दलहरु तालमेलमा ओर्लिए

दलहरु तालमेलमा ओर्लिए

पोखरा, वैशाख २४ । कास्की जिल्लामा वैशाख ३१ गते हुने स्थानीय तहको चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरुको दौडधूप तीव्र बन्दै गएको छ ।

दलहरुले चुनाव चिन्ह लिएपछि मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवारहरु वडाका टोलटोलमा पुगिरहेका छन् । प्रचारप्रसारको समय निकै छोटो भएकाले एकै दिनमा चार- पाँच वटा वडामा पुग्नु पर्दा उनीहरुलाई भ्याइनभ्याई छ ।

प्रचारप्रसार गर्ने सवारीसाधनमा उम्मेदवारहरुका तस्वीर टाँसेर माइकबाट भोट मागिरहेको दृश्य यत्रतत्र देखिन्छ । अहिले पोखरानगर क्षेत्रभित्र जताततै गीत बजिरहेको छ । एकपछि अर्को दल माइकबाट गीत बजाउँदै हिँड्दा मतदातामा उत्साह थपिएको छ ।

उम्मेदवारले आफ्नो पार्टीले चुनाव जितेमा टोलमा यो यो काम गर्छौं भनेर प्रतिवद्धता व्यक्त गरेका छन् भने मतदाताले पनि उम्मेदवारहरुलाई आफ्नो टोलमा गर्नुपर्ने विकास निर्माणबारे ध्यानाकर्षण गराइरहेका छन् ।

निर्वाचन जित्न राजनीतिक दलहरुले तालमेल पनि गरेका छन् । पोखरा–लेखनाथ महानगरपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच तालमेल भएको छ । माओवादी केन्द्रबाट महानगरको प्रमुख पदमा उम्मेदवारी दिनुभएका विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएर काँग्रेसबाट उम्मेदवारी दिनुभएका रामजी कुँवरलाई समर्थन गर्नुभएको छ ।

सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पनि तालमेल भएको छ । महानगरको प्रमुखमा फोरमका हुमबहादुर गुरुङ र उपप्रमुखमा नयाँ शक्ति पार्टीका लक्ष्मी खाती परियार उम्मेदवार बनेर मतदाताको घरदैलोमा पुग्नुभएको छ ।

महानगरको वडा नं १३ मा नेकपा (माओवादी केन्द्र) र राप्रपाबीच एक अर्कालाई वडाध्यक्ष र सदस्यमा सघाउने गरी तालमेल भएको छ । जिल्लामा ३७० पदका लागि एक हजार ५२४ जना उम्मेदवार चुनावी मैदानमा उत्रेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

पोखरा–लेखनाथ महानगरपालिका र रुपा, मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा गरी दुई लाख २४ हजार ८११ मतदाता रहेका छन् । जिल्लामा १५० मतदानस्थल र २८८ मतदान केन्द्र तोकिएको छ भने निर्वाचन सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय झन्डै एक हजार ५०० कर्मचारी खटाउन तयारीमा छ ।

माओवादी केन्द्रको परामर्श बैठक सकिदै, दक्षिण एशिया संगठन समितिको बैठक सुरु

काठमाडौ। नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एशिया संगठन समितिको भर्जुअल परामर्श बैठक आज सुरु भएको छ। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरु केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एशिया संगठन समितिमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सम्बन्धित देशबाट अनलाइनमार्फत जोडिएका छन् । माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको तयारी स्वरुप आयोजना गरेको प्रदेश परामर्श बैठकको यो अन्तिम श्रृङ्खला हो । योसँगै प्रदेश परामर्श बैठक सकिने र केन्द्रीय समिति बैठकको तयारीमा जुट्ने सो पार्टीले जनाएको छ । बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठकका अन्य श्रृङ्खलाभन्दा यसपटक भिन्न तरिकाले उच्च जनवादको अभ्यास गरिएको बताउनुभयो । पार्टी केन्द्रीय समितिको बैठकअघि नै सबै केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुले पार्टीको आगामी कार्ययोजनाबारे आफ्नो मत राख्न पाउने गरी प्रदेश परामर्श बैठक आयोजना गरिएकाले यो अहिलेसम्मकै फरक अभ्यास भएको र यसबाट सार्थक परिणाम आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रक्रियाका हिसाबले यो बैठक नै भए पनि सारमा वृहत भेलाकै रुपमा परामर्श बैठकहरु सम्पन्न गरिएको उल्लेख गर्दै उहाँले अब सबै प्रदेश र समितिहरुबाट आएका सुझावलाई केन्द्रीकरण गरेर दस्तावेज तयार गरी आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने बताउनुभयो । बैठकमा सहभागीहरुका धारणा सुनेपछि केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम छ। माओवादी केन्द्रले यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, मधेश प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, प्रवास प्रदेशअन्तर्गत एसिया संगठन समिति र अमेरिका तथा यूरोप संगठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ।  

दुर्गा प्रसाई पक्राउ

काडमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले जानकारी दिएका छन् ।  असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ ।  प्रसाईंसँगै बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । के थियो प्रकरण ?  आफूविरुद्धको पक्राउ पुर्जीलाई प्रसाईंले प्रधानमन्त्री केपी शर्माओलीतिर सोझ्याउँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृसमेत रहेकी टीभी कार्यक्रम प्रस्तोता ज्वाला संग्रौलासम्म घटनाक्रम जोडिएको छ। गत साउन २० गते उनले दुईजना युट्युबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालसँग एउटा आपत्तिजनक अन्तर्वार्ता दिएका थिए । एकजना महिलाको चरित्र हत्या गर्ने गरी प्रसाईंले बोलेका कुराहरू यी दुईजना युट्युबरले जस्ताको तस्तै आफ्नो च्यानलमा प्रस्तुत गरेका थिए । प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य संग्रौलाबारे आपत्तिजनक कुरा बोल्दै गत साउन तेस्रो सात सार्वजनिक रुपमा उनको चरित्रहत्या गरेका थिए । ती दु्ई युट्युबरलाई अन्तर्वार्ता दिने क्रममा उनले ज्वालाले जापानमा वेश्यावृत्ति गरेको जस्तो गम्भीर र आपत्तिजनक लाञ्छना लगाएका थिए ।  

प्रधानमन्त्री ओलीको गुटेर्रेससँग भेट

काठमाडौं ।  नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने जानुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घ भवनमा महासचिव एन्टेनियो गुटेर्रेससँग भेट गर्नुभएको छ । शनिबार दिउँसो स्थानीय समय अनुसार सवा ३ बजे संयुक्त राष्ट्रसङ्घ भवनमा महासचिव एन्टेनियो गुटेर्रेससँग प्रधानमन्त्री ओलीको भेटवार्ता भएको छ।  यसअघि प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार दिउँसो १ बजे ग्यास हाउस अन पार्कमा आयोजित संसदीय मञ्चको कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । 

गलत कदम चाल्दा सरकार सुरुवातकै चरणमा असफल: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत कदम चाल्दा वर्तमान सरकार सुरुवातकै चरणमा असफल बनेको टिप्पणी गर्नुभएको छ । नेकपा माओवादी केन्द्र चितवन–काठमाडौं सम्पर्क समन्वय समितिको आठौं भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै उहाँले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र उपसभामुखलाई हटाउन खोज्ने लगायतका गलत कदमका कारण सरकार सुरुवातकै चरणमा असफल भएको टिप्पणी गर्नुभएको हो । ‘नेपालबाट लोडसेडिङ अन्त्य गरेर उज्यालो नेपाल बनाउन प्राविधिक र विज्ञताका हिसाबले त्यति ठूलो काम गरेर देशभरिका जनताको हृदयमा पसेको कुलमान घिसिङलाई अपमान गरेर निकाल्न खोजियो तर जनताको बिरोधपछि सरकार पछि हट्नुपर्यो’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यस्तै आफैले बनाएको उपसभामुखलाई सोझोपनका कारण गरेको सामान्य प्राविधिक त्रुटिलाई लिएर कानुनी र नैतिक आधारविना नै हटाउन खोजियो, त्यसबाट पनि सरकार पछि हट्नुपर्यो ।’ उपसभामुखले महिला र बालबालिकाको क्षेत्रमा प्राप्त गरेको अन्तर्राष्ट्रिय ख्यातिको समेत बेवास्ता गरेर महिला र जनजाति समुदायलाई अपमान गर्ने गरी हटाउनका लागि हस्ताक्षर गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘त्यो जनतालाई स्वीकार्य थिएन र हामीले पनि अस्वीकार गरेपछि सत्तारुढ दलहरु पछि त हटे तर हस्ताक्षर गरिसकेको बेलामा हटाउन खोजेकै होइन भनेर प्रधानमन्त्रीले संसदलाई ढाँटेको पनि देखियो ।’ वर्तमान सरकारमा भ्रष्टाचार आरोप लागेकै आधा दर्जन व्यक्ति मन्त्री भएकाले यो सरकार सुशासनका क्षेत्रमा निकै कमजोर रहेको उल्लेख गर्दै उहाँले भ्रष्टाचारका विरुद्ध जनताले निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो । आफूले सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डालाई प्रभावकारी रुपमा अघि बढाएको उल्लेख गर्दै उहाँले अब यसलाई समाजवाद निर्माणको आधार बनाएर लैजाने बताउनुभयो । माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कदम चाल्दैगर्दा भ्रष्टाचारीलाई जोगाउन सरकारबाट हटाइएको तथ्य नेता कार्यकर्ताले भन्दा चाँडो जनताले बुझेकोमा आफूहरु खुशी रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी अभियानका कार्ययोजना निर्माण गर्न यसले उर्जा थपेको बताउनुभयो । पार्टी परामर्श बैठकका क्रममा प्रदेशहरुमा पुग्दा र पछिल्लो समय भदौ २९ र ३० गते मोरङ, सुनसरी र झापा पुग्दा प्राप्त गरेको जनसमर्थनले आफू थप उत्साहित भएको पनि उहाँले स्पष्ट गर्नुभयो । ‘जनताले ठूलो पार्टी बनाए तर जनताको विश्वास बचाउन सकिएन । हाम्रो वर्ग र समुदायसँगको सम्बन्ध कमजोर हुँदै गएको साँचो हो’– उहाँले भन्नुभयो– ‘अलिअलि कांग्रेस, अलिअलि एमालेको रोग हामीलाई पनि सरेकै हो तर सबै हिसाबले अहिले फेरि पार्टी पुनर्निर्माणको ठूलो अवसर प्राप्त भएको छ, यसलाई खेर जान दिनुहुन्न ।’ खासगरी सरकारमा रहँदा थालेको भ्रष्टाचारविरोधी अभियानहुँदै विश्व मञ्चमा शान्ति र जलवायु परिवर्तनका मुद्दामा नेपालको पक्षमा लिएको अडानका कारण माओवादी केन्द्रको नेतृत्व थप स्थापित हुने अवसर प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा नेतृत्व अहिलेजस्तो स्थापित कहिल्यै भएको थिएन । मलाई फरक खालको जोश आइरहेको छ ।  अहिले दिनरात खटिरहेको छु ।’ उहाँले अहिले नेपालमा तीनथरि सोंचका बीचमा रस्साकस्सी चलिरहेको बताउनुभयो । ‘अहिले शक्तिको रुपमा कमजोर भए पनि एकथरिले अराजकता मच्चाएर २०४७ सालभन्दा अघिको निरंकुश अवस्थामा मुलुकलाई लैजान सकिन्छ कि भन्ने प्रयासमा छन्’– अध्यक्षले भन्नुभयो– ‘कांग्रेस, एमाले र खासगरी एमालेको एउटा तप्का अहिलेको संविधान स्वीकार गर्न चाहिरहेको छैन । महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुश्लिमले पाएको अधिकार खोजेर २०४७ कै जस्तो संविधान बनाउन पाए हुन्थ्यो भन्नेमा छ ।’ यी दुबै खालेका सोंचका विरुद्ध जनताले नयाँ शक्तिको रुपमा रुचाएका प्रगतिशील, बामपंथी, लोकतान्त्रिक शक्तिहरु जनताको अधिकारको पक्षमा रहेको उल्लेख गर्दै उहाँले माओवादी केन्द्र यही शक्तिको नेतृत्वको गरेर अगाडि बढ्ने बताउनुभयो ।

लोकप्रिय