दलित समुदायको पुर्खौली पेसा संकटमा
कैलाली, वैैशाख १९ । कैलालीको गौरीगंगा नगरपालिका–९ भगवानपुर भन्ने ठाउँका रहेका दलित समुदायको पुर्खौली पेसा संकटमा पर्दै गएको छ ।
आरनमा बनाईने कृषि औजारदेखि सिलाईको काम र बांँस तथा वेदबाट निर्माण गरिने सामग्री अभाव हुन थालेपछि उनीहरुको पहिलेदेखि चल्दै आएको पेसा संकटमा पर्दै गएको हो ।
उक्त सामग्री बनाउनका लागि कच्चा पदार्थ संकलन गर्न धेरै टाढा धाउनुपर्ने हुन्छ । मिहिनेतअनुसार फल नपाएपछि उनीहरु वर्षौदेखिको पुर्खौली पेसाको विकल्प खोज्न थालेका छन् ।
उक्त बस्तीमा करिब १२० घरधुरी दलित समुदायको छ । पहिले यो समुदायका अधिकांश व्यक्ति पुर्खौली पेसाबाट निकै सन्तुष्ट देखिन्थे ।
तर, हिजोआज भने सामग्री निर्माणका लागि कच्चा पदार्थ अभाव हुँदा उनीहरुको पेसा संकटमा परेको छ । यो वस्तीमा अधिकांशले बाँस अनि बेदबाट बन्ने डोको, नांङलो, डालोलगायतका सामग्री निर्माण गर्छन ।
यिनै सामग्री बिक्री भएको पैसाबाट गर्जो टार्दै आएका छन् । पहिले यी सामग्री बचेर जीवन गुजारा चलाउन त्यति समस्या नभएपनि अचेल भने यो पेसाबाट घरव्यवहार चलाउन निकै समस्या भइरहेको स्थानीय उज्वल भूलले गुनासो गरे ।
विभिन्न घरायसी सामग्री निर्माण गरेपनि नजिक बजार नहुँदा आफूहरुलाई झनै समस्या भएको उनले बताइन् । सामान बनाए पनि मेहनत अनुसार मूल्य नपाउँदा पुर्खौली पेसाको विकल्प रोज्नुपर्ने बाध्यता आएको उनको भनाइ छ ।
सरकारले पनि अन्य नागरिकभन्दा फरक ठानेको यो बस्तीका दलित अगुवाको गुनासो छ । चुनावको बेला मात्रै निकै मिठा भाषण दिने तर, चुनाव जितेपछि भने फर्केर नहर्ने गरेको अर्की स्थानीय मैनादेवी भूलले आक्रोश पोखिन् ।
सरकारले पनि आफूहरु जस्ताको पेसा संकटबाट जोगाउन सहयोग गरेमा जीवन निर्वाह गर्न निकै मद्दत पुग्ने उनले आशा व्यक्त गरिन् ।
पुर्खौदेखि बाउ बाजेले आरनमा बनाईने कृषि औजारदेखि सिलाईको काम गरेर जीवन निर्बाह गरेकामा अब भने यही व्यवसाय गरेर जीवन धान्न मुस्किल भइरहेको सो वस्तीका व्यक्तिको भनाइ छ ।
यस वस्तीका अधिकांश परिवारको जग्गा जमिन पनि थोरै छ । जस कारण पनि बर्षदिनमा केही नगरी खान नपुग्ने गरेको स्थानीय धनबहादुर भूलको भनाइ छ । भएको जग्गा पनि अधिकांशको एलानी नै रहेको उनको गुनासो छ ।
यो बस्तीका अधिकांश व्यक्तिमा केही न केही सिप छ । तर, उक्त सीपले आधुनिकरुप लिन नसक्दा उनीहरुको आय आर्जनको माध्यम टुट्दै गएको छ । अब सरकारले उनीहरुको सीपको मूल्याङ्कन गर्दै उत्पादित सामग्रीको बजारीकरणमा सहयोग गर्नुपर्ने दलित अगुवा गंगाराम सुनारले बताए ।
अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ । क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ । उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए । सम्मेलनको उद्घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।
जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा
ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्याली निकालेका छन् । र्यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।
यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे
काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो । टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ । यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।
एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन
काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो । सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।