जाडोले कठ्यांग्रिँएको कर्णाली
डोल्पा । हिँउदे मौसम शुरु भएसँगै कर्णालीका डोल्पा, हुम्ला, जुम्ला, मुगुलगायतका जिल्लामा चिसो दिन प्रतिदिन बाँड्दै गएको छ । दिउँसोको घामेले चिसो केही कम हुने भएता पनि बिहान बेलुकी कर्णालीवासीको दैनिकी एकदमै कष्टकर बन्दै गएको छ ।
बिहान बेलुकीको कठ्यांग्रिँदो जाडोले गर्दा कर्णालीवासीको दैनिकी कष्टकर बन्दै गएको हो । “दिउँसो घाम लाग्ने भएकाले केही तातो हुन्छ, बिहान बेलुकी चिसोले सताउने गर्दछ, अत्यधिक चिसोले नियमित सरसफाइमा पनि धेरै समस्या हुने गर्दछ” त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय दिलीप गिरीले भन्नुभयो । अत्यधिक चिसोले नियमित सरसफाइमा समेत समस्या हुने गरेको कारण यतिखेर गाउँघरमा धेरैजना चिसोका बिरामीसमेत रहेको उहाँको भनाइ छ ।
जाडो छल्न तराईतिर
यतिखेर कर्णालीका विमानस्थलमा सर्वसाधारणको घुइँचो लागेको छ । डोल्पाको जुफाल, हुम्लाको सिमीकोट, मुगुको ताल्चालगायतका विमानस्थलमा दिन प्रतिदिन चाप बड्दै गएको हो । नेपालगञ्जको हुस्सुले कर्णालीका विभिन्न विमानस्थलमा हवाई उडान प्रभावित हुँदा दिन प्रतिदिन विमानस्थलमा यात्रुको चाप बढ्दै गएको हो । उडान कम यात्रु धेरै हुने भएकाले टिकट वितरणमा समस्या हुने गरेको जुफाल विमानस्थलका कर्मचारी लंक भण्डारीले बताउनुुभयो ।
महिनाँैदेखि विमानस्थलमै थन्किएकाले हप्तौँपछि पालो आउने भन्दै कतिपय सर्वसाधारण पैदल यात्र गरेरै गन्तव्यसम्म पुग्न थालेका छन् । यतिखेर अन्य सर्वसाधारणको तुलनामा जाडो छल्न बेँसी झर्ने सर्वसाधारण धेरै आउने गरेको डोल्पाको जुफाल विमानस्थलले जनाएको छ ।
यस समयमा अत्यधिक जाडोले खपिनसक्नु हुने भएकाले अधिकांश कर्णालीवासी जाडो छल्नका लागि तराईका विभिन्न जिल्लामा झर्ने गर्दछन् । जाडो छल्नका लागि धेरैजसो नेपालगञ्ज, सुर्खेत, दाङ, काठमाडौँलगायतका शहरमा झर्ने गर्दछन् ।
अन्य शहरभन्दा काठमाडौँमा धेरै सर्वसाधारण आउने गर्दछन् । यतिखेर जाडोसँगै फुर्सद हुने भएकाले पनि विभिन्न व्यक्तिगत कामकाजदेखि लिएर राजनीतिक भेटघाटका लागिसमेत तुलनात्मकरुपमा काठमाडाँै धेरै आउने गरेको डोल्पाबाट काठमाडौँ पुगेका स्थानीय दुर्गाप्रसाद देवकोटाले भन्नुभयो ।
जाडो समयमा अत्यधिक चिसो पनि हुने र आफूले पढाउने विद्यालय पनि बन्द भएकाले छोराछोरी र आफन्त भेट्न काठमाडौँ आएको उहाँले बताउनुभयो । जाडो छल्न तराई झरेका कर्णालीवासी फागुन महिना लागेपछि मात्रै घर फर्कने गर्दछन् ।
फुर्सदमा जोहो
बाह्रै महिना कर्णालीवासी घरायसी कामकाजमा व्यस्त हुने भए पनि हिँउदको पुस र माघमा भने फुर्सदिला बन्ने गर्दछन् । मंसिर महिनामै हिँउदे बालीका रुपमा गहुँ, जौँ, उवालगायतका अन्नबाली लगाई सक्ने र जेठ, असारमा मात्र भित्र्याएर धान, मकै लगाउने भएकाले यो दुई महिना फुर्सद हुने डोल्पा त्रिपुरासुन्दरी नगरपालिका स्थानीय नैनानन्द देवकोटाले बताउनुभयो ।
फागुन महिनादेखि खेतीपातीको काममा व्यस्त हुने भएकाले यो दुई महिनामा अन्नबाली जोहोदेखि घाँसपात, दाउरालगायतको जोहो गर्ने उहाँको भनाइ छ । हिँउदमा भारी हिमपात हुने भएकाले हिमपात भएको समयमा चिसोले घर बाहिरसमेत निस्कन नसकिने भएकाले आगो ताप्नको लागि दाउराको जोहो धेरै हुने गर्दछ । त्रिपुराकोटमा दाउरा लिन घण्टौँ हिँडेर वनमा पुग्नुपर्ने बाध्यता रहेको स्थानीय देवकोटाले बताउनुभयो ।
चिसोमा घट्ट तथा मिलमा जानमेत समस्या हुने भएकाले खाद्यान्नको संकट नहोस् भनेर पहिले नै धेरै परिमाणमा खाद्यान्न कुटानीपिसानीसमेत गर्ने गरिन्छ ।
चिसोमा पनि कर्णालीका महिला घरधन्दामै
हिँउदे मौसम शुरु भएसँगै कर्णालीमा हुने अत्यधिक चिसोले महिलालाई भने छँुदैन । अत्यधिक चिसोमा पनि कर्णालीका महिला चुलोचौकामै व्यस्त हुने गर्दछन् । चिसो छल्न भन्दै पुरुष सबै तराईका जिल्लामा झर्ने भएकाले अधिकांश महिला घर कुरुवाको रुपमा घरमै बस्ने गर्दछन् ।
कर्णालीका जिल्लामा अझै पनि पुरुषवादी समाजको हाबी रहेकाले पुरुषले महिलाको समस्याप्रति गम्भीर देखिंदैनन् । छोराछोरीको हेरविचारदेखि घरधन्दा, खेतीपाती, वस्तुभाउको सबै काम महिलाकै काँधमा रहेको डोल्पाकी महिला नेत्री दिलमाया विष्टले गुनासा गर्नुभयो ।
बैंकको ऋणबाट जाडो छल्ने खर्च
प्रत्येक वर्ष हिँउदे मौसम शुरु भएसँगै कर्णालीमा अत्यधिक जाडो हुने गर्दछ । जाडोयाममा तराई झर्ने खर्च स्थानीयस्तरमा स्थापित विभिन्न सहकारी, समूह तथा लघुवित्तबाट ऋण धेरै गरेका छन् । जाडो समयको शुरुवातीको रुपमा रहेको मंसिर महिनामै जाडो छल्न झर्ने खर्चको जोहोका लागि अधिकांश स्थानीय वासिन्दा बंैक धेरै धाउने गरेको रिलायबल माइक्रो फाइनाइन्स डोल्पाका कर्मचारी हेमन्त बुढाले बताउनुभयो ।
यतिखेर ऋण पनि तुलानात्मक रुपमा धेरै जाने उहाँको भनाइ छ । तराईका जिल्लामा जाने, बस्ने, खाने खर्च र जहाज भाडाको लागि दशौँ हजारौँ रुपैयाँ ऋण लिने गरेको उहाँको भनाइ छ ।
अधिकांशले यतिखेर लिएको ऋण यार्सागुम्बा टिपेर चुक्ता गर्ने गर्दछन् । कतिपयले गाउँकै साहूसँग चर्को ब्याजमा पनि ऋण लिने गर्दछन् ।
कर्मचारी पनि फुर्सदिला
जाडो समयमा धेरैजसो सर्वसाधारण जाडो छल्न तराई झरी सक्ने भएकाले सरकारी तथा गैरसरकारी कार्यालयमा समेत नियमित कामकाजको चाप कम हुने गर्दछ ।
अन्य महिनाको तुलनामा पुस, माघ महिनामा सेवाग्राही पनि कम आउने हुँदा कामको चाप कम हुने गरेको जिल्ला हुलाक कार्यालय डोल्पाका कर्माचारी हरि विष्टले बताउनुभयो ।
यो समयमा कर्मचारी पनि फुर्सदिला हुने गर्दछन् । यतिखेर अधिकांश सरकारी तथा गैरसरकारी कार्यालय कर्मचारीविहीन हुने गर्दछन् । कतिपय कार्यालय सहयोगीको भरमा रहेका हुन्छन् । अधिकांश कर्मचारी जाडो छल्न तथा घुमघामका लागि तराई झर्ने भएकाले यस समयमा कार्यालय कर्मचारीविहीन हुने गरेका छन् । यतिखेर डोल्पाका अधिकांश स्थानीय तहका प्रमुख उपप्रमुख पनि काठमाडौँ तिरै रहेका छन् ।
जाडोको समयमास्थानीय तहका अधिकांश जनप्रतिनिधि पनि राजधानी केन्द्रित भएपछि सेवा लिने सेवाग्राही मर्कामा परेको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले जानकारी दिनुभयो । स्थानीय तहका प्रमख उपप्रमुख पालो मिलाएर झरेको भए राम्रो हुने उहाँको भनाइ छ ।
उपल्लो क्षेत्रका तल्लो क्षेत्रमा र तल्लो क्षेत्रका तराईमा
कर्णालीका डोल्पा, जुम्ला, मुगु र हुम्लाको उपल्लो क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण चिसो बढेसँगै छ महिनाको अस्थायी बसोबासका लागि पशु चौपायसहित जाडो छल्न बेँसी झर्ने गर्दछन् ।
आर्थिकरुपमा मजबुद भएका भने काठमाडौँ, पोखरा, नेपालगञ्जलगायतका शहरमा झर्ने र आर्थिक हिसाबमा कमजोर भने जिल्लाकै तुलनात्मक रुपमा कम चिसो हुने क्षेत्रमा झर्ने गर्दछन् ।
तल्लो क्षेत्रका सर्वसाधारण भने जाडो छल्न तराईतिर झर्ने गर्दछन् । यतिखेर उपल्लो क्षेत्रका मान्छेले फुर्सदको समयको उपयोग गर्दै राडी, पाखी, झोला बनाएर बेच्ने र जिम्बु अन्नबालीसँग साटासाट गरेर आयआर्जन गर्ने गर्दछन् ।
सम्पूर्ण विद्यालय बन्द
हिमाली जिल्ला डोल्पामा यस वर्षको शैक्षिक सत्र सकिएको छ । शैक्षिक सत्र सकिएपछि डोल्पाका १२३ वटै विद्यालय बन्द भएका छन् । डोल्पालगायतका कर्णालीका जुम्ला, हुम्ला मुगमा पनि प्रत्येक वर्ष पुसदेखि नै शैक्षिक सत्र सकिएर फागुन महिनामा नयाँ शैक्षिक सत्र शुरु हुने गर्दछ ।
सदाझैँ यस वर्ष पनि फागुनमा खुल्ने गरी ४५ दिनका लागि तल्लो डोल्पाका मावि, निमावि र प्रावि तहका १०० वटा विद्यालय बन्द भएका छन् । गत मंसिर २४ गतेदेखि पुस ३ गतेसम्म वार्षिक परीक्षा सम्पन्न भएर सम्पूर्ण विद्यालय बन्द भएका हुन् ।
डोल्पा हिमाली जिल्ला भएकाले मंसिरदेखि नै अत्यधिक चिसो बड्ने हुँदा जाडो बिदाका लागि पुस १५ देखि फागुनसम्मको ४५ दिनसम्मको अवधिका जिल्लाका सम्पूर्ण विद्यालय बन्द हुने जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ ।
डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका सम्पूर्ण विद्यालय भने छ महिना लागि बन्द भएका छन् ।
उपल्लो डोल्पाका २३ वटा विद्यालय प्नि कात्तिक अन्तिम साताभित्रै वार्षिक परीक्षा सम्पन्न गरेर बन्द भएको जिल्ला शिक्षा कार्यालय डोल्पाका शाखा अधिकृत सिंहराज डाँगीले जानकारी दिनुभयो ।
उपल्लो डोल्पामा पनि कात्तिक महिनादेखि नै भारी हिमपात शुरु भई अत्यधिक चिसो बड्ने भएकाले कात्तिक महिनाको अन्तिम सातादेखि नै सम्पूर्ण विद्यालय बन्द हुने गर्दछन् ।
कात्तिकमा बढेको चिसो वैशाख महिना लागेपछि मात्रै हट्ने भएकाले वैशाखमा खुल्ने गरी छ महिनाका लागि उपल्लो डोल्पाका विद्यालय बन्द हुने गर्दछन् ।
तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।
यस्तो रहनेछ आजको मौसम
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ । क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ । उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए । सम्मेलनको उद्घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।
जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा
ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्याली निकालेका छन् । र्यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।