जातीय भेदभाव र छुवाछूत गर्ने विरुद्ध अभियान शुरु गर्ने गृहमन्त्री थापाकाे उद्घाेष

जातीय भेदभाव र छुवाछूत गर्ने विरुद्ध अभियान शुरु गर्ने गृहमन्त्री थापाकाे उद्घाेष

काठमाडौं, चैत ६ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जातीय भेदभाव र छुवाछूत गर्ने विरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका छन् ।

मंगलबार ५३ औं अन्तराष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसका अवसरमा दलित महिला केन्द्र नेपाल र अन्तरपार्टी दलित महिला सञ्जालद्वारा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भने, ‘सबै भन्दा क्रुर र घृणित अपराध जातीय विभेद र छुवाछूत हो । छुवाछूतका अपराधीलाई कठोर सजाय गर्न गृहमन्त्रालय तयार छ ।’

‘कानुन छ तर कानुनले काम गरेको छैन, कानुन कार्यान्वयन र विधिको शासन सञ्चालनका लागि अभियानको जरुरी छ’, गृहमन्त्री थापाले भने । दलितमाथिको विभेद अन्त्य गर्न गृह मन्त्रालयले विभेद विरुद्धको अभियान सञ्चालन गर्न लागेको जानकारी पनि गृहमन्त्री थापाले दिए ।

नवनिर्वाचित दलित समुदायका सांसदलाई बधाई तथा शुभकामना र इभा क्यासल सामाजिक न्याय पुरस्कार वितरण सामारोहमा छुवाछूत विरुद्धको कानुन कार्यान्वयनमा जोड दिइएको छ । नेकपा (एमाले) का प्रतिनिधिसभा सांसद निरा जैरुले संविधान र कानुनमा व्यवस्था भएका दलित हकअधिकारको कार्यान्वयनमा दलित सांसदहरुको साझा पहल हुने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘प्रतिनिधिसभामा दलित समुदाय संख्यात्मक हिसावले थोरै भएपनि कमजोर अवस्थामा छैनौं संयुक्त पहल कदमी गरियो भने दलितको लागि प्रभावकारी काम गर्न सक्छौं ।’

नेकपा (माओवादी) केन्द्रकी प्रतिनिधिसभा सांसद अञ्जना बिशंखेले केन्द्र सरकारमा एकजना दलित मन्त्री भएपनि सात प्रदेशका सरकारमा प्रतिनिधित्व नहुनु दुःखदायी भएको चर्चा गर्नुभयो । छुवाछूतका घटनाका दोषीलाई कारवाही नगरिनु, प्रभावकारी कानुन कार्यान्वयन नहुनु र दलितलाई अवसरबाट बञ्चित गरिदा परिवर्तनको अनुभूति गर्न नसकिरहेको उहाँले चर्चा गर्नुभयो ।

नेपाली काँग्रेसकी प्रतिनिधिसभा सांसद लक्ष्मी परियारले जातीय विभेदका घटनामा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउन नसकिएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो ‘डेढवर्ष अघि अन्तरजातीय विवाह गरेपछि मारिएका काभ्रेका अजित मिजारको लास अहिले पनि टिचिङ अस्पतालमै छ, उनका परिवारले अझै न्याय पाएका छैनन, यो एउटा उदाहरण हो छुवाछूत गर्नेलाई कानुनी कारवाही गर्न गृहमन्त्री ज्यूको धयानाकर्षण गर्दछु ।’

कार्यक्रममा वादी समुदायबाट पहिलो सांसद बन्नुभएकी उमादेवी वादीलाई एकलाख रुपिँयाको इभा क्यासल सामाजिक न्याय पुरस्कार प्रदान गरिएको छ । नेपालका वादी समुदायको हकअधिकार सुनिश्चित गर्न र वादी समुदायलाई संगठित गरी वादी आन्दोलनको सफल नेतृत्व गरेको भन्दै उहाँलाई सो सम्मान गरिएको दलित महिला केन्द्रकी अध्यक्ष गौरा नेपालीले बताउनुभयो । नेपालका दलित महिला र बालवालिकाको शैक्षिक विकासमा लामो समयदेखि सक्रिय अमेरिकी महिला इभा क्यासलको सम्मानमा सो पुरस्कार स्थापना गरिएको र हरेक वर्ष प्रदान गरिने अध्यक्ष नेपालीको भनाई छ ।

कार्यक्रममा दलित समुदायका १९ जना प्रतिनिधिसभा सांसदहरु, ३४ जना प्रदेशसभाका सांसदहरुलाई सम्मान तथा बधाई प्रदान गरिएको छ । विभिन्न जिल्लाबाट सहभागी दलित महिलाले दलित समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक अधिकार लगायतका विषयमा कार्यपत्र सहित समुहगत छलफल गरेका छन् ।

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

काठमाडौं, १८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभएको छ । माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपत व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपत् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै उहाँले आफूले पहिलोपटक प्रधानमन्त्री भएदेखि व्यवस्थित वस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिंदै आएको बताउनुभयो । अहिले पहाडी क्षेत्रमा पहिरो र तराई तथा सहरी क्षेत्रमा बाढी डुबानको सबैभन्दा बढी जोखिम अव्यवस्थित वस्ती र पूर्वाधारकै कारण देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले बाढी, पहिरो, डुबान, भूकम्पलगायत सबैखाले विपतबाट बच्न भौगर्भिक अध्ययनका आधारमा मात्र वस्ती विकास र पूर्वाधार निर्माण गर्न उपयुक्त हुने बताउनुभयो । त्यसका लागि पार्टीको विपत् व्यवस्थापन विभागको पहलमा विज्ञहरुले तयार पारेको प्रतिवेदन महत्वपूर्ण अध्ययन सामग्री हुने उल्लेख गर्दै उहाँले यसका आधारमा चाँडै सरकारलाई ज्ञापनपत्र दिने पनि जानकारी दिनुभयो । वैज्ञानिक वस्ती विकास र पूर्वाधार निर्माणसँगै विपत् व्यवस्थापनका लागि सन्दर्भमा पनि गतिलो समीक्षा गरेर प्रतिकार्यका योजना बनाउनुपर्ने उहाँले बताउनुभयो । मौसमको पूर्वानुमान हुँदाहुँदै पनि राज्यसंयन्त्रको केन्द्र राजधानीमा समेत तत्काल उद्धार गर्न गर्न नसक्नुको कारण खोजी गरेर आगामी दिनमा यस्तो अवस्था आउन नदिन सरकार योजनाबद्धरुपमा अघि बढ्नुपर्ने उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले उद्धार मात्र होइन, राहत र पुनर्स्थापनामा पनि अपेक्षित काम हुन नसकेको उल्लेख गर्दै सबै संयन्त्रहरु कसरी प्रभावकारीरुपमा परिचालन गर्ने भनेर सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। माओवादी केन्द्रका विपत् व्यवस्थापन विभाग प्रमुख सूर्य सुवेदी पथिकले पछिल्लोपटक बाढी पहिरोले प्रभावित गरेको क्षेत्रमा गएर विज्ञहरुसहितको टोलीले समस्याको पहिचान र समाधानका उपाय समेटेर प्रतिवेदन तयार पारिएको जानकारी दिनुभयो । विभागले प्रचार विभागको समेत सहयोग लिएर पार्टी कार्यालय पेरिसडाँडामा आपतकालीन हेल्प डेस्क खडा गरेको छ । विभागका प्रमुख सुवेदी, प्रचार विभाग सचिव गोविन्द आचार्यसहितको टोलीले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ। देशको पूर्वी र मध्य भागमा भने दक्षिण पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) कोसी र बागमती प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  अहिले कोसी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका बाँकी भूमागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान विभागको छ।  दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसैगरी आज राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।  कस्तो होला शनिबार र आइतबारको मौसम?  २०८१ असोज १९ गते शनिबार दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। २०८१ असोज २० गते आइतबार दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र  गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी प्रदेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

आजबाट कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द हुने

काठमाडौं । आजदेखि सर्वोच्च अदालत बन्द हुने भएको छ । विजया दशमीको अवसरका लागि आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने विज्ञप्तिमार्फत जनाइएको छ । घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिएर सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने विज्ञप्तिमा उल्लेख छ ।

प्रस्तावित प्रधानन्यायाधीश राउतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम अनुमोदन गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो । बैठकपछि समितिका ज्येष्ठ सदस्य सभापति आनन्दप्रसाद ढुंगानाले सुनुवाई समितिले राउतको नाम सर्वसम्मत अनुमोदन गरेको बताउनुभयो । गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश राउतलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीशका लागि सुनुवाई समितिबाट अनुमोदन हुनुभएका राउत २०७१ साउन १७ मा सर्वोच्चमा न्यायाधीश नियुक्त हुनुभएको थियो ।

लोकप्रिय