नदिई होर्मुज क्षेत्रमा सामान्य पारवहन सुचारु गर्न आवश्यक वातावरण बनाउनुपर्ने चीनले बताएको छ । साथै सबै पक्षलाई युद्धविराम र वार्ताको गतिलाई निरन्तरता दिन आग्रह गरेको छ । “अहिले शान्तिको अवसर खुलेको छ, त्यसैले युद्धलाई छिट्टै अन्त्य गर्न अनुकूल परिस्थिति निर्माण गरिनुपर्छ,” प्रवक्ता गुओले भने । अमेरिकाले इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी तोड्ने प्रयास गरेकाले उक्त इरानी कार्गो जहाजमाथि गोलीबारी गरी नियन्त्रणमा लिएको बताएको थियो ।
अण्डमान सागरमा डुंगा दुर्घटना : २५० रोहिङ्ग्या र बंगलादेशी बेपत्ता
एजेन्सी । बंगलादेशबाट मलेशिया जाँदै गरेको एक डुंगा हिन्द महासागरको पूर्वी भागमा पर्ने अण्डमान सागरमा दुर्घटनाग्रस्त हुँदा २५० जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार दुर्घटनामा परेका उनीहरू रोहिङ्ग्या र बंगलादेशी नागरिक रहेका छन् । बीबीसीका अनुसार माछा मार्ने प्रयोजनले प्रयोग गरिने उक्त डुंगा बंगलादेशबाट मलेशियातर्फ जाँदै थियो । तीव्र हावा, खराब समुद्री अवस्था र क्षमताभन्दा बढी मानिस सवार भएका कारण डुंगा डुबेको जनाइएको छ । बंगलादेश कोस्ट गार्डले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारीअनुसार अप्रिल ९ मा आफ्नो एक जहाजले दुर्घटनामा परेका ९ जनाको उद्दार गरेको थियो । डुंगा कहिले दुर्घटनामा परेको भन्ने बारे भने स्पष्ट जानकारी प्राप्त भएको छैन । रोहिङ्ग्या म्यानमारको मुसलमान अल्पसंख्यक समुदाय हो । सन् २०१७ मा म्यानमारमा भएको हिंसात्मक अभियानपछि ठूलो सङ्ख्यामा रोहिङ्ग्या बंगलादेशमा शरण लिएका थिए । बहुसङ्ख्यक बौद्ध धर्मावलम्बी रहेको म्यानमारमा रोहिङ्ग्यालाई नागरिकता दिइँदैन । बंगलादेशमा कठिन अवस्था भएका कारण धेरै रोहिङ्ग्या जोखिमपूर्ण समुद्री यात्रा गरेर मलेशिया पुग्ने गरेका छन् । बंगलादेश कोस्ट गार्डले उद्दार गरेका मध्येका एक ४० वर्षीय रफिकुल इस्लामले उद्दार हुनुअघि आफू ३६ घण्टासम्म समुद्रमा तैरिनुपरेको बताएका छन् । मलेशियामा काम पाइने आशामा आफू यो जोखिमपूर्ण यात्रामा निस्किएको उनको भनाइ छ ।
ट्रम्पद्वारा इरानसँग युद्ध अन्त्य गर्नका लागि यसै हप्ता वार्ता पुनः सुरु हुने सङ्केत
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न यसै हप्ता वार्ता पुनः सुरु हुन सक्ने सङ्केत दिएका छन् । गत शनिबार इस्लामावादमा भएको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएलगत्तै अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गरेको थियो । ट्रम्पले न्युयोर्क पोस्टलाई दिएको अन्तर्वार्तामा भनेका छन्, “तपाईंहरू त्यहीँ (इस्लामावाद) रोकिनुपर्छ, किनकि आगामी दुई दिनभित्र केही हुन सक्छ र हाम्रो झुकाव पनि त्यसतर्फ बढी छ ।” उनको यो अभिव्यक्ति यस्तो बेला आएको हो जब अमेरिकी सेनाले होर्मुज जलसन्धिमा नाकाबन्दी लागू गरेको पहिलो २४ घण्टाभित्र त्यहाँबाट कुनै पनि जहाज नगएको दाबी गरेको छ । यस गतिरोधले दुई हप्ते युद्धविराम सम्झौता सकिन लाग्दा थप प्रश्न उठाएको छ । इरानतर्फबाट ट्रम्पको भनाइमा अझै कुनै प्रतिक्रिया आएको छैन । तर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले वार्ता पुनः सुरु हुने ‘धेरै सम्भावना’ रहेको बताएका छन् । तेल बजारमा राहत खाडी क्षेत्र, पाकिस्तान र इरानका अधिकारीहरूले पनि अमेरिका र इरानका टोलीहरू यसै सप्ताहान्तमा पाकिस्तान फर्कन सक्ने बताएका छन्, यद्यपि कुनै मिति तय भइसकेको छैन । यो जानकारी रोयटर्स समाचार एजेन्सीले दिएको हो । दुवै पक्षबीच वार्ताको सम्भावना बढेपछि तेल बजारलाई केही राहत मिलेको छ । मङ्गलबार तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलरभन्दा तल झरेको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलको हवाई आक्रमणपछि इरानले विश्वका लागि अत्यन्त महत्त्वपूर्ण तेल तथा ग्यास परिवहन मार्ग होर्मुज जलसन्धिलाई प्रभावकारी रूपमा बन्द गरेको थियो । अहिले एक दर्जनभन्दा बढी अमेरिकी युद्धपोत र करिब १०,००० अमेरिकी सैनिकले इरानी बन्दरगाहमा प्रवेश गर्ने वा बाहिरिने जुनसुकै देशका जहाजहरूमाथि नाकाबन्दी लागू गरिरहेका छन् । यसले इरानको अर्थतन्त्रमा ठूलो क्षति पुर्याएको छ । के नाकाबन्दी प्रभावकारी छ ? यो कदमको मुख्य उद्देश्य इरानमाथि दबाब बढाउनु हो । इरानको आम्दानीका दुई मुख्य स्रोत— तेलबाट हुने आम्दानी र होर्मुज जलसन्धिबाट उठाइने टोल— लाई निशाना बनाइएको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले नाकाबन्दी लागू भएको पहिलो २४ घण्टामा ६ वटा व्यापारिक जहाजले अमेरिकी निर्देशन पालना गर्दै इरानी बन्दरगाहतर्फ फर्किएको दाबी गरेको छ । तर बीबीसी भेरिफाईको जहाज ट्र्याकिङ डेटाको विश्लेषणअनुसार नाकाबन्दी भए पनि इरानसँग सम्बन्धित कम्तीमा चारवटा मालवाहक जहाज होर्मुज जलसन्धि पार गरेका छन् । तीमध्ये दुईवटा जहाज पहिले नै इरानी बन्दरगाहमा थिए । गत शनिबार र आइतबार इस्लामावादमा भएको उच्चस्तरीय वार्ताबाट कुनै सम्झौता हुन सकेन । अमेरिकाको भनाइअनुसार इरानले उसका सर्तहरू स्वीकार गरेन । इरानको आणविक महत्त्वाकांक्षा नै मुख्य अवरोध बनेको थियो । एक अमेरिकी अधिकारीले बीबीसीको साझेदार सीबीएस न्युजलाई बताएअनुसार अमेरिकाले इरानलाई २० वर्षसम्म युरेनियम प्रशोधन पूर्ण रूपमा निलम्बन गर्न आग्रह गरेको छ । तर इरानले भने ५ वर्षसम्म मात्र रोक्ने प्रस्ताव गरेको छ । आर्थिक मन्दीको खतरा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस युद्धले विश्व अर्थतन्त्रलाई मन्दीमा धकेल्न सक्ने चेतावनी दिएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बीबीसीसँग भनेका छन्, “विश्वभर लामो समयसम्म शान्ति र सुरक्षा कायम राख्ने सर्तमा थोरै आर्थिक पीडा स्वीकार्य छ ।” मङ्गलबार चीनले भने यस नाकाबन्दीलाई ‘खतरनाक र गैरजिम्मेवारपूर्ण’ भन्दै तनाव अझ बढाउने चेतावनी दिएको छ । चीनको भनाइ छ— पहिलेदेखि नै कमजोर रहेको युद्धविराम सम्झौता होर्मुजको नाकाबन्दीले थप कमजोर हुनेछ । यसैबीच, इजरायल र लेबनानले मङ्गलबार वासिङ्टनमा भएको वार्तापछि सिधा वार्ता सुरु गर्न सहमति जनाएका छन् । इरान समर्थित हिज्बुल्लाहलाई निशाना बनाएर इजरायलले लेबनानमा गरेको हवाई आक्रमणपछि यो पहल भएको हो । यो बैठक सन् १९९३ पछि दुवै देशबीच भएको पहिलो सिधा वार्ता थियो । लेबनानी राजदूतले यसलाई ‘सकारात्मक’ भनेका छन् भने इजरायली राजदूतले यसले ‘शान्तिको नयाँ युग’ को बाटो खोल्न सक्ने बताएका छन् । एक अमेरिकी अधिकारीले जोड दिँदै भनेका छन्— इस्लामावादमा भएको अमेरिका–इरान वार्ता र वासिङ्टनमा भएको इजरायल–लेबनान वार्ताबीच कुनै सम्बन्ध छैन ।

