मोटरसाइकलले ठक्कर दिदा ७ जना घाइते !
कञ्चनपुर, असोज २६ । जिल्लाको कृष्णपुर-५ लालझाडी जंगलको अमखौया खोला नजिक पूर्व-पश्चिम राजमार्गमा गए राति मोटरसाइकलले ठक्कर दिँदा ६ मजदुरसहित सात जना घाइते भएका छन् ।
से४प ४३१ नं को मोटरसाइकलले साइकललाई पछाडिबाट ठक्कर दिँदा गुलरियाबाट काम गरी घर फर्कने क्रममा कृष्णपुर-२ वाणी मुक्त कमैया शिविरका २९ वर्षीया रामकुमारी चौधरी, ३० वर्षीय सन्तोष चौधरी, २२ वर्षीय भगवानदास चौधरी, २० वर्षीय मुकेश चौधरी, २० वर्षीया मञ्जु चौधरी र सीता चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरत धामीले जानकारी दिए ।
घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । घाइते मोटरसाइकल चालक राजेन्द्र पालको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सरसफाइ अभियान
कृष्णपुर नगरपालिकाले नगर सरसफाइ अभियान थालेको छ । ‘नगर सफा राखौँ, जीवन स्वस्थ रहौं, कृष्णपुर नगरवासीको ऐक्यवद्धता, सरसफाइमा हामी सबैको प्रतिबद्धता’ नाराका साथ नगरपालिकाले सरसफाइ अभियान सञ्चालन गरेको हो ।
नगरपालिकाका प्रमुख कर्णबहादुर हमाल, उपप्रमुख रमिता वडायक, प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजाललगायतको टोली गुलरिया बजार सफाइमा जुटेको छ । -रासस
अध्यक्ष प्रचण्डद्धारा तमु ल्होसारको शुभकामना व्यक्त
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तमु ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष प्रचण्डले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका तमु समुदायसहित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो । शुभकामना सन्देश मार्फत अध्यक्ष प्रचण्डले जनताको संघर्ष र बलिदानबाट समावेशी संघीय लोकतान्त्रिक संविधान निर्माण गरिएको बताउनुभएको छ । सबै समुदायको साझेदारीमा संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता भएको उहाँले बताउनुभएको छ । यस्तो छ तमु ल्होसारको अवसरमा अध्यक्ष प्रचण्डले दिनुभएको शुभकामना सन्देश तमु (गुरुङ) समुदायको नयाँ वर्ष तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायसहित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। तमुहरूको प्राचीन वर्षगन्तीको पात्रोअनुसार ऋतु परिवर्तन (पुष १५)को आधारमा नयाँ वर्षको गणना गर्ने परम्परा रहेको छ। प्रकृतिमा पाइने १२ वटा जीवजन्तुहरूको नामको आधारमा १२ वर्षीय चक्रको गन्ती गर्ने परम्पराअनुसार यस वर्ष सप्रिल्हो (सर्प वर्ग) पर्न गएको छ। प्राचीन भौतिकवादमा आधारित प्राकृतवादी चिन्तन प्रणालीका रूपमा यो पर्व विशेष महत्त्वपूर्ण रहेको छ। सांस्कृतिक परम्परामा धनी तमु समुदायले सदियौँदेखि आफ्ना रीतिरिवाज, परम्परा, र संस्कृतिको संरक्षण गर्दै आइरहेका छन्। तमु समुदायमा नयाँ वर्षको आगमनको उल्लासपूर्ण वातावरणमा मनाइने यो पर्वले यस समुदायको मौलिकता, परम्परा र सांस्कृतिक महत्त्वलाई झल्काउँछ। नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण एक सुन्दर मुलुक हो। यहाँको विविधता हाम्रो राष्ट्रिय सम्पत्तिमात्र नभई विश्व समुदायका लागि अमूल्य निधि हो। भाषा, संस्कृति, भेषभूषा र संस्कार हाम्रा जातीय पहिचान र मौलिक सभ्यताका आधारस्तम्भ हुन्। यस्ता सांस्कृतिक विविधताको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको महत्वपूर्ण दायित्व हो। जनताको संघर्ष र बलिदानबाट हामीले समावेशी संघीय लोकतान्त्रिक संविधान निर्माण गरेका छौँ। सबै समुदायको साझेदारीमा संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता हो। अन्त्यमा, यो पर्वले तमु समुदायलगायत सम्पूर्ण नेपालीबीच बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता, परस्पर सम्मानको भावना प्रगाढ बनाउन, राष्ट्रिय एकता र मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गरोस्। तमु ल्होसारको पुनः शुभकामना व्यक्त गर्दछु।
मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड त्रिवि शिक्षण अस्पतालमा
काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । हिजो साँझ उहाँको सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसीयुमा उपचार भइरहेको छ।अध्यक्ष प्रचण्ड अहिले साझ अस्पताल पुगेर किरणको स्वास्थ्य अवस्थाको जानकारी लिदै परिवारसित पनि भेट गर्नुभएको थियो । सो क्रममा उपचारमा संलग्न चिकित्सकहरुले उहाँको छातीमा सङ्क्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताएका थिए। सो क्रममा महासचिव किरणले क्याविनको भन्दा आइसीयुमा सारेपछि केही सहजता महसुस भएको अध्यक्ष प्रचण्डलाई जानकारी गराउनुभयो । अध्यक्ष प्रचण्डले किरणको स्वास्थ्यमा सुधार पाएको उल्लेख गर्दै थप स्वास्थ्यलाभको कामना गर्नुभयो । सो क्रममा दुबै जना भावुक पनि हुनुभएको थियो । अध्यक्ष प्रचण्ड र महासचिव किरणबीच २०३८ देखि २०६८ सम्म निकै घनिष्ट सम्बन्ध रहेको थियो । पार्टी बिभाजनपछि फरक पार्टीको नेतृत्वमा रहे पनि उहाँहरुले एकले अर्कालाई निकै आदरभावका साथ सम्मान गर्दै आउनुभएको छ।
अध्यक्ष प्रचण्डद्वारा बडी विल्डिङ च्याम्पियनसिपका रजत पदक प्राप्त खेलाडीलाई सम्मान
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पन्ध्रौं विश्व बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत पदक प्राप्त गर्ने नेपाली खेलाडीहरुलाई सम्मान गर्नुभएको छ । अखिल नेपाल खेलकुद महासंघको आयोजनामा आज अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको कार्यक्रममा उहाँले सम्मान गर्नुभएको हो । शारीरिक सुगठन खेलको अन्तर्राष्ट्रिय महासंघ विश्व बडी बिल्डिङ एन्ड फिजिक स्पोर्टस् फेडरेसनसँगको सहकार्यमा बडी बिल्डिङ एसोसिएसन अफ माल्दिभ्सले मालेमा आयोजना गरेको प्रतियोगितामा रजत प्राप्त गर्ने रुजेश शाही, प्रज्वलमान शाक्य, रजनी श्रेष्ठ र सनम मुलगुठीले रजत पदक प्राप्त गर्नुभएको थियो । रुजेशले ६० केजी तौल समूह, प्रज्वलले ६५ केजी तौल समूह रजनी ५५ केजी तौल समूह र र मुलगुठी स्विम सुट समूहबाट खेलेर रजत प्राप्त प्राप्त गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खेल राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय भएकाले यस क्षेत्रको विकासमा आफ्नो पार्टीले अत्यधिक महत्व दिने गरेको बताउनुभयो । आफू तीनपटक प्रधानमन्त्री हुँदा खेल पूर्वाधारको विकास र खेलाडीको प्रोत्साहनका लागि विभिन्न कार्यक्रम अघि सारिएको उल्लेख गर्दै उहाँले खेल वैश्विक सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो । ‘नेपालमा विभिन्न विधाका खेल आयोजना गर्ने गरिएका छन् भने नेपाली खेलाडीहरुले विश्व तथा क्षेत्रीयस्तरका र विभिन्न देशसँगको प्रतिष्पर्धामा भाग लिएर देशको प्रतिष्ठा उँचो बनाउँदै आएका छन्’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसैले खेलकुदलाई राष्ट्रको महत्वपूर्ण एजेण्डाको रुपमा अघि बढाउनुपर्छ भन्ने हाम्रो धारणा रहेको छ ।’ आफूले खेलकुद र संस्कृतिको विकासलाई मानवीय विकासको महत्वपूर्ण पक्षको रुपमा लिने गरेको उल्लेख गर्दै उहाँले सबै पक्ष यी क्षेत्रको विकासमा संवेदनशील हुनुपर्ने बताउनुभयो । अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइराला ‘ज्वाला’ले उज्यालो बाटोतिर लम्किरहेको खेल क्षेत्रको विकासमा सरकार र दलहरु गम्भीर बन्नुपर्ने बेला आएको बताउनुभयो । एकैपटक चार जना खेलाडीले रजत पद प्राप्त गराउने बडी बिल्डिङ एन्ड फिजिक स्पोर्टस् नेपालका लागि महत्वपूर्ण विधा भएको उल्लेख गर्दै उहाँले यो खेलको संघलाई व्यवस्थित गर्न कार्यालय स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन
एजेन्सी । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएको छ। ९२ वर्षको उमेरमा शुक्रबार साँझ सिंहको निधन भएको हो। डा.सिंहको स्वास्थ्य बिग्रिएपछि शुक्रबार साँझ नयाँदिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो। उहाँको स्थानीय समय अनुसार राति ९ बजेर ५१ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ। मनमोहन सिंह दुईपटक भारतको प्रधानमन्त्री हुनुभएको थियो। उहाँ सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँ सन् १९९१ देखि ९६ सम्म देशको अर्थमन्त्री पनि बन्नुभएको थियो। उहाँ भारतको अर्थ सुधारक वित्तमन्त्रीका रूपमा परिचित हुनुहुन्थ्यो।