चेपाङहरुले घडेरी पाउँदा खुशीको कुनै सीमा नै छैन

चेपाङहरुले घडेरी पाउँदा खुशीको कुनै सीमा नै छैन

चितवन । बाँदर लड्ने ठाडो भिरमा खोपेर बनाइएको घर । वर्षांैदेखि बस्दै आएपनि २०७२ सालको विनाशकारी गोरखा भूकम्पले त्यही पूरै घर भत्कायो ।

अन्यत्र जाने विकल्प नभएपछि विकट काउलेस्थित हेप्चेकको पखेरोमै दुःखजिलो गरेर ओत लाग्ने झुप्रो घर बनाएर बसेको तीन वर्ष भएको छ । हावाहुरी र मेघ गर्जंदा गाउँले डराएरै बस्थे ।

‘डरैडरमा बित्यो,’ तुलबहादुर चेपाङ मुहार उज्यालो पार्दै भन्नुहुन्छ, “अब घडेरी पायौं, खुसी भा छ सर ।” सरकारले नजिकै रहेको दुम्किम भन्ने गाउँमा घडेरी उपलब्ध गराएपछि यहाँका चेपाङहरुमा खुशीको सीमा छैन् ।

विसं २०७२ वैशाख १२ गतेको ‘गोरखा विनाशकारी भूकम्प’ आउदा सोही गाउँकी उजेलीमाया चेपाङले जंगलबाट ल्याएको घाँस बिसाउन मात्रै के भ्याउनुभएको थियो, एक्कासि जमिन हल्लियो । डाँडो फनफनी घुमेको महसुस भयो । आँखै अगाडि क्षणभरमै आफ्नो ओत लाग्ने घर ध्वस्त भयो । उनी जस्तै हेप्चेकका बुद्धबहादुर चेपाङको घर पनि त्यसैगरी क्षणभरमै ध्वस्त भयो ।

‘जमिन नै कमजोर भयो, डाँडो नै चर्केको थियो, तुलबहादुरले भन्नुभयो, “अझै पनि झरि, बादल हुँदा डरलाग्छ बस्दैन ।” जब गड्याङगुडुङ हुन्छ उक्त गाउँका बासिन्दा अहिले पनि त्रासमै छन् । यो तीन वर्ष यस्तै गरेर बिताए ।

भूकम्पपछिको महिनौंसम्मको रात उनीहरु घरमा बसेनन् । नजिकैको दुम्किममा गएर बास बसेको अनुभव उजेलीमायालाई छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको विज्ञ समूहले हेम्चेकको स्थलगत अध्ययन गर्दा सो क्षेत्र जोखिम भनेर बस्ती सार्ने निर्णय गरेको थियो । सामान्यतयाः ३० डिग्रीभन्दा बढी ठाडो जग्गामा बस्न मिल्दैन ।

उनीहरुको गाउँ छङ्गाछुर भिर देखिन्छ । विगतमा ठूलो प्रयास गर्दा पनि बस्ती सर्न नसकेका उनीहरुका लागि खुसीको परिणाम मिल्यो । नजिकै रहेको सुरक्षित स्थान दुम्किममा पीडितमध्ये आठ घरले जग्गा प्राप्त गरेका छन् ।

जोखिममा रहेका ११ घरमध्ये एक घर सम्पर्कमा आएको छैन । भूकम्पपीडित कालु चेपाङ र बोमबहादुर चेपाङले नजिकै घुर्केस भन्ने स्थानमा जग्गा खोजेका छन् । अन्य होमबहादुर चेपाङ, रामबहादुर चेपाङ, तुलबहादुर चेपाङ, बलवान चेपाङ, थाकु चेपाङ, बुद्धबहादुर चेपाङ, भगवान चेपाङ र उजेली चेपाङको परिवार दुम्किममा स्थानान्तरण हुने भएका छन् ।

उनीहरुका लागि पुनःनिर्माण प्राधिकरणले प्रतिघडेरी अधिकतम रु दुई लाख दिन्छ । घर निर्माणका लागि सरकारबाट रु तीन लाख आउँछ । आगामी असार मसान्तसम्ममा उनीहरुले जग तयार गरे भने दोस्रो किस्ताबापतको रकम पाउँछन् ।

स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै दुम्किममा आइपुगेका उनीहरुलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ(अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय चितवनका प्रमुख पुष्कर पोखरेलले जग्गा पक्का भएको खबर सुनाउँदा उनीहरु हर्षित भए । घर पाउने पक्का भएपछि भूकम्पपीडित तुलबहादुरले हर्षित हुँदै भन्नुभयो, “अब छिट्टै घर बनाउने र बस्ने हो ”

चितवनको विकट क्षेत्र इच्छाकामना गाउँपालिका–२ हेच्चेकको जोखिम क्षेत्रका आठ घर भूकम्पपीडितले सुरक्षित स्थानमा जग्गा प्राप्त गरेपछि बिहीबारदेखि जग्गाधनी पूर्जाका लागि उनीहरुले प्रक्रिया शुरु गरिसकेका छन् ।

चितवनको राप्ती नगरपालिकाको एसिखाई र तापाङका १३ घरलाई स्थानान्तरणका लागि जग्गा उपलब्ध गराइसकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ(अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय चितवनका शाखा प्रमुख राजेन्द्र कार्कीले जानकारी दिनुभयो ।

उनीहरुले जग्गाधनी पूर्जासमेत प्राप्त गरिसेका छन् । पूजालिंँदै स्थानीयवासी विविमाया चेपाङले भन्नुभयो, “घर बनाएर बस्ने हो सर खशी भा छ ।” यता इच्छाकामना–४ तीनघरेका पाँच घर पीडितलाई लेवाटारमा जग्गा उपलब्ध गराइएको छ ।

जिल्लाका अन्य क्षेत्रमा स्थानान्तरणका लागि आवश्यक प्रक्रिया चलिरहेको छ । इच्छाकामनाका अन्य धेरै पीडित राहत लिने प्रक्रियामै रहेको गाउँपालिकाको भूकम्प पुनःनिर्माणका स्रोत व्यक्ति राजन घिमिरेले बताउनुभयो ।

जिल्लामा जोखिम क्षेत्र पहिचान भएका कूल १०२ घर स्थानान्तरण गर्नुपर्नेमा अहिलेसम्म ३५ घरका लागि पैसा आएको छ । २१ घरले जग्गाका लागि रकम प्राप्त गरिसकेको र अन्यको प्रक्रियामा रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

इच्छाकामना गाउँपालिकाका ८३, राप्ती नगरपालिकाका १८ र कालिका नगरपालिकाका एक घर स्थानान्तरण गर्नुपर्नेछ । चितवनमा सात हजार ३३५ बढी भूकम्पपीडित भए पनि घर निर्माणको किस्ता वितरणको काम इच्छाकामना गाउँपालिकाबाहेक अन्य नगर र महानगरमा सुस्त छ । रासस

आज पनि भारी वर्षा हाेला ?

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ ।  तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।”  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ ।  जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा  र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्‍याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

पर्सामा  दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।  भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र  प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।