चुनाव अभियानमा प्रचण्डः लाहुरेचोकमा डेरा, कांग्रेस समर्थकसँग दिनदिनै भेट

चुनाव अभियानमा प्रचण्डः लाहुरेचोकमा डेरा, कांग्रेस समर्थकसँग दिनदिनै भेट
चितवन,  १२  मंसिर ।  ५ मंसीरमा चितवन आइपुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘चितवन ३ मा चुनाव जितिसकेको’ घोषणा गरे।

सँगसँगै उनले एमाले–माओवादी केन्द्रका स्थानीय नेता–कार्यकर्तालाई एउटा चुनौति पनि दिएर गए, ‘चितवन ३ मा प्रचण्डले ठूलो मतान्तरले जित्नु भएन भने त्यो वामगठबन्धनका लागि लाजको कुरा हुन्छ, त्यसैले यहाँ कम्तिमा पनि १५–२० हजार मतले जिताउने अवस्था सिर्जना गर्नुस्।’

पुत्रशोकका कारण पत्नी सीता अझै सम्हालिन नसकेपछि प्रचण्ड ओलीसँग वामगठबन्धनको देशव्यापी संयुक्त चुनाव प्रचारमा जान सकेका छैनन्। शुक्रबारदेखि पत्नी सीता दाहालसहित चितवन झरेपछि उनी आफ्नो चुनाव क्षेत्रमै केन्द्रित भएका छन्।

निर्वाचन हुन ९ दिन बाँकी रहँदा चितवन ३ मा सहज जित हासिल हुने निष्कर्ष निकालेका एमाले–माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले ओलीले भनेझैं, कसरी मतान्तरलाई फराकिलो बनाउन सकिन्छ भन्नेमा आफूलाई केन्द्रित गर्न थालेकोजस्तो देखिन्छ।

यसक्षेत्रमा नेपाली कांग्रेसका आफ्नै उम्मेदवार छैनन्। लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरेको कांग्रेसले यहाँ राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री विक्रम पाण्डेलाई समर्थन गरेको छ।

कांग्रेसको आफ्नै उम्मेदवार नहुनुको फाइदा उठाउँदै एमाले–माओवादी केन्द्रको ध्यान कसरी हुन्छ, कांग्रेस समर्थकहरुको मत आकर्षित गर्नेतर्फ केन्द्रित छ। एमाले कार्यकर्ता शंकर थपलिया भन्छन्, ‘त्यसको प्रतिफल पनि देखिन थालेको छ, दिनहुँजसो कांग्रेस समर्थक मतदाताहरु वामगठबन्धनमा प्रवेश गरिरहेका छन्।’

चितवन ३ शिवनगरस्थित बरबोट भन्ने ठाउँमा रहेको वामगठबन्धनको कार्यालयमा सोमबार साँझ ५–७ जनाको एउटा समूह आइपुग्यो। त्यो समूह शिवनगर–गीतानगर क्षेत्रका कांग्रेस समर्थकहरुको रहेछ, जो पार्टीले राप्रपा प्रजातान्त्रिकलाई यसक्षेत्रमा समर्थन गरेकोमा असन्तुष्टि जनाउँदै वामगठबन्धनमा प्रवेश गर्ने योजनामा रहेछन्।

को को कांग्रेस छाडेर वामगठबन्धनलाई समर्थन गर्न चाहन्छन्, कागजको पानामा लेखिएको नाम नै पेश गर्यो यो समूहले। मंगलबार बिहानको मर्निङवाकपछि प्रचण्डले यो समूहलाई पार्टी प्रवेश गराए।

मंगलबार मर्निङवाकपछि घुमाउने चौतारोमा कांग्रेस समर्थकलाई माओवादीमा प्रवेश गराउँदै प्रचण्ड

चितवन ३ लाई केन्द्रित गर्दै प्रचण्डले शिवनगर नजिकैको लाहुरेचोकमा डेरा जमाएका छन्। बरबोटमा रहेको चुनावी कार्यालयको दृष्य केही समय हेरेपछि उनको लाहुरेचोकस्थित निवासमा पुग्दा माडी र बाँदरझुला क्षेत्रमा आइतबार र सोमबार चुनावी कार्यक्रम सकेर फर्किएका प्रचण्ड नेपाली कांग्रेसका स्थानीय नेता–कार्यकर्तासँग चुनावी अभियानका विषयमा कुराकानी गरेर बसिरहेको भेटिए।

यो समूहपनि यस क्षेत्रका कांग्रेस समर्थक अधिकांश मतदाताले समानुपातिकतर्फको मत कांग्रेसलाई र प्रत्यक्षतर्फ प्रचण्डलाई दिनेमा आश्वस्त गराइरहेको थियो।

चितवन ३ मा पर्ने भरतपुर महानगरपालिकाका १५, १७, १८, १९, २०, २७, २८ लगायतका वडामा कांग्रेसको पकड बलियो रहेको मानिन्छ। १९ नम्बर त झन् त्यही वडा हो, जहाँ स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढि विवाद भयो। यो वडाको मतपत्र च्यातिएको विषय राष्ट्रिय चर्चामा पनि आयो। कांग्रेसको पकड रहेको यसै वडाबाट प्रचण्डलाई अत्याधिक मत आउने कुरामा एमाले–माओवादीका कार्यकर्ता अति विश्वस्त भेटिन्छन्।

यो वडाको अत्याधिक मत अब प्रचण्डलाई आउने दावी गर्छन् माओवादी कार्यकर्ता द्रोण सिवाकोटी। उनको तर्क छ, किनभने यसै वडामा बसोबास गर्ने कांग्रेसका प्रभावशाली सदस्य मोहनसिंह लामा गत हप्ता प्रचण्डलाई जिताउने आव्हानसहित वामगठबन्धनमा प्रवेश गरे।

लामा नेपालकै पहिलो मानिने बखानसिंह सहकारी संस्थाका अध्यक्ष हुन्। यो सहकारी चितवन कांग्रेसका प्रभावशाली नेता बखानसिंह गुरुङले २०१३ मा स्थापना गरेका थिए। गुरुङ तिनै व्यक्ति हुन्, जसले २००७ र २०१८ को सशस्त्र संघर्षमा दुई छोरा गुमाएका थिए।

गीतानगर क्षेत्र ओगट्ने महानगरको ६ नम्बर वडामा पनि आफूहरुको स्थिति मजबुत भइसकेको एमाले–माओवादी केन्द्रका स्थानीय नेताहरुले दावी गरे। सिवाकोटीकै भनाईमा, गीतानगर क्षेत्रमा यसअघि वामपन्थीहरुको प्रभाव निकै कमजोर थियो।

‘कुनै व्यक्ति वामपन्थी हो भन्ने थाहा भयो भने पानी माग्दापनि पाइँदैनथ्यो त्यहाँ, कांग्रेस समर्थकहरुले गोद्थे’, सिवाकोटीले नेपालखबरसँग भने, ‘कांग्रेसको त्यो गढ अब कायम रहेन, यो वडाबाट पनि हामीहरु कांग्रेसकै बराबरी मत पाउने स्थितिमा पुगिसकेका छौं।’

स्थानीय तह निर्वाचन परिणाम अनुसार कांग्रेस–राप्रपा गठबन्धन भन्दा एमाले–माओवादी केन्द्रले यस क्षेत्रमा ८ हजार बढि मत पाएका छन्। प्रचण्डको आगमनपछि वामगठबन्धनको पक्षमा झन् धेरै मत आउने अवस्था बनेको एमालेका थपलिया बताउँछन्।

‘प्रचण्डको व्यक्तित्व र एमाले–माओवादी एकजुट भएर चुनावी अभियान सञ्चालन गरेकाले स्वतन्त्र मतदाताहरु पनि उनलाई जिताउने पक्षमा खुल्न थालेका छन्’, एमाले चितवनका सल्लाहकार सदस्यसमेत रहेका थपलियाले भने, ‘हाम्रो आँकलनमा १२ देखि १५ हजार मतान्तरले अगाडि छौं, चुनावसम्म यो मतान्तर अरु बढ्छ।’

भरतपुर महानगरपालिकाको चुनावमा मतपत्र च्यातिएपछि एमाले–माओवादी केन्द्रबीच जस्तो तिक्तता सिर्जना भयो, उम्मेदवारी दर्ताका बेलासम्म त्यसको केही तुष बाँकी रहेपनि पछिल्लो समय त्यो मेटिइसकेको मतपत्र च्यातेको आरोप लागेका सिवाकोटी र थपलिया सँगै बसेर चुनावी कार्यक्रम बनाइरहेको दृष्यबाट पनि देख्न सकिन्थ्यो।

दुबैले के बताए भने, दुवै पार्टीका स्थानीय नेता–कार्यकर्ता अन्तरघुलित भइसकेकाले आन्तरिक समस्या बेहोर्नु परेको छैन। त्यसैले एमाले–माओवादी केन्द्रका स्थानीय नेता–कार्यकर्ताले पुरै ध्यान कांग्रेसका मतदाताहरुलाई आफ्नो पक्षमा पार्नेतिर केन्द्रित गर्न पाएका छन्।

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

काठमाडौ। नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज साझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ ।  बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टीपंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ । त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय पनि बैठकले गरेको छ। यस्ता छन् निर्णयहरू १.पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा जम्मा गर्ने । २.पार्टी सदस्य र पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिह रू बाट राहत सहयोग राहत कोषमा जम्मा गर्ने । ३.दीर्घकालीन पुनस्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने । ४.बाढिपहिरोको क्षतीबारे स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न र आवश्यक सहजिकरण गर्न केन्द्रीय कार्यालयम हेल्प डेक्स राख्ने।

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

काठमाडौं, १३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो । तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफै पौडेल उत्रनुभएको थियो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ । ‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिनुभयो । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताउनुभयो । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताउनुभयो । काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गर्नुभएको थियो । सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताउनुभयो । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताउनुभयो । उहाँले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको बताउनुभयो ।

झ्याप्लेखोला पहिरोबाट थप १५ शव निकालियो, मृतकको संख्या २९

काठमाडौं ।  झ्याप्ले खोलामा पुरिएका  १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट हिजो १४ जनाको शव निकालिएको थियो । (अद्यावधिक गरिएको ।)

शेखर कोइरालाको प्रश्न– मन्त्री निवासनजिकै नागरिकले बचाउ बचाउ भन्दा नसुन्ने सरकार कहाँ छ ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताउनुभएको छ । कांग्रेसको सल्यान–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशका प्रायः सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै सरकारको आलोचना गर्नुभएको हो । ‘राजधानी काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट विच्छेद छन् । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम सङ्कटमा छन् । तर सरकार कहाँ छ ?’  नेता कोइरालाले हेर्दाहेर्दै र देख्दादेख्दै राजधानीमै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकार भनेको केवल कुर्सी र पदमात्रै नभएको बताउँदै उनले प्रश्न गर्नुभयो– ‘मन्त्री क्वार्टरकै छेउबाट नागरिकले बचाउ बचाउ भन्दै बगेको घटनाले राज्यलाई अलिकति पनि छोएन ?’ मौसम पूर्वानुमान महाशाखाले मिति नै तोकेर भारी वर्षा हुन्छ भनेपनि सरकार सजग नहुँदा ठूलो मानवीय क्षति भएको कोइरालाको भनाइ छ । सरकारको यो चरम लापरबाही रहेको उनले दाबी गरे ।  कोइरालाले यस विपत्तिको घडीमा उद्धारमा जुट्न पार्टीका हरेक तहका नेताहरूलाई आग्रहसमेत गर्नुभयो । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर शनिवार साँझसम्म देशभर ६६ जनाको मृत्यु भएको छ । बिहीवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ६९ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

लोकप्रिय