भारतबाट अझ बढी विद्युत ल्याइने
काठमाडौँ, फागुन ३। सरकारले भारतबाट आयात भइरहेको विद्युत्लाई नियमित बनाउने र अझ थप विद्युत आयात गरिने भएको छ । त्यसका लागि ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि गरेर २२० केभीमा चार्ज गर्ने र थप विद्युत् आयातलाई सहज बनाइने भएको छ ।
नेपाल र भारतका ऊर्जा सचिवहरुको संयुक्त बैठकले ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हाल आयात भइरहेको १४५ मेगावाटलाई निरन्तर आयात गर्ने र क्षमता वृद्धि भएपछि थप विद्युत् आयात गर्ने विषयमा सहमति जनाएको ऊर्जा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।
आगामी मेसम्म उक्त अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि गर्ने लक्ष्य राखिएको प्रवक्ता घिमिरेले बताए । हाल सो प्रसारण लाइन १३२ केभी क्षमतामा सञ्चालन भइरहेको छ । सहमतिअनुसार क्षमता वृद्धि भएपछि थप विद्युत् आयातका लागि मार्गप्रशस्त हुनेछ । सो प्रसारण लाइनबाट विद्युत् आयात तथा निर्यात दुवै गर्न सकिन्छ । क्षमता वृद्धि गरेर ४०० केभीमा समेत लैजान सकिनेछ ।
कुशाहा कटैया र रक्सौल परवानीपुरबाट थप विद्युत्
दुई देशका ऊर्जा सचिवको संयुक्त बैठकले हालै निर्माण सम्पन्न भएको रक्सौल– परवानीपुर र कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत् ल्याउने सहमति जनाएको छ । भारतीय सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको ती दुई प्रसारण लाइनबाट थप ५०÷५० मेगावाट विद्युत् आयात गर्ने सहमति भएको छ ।
रक्सौल–परवानीपुर प्रसारण लाइन १३२ केभी क्षमतामा चार्ज हुनेछ भने कुशाहा–कटैया प्रसारण लाइनको क्षमता पनि समान रहेको छ । रक्सौलबाट आयात हुने विद्युत्ले वीरगन्ज आसपासका क्षेत्र तथा वीरगन्ज औद्योगिक कोरिडोरमा विद्युत्भार कटौती अन्त्य गर्न सहयोग पुग्नेछ ।
थप विद्युत् आयात भएलगत्तै ती क्षेत्रमा विद्युत्भार कटौती अन्त्य गर्ने तयारी प्राधिकरणले गरेको छ । औद्योगिक क्षेत्रमा थप विद्युत् उपलब्ध गराउन वीरगन्जका उद्योगी तथा व्यवसायीले यसअघि नै सरकारको ध्यानकर्षण गराइसकेका छन् ।
यस्तै कुशाहा–कटैया प्रसारण लाइनबाट आयात हुने विद्युत्बाट पूर्वाञ्चल क्षेत्रमा पूर्ण रुपमा विद्युत्भार कटौती अन्त्य गर्ने तयारी गरिएको छ ।
न्यू बुटवल गोरखपुर प्रसारण लाइन अगाडि बढाइने
संयुक्त बैठकले प्राविधिक समितिबाट तयार भएको अन्तरदेशीय प्रसारण लाइन योजनाको अध्ययन प्रतिवेदनका निष्कर्षअनुसार दोस्रो अन्तरदेशीय प्रसारण लाइनको रुपमा न्यू बुटवल– गोरखपुर अन्तरदेशीय प्रसारण लाइनलाई थप अध्ययन गरी अन्तिम रुप दिने सहमति जनाएको छ । सो प्रसारण लाइनको क्षमता ४०० केभी रहनेछ ।
संयुक्त विस्तृत आयोजनाको प्रतिवेदन प्राविधिक समितिले तयार पारेकामा बैठकले धन्यवादसमेत दिएको र दुवै देशका अधिकारी र सरोकार भएका निकायसँगको छलफलका आधारमा अन्तिम रुप दिने सहमति भएको सहसचिव घिमिरेले जानकारी दिए ।
सो प्रसारण लाइन निर्माणका लागि नेपालतर्फ नेपाल आफैँले र भारततर्फ भारत सरकारले नै निर्माण गर्ने प्रस्ताव गरिएको छ । लागत ढाँचाका बारेमा प्राविधिक समितिलाई थप छलफल गरी सिफारिस गर्न बैठकले निर्देशनसमेत दिएको छ ।
पञ्चेश्वरको प्रसारण प्रणालीका बारेमा सहमति
बैठकले लामो समयदेखि छलफलकै क्रममा रहेको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् प्रसारण गर्ने प्रसारण प्रणालीमा समेत सहमति जनाएको छ । सो आयोजना अगाडि बढाउन दुवै मुलुक सहमत भएको निष्कर्ष निकाल्दै बैठकले विस्ततृ आयोजना प्रतिवेदन ९डिपिआर०लाई तत्काल अन्तिम रुप दिई निर्माण प्रक्रियामा प्रवेश गर्ने सम्बन्धमा समेत आवश्यक निर्णय लिइएको बताइएको छ । तर कस्तो निर्णय लिइएको भन्ने बारेमा भने ऊर्जा मन्त्रालयले थप जानकारी दिएको छैन ।
यस्तै बैठकले आयोजना विकास सम्झौतामार्फत विकास भइरहेको अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रगतिका बारेमा समेत जानकारी लिएको छ ।
खुला बजारको अवधारणामा छिमेकी मुलुकसँग विद्युत् व्यापार गर्ने प्रयोजनका लागि भारत सरकारबाट जारी भएको निर्देशिकामा नेपालले सन् २०१४ मा दुई देशबीचको विद्युत् व्यापार सम्झौताअनुरुप भए÷नभएको विषयमा सूक्ष्म अध्ययन गरिरहेको र छिट्टै आफ्ना धारणा औपचारिक रुपमा पठाउने सहमतिसमेत भएको सहसचिव घिमिरेले जानकारी दिए ।
नेपाल र भारतबी भएको विद्युत् व्यापार सम्झौताको प्रावधानअनुसार ऊर्जा सचिव एवम् सहसचिव तहको चौथो बैठक सम्पन्न भएको हो ।
बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव अनुपकुमार उपाध्याय र भारतका तर्फबाट विद्युत् मन्त्रालयका सचिव प्रदीपकुमार पुजारीको सहभागिता रहेको थियो ।
बैठकले संयुक्त संयन्त्र तथा अन्तर्गतका अन्य प्राविधिक समितिलाई थप क्रियाशील बनाई यस क्षेत्रमा भएको द्विपक्षीय सहयोगलाई गति दिने आवश्यकतामा जोड दिएको छ । रासस
उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षको जनमत सङ्ग्रहजस्तै होः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर १६ गते हुने उपनिर्वाचन २०८४ को निर्वाचनका लागि आँखिझ्याल हुने बताउनुभएको छ । माओवादी केन्द्र कीर्तिपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले कीर्तिपुर नगरपालिकासहित देशभरका ४४ स्थानमा हुने उपनिर्वाचनले ८४ को चुनावको नतिजा इंगित गर्ने बताउनुभएको हो । ‘यो पटक यो नगरपालिकाबाट दिने सन्देश र ४४ वटा उपनचुनावबाट दिने सन्देश ८४ को लागि आँखीझ्याल हुनेछ । यहाँबाट ८४ कस्तो हुनेछ भन्ने देखिन्छ’– उहाँले भन्नुभयो । अध्यक्ष प्रचण्डले कोही कसैको पनि डर, धाक, प्रलोभन र लोभमा नफसि विकास निर्माणको अभियानमा अघि बढ्न आग्रह पनि गर्नुभयो । अध्यक्ष प्रचण्डले उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षबिचमा जनमत सङ्ग्रह भएको बताउनुभयो । उहाँले सरकार पक्षलाई भ्रष्टाचारीको संज्ञा दिँदै भ्रष्टाचारको विपक्षमा उभिएका दलका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । ‘जनता भ्रष्टाचारको पक्षमा छन् या भ्रष्टाचारका विरुद्ध छन् भन्ने फैसला गर्ने सर्वोच्च अदालत हो, यो निर्वाचन’– उहाँले भन्नुभयो– ‘मलाई विश्वास छ, नेपाली जनता भ्रष्टाचारका पक्षमा हुन सक्दैनन्, भ्रष्टाचारका विरुद्ध छन् ।’ उहाँले नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका पक्षमा रहेको भन्दै हेर्दा उपचुनाव भए पनि यथार्थमा भ्रष्टाचारका पक्ष र विपक्षको जनतमसंग्रहजस्तै भएको बताउनुभयो । उहाँले वर्तमान सरकार असंवैधानिक र अप्राकृतिक ढंगले बनेको बताउनुभयो । अहिले सरकारको नेतृत्व गरिरहेकाहरूमा नै भ्रष्टाचारको तिर सोझिएपछि अप्राकृतिक ढंगबाट सरकार बन्न पुगेको स्पष्ट गर्दै उहाँले भन्नुभयो– ‘भ्रष्टाचारविरोधी अभियानको तीर ठूलो ठाउँमा पुग्ने भयो । त्यो अहिले सरकारको नेतृत्व गरेकाहरूकै ठाउँमा पुग्ने भयो। सिधा, सरल छ । यहाँ घुमाएर गर्नुपर्ने कुरा छैन । बेचन झा र प्रतिक थापा पक्राउ परेपछि फरार अभियुक्त गिरफ्तार भइसकेपछि भ्रष्टाचारविरोधी अभियानको सुई कता सोझियो भन्ने बुझ्नुभएकै छ ।’ ‘राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था परिवर्तनका लागि नयाँ संकल्प, एउटा नयाँ अभियान र एउटा नयाँ आन्दोलन आवश्यक रहेको औल्याउँदै उहाँले थप्नुभयो– ‘म थाकेको छैन । फेरि आन्दोलन गरेर जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावारण बनाउन मैले रातदिन देशभरी खटिरहेको छु ।’ मंसिर १६ को निर्वाचनमा माओवादी केन्द्रलाई विजयी बनाउन आह्वान गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म ऐतिहासिक अपिल गर्न चाहन्छु । यो सामान्य कुरा छैन । यो सामान्य चुनाव जित र हारको कुरा मात्रै छैन । यो नेपाली जनताले जित्ने या नेपालका दलाल विचौलियाहरू, अहिले राज्य केही विचौलियाहरूले चलाउने गरेका छन्,’ उनले भने, ‘मैले त्यही विचौलियाहरूको सेटिङ भत्काउने कोशिस गरेँ । मैले गरेको गल्ती भन्नुहुन्छ भने त्यही हो । पहिला दुई दुई पटक संसद् विघटन संविधान मिचेर गर्दा सेटिङमा भत्काइएको थियो । र यो सेटिङ भत्काउनैपर्छ भनेर हामीले ठूलो ठूलो आन्दोलन गरेका थियौँ । त्यतिबेला साँच्चै त्यो सेटिङ भत्किएको थियो ।’
उपनिर्वाचन : कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड
काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगरपालिकाले चुनावीसभा आयोजना गर्ने भएको छ । माओवादी केन्द्र कीर्तिपुर नगरपालिकाले एक पोस्टर सार्वजनिक गर्दै मंसिर १३ गते २ः३० बजे कीर्तिपुर नःगाउँ दोबाटोमा चुनावी सभा गर्ने जनाएको छ । सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मेयर पदका उम्मेदवार प्रा.डा.शिवशरण महर्जन लगायतले सम्बोधन गर्ने बताइएको छ । कीर्तिपुरका सबै वडामा भइरहेको उम्मेदवारसहितको घरदैलो कार्यक्रममा व्यक्त जनमत एवं माओवादी उम्मेदवारप्रति विभिन्न राजनीतिक दल र व्यक्तिवाट प्राप्त समर्थनका कारण माओवादीको जित सुनिश्चित भएको माओवादी केन्द्रले जनाएको छ। माओवादी कीर्तिपुर नगर समितिका अध्यक्ष धनबहादुर महर्जनका अनुसार मंगलवार एकीकृत समाजवादीवाट मेयरका उम्मेदवार भानु रिजालले आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै महर्जनलाई मतदान गर्न अपिल गरेका छन् । सरल स्वभावका मर्हजनलाई जिताउन विगतमा टुटफूटभएका विप्लव नेतृत्वको माओवादीसहित विभिन्न समूह सक्रिय भएका छन् । करिव ४३ वर्षदेखि कीर्तिपुरमा प्राध्यापन, समाजसेवा, विकास निर्माण र जनताका कामहरुमा संलग्न रहँदै आएका शिवशरण महर्जनको व्यक्तित्वका कारण निर्वाचन जित्नेमा पार्टी ढुक्क रहेको माओवादी केन्द्र कीर्तिपुरले जनाएको छ ।
बक्यौता नतिर्ने उद्योगको बैंक र सेयर खाता रोक्का गर्न प्राधिकरणको पत्राचार(पत्रसहित)
काठमाडौं । डेडिकेटेड तथा ट्रंक फिडरमा लाइन नकाट्न निर्देशन पाएपछि नेपाल विद्युत् प्राधिकरणले बक्यौता उठाउने उद्योगहरूको बैंक खाता, सेयर रोक्का गर्न पत्राचार गरेको छ । नियमन आयोगले लाइन नकाटी अन्य विकल्पबाट बक्यौता उठाउन पत्रचार गरेपछि प्राधिकरण बैंक खाता रोक्का, सेयर कारोबार गर्न नपाउनेलगायत विकल्पमा गएको हो । प्राधिकरणले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी राजिस्ट्रार कार्यालयमा खाता तथा सेयर खरिदबिक्री रोक्काका लागि पत्राचार गरेको छ । पत्रमा प्राधिकरणले खाताबाट रकम झिक्न नपाउने, सेयर निष्कासन गर्न नपाउने माग गरेको छ यस्तै, प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ विद्युत् खरिद सम्झौताबमोजिम भुक्तानी हुने रकमबाट असुल गर्न पियोर इनर्जीलाई पत्राचार गरेको छ । प्राधिकरणले ३४ वटा उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता बाँकी रहेका उद्योगहरूको विवरणसहित पत्राचार गरेको हो । प्राधिकरणका अनुसार, उक्त अवधिको जम्मा ६ अर्ब ४० करोड ९२ लाख ४० हजार ७०१ रुपैयाँ बाँकी छ । ३४ बाहेकका अन्य उद्योग भने किस्ताबन्दीमा आइसकेको प्राधिकरणले जनाएको छ ।
उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मत जाहेर गर्ने महत्वपूर्ण अवसर: प्रचण्ड
काठमाडौं, १२ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभएको छ । उहाँले आज भिडियो सन्देशमार्फत मतदातालाई अपिल गर्दै सुशासनका पक्षमा मत जाहेर गर्न आग्रह गर्नुभएको छ । ‘यो उपनिर्वाचनले यथार्थमा आगामी आम निर्वाचनका लागि पनि सन्देश दिनेछ । नेपाली जनता साँच्चिकै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने यो महत्वपूर्ण अवसर पनि हो’ अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसकारण यो उपनिर्वाचनलाई अवसरका रुपमा सदुपयोग गरेर देशमा ब्याप्त बेथिति, बिसंगति र विकृतिका विरुद्ध जनमत प्रकट गर्न म अनुरोध गर्न चाहन्छु ।’ उपनिर्वाचन केही निश्चित ठाउँमा मात्रै निर्वाचन हुने भए पनि यसको विशेष अर्थ र महत्व रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘यहाँहरु सबैलाई अवगत नै छ, मैले आफ्नो नेतृत्वमा रहेको सरकारका तर्फबाट देशमा सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध, सामाजिक न्यायका पक्षमा, विभेद र अन्यायका विरुद्ध तथा आर्थिक संकटबाट देशलाई मुक्त गर्न निकै प्रयास गरेको थिएँ । त्यसैको परिणामस्वरुप देशमा सकारात्मक भाव पैदा भएको थियो र भइरहेको पनि छ ।’ अध्यक्ष प्रचण्डले यो उपनिर्वाचनलाई आफ्नो पार्टीले भ्रष्टाचारविरोधी महाअभियानलाई अगाडि बढाउने संकल्पको रुपमा, देशमा सुशासन कायम गर्ने र सामाजिक न्यायसहितको आर्थिक समृद्धिको पक्षमा जागरण ल्याउन अभियानको रुपमा अघि बढाएको स्पष्ट गर्नुभयो । ‘यो महाअभियानलाई सफल पार्न उपनिर्वाचनमार्फत जनताको अभिमतका लागि म विशेष अनुरोध गर्न चाहन्छु ।’ उहाँले भन्नुभयो– ‘यो महाअभियानलाई सफल पार्न उपनिर्वाचनमार्फत जनताको अभिमतका लागि म विशेष अनुरोध गर्न चाहन्छु ।’