‘मौन अवधिमा पनि मत माग्दै उम्मेदवारहरु’

‘मौन अवधिमा पनि मत माग्दै उम्मेदवारहरु’

प्रदेश नम्बर २ मा सोमबार हुने स्थानीय चुनावका लागि मौन अवधि शुरु भइसकेकाले कुनै चुनावी प्रकारको प्रचारप्रसार नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ।

तर मतदातालाई प्रभावमा पार्ने उद्देश्यका साथ उम्मेदवारहरुले मौन अवधिमा पनि घरदैलोमा पुगेर मत मागिरहेको मतदाताले बताएका छन्।

प्रदेश नम्बर २ मा हुने स्थानीय तह चुनावका लागि शुक्रबार राति १२ बजदेखि असोज २ गते १२ बजेसम्म मौन अवधि तोकिएको छ।

मौन अवधि शुरु भएदेखि चुनाव नसकिएसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार लगायत कसैले पनि चुनावी प्रचारप्रसार गर्न पाउँदैनन्।

भोजभतेर

तर प्रदेश नम्बर २ को पर्सा जिल्लामा मौन अवधिमा पनि उम्मेदवारहरु मत माग्न मतदाताको घरदैलोमा पुगिरहेको पाइएको छ।

उम्मेदवारहरु घरदैलोमा पुगेर मतदातालाई आकर्षित पार्ने प्रयास गर्ने गरिरहेको वीरगञ्ज महानगरपालिकाका मतदाता बताउँछन्।

एकजना मतदाताले भने, “नेताहरु बिहानैदेखि आउँछन्। विभिन्न कुराको लोभ देखाउँछन् अनि आफूतिर मत तान्ने प्रयास गर्छन्।”

मौन अवधिमा प्रचारप्रसार नगर्न आयोगले सचेत गराए पनि वीरगञ्जमा राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवारले घरदैलोमै पुगेर भोट मागिरहेका छन् भने कतै भोजभतेरको पनि आयोजना गरेको पाइएको छ।

अनुगमन

त्यो कुरा निर्वाचनको अनुगमन गर्न पर्सामा निर्वाचन आयोगले खटाएको निर्वाचन अनुगमन टोलीका प्रमुख खेमराज ज्ञवालीले पनि स्वीकार गरे।

उनले भने, “अनुगमनका क्रममा झण्डा प्रयोग गरेर मोटरसाइकल, सवारीसाधनहरु प्रयोग गरेको पाइयो। हामीले यो गर्न हुँदैन, आचासंहिता विपरीत हो भनेर उनीहरुलाई चेतावनी दिएको अवस्था छ।”

मौन अवधिमै मतदातालाई प्रभावमा पार्न बढी चलखेल हुने गरेको राजनीतिक विश्लेषकहरु बताउँछन्।

यस्तो अवस्थामा जिल्लामा खटिएका अनुगमन टोलीले कारबाहीका लागि आवश्यक रणनीति बनाएर अघि बढेको निर्वाचन अनुगमन टोलीका प्रमुख ज्ञवालीले बताए।

प्रचार सामाग्री

उनले भने, “सूक्ष्म अनुगमनकर्ता गाउँ-गाउँमा खटिएर गोप्य रुपमा काम गरिरहेका छन्। र, हामीले विभिन्न संयन्त्रहरु प्रयोग गरेर त्यो मौन अवधिमा निर्वाचन आचारसंहिता विपरीतका गतिविधिलाई तत्काल रोकेर कारबाही प्रक्रिया अगाडि बढाउने रणनिती बनाएका छौँ।”

मौन अवधिमा सामाजिक सञ्जालबाट पनि चुनावको प्रचारप्रसार गर्न नपाइने भएपनि उम्मेदवार र उनीहरुका समर्थक कार्यकर्ताले भने सामाजिक सञ्जालबाट प्रचारप्रसार गर्दै मत मागिरहेका छन्।

मौन अवधि शुरु हुनुअगावै मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचार सामाग्री हटाउनुपर्ने भएपनि अहिलेसम्म हटाइको देखिंदैन।

तर हटाउन निर्देशन दिइसकेको अनुगमन टोलीका प्रमुख ज्ञवालीले बताए। -बिबिसिबाट

उपत्यकामा अत्यधिक वर्षा, बागमती र बिष्णुमती सतर्कता तहभन्दा माथि

काठमाडौं । काठमाडौँ उपत्यकाको नदीले सतर्कताको तह पार गरेको छ। अझै बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।  उपत्यकास्थित बाग्मती नदी खोकना, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरको हो।  महाशाखाले बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेहरुले राती सम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।  यस्तै सिन्धुपालचोक जिल्ला स्थित मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा सावधानी अपनाउन अनुरोध गरिएको छ।

पहिरो र लेदोका कारण नागढुंगा प्रवेशको नाका ठप्प

काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका–९ खत्रिपौवामा लेदोसहितको पहिरो खस्दा काठमाडौँ प्रवेश गर्ने मुख्य सडक अवरुद्ध भएको छ। आजबिहानैदेखि परेको बर्षाका कारण नागढुंगा मार्गको प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो खस्दा संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।   आज दिउँसो १ बजेतिरको समयमा लेदो सहितको पहिरो खसेपछि उक्त सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीहरुको जाम लागेको बताइएको छ। निरन्तर वर्षाका कारण तत्काल पहिरो पन्छ्याउन सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक प्रल्हाद सिलवालले बताए। 

सहकारी ठगेर भागेका एमालेका मेयर भारतमा पक्राउ

काठमाडौं । सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् । उनी एमालेबाट निर्वाचित भएका थिए ।  इन्टरपोलमा रेड नोटिस जारी भएका उनलाई दिल्लीमा फेला पारिएको भन्दै भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी गराएको छ । नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, ‘भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया थालेका छौं ।’ नेपालीविरुद्ध १२ माघ ०८० मा रेड कर्नर नोटिस जारी भएको थियो । सहकारी ठगी प्रकरणमा जोडिएपछि मेयर नेपाली ५ जेठ ०८० देखि फरार थिए । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जेठ १६ गते नेपालीसहित पदाधिकारीले बचतकताएको अर्बौं रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरुविरुद्ध उजुरी लिन पत्राचार गरेको थियो ।  

नरैनापुरमा पहिलोपटक सरकारी टोलीले गर्यो बजार अनुगमन

बाँके । बाँकेकोे नरैनापुर गाँउपालिकामा पहिलो पटक  सरकारी टोलीबाट बजार अनुगमन गरिएको छ । बिहिबार नरैनापुर १ सुइयाबाट बजार अनुगमन सुरु गरिएको संयोजक मुकद्दर अली मुकेरीले जानकारी दिनु भयो । गाँउपालिकाले बजार अनुगमन समिति बनाए पनि नियमित रुपमा अनुगमन हुन सकेको थिएन् तर आजबाट चाड पर्वलाई लक्षित गरी अनुगमन सुरु गरिएको संयोजक मुकेरीले बताउनु भयो । नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले किराना पसल, व्यवसाय, विक्रि स्थल, गोदाम, उद्योग लगायतमा अनुगमन निरिक्षणमा १६ वटा बुँदाहरु समेटिएको विवरण भए नभएको बारेमा जानकारी लिन अनुगमन समितिलाई निर्देशन दिएको बताउनु भयो । उहाँले भन्नुभयो सो अनुसार नभएको खण्डमा पहिलो चरणमा सचेत गराउने दोस्रो पटक पनि गल्ती पाइए जरिवानाका लागि सिफारीस गर्न सुझाव दिनु भयो । नरैनापुरमा दर्ता नभएको, दर्ता भएपनि नविकरण नभएको र साइन बोर्ड नभएको, मुल्य सूची नराखिएको, लेबल नभएको, नाप तौलको प्रमाण लगायत नभएको भेटिएको अनुगमन टोलीका सदस्य पशु शाखाका प्रमुख जगतराम यादवले बताउनु भयो । नरैनापुर १ सुईयामा रहेको रियासत दुध खरीद बिक्री केन्द्र सहित दुई दर्जन पसलहरुमा अनुगमन गरिएको बजार अनुगमन टोलीका संयोजक मुकेरीले जानकारी दिनु भयो  । अनुगमनका क्रममा नरैनापुरका जगतराम यादव, नरैनापुर गाँउपालिकाका प्रेस बिज्ञ आलम खान, सुजीत तिवारी,हरी पाण्डे,रियाज खान र प्रहरी नयाब निरिक्षक प्रेम अधिकारी, प्रहरी हवल्दार जितेन्द्र केवटको सहभागिता रहेको थियो ।

लोकप्रिय