बाह्रै महिना गर्मी नहुने जेफाले: पर्यटकलाई आकर्षणको केन्द्र

बाह्रै महिना गर्मी नहुने जेफाले: पर्यटकलाई आकर्षणको केन्द्र

मोरङ, वैशाख १९ । मोरङ भन्नासाथ आमनेपालीले समथर भूभागको कल्पना गर्छन् । धान फल्ने फराकिला खेत र फाँटिलो भूभाग सबैको मस्तिष्कमा उपस्थित हुन्छ ।

त्यही मोरङ जिल्लाका केही गाविसमा स्वास्थ्य, शिक्षा र सडकको पहुँच पुगेको छैनभन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर उत्तरी मोरङको विकट पहाडी गाउँ सिंहदेवीका अधिकांश गाउँमा ६ महिना मात्र सडकको पहुँच पुग्छ ।

सडक, सञ्चार र सुरक्षाको व्यवस्था नभए पनि आन्तरिक र बाह्य पर्यटनका लागि आकर्षणको केन्द्र बन्दै गएको छ – उत्तरी मोरङको सिंहदेवी–५ स्थित जेफाले सामुदायिक होमस्टे ।

होमस्टेका लागि सुविधासम्पन्न पाँचवटा घर र सम्पूर्ण पूर्वाधार तयार भएपनि त्यहाँसम्म पुग्ने सडक, सञ्चार र सुरक्षाको व्यवस्था नहुँदा जेफाले ओझेलमा परेको हो । धनकुटाको भेडेटार र नाम्जेलाई बिर्साउने जेफाले सुगम जिल्लाको दुर्गम गाउँमा भएपनि यतिबेला पूर्वमा पहिलो रोजाइको गन्तव्य भएको छ । जेफालेमा निर्माण गरिएको भ्यू टावरबाट पूर्वाञ्चलका १६ वटै जिल्लाको अवलोकन गर्न सकिन्छ । त्यति मात्र होइन, प्राकृतिक सौन्दर्यले भरिपूर्ण जेफालेबाट सगरमाथा, कञ्चनजङ्घा र मकालु हिमाल पनि देख्न सकिन्छ ।

आकाश खुलेको बेला तराईका फाँटिला जग्गा, गाउँ सहरको मनोरम दृश्य देखिने जेफालेको भ्युटावर समुन्द्र सतहदेखि एकहजार नौसय ७० मिटरको उचाइमा रहेको छ ।

जिल्ला समन्वय समिति मोरङको रु ३६ लाख ५० हजार, धनकुटा जिविसको रु पाँच लाख, विराट पर्यटन केन्द्र, काँकडभिट्टाको रु २१ लाख र स्थानीयवासीको रु आठ लाख बराबरको जनश्रमदान गरी कुल रु ७० लाखमा भ्युटावरको निर्माण गरिएको हो । सिंहदेवीको बिहीबारे बजारबाट तीनसय मिटर उत्तर पुगेर एक हजारवटा सिँढी चढेपछि भ्युटावर पुगिन्छ ।

चारतले भ्युटावर बनेपछि सूर्योदय, सूर्यास्त, हिमाल, पहाड र तराईको दृश्यावलोकन गर्न आन्तरिक पर्यटक आउन थालेको जेफाले पर्यटन विकास समितिका सदस्य भीम ठकुरीले बताउनुभयो । धेरै सम्भावना हुँदाहुँदै पनि त्यहाँसम्म पुग्ने सजिलो मोटर बाटो, प्रहरी सुरक्षा र सञ्चारको व्यवस्था नहुँदा त्यहाँ पुगेका पर्यटकलाई असजिलो हुने गरेको छ ।

स्थानीयवासी मनोज अधिकारी भन्नुहुन्छ, “सञ्चारका लागि टेलिफोनको टावर, एउटा प्रहरी पोष्ट र सडकको व्यवस्था सरकारले गरिदिए जेफालेको पर्यटन प्रवद्र्धन आफैँ हुन्छ ।”

पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको कोसीहरैचा नगरपालिकास्थित खोर्सानेबाट ३४ किमी उत्तरमा रहेको जेफाले डाँडामा छिनछिनमा हुस्सु र कुहिरो लाग्छ । छिनभरमा घाम झुलुक्क देखिन्छ अनि छिनभरमै पानी पर्न थाल्छ । बाह्रै महिना गर्मी नहुने जेफालेको मुख्य विशेषता नै चिसो मौसम भएको सदस्य ठकुरीले बताउनुभयो ।

भ्युटावरको दक्षिण पश्चिममा पाथिभरा देवीको मन्दिर रहेको छ जसले धार्मिक पर्यटकलाई पनि आकर्षित गर्ने स्थानीयवासी युवराज खड्काको भनाइ छ ।

जेफाले क्षेत्रमा मृग, हरिण, बँदेल, खरायो, लोखर्केजस्ता जङ्गली जनावर हेर्न पाइन्छ । जेफाले सामुदायिक वनले सो क्षेत्रमा सिकार गर्न बन्देज लगाएपछि जङ्गली जनावर, कालिजलगायत चराचुरुङ्गीले जेफालेको सुन्दरता अझ बढाएका छन् ।

छिनछिनमा कुहिरोले छोप्ने अनि छिनभरमा उघ्रने, पानी पर्ने, घाम देखिने जेफालेको मुख्य आकर्षण यति मात्र होइन । शान्त वातावरणमा उत्तरतर्फ बाह्रै महिना हरियो देखिने जङ्गलको थुम्कोमा भ्युटावर छ, त्यही डाँडाको काखमा जिल्लाको एक मात्र मातृभूमि चिया बगान बसेको छ ।

जेफाले वरिपरिका कुनै पनि डाँडा रुखो छैनन् । अदुवा, अलैँची, अम्लिसो र चियाले भरिभराउ भएका डाँडा साँच्चिकै लोभलाग्दा देखिन्छन् । जेफालेमा सञ्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नबाट पाहुनालाई स्वागत गर्ने र हुर्रा नाचेर सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने गरिएको छ ।

त्यहाँको प्राकृतिक सुन्दरता, वातावरणीय आनन्द तथा जेफाले डाँडाबाट देखिने दृश्यको प्रचार हुन सके बाह्य पर्यटकलाई समेत आकर्षण गर्न सकिने होमस्टे सञ्चालक उमा ठकुरीले बताउनुभयो । जेफालेमा एक दिनमा ५० व्यक्तिलाई बास बस्ने र खाना खुवाउन सक्ने व्यवस्था मिलाइएको जेफाले सामुदायिक होमस्टेका सचिव भीम ठकुरीले बताउनुभयो ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

लोकप्रिय