नेपालको पेट्रोल भारतमा तस्करी !
२२ चैत, काठमाडौं । पछिल्ला वर्षहरूमा नेपालमा पेट्रोलियम पदार्थको आयात ह्वात्तै बढेको छ ।
लोडसेडिङ हटेपछि पेट्रोलियम पदार्थको आयात घट्नुपर्नेमा झनै बढ्नुमा भारततर्फ हुने तेलको तस्करी मुख्य कारक रहेको नेपाल आयल निगमका अधिकारीहरुको विश्लेषण छ ।
पेट्रोलियम पदार्थ आयातको कारोबार गर्ने नेपाल आयल निगमलाई आयात अत्यधिक बढ्दा त्यसको व्यवस्थापन गर्न धौधौ परिरहेको छ । अहिले पेट्रोलियम आयात वार्षिक २० प्रतिशतका दरले बढेको छ । २/३ वर्ष पहिलेसम्म यस्तो वृद्धिदर करिब १०/१२ प्रतिशत मात्र थियो ।
निगमका कार्यवाहक कार्यकारी निर्देशक सुशील भट्टराई भन्छन्, ‘माग बढेको त छ, तर, यो स्वाभाविकचाहिँ देखिँदैन ।’
निगमका अधिकारीहरू आफैं पनि छक्क पर्छन्- कसरी बढेको छ आयात ?
पेट्रोलियम पदार्थको आश्चर्यजनक रुपमा आयात किन र के कारणले बढेको हो भन्ने सम्बन्धमा हालसम्म निगमले कुनै ठोस अध्ययन अनुसन्धान गरेको छैन । तर, आयात बढ्नुमा केवल माग बढ्नुमात्रै भने जिम्मेवार देखिँदैन ।
पछिल्लो समय भारततर्फ हुने तेलको तस्करीलाई आयात बढ्नुको एउटा प्रमुख कारणका रुपमा लिइएको छ ।
यसरी बढ्दैछ नेपालमा आयात
अहिले मासिक पेट्रोल आयात करिब ४० हजार किलोलिटर पुगेको निगमका कार्यकारी निर्देशक भट्टराई बताउँछन् । त्यस्तै, डिजेलको यस्तो आयात एक लाख ४० हजार किलोलिटर पुगेको छ । यसले पछिल्लो समय आयात कसरी बढिरहेको छ भन्ने देखाउँछ ।
आर्थिक वर्ष ०७०/७१ मा नेपालले दुई लाख १४ हजार ५१ किलोलिटर (एक किलोलिटरमा एक हजार लिटर हुन्छ) पेट्रोल आयात गर्यो । यसको मासिक हिसाव गर्दा औसत करिब २१ हजार किलोलिटर हुन आउँछ । उक्त आर्थिक वर्षमा आयात भएको ८ लाख ११ हजार एक सय किलोलिटर डिजेलको मासिक औसत आयात करिब साढे ६७ हजार किलोलिटर हुन आउँछ ।
आर्थिक वर्ष ०७१/७२ मा मासिक औसत २३ हजार किलोलिटर पेट्रोल आयात गथ्र्यो । उक्त आर्थिक वर्षमा डिजेलको मासिक औसत आयात करिब ७५ हजार देखिन्छ ।
आर्थिक वर्ष ०७२/७३ मा पेट्रोलको मासिक आयात करिब २० हजार किलोलिटरमा झर्यो, डिलेज करिब ६५ हजारमा । पाँच महिना लामो नाकाबन्दीका बावजुद पनि ठूलै परिमाणमा पेट्रोलियम आयात रोकिएन ।
गत आर्थिक वर्षमा नेपालमा मासिक साढे ३३ हजार किलोलिटर पेट्रोल आयात भयो भने डिजेल १ लाख आठ हजार किलोलिटर ।
‘तस्करी गर्नेमाथि कारवाही गरिरहेका छौं’
निगमको पूर्वाञ्चल कार्यालय प्रमुख भानु खनाल तेल तस्करीका घटनामा पछिल्लो समय कमी आएको दावी गर्छन् ।
स्थानीय प्रहरी प्रशासन स्थानीय तह लगायतमार्फत सिमा नाकाबाट हुने तस्करीलाई कडाइ गरिएको निगम बताउँछ ।
‘मोरङ र सुनसरीका केही पम्पमा त हामीले गाउँपालिका र नगरपालिकाको निगरानी र सिफारिसबिना पेट्रोलियम बिक्रीमा रोक लगाएका छौं,’ पूर्वाञ्चल क्षेत्रीय कार्यालय प्रमुख खनालले भने । नेपालबाट बाहिरीने ट्रक/ट्याङ्करलाई तेल बोकेर गए/नगएको परीक्षण सुरु गरिएको उनको भनाइ छ ।
नाकाबन्दीदेखि नै फस्टाएको तस्करी
नेपालमा संविधान जारी भएसँगै असोज ०७२ सालमा भारतले नाकाबन्दी लगायो । त्यसक्रममा इन्धन आयात ठप्पप्रायः हुनपुग्यो, झण्डै पाँच महिना । उक्त समयमा तस्करीको मार्गबाट ठूलो परिमाणमा पेट्रोलियम आयात भयो । भारतसँग खुला सीमाना भएका कारण सीमानाका आसमासमा स-सानो परिमाणमा पेट्रोलियम यताउता हुनु स्वाभाविक भए पनि यो प्रवृत्ति पछिल्ला वर्षहरूमा झाँगिदै गएको छ ।
सीमानाकाबाट खुल्लमखुला नेपाल आयात भएको तेल भारत फर्किएर जान थालेको छ ।
उदाहरणका लागि अहिले दैनिक करिब चार सय ट्याङ्करले भारतबाट पेट्रोलियम ओसार्छन् । भारतबाट आयात गरेको तेल नेपालका डिपोमा खन्याएर जाने क्रममा पूरा ट्याङ्कर भरेर लाने र त्यसले ठूलो परिमाणमा नेपाल आएको तेल भारत नै फर्किएर जाने गरेका छन् ।
यसबाहेक एउटा नाकाबाटै दैनिक २/३ सय ट्रक/ट्याङ्कर सीमा नाकाबाट ओहोर-दोहोर गर्छन् । ठूला क्षमताका ती सवारीबाट पनि धेरै परिमाणमा तेल बाहिरिने गरेको छ । सीमानामा आवत-जावत गर्ने मानिसहरूबाट पनि अनौपचारिक रुपमा तेल बाहिरिने गरेको छ ।
नेपाल र भारतको मूल्यअन्तर
अहिले भारतमा पेट्रोलियमको मूल्यले ऐतिहासिक रेकर्ड चुमेको छ । मंगलबारसम्म भारतको दिल्लीमा प्रतिलिटर पेट्रोलको मूल्य ७४ भारु र डिजेल करिब ६५ भारु (नेरु १०४) छ । अहिले भारतमा पेट्रोल ८२ भारु (नेरु १३०) र डिजेल ६५ भारु (नेरु १०४) सम्म पुगेको छ ।
जबकि नेपालमा अहिले प्रतिलिटर पेट्रोल १०५ र डिजेल ८५ रुपैयाँमा कारोबार हुन्छ ।
प्रतिलिटर मूल्यमै धेरै अन्तर हुँदा नेपालको तेल फर्केर भारत नै जाने गरेको निगमको भनाइ छ ।
अहिले नेपाल र भारतमा पेट्रोलियमको मूल्य अन्तर प्रतिलिटर २९ रुपैयाँसम्म पुगेको छ । निगमका अनुसार अहिले मोरङको जोगबनी नाकामा वारि-पारि (नेपाल-भारत) पेट्रोलियमको मूल्य अन्तर सबैभन्दा उच्च छ । जहाँ कारोबार हुने डिजेल भारतको भन्दा प्रतिलिटर २९ रुपैयाँ १० पैसा सस्तो छ । पेट्रोल २५ रुपैयाँ ३१ पैसा सस्तो छ ।
त्यस्तै, जनकपुरमा पाइने डिजेल भारतको भन्दा प्रतिलिटर २८ रुपैयाँ ९१ पैसा सस्तो छ भने पेट्रोल २५ रुपैयाँ ३१ पैसा सस्तो छ । नेपालको वीरगञ्जमा पेट्रोलपम्पले बेच्ने डिजेल भारतको रक्सौलको भन्दा २७ रुपैयाँ ५८ ले सस्तो छ भने पेट्रोल २३ रुपैयाँ ६४ पैसा सस्तो छ ।
झापाको काँकडभिट्टा किनेको त्यही डिजेल पारिपट्टि पानीट्याङ्कीमा किन्दा २७ रुपैयाँ ५८ पैसा महंगो पर्छ भने पेट्रोल नेपालको भन्दा १९ रुपैयाँ ९२ महंगो छ ।
नेपालगञ्ज र धनगढीमा पेट्रोलको मूल्य अन्तर करिब १७ रुपैयाँ र डिजेलको यस्तो अन्तर करिब २१ छ ।
सीमानाकाको वारि-पारि नै यतिको फराकिलो मूल्य अन्तर हुँदा त्यसले तस्करीलाई बढावा दिएको निगमका अधिकारीहरुको तर्क छ ।
सामञ्जस्य नहुँदा समस्या
नेपालले पेट्रोलियममा स्वचालित मूल्य प्रणाली अंगालेको छ । यसको अर्थ भारतमा तेलको मूल्य तलमाथि हुँदा यहाँ पनि मूल्य घटबढ हुने हो ।
यही स्वचालित मूल्यप्रणाली अनुसार अहिले निगमले पाक्षिक रुपमा मूल्य समायोजन गर्छ ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा छिटोछिटो उतारचढाव आउन थालेपछि भारतले पछिल्लो समय दैनिक मूल्य समायोजन गर्न थालेको छ । भारत गत जून १६ देखियता दैनिक मूल्य समायोजनमा गएको हो । त्यसअघि भारतले पनि १५/१५ दिनमा मूल्य समायोजन गथ्र्यो ।
करिब चार वर्षअघिसम्म नेपालमा पेट्रोलियमको मूल्य प्रतिलिटर १५/१६ रुपैयाँसम्म महंगो पथ्र्यो, भारतको भन्दा । नाकाबन्दीको समयसम्म नेपाल र भारतको मूल्य अन्तर झण्डै बराबरी थियो ।
माघ ०७२ ताका भारतमा डिजेलको मूल्य ४५ रुपैयाँ भारु (नेरु ७२) को हाराहारीमा थियो । त्यतिबेला भारतमा डिजेलको अधिकतम मूल्य ५१ भारु (नेरु ८२ सम्म) पुगेको देखिन्छ ।
त्यति नै बेला नेपालमा डिजेलको यस्तो मूल्य ७५ रुपैयाँ थियो । अर्थात उक्त समयमा नेपाल र भारतमा डिजेलको मूल्यमा खासै अन्तर थिएन ।
सोही समय भारतमा ६० भारु (नेरु ९६) देखि ६६.९ भारु (नेरु १०५) को बीचमा पेट्रोलको मूल्य रहँदा नेपालमा ९९ रुपैयाँ थियो ।
भारतले पेट्रोलियम पदार्थमा उच्च कर लगाउन थालेपछि पछिल्ला वर्षहरूमा त्यहाँ मूल्य उच्च हुन थालेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य आकाशिँदै जानु र उच्च करकै कारण पछिल्ला वर्षहरूमा भारतमा तेलको उकालो लाग्दैछ ।
माघ ०७३ मा नेपालमा पेट्रोलको प्रतिलिटर मूल्य १०१ रुपैयाँ ५० पैसा थियो, डिजेलको ७७ रुपैयाँ ५० पैसा थियो । जब कि सोही समय भारतमा पेट्रोल ७१.१४ भारु (नेरु ११४) देखि ७७.४६ भारु (नेरु १२४) र डिजेलको मूल्य न्यूनतम ५९.०२ भारु (नेरु ९४) देखि ६५ भारु (नेरु १०४)सम्म पुगेको देखिन्छ ।
०७४ माघमा आइपुग्दा नेपालमा पेट्रोलको मूल्य १०३ रुपैयाँ छ भने डिजेलको मूल्य ८१ छ । सोही समयमा भारतमा डिजेल ६२.०६ भारु (नेरु ९९) देखि ६५.४२ भारु (नेरु १०४) र पेट्रोल ७१.३९ भारु (नेरु ११४) देखि ७९ भारु (नेरु १२७) सम्म पुगेको छ ।
आज पनि भारी वर्षा हाेला ?
काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।” हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल
झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
पर्सामा दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

