पालिकालाइ मिडियाकर्मीको निगरानीमा राखेर भ्रष्टाचार अन्त्य गरिन्छ : राजन पौडेल
के के छन् जितपुर सिमरामा राजन पौडेलका जीतका आधारहरु ?
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट जीतपुरसिमरा उपमहानगरपालिकाको मेयरका लागि राजन पौडेल उम्मेदवार हुनुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिका– ३ सिमरा, वजिनीका स्थानीय वासिन्दा पौडेल जनयुद्धकालदेखि माओवादीमा सक्रिय हुनुहुन्छ । स्कुले जीवनबाट राजनीतिमा चासो राख्नुहुने उहाँ पहिला एमाले निकट विद्यार्थी संगठनमा आवद्ध भए पनि २०५५ सालदेखि काठमाडौंमा माओवादीनिकट विद्यार्थी संगठनमा आवद्ध हुनुभएको हो ।
२०५७ सालमा माओवादीको पूर्णकालीन सदस्य तथा सोही वर्ष काठमाडौं क्याम्पस स्ववियू सदस्यमा पनि निर्वाचित बन्नुभएको थियो । स्नातकसम्म अध्ययन गर्नुभएका उहाँ २०५८ सालमा संकटकालका बेला गिरफ्तार भई एक वर्षपछि छुट्नुभयो । त्यसको एक वर्षपछि पुनः पक्राउ परी २८ महिनासम्म विभिन्न हिरासतमा रहनुभएको थियो । दोस्रो जनआन्दोलनपश्चात् जेठ १० गते उहाँ रिहा हुनुभयो । त्यसपश्चात् पार्टीमा सक्रिय बारा जिल्लालाई कार्य क्षेत्र बनाएर निरन्तर क्रियाशील हुनुुहुन्छ । मधेस–प्रदेश कमिटी सदस्यसमेत रहनुभएका पौडेल २०७४ सालको स्थानीय निर्वाचनमा पनि सोही क्षेत्रमा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवारी दिनुभएको थियो । कडा प्रतिष्पर्धाका बीच पराजित हुनुभएका उहाँ जीतपुरसिमरा क्षेत्रमा हारेको प्रतिनिधिका रुपमा नभईं जित हासिल गरेको प्रतिनिधिका रुपमा काम गर्दै आउनु भएको छ । जनताप्रति उहाँको लगनशील र उत्तरदायित्वका कारण यसपटक जीत सुनिश्चित भएको विश्वास व्यक्त गर्नुहुन्छ ।
जितपुरसिमराकोे विशेषता
राष्ट्रिय जनगणना २०६८ अनुसार नवघोषित जितपुर–सिमरा उपमहानगरको जनसंख्या ११४,१८५ रहेको छ । त्यस्तै क्षेत्रफल ३०९.६७ वर्ग किमि रहेको छ । यो क्षेत्र औद्योगिक करिडोरको क्षेत्र हो । वीरगन्ज–पथलैया करिडोरका अधिकांक्ष क्षेत्र यस उपमहानगरपालिकाभित्र पर्छ । साना–ठूला उद्योगहरु, मुलुकको जेठो विमानस्थल, पर्सा राष्ट्रिय निकुञ्ज लगायत यहाँ छन् । मुख्य पेशा कृषि भएकाले यो क्षेत्रका ठूलो भूभागहरु यो क्षेत्रमा रहेको छ । पछिल्लो एक दसकमा सिमराले विकासमा परिचय फेरेको छ । राजनीतिक, आर्थिक, सामाजिक र बहुआयामिक रूपमै सिमराको विकास तीव्रगतिमा अघि बढेको छ ।
निर्वाचनमा एजेण्डा
अघिल्लो स्थानीय निर्वाचनमा नेकपा एमालेले नेतृत्व गरेको यस उपमहानगरपालिका सुशासनमा पछाडिबाट दोस्रोमा र भ्रष्टाचारमा पहिलो नम्बरमा परेको चर्चा परिचर्चाहरु छन्। यसले गर्दा नगरवासीको मनोबल गिरेको छ । त्यो मनोबललाई उच्च मनोबलमा अगाडि बढाउने आफ्नो प्रमुख एजेण्डा भएको उहाँ बताउनु हुन्छ ।
जीतपुरसिमरा उपमहानगरपालिका ठूला १७ वटा संरचनाभित्र परे पनि यहाँ अहिलेसम्म गतिलो अस्पताल छैन । त्यसैले गतिलो अस्पताल निर्माणका लागि श्रम मन्त्रालयमार्फत् पक्रिया अघि बढाइएको उहाँले बताउनु भयो । त्यस्तै, स्वास्थ्य क्षेत्रको सुधार, सार्वजनिक शिक्षाको सुधार, कृषि क्षेत्रको सुधारका लागि किसानको गोठ र खेतमा पुग्ने कार्यक्रम बनाएर अघि बढ्ने बताउनु भयो । खास गरी पर्सा निकुञ्जलाई केन्द्रित गरेर पर्यटन क्षेत्रको विकासका लागि क्रियाशील हुने, भारतीय पर्यटकहरु यहाँ अत्यधिक आउने हुनाले महानगरवासीमा रोजगारीको सिर्जना गर्न सकिने हुनाले त्यस क्षेत्रमा पनि काम अघि बढाउने सोच रहेको बताउनु भयो । कलकारखाना सञ्चालनका कारण वातावरण प्रदुषणले स्थानीयहरुबीच द्वन्द्वको स्थिति सिर्जना भएकाले त्यसको नियन्त्रणका लागि वातावरणीय प्रदुषण नियन्त्रणका लागि उद्योगधन्दाहरुलाई सरकारले तोकेको मापदण्डभित्र ल्याएर औद्योगिक वातावरण सिर्जना गर्ने सोच रहेको छ ।
सार्वजनिक शिक्षा सुधारका लागि आवश्यक काम गर्ने । शैक्षिक योजनाहरुसँगै तल्लो तहदेखि नै आधारभूत तथा माध्यमिक तहबाट नै मानवीय संवेदनाबारे सिकाउने, महिला हिंसामुक्त गर्ने, संस्कार र संस्कृतिको नाउमा गरिने रुढीवादी परम्परालाई निर्मूल पार्ने, वैज्ञानिक तथ्यसहितका कुराहरुलाई अनुसरण गर्ने हिसावको वातावरण निर्माण गर्नेलगायतका शिक्षा नियमहरु अघि सार्ने । वातावरणमैत्री विकासलाई अघि बढाउने । कृषि, औद्योगिक, घरेलु तथा साना उद्योगहरुसँग जोडिएर स्वरोजगारका विषयलाई अघि बढाउने । खेलकुद क्षेत्र नेकपा माओवादी केन्द्रकै पहलमा रंगशाला निर्माण कार्य अघि बढाइएको छ, थप काम गर्र्दै जाने । साथै, कला साहित्य संस्कृति तथा नाटकको क्षेत्रमा पनि विकास गरिन्छ । भाषिकको हिसावले भोजपुरी भाषालाई प्रोत्साहित गर्ने उद्देश्यले काम गर्दै जाने तयारी छ ।
जितको आधार
अघिल्लो पटक पनि उम्मेदवार हुँदा प्रतिष्पर्धात्मक हिसावले पराजित हुनुभएका पौडेल यस पटक जीत सुनिश्चित भएको दावी गर्नुहुन्छ । अघिल्लो निर्वाचनमा हार व्यहोरेपनि त्यहाँका जनताबाट आफू कहिल्यै टाढा नभएको, जनताको घर दैलोमा जाने, उहाँहरुको दुःख सुखमा सहभागी हुने, जनताको समस्याहरु समाधानतर्फ निरन्तर लाग्ने गरेका कारण पछिल्लो ३ वर्षयता उहाँलाई हारेको राजन पौडेल नभई जनताले मेयरकै रुपमा स्वीकार गरिसकेका छन् । जनताप्रतिको उत्तरदायी र इमान्दारिताले अबको मेयर उहाँलाई नै पक्का छ ।
त्यस्तै पहिलेको तुलनामा माओवादी संगठन पनि सुदृढीकरणतर्फ लागेको छ । पार्टीको भेला, सम्मेलन महाधिवेशनसम्म हुँदा माओवादीको संगठन मजबुत भएको देख्न सकिन्छ । यसले पनि जित सुनिश्चिततातर्फ बढेको हो । त्यस्तै नेपाली कांग्रेससँगको गठबन्धनका कारण पनि भारी मतान्तरले विजयी हुने निश्चित छ । कांग्रेसले पनि नेवि संघको अध्यक्षको दावेदार मिरा शाहीलाई उपाध्यक्षका लागि प्रस्तावित गरेको छ । यसले गर्दा गठबन्धनले भारी मतान्तरले चुनाव जित्ने निश्चित छ ।
भ्रष्टाचार निवारण
माओवादी केन्द्रले जित हासिल गरेमा भ्रष्टाचारलाई निर्मुल पार्न सकिन्छ । भ्रष्टाचार देशकै पहिलो स्थानमा परेको यस क्षेत्रको चौतर्फी आलोचना भइरहेकामा हामी त्यसलाई सुधार गर्न सक्छौं । सुशासन कायम गरी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक काममा लाग्नेछौं । सामुहिक हिसावले नगरपालिकाको हित, आम जनसमुदायको हितमा केन्द्रित रहेर कार्ययोजनाहरु निर्माण गर्नेछौं । अघिल्लो कार्यकालमा नगरसभा पंगु तरिकाले संचालित भएको देख्न सकिन्छ । हामी त्यसलाई अत्यन्त शक्तिशाली र नगरसभाको भाव मर्म अनुसार संचालन गर्नेछौं, र सोही अनुसार कार्ययोजनाहरु बनाएर कार्यपालिकाबाट अन्तिम निर्णय गराएर हामी अगाडि बढ्छौं । मिडियाकर्मी सामु सम्पूर्ण सूचनाहरु पारदर्शी तरिकाले राख्नेछौं, नगरपालिकालाई मिडियाकर्मीहरुको निगरानीमा राखेर भ्रष्टाचार अन्त्य गर्न सक्छौं।
उपनिर्वाचन : भोलिबाट मौन अवधि
काठमाडौं । बुधबार (भोलि) राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने (मौन) अवधि सुरु हुने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।
रिक्त २३ पदहरूमा उपनिर्वाचनको तयारी, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै नाम दर्ता गर्न आह्वान गरेको हो । आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, “मतदाता दर्तासम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ । तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिण्सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,” मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । ०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन र मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएपछि रिक्त पदहरूमा उपनिर्वाचन गर्ने तयारी आयोगले गरेको छ । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका २३ पदहरू रिक्त रहेकाले उपनिर्वाचन गर्नुपर्ने आयोगले जनाएको छ । उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरिएको आयोगले जनाएको छ ।
आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रिय सभा चुनावको प्रतिवेदन
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार शितल निवासमा राष्ट्रपति पौडेललाई चुनाव प्रतिवेदन बुझाएका हुन्। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन थपलियाले राष्ट्रपति पौडेललाई पेश गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। १९ सदस्यका लागि गत माघ ११ गते राष्ट्रिय सभा चुनाव भएको थियो। जसमा विभिन्न ८ दलका ५१ जना उम्मेदवार थिए। सत्ता गठबन्धनका विभिन्न दलबाट १८ र नेकपा (एमाले) बाट एक जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।
राष्ट्रिय सभा निर्वाचन सत्ता गठबन्धन १८ र १ सिटमा एमाले विजयी
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ । बिहीबार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा कांग्रेसले माओवादी केन्द्रलाई घात गरेका कारण एमालले माओवादी केन्द्रबाट एक सिट खोस्न सफल भएको छ । राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मणि कोईराला, मधेस प्रदेशबाट गठबन्धबाट नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित भए । त्यस्तै, गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै कांग्रेसका पदमबहादुर परियार, कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मनरुपा शर्मा निर्वाचित भए। लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी निर्वाचित भए । कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली कंँग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समावादी) का सावित्री मल्ल, नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित भए। सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नरायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र)का रेणु चन्द निर्वाचित भए । राष्ट्रिय सभामा १९ सिटका लागि बिहीबार मतदान भएको हो । जसमा नेपाली कांग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जितेको छ । त्यस्तै, जनता समाजवादी पार्टीले एक सिट जितेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ ।