बद्री खनालको कमाउने धन्दा, भूकम्प पीडितको नाममा करोडौं ठगी
काठमाडौँ । मान्छेले पैसा कमाउनको लागि जुनसुकै हर्कत गर्नपछि नपर्ने ताजा उदाहरण काठमाडौँको नजिकै रहेको गोकर्णेश्वर नगरपालिका–१ मा बद्री खनाललाई हेरे पुग्छ ।
उनी कतिसम्म निच र गैर जिम्मेवारी रहेछन् भन्ने ताजा उदाहरण हेर्ने हो भने वीपी संग्रहालयको पूर्वपट्टि रहेको पाँच तले घरमा गएर हेर्दा सबै छर्लङ्ग हुन्छ ।
साविकको नयाँपाटी गाविस वडा नं २ हालको गोकर्णेश्वर नगरपालिका वडा नं १ ऐतिहासिक सुन्दरीजल बन्दी गृह (हाल बिपी संग्रहालय) मुनिको रुप्सेटारका एक स्थानीयले भूकम्पका नाममा करोडौँको खेती गरिरहेको रहस्यमय उद्घाटन भएको हो ।
विगतमा भूमाफियाका रुपमा सार्वजनिक जग्गासमेत व्यक्तिको नाममा दर्ता गरेर प्लटिङ गरी बेचेर करोडौँ कुम्ल्याएका बद्री खनाल नाम गरेका व्यक्तिले आफ्नो जग्गामा बनेको टहरामा विभिन्न जिल्लाबाट आएका भूकम्प पीडित राखेर भाडा लिँदै आएका छन् ।
ती टहरामा आफूले भूकम्पपीडित राखेर सामाजिक सेवाको काम गरेको भन्दै उनले विदेशी संस्थासँग मासिक हजारौँ डलर असुल्दै आएका छन् । विजेता एकता कम्युनिटीका नाममा उनले सामाजिक सेवा गरेको नाममा कमार्इ खाने भाँडो बनाएका हुन् ।
यस सम्बन्धी सूचना प्राप्त भएपछि स्थलगत समाचार संकलनका लागि सुन्दरीजल पुगेको यस समाचारदाताकै आँखा अगाडि युरोपियन मूलका विदेशी लिएर खनाल हिँड्दै थिए । स्थानीयवासीका अनुसार खनालका घरमा हप्तैपिच्छे नयाँ नयाँ विदेशी समूह आइरहेको हुन्छ । यसरी आउने विदेशीलाई यिनले सुन्दरीमाई होम स्टेका नाममा घरमा राख्ने गरेका छन् ।
उनका आफन्त विदेशमा रहेकाले तिनले डलरवादी संस्थासँग सम्पर्क गराइदिने गरेको स्थानीयवासीले बताएका छन् । यी भू माफियाले बच्चालाई पढाउने नाममा समेत करोडौँ कुम्ल्याउँछन् । यिनका घरमा हप्तैपिच्छे विदेशी कुइरे आउने गरेका छन् । विदेशी आउने दिन टोलभरिका बच्चा जम्मा गरेर स्थानीय सुसन भण्डारीले पढाउँछन् ।
ती कुइरे मार्फत् विदेशी संस्थाले भूकम्प पीडित र बच्चा पढाउने नाममा लगानी गर्छन् । माफिया खनालले यसका लागि संस्था नै खोलेका छन् ।
पहिले संस्थाको बोर्ड घरमा राखेपनि हाल हटाएर गुपचुप रुपमा डलर खेती गर्दै आएका छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको सल्लाहमा बोर्ड हटाएर डलर खेती गरेका हुन् । त्यसवापत् ती जनप्रतिनिधिलाई पनि यिनले नजराना टक्र्याउने गरेका छन्।
उनको यो धन्दामा स्थानीय सरकार मौन रहनु अझ रहस्यपूर्ण छ ।
यो डलर खेतीका पछि एउटा गिरोह नै लागेको स्थानीयको भनाई छ । त्यससम्बन्धी प्रतिवेदन प्राप्त भएपछि हामी सार्वजनिक गर्दैै जानेछौँ ।
भूकम्प पीडित र बच्चाका नाममा डलर खेती गर्दै आएका खनालले गलत बाटोबाट कमाएको पैसाका आडमा स्थानीयवासीमाथि समेत थिचोमिचो गर्ने गरेका छन् । घरको ट्वाइलेटको ढल सिधै निकालेर राजकुलोमा हाली अरु घरका मानिसलाई बस्न नसक्ने बनाएका छन् ।
राजकुलोको पानी पहिले आफ्नो जग्गाको सीमाबाट जाने गरेकामा हाल एक स्थानीय सोझा वृद्धालाई फकाएर उनको जग्गाबाट पठाएका छन् । ती स्थानीयको घर नै डुबानमा पर्ने खतरा बढाएका छन् । पहिलेदेखि उद्दण्ड स्वभावका यी भूमाफियाले त्यस क्षेत्रमा आतंक नै मच्चाएका छन् ।
स्थानीय निकाय हुँदैदेखि साविकको नयाँपाटी गाविसको बजेटमा तर मार्न पल्केका यिनले खानेपानी योजना र सडकका नाममा समेत बजेट हिनामिना गरी कालोसूचीमा परेका थिए ।
यिनलाई उपभोक्ता समितिको अध्यक्ष बनाई बजेट बाँडेर खाने नयाँपाटी गाविसका तत्कालीन सचिव रामेश्वर धिमाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत तानिएका थिए । धिमालले अख्तियारमा समेत सेटिङ मिलाएर फुत्कन सफल भएकाले त्यसबेला यो घटना सार्वजनिक भएन ।
डेढ दशक अघि तिलगंगामा रहेको शान्ति सेवा गृह नामको संस्थाका पदाधिकारी सुन्दरीजल क्षेत्रमा जग्गा खोज्दै जाँदा खनालसँग सम्पर्क भयो । यिनले दलाली गरेर १० रोपनी जग्गा किनाए । त्यो सम्बन्धले यिनी शान्ति सेवा गृहको उपाध्यक्षसम्म बने ।
शान्ति सेवा गृह त्यही संस्था हो जसले अपांग राख्ने नाममा खेतीपाती गर्दै आएको छ । जग्गा मिलाएको सम्पर्कले उनी त्यो संस्थामा छिरे । शान्ति सेवा गृहका विषयमा खोज पत्रकारिता केन्द्रले समेत खोजी समाचार बनाएका थिए । जसमा करोडौँ भ्रष्टाचार भएको तथ्य सार्वजनिक भएको थियो । कृष्ण गुरुङले खनाललाई शान्ति सेवा गृहमा छिराएका थिए ।
संस्था खोलेर विदेशी भित्र्याउन पाए शान्ति सेवा गृहको जस्तै लूट मच्चाउन पाइने मनोकांक्षाले यिनले विजेता नामको संस्था खोलेका हुन् । संस्थाको अध्यक्ष खनाल आफैँ हुनुहुन्छ । महासचिव भने पवन भण्डारी रहेको उहाँले जानकारी दिए । शान्ति सेवा गृहको कार्य समितिमा नेपाली भएपनि यसको पृष्ठभूमिमा जर्मन नागरिक मारियाना नामकी महिला छिन् ।
त्यही संस्थामा गरेको भ्रष्टाचारले यिनले अहिले सुन्दरीजलमा पाँचतले भव्य महल ठड्याएका छन् । विदेश सामान पठाउन यिनले शुरुमा ठमेलमा कार्यालय खोले । त्यसपछि त्यो कार्यालय चुच्चेपाटी सर्यो । हाल चुच्चेपाटीबाट टहराकै एउटा कोठामा सारेका छन् । विदेश सामान पठाउने संस्थाको कम्पनी खोलेर कर तिर्नुपर्ने कानूनी व्यवस्थाको पनि खनालले उल्लंघन गरेका छन् ।
सामाजिक सेवाका नाममा आउने विदेशीले सामान ओसार पसार गर्छन् । कहिले स्वदेशीलाई पनि बाहिर जाने आउने क्रममा सामान ओसार पसारका लागि यिनले प्रयोग गर्ने गरेको स्थानीयले जनाएका छन् ।
स्थलगत समाचार संकलनका क्रममा संस्था जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा समेत दर्ता भएर कर पनि तिरिरहेको खनालले दावी गरे । तर वडा अध्यक्ष राम मानन्धर भने कर नतिरेको बताउँछन् ।
“त्यो संस्था र खनालले गरेको क्रियाकलापका बारेमा पहिल्यैदेखि मलाई शंका थियो, केही समय अघि कोठा खाली गर्न प्रहरीसहित म जाँदा जीर्ण भवनमा बच्चा पढाउने गरेको देखेँ, संस्था दर्ता भए÷नभएको कार्यालय खुलेपछि अभिलेख हेर्नुपर्छ”–उनले भने।
वडा अध्यक्षलाई भने खनालले स्थानीय बच्चालाई निःशुल्क ट्युशन पढाउने गरेका बताएका रहेछन् । स्थानीयवासीका अनुसार भूकम्प पीडित बच्चाका नाममा उनले त्यहाँ बच्चा जम्मा गरी विदेशबाट आएको जडौरी कपडा बाँड्ने गरेका छन् । तिनका नाममा कति सहयोग लिएर खान्छन् । त्यसको कुनै पारदर्शिता छैन ।
खनालले कमाइ खाने भाँडो बनाएको टहरामा बस्ने भूकम्प अति प्रभावित सिन्धुपाल्चोक दुवाचौरकी माया तामाङ २०७४ साल वैशाखदेखि यहाँ बस्छिन् । एउटा कोठाको मासिक रु दुई हजार तिर्ने गरेको उनले सुनाइन् ।
यसैगरी यो टहरामा सुरेश तामाङ, महेश तामाङ, रामसिंह तामाङ लगायतको परिवार पनि यहाँ मासिक रु दुई हजार नै तिरेर बसिरहेका छन् । खनालले भने विदेशीसँग यी सबै भूकम्प प्रभावित जिल्लाका पीडित भएकाले बस्ने, खाने लगायत आधारभूत आवश्यकता पूर्ति गरिदिएको भनी सहयोग लिने गरेका छन् ।
तामाङ समुदायका यी सोझा नागरिकलाई आफ्ना नाममा यस किसिमको खेतीपाती भइरहेको छ भन्नेसम्म थाहा छैन । विदेशीले विपन्नवर्गका जनजातिका नाममा काम गर्ने भनी खुलेका संस्थालाई क्रिश्चियानिटी फैल्याउन सहयोग गर्ने गरेका छन् ।
राजधानीकै कुनामा खुलेका संस्था र होम स्टेमा विदेशी बसेर धर्मान्तरणका योजना बुनी रहँदा स्थानीय सरकार भने बेखबर रहेको वडा अध्यक्ष मानन्धरको भनाईले पुष्टि गर्छ । प्रदेश र संघीय सरकारको यहाँसम्म ध्यान जाने कुरै भएन ।
कसैको ध्यान नजाँदा खनालजस्ताको परिवार त सम्पन्न बन्ला । तर राष्ट्र र राष्ट्रियता भने कमजोर बन्ने निश्चित छ । कार्यालयमै बसेर करको दर कहाँ कहाँ बढाउन सकिन्छ भनेर लाग्ने स्थानीय तह भने आफ्नै कार्यक्षेत्रभित्र के भइरहेको छ भनी बेखबर रहनुले गाउँकै सिंहदरबारको कमजोरीका रुपमा लिन सकिन्छ ।
देशको टोल टोलमा हुने यस्ता घटनामा सबै तहका सरकारको ध्यान जानु जरुरी छ । अन्यथा दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको भोगाई नेपालीले नभोग्नुपर्ला भन्न सकिन्न ।
बजेटमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध होः पूर्वअर्थमन्त्री वर्षमान पुन (भिडियाेसहित)
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ ले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेर गरिएको विषयलाई गम्भीर आर्थिक अपराधको संज्ञा दिँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले वर्तमान अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाटै करका केही दरहरू हेरफेर गरिएको स्वीकार गरेको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यूले संसद्को रोष्ट्रममा उभिएर सात वटा करका दरहरू हेरफेर गरेको कुरा खुला रूपमा स्वीकार गर्नुभएको छ। यो देशको अर्थतन्त्र र सार्वजनिक विश्वासमाथि गरिएको गम्भीर आर्थिक अपराध हो।’ सुरुमा विपक्षी दलहरूले राष्ट्र र जनताको सरोकारसँग जोडिएका विषयमा सामान्य जिज्ञासा मात्रै राखेको भए पनि अर्थमन्त्रीले त्यसलाई गम्भीर रूपमा नलिई अहंकारी शैलीमा जवाफ दिएको पुनको आरोप थियो। उहाँले अर्थमन्त्रीको व्यवहारले संसद्को गरिमा र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको टिप्पणी गर्नुभयो। ‘अपराध सानो–ठूलो हुँदैन’ वर्तमान अर्थमन्त्रीले विगतमा पनि यस्ता अभ्यास हुने गरेको तर्क गर्दै आफ्नो बचाउ गर्न खोजेको आरोप लगाउँदै पुनले त्यसको कडा प्रतिवाद गर्नुभयो। उहाँले भन्नुभयो, ‘पुरानाले पनि गरे, अघिल्ला वर्षमा पनि भयो भनेर अहिलेको गल्तीलाई वैध बनाउन सकिँदैन। अपराध भनेको अपराध नै हो। चाहे ७३ वटा करका दर हेरफेर गरिएका हुन् वा एउटा मात्रै, त्यसको प्रकृति बदलिँदैन।’ उहाँले विगतका कमजोरी देखाएर वर्तमानमा भएको नीतिगत भ्रष्टाचारलाई ढाकछोप गर्न नहुने धारणा राख्नुभयो। ‘मेरो कार्यकालको पनि छानबिन होस्’ आफू स्वयं पनि पूर्वअर्थमन्त्री रहेको स्मरण गराउँदै पुनले आफ्नो कार्यकालको समेत छानबिन गर्न सरकारलाई खुला चुनौती दिनुभयो। उहाँले संसद्मा भन्नुभयो, ‘म आजको मात्रै कुरा गरिरहेको छैन। दुई वर्षअघि मैले पनि बजेट ल्याएको थिएँ। यदि कसैलाई शंका छ भने मेरो कार्यकालको पनि छानबिन होस्, गत वर्षको पनि होस् र यस वर्षको पनि निष्पक्ष छानबिन गरियोस्। सत्य जे हो, त्यो देशका सामु आउनुपर्छ।’ सभामुखको रुलिङ र विशेष समिति गठनको माग भाषणको अन्त्यमा पुनले संसद्को गरिमा जोगाउन, बजेट निर्माण प्रक्रियामा भएको भनिएको हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न तथा नीतिगत भ्रष्टाचारको छानबिन गर्न सभामुखबाट तत्काल रुलिङ हुनुपर्ने माग गर्नुभयो। उहाँले करका दर हेरफेरमा बिचौलियाको प्रभाव र चलखेल भएको आशंका व्यक्त गर्दै त्यसबारे सत्य तथ्य बाहिर ल्याउन विशेष संसदीय छानबिन समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो। करका दर हेरफेरको विषयलाई लिएर विपक्षी दलहरूले संसद्भित्र र बाहिर निरन्तर प्रश्न उठाइरहेका बेला पूर्वअर्थमन्त्री पुनको यो अभिव्यक्तिले उक्त विवादलाई थप राजनीतिक र संसदीय महत्व दिएको छ।
प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर
काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।
गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।

