भाषाविज्ञहरु भने – नेपालमा प्रचलित भाषाहरु लोप हुने अवस्थामा पुग्यो
काठमाडौं । नेपालमा प्रचलित कतिपय भाषा लोप हुने अवस्थामा पुगेको विज्ञहरुले बताएका छन् । भाषा तथा लोकवार्ता परिषद् नेपालले बिहीबार प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा आयोजना गरेको कार्यक्रममा ‘वर्तमान सन्दर्भमा नेपालका भाषाहरु र भाषायोजना’ विषयक अन्तक्र्रियामा उनीहरुले उक्त धारणा राखेका हुन् ।
कार्यक्रमका मुख्य प्रस्तोता भाषाविज्ञ डा. गोपाल ठाकुरले नेपालमा प्रचलित भाषाको अवस्था र कार्ययोजनाका बारेमा चर्चा गरे । उनले भाषा संवादको माध्यमसँगै आमसंस्कृतिको संवाहक भएको बताए । उनले भने, ‘नेपालमा संविधानको बहुभाषिक नीति कार्यान्वयनमा आउन सकेको छैन । यसलाई व्यवहारिक ढंगले राज्यले संबोधन गर्नुपर्दछ । भाषा म¥यो भने सिंगो सभ्यता मर्दछ । तसर्थ भाषाको संरक्षणमा राज्यले विशेष पहलकदमी लिनुपर्दछ ।’ भाषाविज्ञ ठाकुरले नेपालमा पछिल्लो समय शिक्षामा अंग्रेजी हाउगुजीका कारण नेपाली भाषा पनि संकटमा परेको जिकिर गरे । उनले मातृभाषाको पाठ्यक्रम राज्यले बनाए पनि दरबन्दी नराखेको बताउँदै यसमा गम्भीर बन्नु पर्ने धारणा व्यक्त गरे । उनले नेपालमा वैदेशिक रोजगारीले गर्दा कोरियाली, जापानी, चिनियाँ लगायतका भाषा सिक्नु पर्ने बाध्यता आएको जनाए । डा. ठाकुरले भाषा संरक्षणमा कम्तिमा ३ कक्षासम्म मातृभाषामा अध्ययन गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिँदै भने, ‘३ कक्षासम्म मातृभाषा भाषामा पठनपाठनको वातावरण बनाउन सकेमा भाषा संरक्षणमा महत्वपूर्ण योगदान हुन सक्छ । साथै शिक्षकको दरबन्दी पनि उचित ढंगले व्यवस्थापन गरिनु पर्दछ ।’ उनले लोपोन्मुख भाषाको संरक्षणका लागि अनौपचारिक तथा औपचारिक दुवै तरिकाले काम गर्नुपर्नेमा जोड दिए ।
डा. ठाकुरले मातृभाषामा काम गर्ने व्यक्तिलाई प्रोत्साहन दिन सम्मान तथा पुरस्कारको व्यवस्था गर्नुपर्ने धारणा राखे । उनले नेपालमा बोलिने सबै भाषाको संरक्षणका लागि राज्यले नीतिगत तथा व्यवहारिक पक्षलाई ध्यान दिँदै काम गर्नुपर्ने जनाए ।
कार्यक्रममा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा.भागवत ढकालले भाषाको विकास र संरक्षणमा सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने विचार व्यक्त गरे । उनले संस्कृत भाषा सबैभन्दा पुरानो भाषा भएकाले यसको पनि सही ढंगले खोज अनुसन्धान हुनुपर्ने बताए ।
परिषद्का संयोजक डा. बालाकृष्ण अधिकारीले नेपालको संविधान २०७२ ले बहुभाषिक मुलुक भनेर मानेको जनाउँदै यसको कार्यान्वयन पक्षलाई सबल बनाउनु पर्ने विचार व्यक्त गरे । उनले भने, ‘मुलुकभित्रका भाषालाई समान ढंगले विकास गरिनुपर्दछ । यसमा राज्यले आवश्यक कानुन निर्माण गरेर भए पनि भाषाको विकास र संरक्षणमा विशेष पहल लिन जरुरी छ ।’
पूरक प्रस्तोता संस्कृतिकर्मी ईश्वरचन्द्र ज्ञवालीले भाषा गम्भीर व्यापक विषय भएकाले यसको मर्मलाई राज्यले संबोधन गर्नुपर्ने विचार व्यक्त गरे । उनले मानव सभ्यताको सिंगो इतिहास, राजनीति, सामाजिक परिवेश आदि सबैलाई भाषाले समेट्ने जनाउँदै मातृभाषाको विकास र संरक्षणमा राज्यले काम गर्नुपर्ने बताए ।
यस्तै, अर्का पूरक प्रस्तोता सहप्रा.डा. विष्णु दहालले निमाविभन्दा तल मातृभाषामा पढाउनु पर्ने बताउँदै भाषा मानिसको संवेदना र जीवनसँग जोडिएको विषय भएको धारणा व्यक्त गरे ।
सो कार्यक्रममा प्रा.डा. राजनप्रसाद दाहाल, अखिल नेपाल लेखक संघका अध्यक्ष डा. धनप्रसाद सुवेदी, प्रलेसका केन्द्रीय अध्यक्ष डा. मधुसूदन गिरी, भीम रेग्मी, अग्रज मिथिला कलाकार ससी सुमन, अग्रज कलाकार जुलुमलाल चित्रकार, प्रा.डा.देवनारायण यादव, प्रा.डा. गोपीन्द्र पौडेल, तेजनारायण यादव, चेतनाथ धमला, रमेश खतिवडा लगायतले नेपाली भाषा र तिनको अवस्थाका बारेमा बहस गरेका थिए । उपप्राध्यापक तेजविलास अधिकारीले भाषालाई संरक्षण गर्नुपर्ने दायित्य राज्यको भएको विचार व्यक्त गरे । उनले विद्यालयदेखि विश्वविद्यालयसम्म भाषालाई अध्ययनको विषय बनाउँदै तिनका विविध पक्षको अध्यापन गरिनुपर्नेमा जोड दिए ।
सो कार्यक्रममा प्राज्ञ प्रा.डा. गोपीन्द्र पौडेल, प्रलेस केन्द्रीय अध्यक्ष डा. मधुसूदन गिरी, प्रलेस केन्द्रीय कोषाध्यक्ष बाबा बस्नेत, जनसांस्कृतिक महासंघका उपाध्यक्षहरू देवेन्द्र थुम्केली, केशव सिलवाल, प्रगति महरा, भीम कुमाखी, डम्बर रोकाय, साहित्यिक पत्रकार संघका महासचिव चेतनाथ धमला, प्रा.डा. देवनारायण यादव, अखिल नेपाल लेखक संघका अध्यक्ष डा. धनप्रसाद सुवेदी, वाल्मीकि विद्यापीठका प्राध्यापकहरू डा. राजनारायण ठाकुर, विद्यार्थी रमेश खतिवडा, कर्मचारीहरू टेकनाथ पाण्डेय, घनश्याम सिग्देल र टेगराज पौडेल, विश्वभाषा क्याम्पसका प्राध्यापक भीमनाथ रेग्मी, ललितकलाका वरिष्ठ कलाकार जुलुमलाल चित्रकार, प्राज्ञ एस.सी. सुमन, पाल्साङमो लामा तथा नेपाली केन्द्रीय विभागका विद्यार्थीहरू– केशव सुवेदी, उमेश न्यौपाने, सुमन्द्रा साउद, दिवाकर विष्ट, सरोज तिमल्सिना अनि अन्य व्यक्तित्वहरू सन्तोष सिम्खडा, तेजनारायण ठाकुर, सुयशकुमार न्यौपाने तथा स्रष्टा शोभाराम ओलीलगायतको उपस्थिति रहेको थियो ।
सोही अवसरमा स्रष्टा शोभाराम ओलीको बाछिट्टा संग्रह ‘अथाह’ को विमोचन गरियो । नेपालका भाषाहरूको भाषा तथा लोकवार्ता परिषद्का संयोजक डा.बालाकृष्ण अधिकारीले जनाए । उनले भूमिका र तिनको उत्थान, विकास र समृद्धिका राज्यका तर्फबाट योजनाबद्ध पहलकदमी लिनुपर्ने कुरामा यस कार्यक्रमले गहन सुझावहरू प्रदान गरेको बताए । उनले भने, ‘संविधानको प्रस्तावनामै उल्लिखित बहुभाषिक मुलुकका रूपमा नेपाललाई स्थापित गर्न अविलम्ब भाषायोजनाको कार्ययोजना ल्याउनुपर्ने, मातृभाषाहरूको विकासमा ध्यान दिनुपर्ने र संकटापन्न अवस्थामा रहेका भाषाहरूलाई संरक्षण र अभिलेखीकरण गर्न सरकार र भाषा आयोगले विशेष पहल गर्नुपर्ने लगायतका सुझावहरू आएका छन् ।’ समालोचक तथा वाल्मीकि विद्यापीठका उपप्राध्यापक तेजविलास अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रम परिषदका संयोजक डा. बालाकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
संसद भंग गरी २०८७ सम्म सरकारमा रहने ओलीको चाहना हुनसक्छ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेर २०८७ सम्म सरकारमा बस्ने चाहना राखेको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ । सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो आशंका व्यक्त गर्नुभएको हो । अध्यक्ष नेपालले संविधान संशोधनबाट वर्तमान प्रधानमन्त्री पछि हट्नुभएको भन्नेकुरा सुनेको भन्दै जनताको सुविधाहरुमा बाधा बनेको ठाउँमा संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ मा संविधान संशोधन गर्ने भन्नुभएको छ नि ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले २०८७ सम्म चुनाव नै नगरी बस्ने चाहना राखेको हुनसक्ने बताउनुभयो । उहाँले संसद भंग गरेर ठेलेको ठेल्यै गरी २०८७ सम्म सरकारमा बस्ने चाहना गरेको हुनसक्ने बताउनुभयो । अध्यक्ष नेपालले अध्यक्ष प्रचण्डसँगको बैठकमा भने समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउनेबारेमा छलफल भएको बताउनुभयो ।
रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने
पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको थुनछेक बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार सरकारी वकिलहरूको जवाफी बहससँगै उक्त मुद्दामा थुनछेक बहस सकिएको हो । बिहीबार उच्च सरकारी वकिल कार्यालयका उपन्यायधिवक्ता गोविन्दराज गौली र जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जवाफी बहस गरेका थिए । थुनछेक बहस सकिएको र आजै ४ बजेभित्र आदेश आउने कास्की जिल्ला अदालतका श्रेष्तेदार राजन खनालले जानकारी दिए । न्यायाधीश राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस हुँदै आएको थियो । प्रतिवादीहरुका तर्फबाट कानुनी व्यवसायीहरुको बहसपछि बुधबार सहकारीपीडितहरूका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए । उक्त सहकारीको रकम अपचलन मुद्दामा लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भएको हो ।
लेखा समिति सभापतिका स्वकीय सचिव पक्राउ, श्रीमती धेरौटीमा रिहा
काठमाडौं । ठगी आरोप लागेका संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी नारायण चिमोरियाका अनुसार आरोपित पोखरेललाई आज (बिहीबार) बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको हो। अनिलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ। सो प्रकरणमा सोमबार मोरङ जिल्ला अदालतले उनलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला १० लाख धरौटी बुझाएर रिहा भएकी छन् । सहकारी ठगी मुद्दामा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि मागेको १० लाख रुपैयाँ धरौटी बुझाएर अञ्जला तत्कालै रिहा भएकी हुन् । जिल्ला अदालत माेरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले काेइरालालाई पुर्पक्षका लागि १० लाख रुपैयाँ धरौटी लिने आदेश दिएको हो । अदालतले अञ्जलालाई थुनामा राख्ने कारण नदेखिएको जनाउँदै धरौटीमा रिहा गर्ने आदेश दिएको बुढाथोकीले जानकारी दिए । पोखरेलपत्नी अञ्जलामाथि सहकारी ठगी मुद्दामा थुनछेक बहस डेढ घण्टा बढी चलेको थियो। अञ्जला बुधबार बिहान आफैँ हाजिर हुन अदालत पुगेकी थिइन् । उनी घरमै बसे पनि प्रहरीले पक्राउ गरेको थिएन । फरार सूचीमा रहेकी अञ्जला बुधबार नै अदालतमा हाजिर भएपछि आदेशलगत्तै धरौटी बुझाएर छुटेकी हुन् ।
कक्षा ११ र १२ को मौका परीक्षामा २२ हजारको मात्रै आवेदन
काठमाडौं । कक्षा ११ र १२ को मौका परीक्षामा विद्यार्थीको अरुचि देखिएको छ । विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना विद्यार्थीलाई लक्षित गर्दै राष्ट्रिय परीक्षा बोर्डले मौका परीक्षाको अवसर दिएको थियो । बोर्डले २०५६ सालको परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएका परीक्षार्थीलाई यस्तो परीक्षामा सहभागी हुने मौका दिएको थियो । बोर्डको तथ्याङ्क अनुसार यस अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीर्ण भएका परीक्षार्थी करिब १४ लाख छन् । तर परीक्षामा सहभागी हुनका लागि बोर्डले परीक्षा फाराम खुलाउँदा २२ हजारले मात्रै आवेदन दिएका छन् । बोर्डका सहपरीक्षा नियन्त्रक कृष्ण घिमिरेका अनुसार दुई पटकसम्म म्याद थप्दा २१ हजार ८५३ जनाको मात्रै आवेदन परेको छ । विविध कारणले तोकिएको समयमा फाराम भर्न नसक्ने विद्यार्थीबाट बोर्डले अहिले पनि केन्द्रीय तथा प्रादेशिक कार्यालयबाट भौतिक रूपमै फाराम सङ्कलन गरिरहेको छ तर फाराम भर्नेहरू नगण्य छन् । पहिलो चरणमा परीक्षा फाराम भर्ने समय मङ्सिर २७ गतेसम्मका लागि थियो । परीक्षा फाराम भर्न बोर्डले निर्धारण गरेको दोस्रो समयसीमा भने पुस १३ गतेसम्मका लागि थियो । बोर्डका सहनियन्त्रक घिमिरेका अनुसार परीक्षा फाराम भर्नेमा २०६० सालपछिको परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएकाहरू धेरै छन् । “त्यसभन्दाअघिका परीक्षार्थीमध्ये धेरै जसोले त उमेरका कारणले पनि फाराम भर्नुभएन होला । कतिपय परीक्षार्थी परीक्षामा अनुत्तीर्ण भएपछि वैकल्पिक बाटोतिर पनि लागिसक्नुभएको होला,” घिमिरेले भन्नुभयो ।