बागमतीमा फोहोर फाल्ने र जग्गा मिच्नेलाई ड्रोन क्यामेराले हेर्ने

बागमतीमा फोहोर फाल्ने र जग्गा मिच्नेलाई ड्रोन क्यामेराले हेर्ने

काठमाडौँ, माघ २९ । बागमती सफाइ महाअभियान सुरु भएको १९६ औँ हप्ता बित्दा समेत सोचेअनुरुप नदी सफाइ हुन नसकेपछि ड्रोन क्यामेराले नदी किनारमा फोहर फाल्ने, ढल मिसाउने र नदीको जग्गा मिच्नेको तस्बिर खिच्न थालिएको छ।

दक्षिण कोरियाको सियोल विश्वविद्यालयबाट आएको ड्रोन क्यामेरासहितको समूहले आजदेखि गोकर्णेश्वर नगरपालिकाको उत्तरगयादेखि ललितपुर उपमहानगरपालिकाको सुन्दरीघाटसम्म तस्बिर खिची फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख उतार्ने अभियन्ता उमेश बोहराले बताए।

“गोकर्णेश्वर नगरपालिकाको उत्तरबाहिनीदेखि गोकर्णेश्वर मन्दिरसम्म, काठमाडौँ महानगरपालिकाको सिनामङ्गलदेखि मीनभवनसम्म र काठमाडौँ महानगरपालिकाकै टेकुपुलदेखि ललितपुर उपमहानगरपालिकाको सुन्दरीघाटसम्म गरी तीन समूहमा विभाजन गरी नदीमा फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख तस्बिर मार्फत उतार्न सरकारसँग स्वीकृति लिइएको छ”–उनले भने।

ड्रोन क्यामेराले खिचेको तस्बिरसहितको प्रतिवेदन आवश्यक कारबाहीका लागि सहरी विकास मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, सम्बन्धित महानगरपालिका, उपमहानगरपािलका र नगरपालिकामा बुझाइने भएको छ । ड्रोन क्यामेराले खिचेको तस्बिरसहितको प्रतिवेदन आउन चार दिन लाग्ने सफाइ महाअभियानले जनाएको छ ।

ड्रोन क्यामेराबाट तस्बिरसहितको प्रतिवेदन लिन दक्षिण कोरियाबाटै पाइलट पिटर पार्क र जिजुन फङ नेतृत्वको समूह काठमाडौँ आएको छ । प्रत्येक हप्ताको शनिबार झैँ आज पनि उपत्यकाका प्रमुख नदी सफाइ गरी २६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

बागमती सफाइ महाअभियानको १९६ औँ हप्तामा आज मीनभवन पुल क्षेत्रमा सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको बागमती सफाइका अभियन्ता उमेश बोहराले बताए।

सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाका गरी ५०० बढी व्यक्तिको सहभागिता थियो । सफाइको नेतृत्व चीनका लागि पूर्व नेपाली राजदूत डा महेश मास्के, जीवन विज्ञान नेपालका एलपी भानु शर्मा, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजकुमार भट्टराईलगायतले गरेका थिए।
सफाइसँगै एक समूहले घर दैलोमा गई जनचेतामूलक अभियान सञ्चालन गर्ने क्रममा मीनभवन क्षेत्रको सडक किनारमा फोहर फाल्नेबाट १५ हजार रुपैयाँ जरिवानास्वरुप उठाइयो ।
रुद्रमती सफाइको १५६ औँ हप्तामा आज भत्केको पुलदेखि कालो पुलसम्मको क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए।

सफाइमा काठमाडौँ महानगरपालिकाका वडा नं ४, ५, ७, ९ र ३३ कार्यालयका कर्मचारी, स्थानीयवासी, वडा नागरिक मञ्चका पदाधिकारी लगायतको सहभागिता थियो । सफाइमा समाज, वातावरण संरक्षण अभियान, नेपाल प्रहरी, सामुदायिक प्रहरी, विपद् व्यवस्थापन प्रहरी, नेप्से म्याक प्रालिलगायतको सहभागिता थियो । सो अवसरमा प्रसिद्धि कला समूहले जनचेतनामूलक सांस्कृतिक कार्यक्रम आयोजना ग¥यो ।

विष्णुमती सफाइको १२८ औँ हप्तामा आज तारकेश्वर नगरपालिकाको महादेव खोलामा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । महादेव खोलाको सफाइमा स्थानीयवासी उल्लेख्य सहभागी भएको अभियानकर्मी विजेन्द्र लामाले बताए।

स्थानीय वृद्धको समूहले भजनसहितको जनचेतनामूलक कार्यक्रम पनि आयोजना गरेका थिए । तारकेश्वर नगरपालिकाका कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारीको नेतृत्वमा सफाइ सञ्चालन गरिएको थियो ।
नख्खु खोला सफाइको ७१ औँ हप्तामा आज नख्खु पुल वारिपारि सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी बलुदेव पाण्डेले बताए।
यसैगरी गुह्येश्वरीमाथिको बागमती नदीमा राम्रो जोरापाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाले सफाइ गरेका छन् ।

विसं २०७० जेठ ४ गते शनिबारदेखि बागमती सफाइ महाअभियान सुरु भएको थियो । बागमती सफाइ महाअभियान सुरु भएपछि अन्य सहायक नदी र उपत्यका बाहिरका नदी सफाइ गर्न समेत स्थानीयवासी जुटेका छन् ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय