घाँटी दुख्छ भने थाहा पाउनुस् कारण र उपचार
घाँटी को दुखाई (फयारेंजैटिस र टन्सिलाइटिस) घाँटी र गला को तह को सूजनबाट हुने पीडा, जलन र चिलाउने समस्या सँग सम्बन्धित हुन्छ ।यो प्रायजसो बालबालिका मा हुने संक्रमण को कारण ले हुने भएता पनि अरु उमेरका व्यक्तिलाई अरु कारणहरु ले पनि हुने सम्भावना हुन्छ ।घाँटीको खसखस, घाँटीमा ग्रन्थीहरू सुन्निनु, दबिएको आवाज, निल्न गाह्रो र कण्ठनलीमा सेता धब्बाहरू निस्कनु यसका लक्षण हुन् । घाँटी दुखेका व्यक्तिहरू ले ज्वरो, ठंडी, शरीर दुख्ने, टाउको दुख्ने, खोकी र नाक बाट पानी बग्ने जस्ता अन्य लक्षणहरू पनि अनुभव गर्न सक्छन् ।
घाँटी दुखनु सामान्यतयाः भाइरस को संक्रमण बाट हुने गर्दछ र कम समय को लागि हुनुका साथै घरेलु उपचार बाट निको पनि हुन्छ । तथापिव्याक्टेरिया ले गर्दा घाँटीको संक्रमण भएमा पीप पनि जम्न सक्दछ जसको उपचार एन्टिबायोटिक बाट गर्नुपर्दछ । केही स्ट्रेप्टोकोकसब्याक्टेरिया का कारण मुटु का भल्भ मा असर गर्ने बाथ ज्वरो वा मृगौला मा असर गर्ने ग्लोमरूलोनेफ्राइटिस जस्ता जटिलता उत्पन्न हुनसक्दछन् ।
कारणहरू :
१. भाइरल संक्रमणः घाँटी दुख्ने रोगको यो मुख्य कारण हो । भाइरसद्वारा कण्ठनलीको सूजन इन्फ़्लुएञ्जा (फ्लू) भाइरस, राइनोभाइरस्, एडेनोभाइरस (एप्सटिन–बार भाइरस (EBV), साइटोमेगालो भाइरस (CMV), आदि ले गर्दा हुन सक्दछ ।
२. ब्याक्टेरियल संक्रमणः कीटाणु द्वारा हुने टन्सिल वा घाँटी को संक्रमण, भ्यागुते रोग आदि
३. ट्यूमरः घाँटी र गलाको क्यान्सर
४. वातावरणीय तत्वहरूः वातावरणबाट हुने एलर्जीजन्य प्रतिक्रियाहरू । जस्तैः ढुसी, पाल्तु पशुहरूको चायाँ, पराग, वायु प्रदूषण वा चूरोटकाधूवाबाट पनि घाँटी दुख्न सक्छ ।
चिकित्सक लाई कहिले भेट्ने ?
- १०१ डिग्री फरेनहाइट भन्दा बढीको ज्वरो आएमा, जोर्नीको दुखाई भएमा, साँस लिन वा निल्न गाह्रो भएमा, घाँटीको सूजन भएमा, छालामाडाबर आएमा, गाढा पिसाबसँगै गला बसेमा ।
- एक हप्ताभन्दा बढी समयसम्म घाँटी दुखेमा ।
घरेलु उपचार :
घाँटी दुखेको समस्यामा निम्न प्रकारका घरेलु उपचार गर्न सकिन्छ:
- मनतातो नूनीलो पानीले कुल्ला गर्ने जसले घाँटीमा भएको दुखाई कम गरी घाँटीलाई आराम दिन्छ ।
- पर्याप्त पानी पिएर पर्याप्त जलयोजन (हाइड्रेसन) गर्ने ।
- सामान्य तरल पदार्थहरू जस्तैः मह मिसाएको मनतातो पानी वा नरम चिसो खाना जस्तैः हलुवा वा दुग्ध पदार्थ लिने ।
- एलर्जी जन्य तत्वहरू जस्तैः धूवाँ, रसायन वा धूलो आदि बाट जोगिने ।
- वाफ लिने र हावाको आद्रीकरण गर्ने जस्तैः तातो बाफयुक्त स्नानगृहमा धेरै समयसम्म बस्ने।
- पारासिटामोल वा इबुप्रोफेन औषधी सेवन गरी जलन र दुखाई कम गर्ने । पेप्टिक अल्सर भएका रोगीहरूले र रक्तश्रावको जोखीम भएकाहरूलेयस्ता औषधी सेवन गर्न हुँदैन र वालवालिकालाई एस्पिरिन खुवाउनु हुँदैन ।
उपचार का विकल्पहरू :
घाँटी दुखाई को उपचार तेसको कारण र गम्भीरतामा निर्भर गर्दछ । रोगको इतिहास हेरेर र शारीरिक परीक्षण, कंठश्राव र रगत जाँचबाट घाँटी दुखेको कारण पत्ता लगाउन सकिन्छ ।
- घाँटी दुखेका धेरैजसो समस्याहरू आफै निको हुने खालका हुन्छन् र पारासिटामोल र मनतातो नूनीलो पानीले कुल्ला गर्दा निको हुन्छ ।
- स्ट्रेप्टोकोकस ब्याक्टेरिया बाट हुने घाँटी दुखेको उपचार एन्टिबायोटिकबाट गरिन्छ ।
- स्ट्रेप्टोकोकस ब्याक्टेरिया बाट हुने जटिल खालको घाँटी दुखाई को उपचारका लागि पीप निकाल्नु पर्दछ वा वाथज्वरो भएकाे छ भने फेरि फेरि मुटु मा असर पर्न नदिन का लागि पूरै राेकथाम गर्न लामो समय सम्म एन्टिबायोटिक खानु पर्दछ ।
- नाक बन्द भएमा नाक खोल्ने (डिकन्जेस्टेन्ट) र नाकको स्टेरोइड आवश्यक पर्दछ ।
- बारम्बार भइरहने घाँटी दुखाईका लागि टन्सिल हटाउन गरिने शल्यक्रिया आवश्यक पर्न सक्छ ।
बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
बागलुङ । जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गत वर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल १५ हजार बढेर एक लाख ४१ हजार ५०९ जना पुगेका छन् । नौ वर्षअघि सुरु भएको स्वास्थ्य बिमामा आबद्ध हुनेको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ । जिल्लाको धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बिमाको प्रथम सेवाविन्दु दिइरहेका छन् । बिमामा आबद्ध हुनेको सङ्ख्या बढ्दै गएपछि हाल बडिगाड आधारभूत अस्पताल प्रथम सेवा विन्दुमा थालिएको स्वास्थ्य बिमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताए । उनका अनुसार एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका मध्ये ७४ हजार ६०२ महिला र ६६ हजार ९०३ पुरुष रहेका छन् । “स्वास्थ्य बिमामा आबद्ध भएपछि निःशुल्क एक लाखसम्मको स्वास्थ्य उपचार पाइने भएकाले नागरिक यसमा आबद्ध भएका छन्”, पौडेलले भने, “क्रमशः स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढिरहेको छ, यो वर्ष मात्रै १६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । वर्षमा एकपटक प्रिमियम तिरेपछि वर्षभरि सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बिमा गर्न थालेका हुन् ।” दुई लाख ४९ हजार २११ जनसङ्ख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बिमा गरिसकेका छन् । जनसङ्ख्या धेरै भए पनि रोजगारी र अन्य कारणले विदेश पलायन दर तीव्र बढिरहेकाले यहाँ बस्ने अधिकांशले स्वास्थ्य बिमा गर्न थालेको पौडेलको भनाइ छ । स्वास्थ्य बिमा कार्यक्रमअनुसार पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रतिसदस्य रु ७०० का दरले शुल्क बुझाइ एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको वार्षिक रु एक लाखसम्म निःशुल्क उपचार खर्च हुने व्यवस्था छ । बिमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्य चौकी जाने प्रचलनसमेत बढेको स्वास्थ्य बिमा दर्तामा आबद्ध कर्मचारी सरिता शर्माले बताइन् ।
स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने
काठमाडौं । रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ । मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पूरानो भवनमा आंशिक क्षति हुन पुगे पनि नयाँ भवन भने जोगिएको छ । स्वास्थ्य मन्त्रालयको चार तल्ले भवनसँगै फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेका सवारी साधन पूर्णरूपमा जलेर नष्ट भएका छन् । मन्त्रालयका सचिव डा. विकास देवकोटाले हाललाई एनएचआरसीको नयाँ भवनबाट अस्थायी रूपमा काम गर्ने योजना रहेको बताए । उनले भने, “सोही भवनबाट नियमित काम थाल्छौँ । हाललाई मन्त्रीका लागि भनेर कोठा तयार पारिँदैछ । पछि सिंहदरबारभित्रै सर्ने योजना हो ।” भवन जलेर नष्ट हुँदा दैनिक कामकाजमा समस्या भएको सचिव देवकोटाले बताए । हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ भने कमर्चारीहरूले रजिष्टरमा हाजिरी गरिरहेका छन् । उनका अनुसार मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ अहिले वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ ।
वीरगन्जमा ९३ जनामा देखियो हैजा
पर्सा । वीरगन्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमितको सङ्ख्या घटेको छैन । आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगन्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिए। उनका अनुसार हालसम्म वीरगन्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् । नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रमण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगन्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ । अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् । त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकरएक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ ।
विश्व थाइराइड दिवस : ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’
चितवन । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा.सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउछन्। उनले भने, “समयमा उपचार गरेर थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ”, भारतको नयाँदिल्लीस्थित एम्स्बाट इण्डोक्राइनोलोजिमा डिएम गरेका खतिवडा कुनै खानेकुराले थाइराइड बनाउने नभई शरीरको ‘एन्टीबडी’का कारणले हुने बताउछन् । उनले भने, “थाइराइड कुनै भाइरल इन्फेक्सनपछि दुख्ने हुन्छ । कुनै जेनेटिक कारणले हुन्छ । थाइराईडको परीक्षण र उपचार पद्धति राम्रोसँग विकास भएको छ ।” चितवन मेडिकल कलेजमा कार्यरत खतिवडा थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताउछन्। उनले भने , “थाइराइडका अरु समस्या त झनै सजिलै समाधान गर्न सकिन्छ । चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ । औषधि आफैँ खान बन्द गर्नुहुँदैन । खानपान चिकित्सकले भनेमा मात्रै बार्ने गर्नुहोला ।” उनले थाइराइडका बिरामीले खानेकुरा बार्नु नपर्ने बताए । उनले समयसँगै थाइराइडसम्बन्धी रोग परिवर्तन भएको बताउँदै भने, “अहिले थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने गर्दछ । त्यसकारण कुनै खानेकुराका कारण हुने होइन”, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नु नै उत्तम उपाय भएको उनको भनाइ छ । उनका अनुसार घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ । यसमा दुई वटा भाग हुन्छन् । यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्मोन उत्पादन गर्दछ । उक्त हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ । यो हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्छ। थाइराइड हर्मोन कमी वा बढी भएमा फरक फरक लक्षण देखिने डा.खतिवडा बताउछन् । उनले भने , “थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरमध्येमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो । यस्तो ट्युमरको उपचार गर्दा बिरामीको आयु पनि घट्दैन ।” साधारणतया मानिसलाई थाइराइड हर्मोन घट्दा थकाइ लाग्ने, कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्नेजस्ता लक्षण देखिने उनको भनाई छ । यस्तै बढ्दा आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुनेजस्ता लक्षण देखिन्छन् । थाइराइडको उपचार तीन किसिमले गरिने उनले बताए । एउटा औषधिको सेवन, दोस्रोमा झोल औषधिको प्रयोग गरेर ग्रन्थी सुकाउने र तेस्रो शल्यक्रिया गर्नुपर्ने उनी बताउछन् । तर पछिल्लो समय शल्यक्रियाभन्दा झोल औषधिको प्रयोग गरेर सुकाउने विधि धेरै प्रयोगमा आउने गरेको उनको भनाइ छ । घाँटी दुख्दैमा थाइराइड नहुने बताउँदै बताउदै उनले भने, “घाँटी दुखेमा कहिलेकाहीँ मात्रै थाइराइड हुन सक्छ । त्यसैले घाँटी दुख्दा भेट्ने भनेको नाक, कान घाँटी विशेषज्ञ चिकित्सकलाई हो ।” कहिलेकाहीँ थाइराइडबाट क्यान्सरमा परिणत हुन सक्ने उनको भनाइ छ । उनले भने “घाँटीमा गाँठागुँठीजस्ता लाग्यो भने त्यसको अल्ट्रासाउण्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउँछौँ । कहिलेकाहीँ ट्स्यिुको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउँछौँ ।” क्यान्सर पहिचान भयो भने पनि शल्यक्रिया र रेडियोथेरापी गरेर सजिलै निको पार्न सकिने उनको भनाइ छ । थाइराइड भएको बिरामीले के खान हुन्छ, के खानु हुँदैन भन्ने धेरैलाई जिज्ञासा हुने उनको अनुभव छ । उनले भने , “समयसँग थाइराइडसम्बन्धी रोग परिवर्तन भएको छ । पहिला पहिला गलगाँडको धेरै समस्या हुन्थ्यो, त्यो समयमा काउली, बन्दा, तरुललगायतका तरकारी कम प्रयोग गर्नुपर्छ भन्ने चलन आएको थियो ।” पछिल्लो समय थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने भन्दै उनले कुनै खानेकुराका कारण थाइराइड नहुने बताए । रासस

