भाषाविज्ञहरु भने – नेपालमा प्रचलित भाषाहरु लोप हुने अवस्थामा पुग्यो

भाषाविज्ञहरु भने – नेपालमा प्रचलित भाषाहरु लोप हुने अवस्थामा पुग्यो

काठमाडौं । नेपालमा प्रचलित कतिपय भाषा लोप हुने अवस्थामा पुगेको विज्ञहरुले बताएका छन् । भाषा तथा लोकवार्ता परिषद् नेपालले बिहीबार प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा आयोजना गरेको कार्यक्रममा ‘वर्तमान सन्दर्भमा नेपालका भाषाहरु र भाषायोजना’ विषयक अन्तक्र्रियामा उनीहरुले उक्त धारणा राखेका हुन् ।

कार्यक्रमका मुख्य प्रस्तोता भाषाविज्ञ डा. गोपाल ठाकुरले नेपालमा प्रचलित भाषाको अवस्था र कार्ययोजनाका बारेमा चर्चा गरे । उनले भाषा संवादको माध्यमसँगै आमसंस्कृतिको संवाहक भएको बताए । उनले भने, ‘नेपालमा संविधानको बहुभाषिक नीति कार्यान्वयनमा आउन सकेको छैन । यसलाई व्यवहारिक ढंगले राज्यले संबोधन गर्नुपर्दछ । भाषा म¥यो भने सिंगो सभ्यता मर्दछ । तसर्थ भाषाको संरक्षणमा राज्यले विशेष पहलकदमी लिनुपर्दछ ।’ भाषाविज्ञ ठाकुरले नेपालमा पछिल्लो समय शिक्षामा अंग्रेजी हाउगुजीका कारण नेपाली भाषा पनि संकटमा परेको जिकिर गरे । उनले मातृभाषाको पाठ्यक्रम राज्यले बनाए पनि दरबन्दी नराखेको बताउँदै यसमा गम्भीर बन्नु पर्ने धारणा व्यक्त गरे । उनले नेपालमा वैदेशिक रोजगारीले गर्दा कोरियाली, जापानी, चिनियाँ लगायतका भाषा सिक्नु पर्ने बाध्यता आएको जनाए । डा. ठाकुरले भाषा संरक्षणमा कम्तिमा ३ कक्षासम्म मातृभाषामा अध्ययन गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिँदै भने, ‘३ कक्षासम्म मातृभाषा भाषामा पठनपाठनको वातावरण बनाउन सकेमा भाषा संरक्षणमा महत्वपूर्ण योगदान हुन सक्छ । साथै शिक्षकको दरबन्दी पनि उचित ढंगले व्यवस्थापन गरिनु पर्दछ ।’ उनले लोपोन्मुख भाषाको संरक्षणका लागि अनौपचारिक तथा औपचारिक दुवै तरिकाले काम गर्नुपर्नेमा जोड दिए ।

डा. ठाकुरले मातृभाषामा काम गर्ने व्यक्तिलाई प्रोत्साहन दिन सम्मान तथा पुरस्कारको व्यवस्था गर्नुपर्ने धारणा राखे । उनले नेपालमा बोलिने सबै भाषाको संरक्षणका लागि राज्यले नीतिगत तथा व्यवहारिक पक्षलाई ध्यान दिँदै काम गर्नुपर्ने जनाए ।
कार्यक्रममा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा.भागवत ढकालले भाषाको विकास र संरक्षणमा सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने विचार व्यक्त गरे । उनले संस्कृत भाषा सबैभन्दा पुरानो भाषा भएकाले यसको पनि सही ढंगले खोज अनुसन्धान हुनुपर्ने बताए ।

परिषद्का संयोजक डा. बालाकृष्ण अधिकारीले नेपालको संविधान २०७२ ले बहुभाषिक मुलुक भनेर मानेको जनाउँदै यसको कार्यान्वयन पक्षलाई सबल बनाउनु पर्ने विचार व्यक्त गरे । उनले भने, ‘मुलुकभित्रका भाषालाई समान ढंगले विकास गरिनुपर्दछ । यसमा राज्यले आवश्यक कानुन निर्माण गरेर भए पनि भाषाको विकास र संरक्षणमा विशेष पहल लिन जरुरी छ ।’

पूरक प्रस्तोता संस्कृतिकर्मी ईश्वरचन्द्र ज्ञवालीले भाषा गम्भीर व्यापक विषय भएकाले यसको मर्मलाई राज्यले संबोधन गर्नुपर्ने विचार व्यक्त गरे । उनले मानव सभ्यताको सिंगो इतिहास, राजनीति, सामाजिक परिवेश आदि सबैलाई भाषाले समेट्ने जनाउँदै मातृभाषाको विकास र संरक्षणमा राज्यले काम गर्नुपर्ने बताए ।

यस्तै, अर्का पूरक प्रस्तोता सहप्रा.डा. विष्णु दहालले निमाविभन्दा तल मातृभाषामा पढाउनु पर्ने बताउँदै भाषा मानिसको संवेदना र जीवनसँग जोडिएको विषय भएको धारणा व्यक्त गरे ।

सो कार्यक्रममा प्रा.डा. राजनप्रसाद दाहाल, अखिल नेपाल लेखक संघका अध्यक्ष डा. धनप्रसाद सुवेदी, प्रलेसका केन्द्रीय अध्यक्ष डा. मधुसूदन गिरी, भीम रेग्मी, अग्रज मिथिला कलाकार ससी सुमन, अग्रज कलाकार जुलुमलाल चित्रकार, प्रा.डा.देवनारायण यादव, प्रा.डा. गोपीन्द्र पौडेल, तेजनारायण यादव, चेतनाथ धमला, रमेश खतिवडा लगायतले नेपाली भाषा र तिनको अवस्थाका बारेमा बहस गरेका थिए । उपप्राध्यापक तेजविलास अधिकारीले भाषालाई संरक्षण गर्नुपर्ने दायित्य राज्यको भएको विचार व्यक्त गरे । उनले विद्यालयदेखि विश्वविद्यालयसम्म भाषालाई अध्ययनको विषय बनाउँदै तिनका विविध पक्षको अध्यापन गरिनुपर्नेमा जोड दिए ।

सो कार्यक्रममा प्राज्ञ प्रा.डा. गोपीन्द्र पौडेल, प्रलेस केन्द्रीय अध्यक्ष डा. मधुसूदन गिरी, प्रलेस केन्द्रीय कोषाध्यक्ष बाबा बस्नेत, जनसांस्कृतिक महासंघका उपाध्यक्षहरू देवेन्द्र थुम्केली, केशव सिलवाल, प्रगति महरा, भीम कुमाखी, डम्बर रोकाय, साहित्यिक पत्रकार संघका महासचिव चेतनाथ धमला, प्रा.डा. देवनारायण यादव, अखिल नेपाल लेखक संघका अध्यक्ष डा. धनप्रसाद सुवेदी, वाल्मीकि विद्यापीठका प्राध्यापकहरू डा. राजनारायण ठाकुर, विद्यार्थी रमेश खतिवडा, कर्मचारीहरू टेकनाथ पाण्डेय, घनश्याम सिग्देल र टेगराज पौडेल, विश्वभाषा क्याम्पसका प्राध्यापक भीमनाथ रेग्मी, ललितकलाका वरिष्ठ कलाकार जुलुमलाल चित्रकार, प्राज्ञ एस.सी. सुमन, पाल्साङमो लामा तथा नेपाली केन्द्रीय विभागका विद्यार्थीहरू– केशव सुवेदी, उमेश न्यौपाने, सुमन्द्रा साउद, दिवाकर विष्ट, सरोज तिमल्सिना अनि अन्य व्यक्तित्वहरू सन्तोष सिम्खडा, तेजनारायण ठाकुर, सुयशकुमार न्यौपाने तथा स्रष्टा शोभाराम ओलीलगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा स्रष्टा शोभाराम ओलीको बाछिट्टा संग्रह ‘अथाह’ को विमोचन गरियो । नेपालका भाषाहरूको भाषा तथा लोकवार्ता परिषद्का संयोजक डा.बालाकृष्ण अधिकारीले जनाए । उनले भूमिका र तिनको उत्थान, विकास र समृद्धिका राज्यका तर्फबाट योजनाबद्ध पहलकदमी लिनुपर्ने कुरामा यस कार्यक्रमले गहन सुझावहरू प्रदान गरेको बताए । उनले भने, ‘संविधानको प्रस्तावनामै उल्लिखित बहुभाषिक मुलुकका रूपमा नेपाललाई स्थापित गर्न अविलम्ब भाषायोजनाको कार्ययोजना ल्याउनुपर्ने, मातृभाषाहरूको विकासमा ध्यान दिनुपर्ने र संकटापन्न अवस्थामा रहेका भाषाहरूलाई संरक्षण र अभिलेखीकरण गर्न सरकार र भाषा आयोगले विशेष पहल गर्नुपर्ने लगायतका सुझावहरू आएका छन् ।’ समालोचक तथा वाल्मीकि विद्यापीठका उपप्राध्यापक तेजविलास अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रम परिषदका संयोजक डा. बालाकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

आज पनि भारी वर्षा हाेला ?

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ ।  तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।”  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ ।  जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा  र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्‍याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

पर्सामा  दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।  भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र  प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।