मन्दिरमा चरम लुट
गोरखा, वैशाख २ । मनदेखिको आस्थाले पूजाआजा एवं दर्शनका लागि लाखौँ मानिस ओइरिने मन्दिर क्षेत्रलाई लुटी खाने भाँडो बनाएको देख्दा जोसुकैलाई नरमाइलो लाग्छ ।
गोरखास्थित प्रसिद्ध मनकामना मन्दिरमा यस्तै भइरहेको स्थानीय भक्तजनको गुनासो छ । सँधियारले मन्दिरको जग्गासमेत मिचेका छन् ।
मनकामना क्षेत्रको विकास निर्माण एवं व्यवस्थापनका लागि विसं २०५३ मा मनकामना क्षेत्र विकास समिति गठन भयो । समितिले मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन गरेका प्रयास सफल हुन नसकेको कार्यकारी निर्देशक गिरिधारी सापकोटा बताउनुहुन्छ ।
“सरकारअन्तर्गतको समितिभन्दा यहाँका व्यापारी बलिया छन्, समितिभन्दा पुजारी बलिया छन्, मन्दिरको भेटीघाटी पारदर्शी हुन सकेको छैन, मन्दिर जीर्णोद्धारका लागि विसं २०६८ मा गठन भएको समितिले स्थानीयवासीको सहयोग नपाउँदा अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन, मन्दिर जीर्णोद्धार अलपत्र छ”, उहाँ भन्नुहुन्छ ।
मन्दिर प्रवेश गर्दा लाग्छ यो कुनै देवस्थलभन्दा पनि व्यापारिक केन्द्र हो । मन्दिरको जग्गासमेत कब्जा गरेर स्थानीयवासीले होटल एवं पसल चलाएका छन् । मन्दिर वरपर अग्ला अग्ला भवन निर्माण भएका छन् । पुरातात्विक, धार्मिक एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण मन्दिर रहेको स्थान वरपर मापदण्ड विपरीत घर बनेको समितिले जनाएको छ ।
मन्दिर व्यवस्थित बनाउनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगअदालत र सम्बद्ध मन्त्रालयका पदाधिकारीसम्म पुग्दा पनि केही हुन नसकेको कार्यकारी निर्देशक सापकोटाको गुनासो छ ।
मन्त्रालयका पूर्वसचिव प्रेमकुमार राईले केही गर्न खोजे पनि सरुवा भएकाले काम हुन नसकेको उहाँको भनाइ छ । मनकामना क्षेत्र वरपर धेरै होटल एवं लज खुलेका छन् । मन्दिर क्षेत्रमा आउने भक्तजनलाई सेवा पु¥याउने उद्देश्यले खुलेका अधिकांश होटल दर्ता भएका छैनन् । दर्ता नभएका व्यवसायीले स्थायी लेखा (प्यान) नम्बरसमेत लिएका छैनन् । राज्यलाई करसमेत नतिरी व्यवसायीले आफूखुशी गरेको भक्तजनको गुनासो छ ।
व्यवसायीले भक्तजन होटलभित्र पस्दा एउटा मूल्य भन्ने र खाएर निस्कँदा अर्को मूल्य भनेर बढी पैसा असुल्ने गरेका छन् । चैत २९ गते बिहीबार रामायण होटल एण्ड लजका सञ्चालकले झापाका राघवेन्द्र शर्मालाई रोटी वा भात भरपेट खाएको मूल्य रु १५० बताए । खाएर पैसा तिर्न खोज्दा रु ३०० का दरले हिसाब गरेर पैसा मागे । पाँचजनाको समूहमा रहेका शर्माले कसरी भयो बिल पाउँ भनेपछि साहुले बिल छैन भन्ने जवाफ फर्काए । मनकामना क्षेत्रमा कसैले पनि बिल नदिने गरेको सम्बद्ध व्यवसायीको भनाइ छ ।
रामायण शुद्ध शाकाहारी भोजनालय भनी लेखिएको होटलअघिका व्यवसायी सानु थापा भने जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघको मिलेमतोमा मनकामना क्षेत्रका व्यवसायीले मनपरी मूल्य असुल्ने गरेको बताउनुहुन्छ ।
कुरिनटारबाट केबुलकारमा गएका यात्रु झरेर मन्दिरतर्फ उकालो लाग्ने बेलामा व्यवसायीले ‘पूजापछि भुजा खान आउनुस् रु १०मा’ भनेर दर्शनार्थीलाई बोलाउँछन् । सिँढीको दायाँबायाँ बस्ने होटलका कामदार ग्राहक तान्न तँछाडमछाड गरिरहेको भेटिन्छ । ‘मनकामना मन्दिरसमेत आउने तस्वीर पाँच मिनेटमा रु १०० मात्र’ फोटो स्टुडियो चलाएका व्यवसायीको आवाज यसरी घन्किन्छ मनकामना क्षेत्रमा ।
नेपाल उद्योग वाणिज्य संघ मनकामना एकाइका सचिव हरिकुमार श्रेष्ठ व्यवसायीले ग्राहक तानातान गर्ने गरेको स्वीकार्नुहुन्छ ।
“संघका तर्फबाट तानातान रोक्न, मूल्यसूची राख्न, सम्बन्धित सरकारी निकायमा दर्ता भई स्थायी लेखा नं लिएर व्यापार गर्न व्यवसायीलाई पटक–पटक पत्राचार गर्दा पनि अटेर गरेका छन् जस्का कारण कति व्यवसायीसँग मुठभेड पनि भएको छ । ” उहाँ भन्नुहुन्छ ।
मनकामना मन्दिरअघि पुगेर हेर्दा लाग्छ अव्यवस्था हटेर व्यवस्थित हुने कहिले हो ? वीरगञ्जबाट आउनुभएका दर्शनार्थी मृत्युञ्जकुमार वर्णवाल मनकामना क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले ध्यान नदिएको गुनासो गर्नुुहुन्छ ।
मुलुक संघीय संरचनामा गएपछि केन्द्रका धेरै अधिकार स्थानीय सरकारमै गएको छ । मनकामना मन्दिरस्थित शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा सिसी क्यामरा राखेर मन्दिर क्षेत्रलाई व्यवस्थित गर्न लागिएको बताउनुहुन्छ ।
“मनकामना मन्दिर क्षेत्रलाई व्यवस्थित गर्न साविकको मनकामना गाउँ विकास समितिले गरेका सबै निर्णय कार्यान्वयन गर्न लागेका छौँ, केबुलकारदेखि मन्दिरसम्मको बाटोलाई चार मिटरको बनाउँछौँ, दर्ता गरेर नियमसम्मत रुपमा व्यापार गर्न लगाउँछौँ”, उहाँ भन्नुहुन्छ ।
केबलकारको भाडा महँगो
मनकामना दर्शन प्रालिले कुरिनटारबाट मनकामनासम्म ३।२ किलोमिटर केबलकार चढेको भाडा मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु ६७५ लिने गरेको छ । यो भाडा कुनै सरकारी निकायले तोकेको होइन । मनकामना दर्शन प्रालिले नै यो भाडा तोकेको नायब महाप्रबन्धक वीरेन्द्र श्रेष्ठको भनाइ छ ।
मनकामना दर्शन गरेर फर्कनुभएका पुरानो बानेश्वरका विमल लामिछाने केबलकारको लागतका आधारमा भाडा बढी भएको गुनासो गर्नुहुन्छ । नेपालमै पहिलो पटक २०५५ मंसिर ८ गतेदेखि कुरिनटारबाट मनकामनासम्म केबुलकार सञ्चालनमा आएको थियो । त्यो बेलादेखि नै प्रालिले नै भाडा निर्धारण गर्दै आएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विगत दुई वर्षदेखि केबुलकार सञ्चालन निर्देशिका ल्याउने तयारी गरे पनि व्यवसायीको दबाबका कारण सफल हुन सकेको छैन । काठमाडौँको चन्द्रागिरीमा केबुलकार सञ्चालन हुने भएपछि सरकारले केबुलकार सञ्चालन निर्देशिका ल्याउने तयारी गरेको थियो ।
चन्द्रागिरिको केबुलकारको भाडा पनि महँगो भएको यात्रुको गुनासो छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्मा निर्देशिका ल्याउने तयारी गरेका बेला केबुलकारको अनुमति दिने अधिकार स्थानीय तहलाई दिएकाले रोकिएको बताउनुहुन्छ ।
“तर पछि मन्त्रालयबाटै अनुमति लिनुपर्ने र सञ्चालन भने स्थानीय तहले गर्ने व्यवस्था भएकाले केबुलकारलाई व्यवस्थित गर्ने निर्देशिका ल्याउने तयारी हुँदैछ, यो निर्देशिकामा केबुलकारको भाडा निर्धारणको व्यवस्था पनि हुनेछ”, उहाँको भनाइ छ ।
गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत केबुलकार चितवनबाट शुरु भई गोरखामा टुङ्गिने भएकाले व्यवस्थित गर्न नसकिएको स्वीकार्नुहुन्छ ।
“मनकामना क्षेत्रलाई व्यवस्थित बनाउने प्रयास गरेका छौँ, अहिले अधिकार स्थानीय सरकारमै गएकाले गाउँपालिकाले व्यवस्थित बनाउन गर्ने काममा प्रशासनले सहयोग गर्छ, आन्तरिक राजश्व कार्यालय र करदाता सेवा कार्यालय गोरखामा नभएकाले पनि व्यवसाय दर्ता भएर कर नतिर्ने समस्या छ,”, उहाँ भन्नुुहन्छ ।
प्रशासनले अनुगमन गरेका बेला व्यवसायी सुध्रने र फर्केपछि मनपरी गर्ने गरेको प्रमुख जिल्ला अधिकारी बस्नेत बताउनुहुन्छ ।
आज पनि भारी वर्षा हाेला ?
काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।” हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल
झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
पर्सामा दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

