गुटरेसँगको भेटमा ओलीले गरे जनयुद्ध दिवस मनाएको विरोध

गुटरेसँगको भेटमा ओलीले गरे जनयुद्ध दिवस मनाएको  विरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुतेरससँगको भेटमा सरकारले जनयुद्ध दिवस मनाउन गरेको निर्णयको विरोध गरेका छन् । उनले भेटमा जनयुद्ध दिवस मनाएर प्रधानमन्त्री प्रचण्डले कारण शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन असहज बनाएको आरोप लगाए ।

आइतवार संघीय संसद भवनमा संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुतेरससँगको भेटमा ओलीले प्रधानमन्त्री प्रचण्डले हिंसात्मक गतिविधिलाई बढावा दिएकाले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन असहज बनेको बताए।

माओवादी युद्ध शुरु भएको दिनलाई दिवसको रुपमा मनाउने प्रधानमन्त्री प्रचण्डको कामले शान्ति प्रक्रियामा असहजता थपिएको कुरा ओलीले राष्ट्र संघका महासचिव गुतेरससँग राखेको भेटमा सहभागी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

यता, महासचिव गुतेरसले भने आफूले नेपालको शान्ति प्रक्रिया छिटोभन्दा छिटो निष्कर्षमा पुगेको हेर्न चाहेको बताएका थिए।

ओलीले महासचिव गुतेरससँग प्रतिपक्ष दलको हैसियतमा आफ्नो पार्टीले शान्ति प्रक्रिया छिटो टुंगोमा पुर्‍याउन सक्दो सहयोग गर्ने बताएका थिए।

बुद्धको जन्मभूमि लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन, जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्या समाधानका लागि पनि संयुक्त राष्ट्र संघबाट थप सहयोगका अपेक्षा गरिएको पनि ओलीले महासचिव गुतेरसलाई बताएको एमाले उपमहासचिव ज्ञवालीले जानकारी दिए।

उपमहासचिव ज्ञवालीले भने, ‘शुरुमै महासचिव महामहिमज्युले नेपालप्रतिको आफ्नो लगावका केही सन्दर्भहरु उठाउनु भयो। भूटानी शरणार्थी समस्या समाधानमा यसभन्दा अघि पनि आएको कुरा जानकारी गराउँदै खास गरेर नेपालको मौलिक ढंगको शान्ति प्रक्रिया, जो सफल भएको छ। त्यो कुरा नेपालले संयुक्त राष्ट्र संघको शान्ति मिशनमा गरेको असाधारण योगदान र शान्तिका प्रणेता गौतम बुद्धको थलो भएको कारणले पनि नेपालप्रति आफ्नो विशेष माया रहेको छ र मेरा ३ एजेण्डा रहेका छन्। खास गरेर नेपालीले जलवायु परिवर्तनका कारण जुन पीडा भोग्नु परेको छ‚ यसलाई म नजिकबाट हेर्न चाहन्छु। र, यसलाई एउटा एजेण्डा बनाएर अगाडि बढाउन चाहन्छु भनेर महासचिवले भन्नु भयो।’

गुतेरसले राष्ट्रसंघ नेपालको साथमा रहेको बताएको जानकारी ज्ञवालीले दिए।

‘दोस्रो, नेपाल अल्पविकसित अवस्थाबाट ग्राजुयट हुँदै गर्दा हामी नेपालको साथमा छौं। र, तेस्रो शान्ति प्रक्रिया छिटोभन्दा छिटो टुंगियोस् भन्ने म चाहन्छु महासचिव गुतेरसले बताउनु भयो‚’ ज्ञवालीले भने‚ ‘हाम्रो तर्फबाट हाम्रो पार्टी अध्यक्ष र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय भनेको संक्रमणकालीन अन्याय हुनु हुँदैन। त्यो पीडितहरुलाई ध्यान राखेर समाधान गरिनुपर्छ। हामी त्यसलाई छिटो भन्दा छिटो टुंग्याउन चाहन्छौं तर प्रधानमन्त्रीज्यू जो हिजोको विद्रोही नेता हुनुहुन्थ्यो र आज प्रधानमन्त्री हुनुहुन्छ‚ उहाँले नै यी सबै विषयहरु टुंग्याउन भूमिका खेल्नुपर्नेमा हिंसालाई बढावा दिने खालको, हिंसालाई महिमामण्डन गर्ने खालको उहाँका क्रियाकलापले अलिकति असहज जस्तो भएको छ। खास गरेर युद्ध शुरु भएको दिनलाई दिवसको रुपमा मान्यता दिनाले पीडितहरु चिन्तामा छन्। हामीले चाहीँ शान्ति प्रक्रिया टुंग्याउँदा गम्भीर अपराधमा आममाफी हुन नहुने, यसमा हाम्रा अन्तरराष्ट्रिय कमिटमेन्टहरुलाई पनि ध्यान दिनुपर्ने, सर्वोच्च अदालतको आदेशलाई समेत ध्यानमा राखेर त्यो विषय छिटोभन्दा छिटो टुंगियोस् भन्ने चाहन्छौं। र, प्रतिपक्षले हैसियतले हाम्रो यसमा सहयोग रहन्छ भन्नुभएको छ। लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन सहयोगको अपेक्षा गर्नु भयो र राष्ट्र संघलाई अझ बलियो, अझ प्रभावकारी भएको, खासगरी विकासशील देशहरुको एउटा बलियो अभिभावक बनेको देख्न चाहन्छौं भन्नुभयो।’

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं ।  आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।  आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको अवधि असोज १० देखि १६ गतेसम्मलाई तोकेको छ । आयोगले निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायत कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार आयोगले कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदानको व्यवस्था गर्ने कार्यतालिका स्वीकृत गरेको छ । २०७९ को निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरू पदमुक्त भएपछि रिक्त रहेका ४१ पदका लागि निर्वाचन हुन लागेको हो ।

नयाँ पुस्ताले देखेको प्रचण्ड सपना (फोटो फिचर)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरएसँगै देशब्यापी जनभेटघाटमा जुट्नुभएको छ । सातै प्रदेशमा एकपटक नेता कार्यकर्तासँग भेटघाट सकेर उहाँले भदौ २९ र ३० गते पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा भाग लिनुभएको छ । तिनै जिल्लामा गरेर एक हजार पाँच सय बढीले पार्टी प्रवेश मात्रै गरेनन्, खासगरी नयाँ पुस्ता प्रचण्डलाई नजिकबाट देख्दा निकै हर्षित पनि भएको छ । अब देश बनाउने प्रचण्डले नै हो भन्दै उनीहरु यसपटक प्रचण्डसँग निकै आकर्षित पनि देखिए । त्यसकै छोटो झलकको रुपमा यहाँ फोटो फिचर राखिएको छ । तस्विर सौजन्यः प्रचण्ड सचिवालय  

अखिल(क्रान्तिकारी) प्रदेश १ को अध्यक्षमा चन्द्र बहादुर माङ्मु, यस्तो छ कार्यसमिति

काठमाडौं। नेकपा(माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको प्रदेश १को प्रदेश समिति चयन गरेको छ । जसको अध्यक्षमा चन्द्र बहादुर माङ्मु रहनुभएको छ ।त्यस्तै उपाध्यक्षहरुमा पदम बहादुर खड्का, अम्बिर काजी कुलुङ, बिमल कार्की,प्रतिमा शाह र देव बाहिङ रहनुभएको छ । प्रमुख सचिवमा नयन राइ चयन हुनुभएको छ भने सचिवहरुमा प्रदिप घिमिरे आदेश थापा,हेमराज राइ, लक्ष्मी मण्डल, ऋषिहाङ राइ र कोषाध्यक्ष भने पछि टुंग्गो लगाइने भएको छ ।  

राष्ट्रियसभामा दुई समितिमा एमाले र माओवादीबाट सभापति निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित हनुभएको छ । सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुनुहुन्छ ।  यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र एमालेकी तुलसाको उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गर्नुभएको हो । सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।

लोकप्रिय